महोत्तरीको पिपरामा भेटियो बेपत्ता झा दम्पतीको कंकाल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

महोत्तरीको पिपरामा भेटियो बेपत्ता झा दम्पतीको कंकाल


१२ चैत्र २०७७, बिहिबार


जनकपुरधाम । प्रहरीले घरबाटै वेपत्ता पारिएका झा दम्पतीको शव कंकालको रुपमा फेला पारेको छ।

गत फागुन १० गते बेपत्ता भएका महोत्तरी पिपरा– ५ सहोर्बाका मुसाफिर झा र उनकी श्रीमती गितादेवीको कंकाल भेटिएको छ । बिहीबार पिपरा गाउँपालिका २ अतराढस्थित सडक छेउमा उनीहरुको कंकाल भेटिएको हो ।

स्थानीयले सडक छेउमा मानव खप्पर देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खप्पर भेटिएको स्थल उत्खनन् गर्दा दुई जनाको मानव कंकाल भेटिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरज प्रताप सिंहले बताए । उत्खनन् गर्दा दुई जनाको कंकालसँगै गीतादेवीले लगाएको चुराका टुक्रा पनि भेटिएको प्रहरीले जनाएको छ ।

घरमै सुतेका बेला फागुन १० गते राति ६५ वर्षीय झा र उनकी ६० वर्षीया श्रीमतीको अज्ञात समूहले अपहरण गरेको थियो । झा दम्पतीको घरदेखि करिब १ किलोमिटरको दूरीमा कंकाल भेटिएको हो ।

झा दम्पतीको अपहरणमा संलग्न पिपरा गाउपालिका ५ का ५२ वर्षीय रामबाबु यादव, उनका छोराद्वय २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ । तर उनीहरुले संलग्नता स्वीकारेका छैनन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस