चितवन मेडिकल कलेजमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चितवन मेडिकल कलेजमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण


१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । चितवन मेडिकल कलेजमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरिएको छ । भरतपुर महानगरपालिका–१० की ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण सफल भएको कलेजले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

लामाकी ३४ वर्षीया छारी उषा तामाङले आमालाई कलेजो दिएकी थिइन् । छोरी उषाको कलेजोमा कुनै पनि असर नपर्ने गरी आवश्यक कलेजोको भाग निकालेर आमाको कलेजोमा प्रत्यारोपण गरिएको शल्यक्रियामा सहभागी चिकित्सकले बताए ।

आमा धनकुमारीको कलेजो पूर्णरुपमा काम नलाग्ने भइसकेको चिकित्सकहरू बताउँछन् । धनकुमारीलाई ‘क्रोनिक लिभर डिजिज’ भएको थियो ।

हाल कलेजो प्राप्त गर्ने आमा र कलेजो दान गर्ने छोरी दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको कलेजले जानकारी दिएको छ ।

कलेजका विशेषज्ञ चिकित्सकहरू डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. किरण अधिकारी, डा.वरुण श्रेष्ठ, डा. सागर पौडेल, डा. नवीन यादव, डा. सुरेश गौतम, डा. विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रुति यादव र सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा, एपोलो अस्पतालका डा. निरज गोयल, डा. अरुणकुमार, डा. सञ्जीव अनिजालगायतको टिमले गत चैत्र ८ गते १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।

प्रत्यारोपणका लागि कलेजमा ४ सर्जन, ३ क्रिटिकल केयर, ३ एनेस्थेसियोलोजिष्ट, १० जना विशेष तालिमप्राप्त नर्सहरू छन् ।

यसअघि त्रिवि शिक्षण अस्पतालमा पाँच जना र मानव अङ्ग प्रत्यारोपण केन्द्रमा दुई जनामा कलेजो प्रत्यारोपण गरिएको छ ।

नेपालमा २०७३ मङ्सिर २२ गते मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा बलराम नागाको पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको थियो ।

पछिल्लो पटक गत फागुन ३० गते त्रिवि शिक्षण अस्पतालमा ११ महिने शिशुमा सफल कलेजो प्रत्यारोपण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस