तनहुँमा मतदाता नामावली सङ्कलन पुनः शुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तनहुँमा मतदाता नामावली सङ्कलन पुनः शुरु


११ चैत्र २०७७, बुधबार


दमौली । निर्वाचन घोषणा भई गत पुस ५ गतेपछि स्थगन भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुनः शुरु भएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेसँगै निर्वाचन आयोगले नामावली सङ्कलन स्थगन गरेको थियो । सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएसँगै आयोगले नामावली सङ्कलनलाई अगाडि बढाएको हो ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माले चैत ५ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक शुरु गरिएको जानकारी दिए । कार्यालयले नागरिकता बनाउन आउनेलाई प्रशासन कार्यालयबाटै नामावली सङ्कलनको व्यवस्था मिलाएको छ भने कार्यालयबाट पनि नाम दर्ता गर्न सकिनेछ । कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, मतदानस्थल, जन्ममिति, नागरिकता, बुवाआमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा रहेको त्रुटि सच्याउनका लागि आवश्यक प्रमाणसहित निवेदन दिन कार्यालयले आग्रह गरेको छ ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा विसं २०७४ को निर्वाचनपछि गत पुस ५ गतेसम्म २० हजार २४ मतदाता थपिएका छन् । विसं २०७४ को निर्वाचनअनुसार तनहुँमा दुई लाख ११ हजार ३९६ मतदाता रहेका थिए । गत पुस ५ गतेभन्दा अगाडि दुई लाख ३१ हजार ४२० मतदाता पुगेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस