गुणस्तरहीन बस्तु उत्पादन गरेर मूल्यमा प्रतिस्पर्धा गर्नेहरू विलीन हुन्छन् -महानिर्देशक पुडासैनी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गुणस्तरहीन बस्तु उत्पादन गरेर मूल्यमा प्रतिस्पर्धा गर्नेहरू विलीन हुन्छन् -महानिर्देशक पुडासैनी


५ चैत्र २०७७, बिहिबार


औद्योगिक विकास सँगै सर्वसाधारण जनताको हितका लागि कुनै पनि पदार्थको गुणस्तर निर्धारण गर्ने र त्यस्ता पदार्थहरूमा गुणस्तर प्रमाण चिन्हहरू प्रयोग गर्ने व्यवस्था चार दशक अघि नै भएको देखिन्छ । वस्तु वा पदार्थको गुणस्तर निर्धारण कार्य २०३४ सालमा थालनी भएसँगै गुणस्तर सम्बन्धी क्रियाकलापहरूमा वैज्ञानिक, औद्योगिक र कानुनी नापतौलको पनि भूमिका रहने हुँदा यसलाई अझ बढी सुदृढ र प्रभावकारी बनाउन नापतौल विभागलाई पनि गुणस्तर कार्यालयसँगै गाभेर २०४४ सालमा नेपाल गुणस्तर तथा नापतौल विभाग स्थापना गरियो । हरेक जसो दिन विश्व बजारमा उत्पादन भई रहने नयाँ नयाँ बस्तुहरू र ती प्रति उपभोक्ताको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै समयानुकूल अघि बढ्दै जानु विभागका लागि चुनौती र अवसर दुवै छन् । यसै सन्दर्भमा आम उपभोक्ताको स्वास्थ्य र सुरक्षासँग जोडिएको उपभोग्य वस्तुहरूको गुणस्तर कायम गर्न विभागले के कस्ता गतिविधिहरू सञ्चालन गर्दै आएको छ ? गुणस्तरीय वस्तुहरू उपभोग गर्न पाउने आम नागरिकको अधिकार सुनिश्चितताका लागि विभाग कसरी अघि बढ्दै छ लगायत विषयमा केन्द्रित रही विभागका महानिर्देशक विश्वबाबु पुडासैनीसँग प्रशासन ब्युरोले गरेको कुराकानी:

नेपाल गुणस्तर तथा नाप तौल विभागले के कस्ता कामहरू गरिरहेको छ ?
नेपाल गुणस्तर तथा नाप तौल विभागले मुख्य गरी तीन वटा कामहरू गर्छ । पहिलो काम भनेको नेपाल गुणस्तर निर्धारण गर्ने हो । हामी विभिन्न वस्तु, सेवा, प्रक्रिया तथा प्रणालीहरूको नेपाल गुणस्तर तयार गर्छौ । दोस्रो यस विभाग राष्ट्रिय नापतौल सम्बन्धी निकाय पनि भएकोले नापतौलको क्षेत्रमा स्ट्याण्डर्डहरु कायम तथा नापतौलको कार्यान्वयन, अनुगमन र कारबाही गर्छौँ । व्यापारिक होस् वा अन्य विभिन्न प्रयोगशाला जस्ता क्षेत्रहरूमा होस् नाप तौलको त्यतिकै महत्त्व हुन्छ ।

तेस्रो काम भनेको समरुपता मूल्याङ्कन हो । हामीले जति पनि गुणस्तरहरू तयार गर्छौँ, जति पनि हाम्रा मेजरमेन्ट स्ट्याडर्डहरु छन् र जति पनि परीक्षणको कामहरू हुन्छन्, ती क्रियाकलापहरूलाई सुनिश्चितता गर्ने कामलाई हामी समरुपता मूल्याङ्कन भन्छौँ । यही समरुपता मूल्याङ्कन अनुसार हामी विभिन्न बस्तुहरूमा नेपाल गुणस्तर इजाजत पत्रहरू प्रदान गरेका हुन्छौँ । नेपाल गुणस्तर प्रमाण पत्रहरू प्रदान गरेका हुन्छौँ । त्यस्ता बस्तुहरूको नियमित रूपमा बजार, उद्योग र विभिन्न उजुरी अनुसार सम्बन्धित ठाउँमा अनुगमन गरी रहेका हुन्छौँ । हामी गुणस्तर प्रमाण चिन्ह ऐन, २०३७ र स्ट्याडर्ड नाप र तौल ऐन, २०२५ अनुसार कामहरू गरिरहेका छौँ ।

स्टाडर्डकै विषयमा चाहिँ विभागले के कसरी काम गरिरहेको छ ?
विशेष गरेर विभिन्न निर्माणजन्य सामाग्रीहरूमा गुणस्तर तयार गरिरहेका छौँ । भर्खरै मात्र हामीले सडकमा प्रयोग हुने करबस्टोन र फुटपाथमा प्रयोग हुने पेभिंगब्लकहरुको गुणस्तर तयार गरेका छौँ । त्यस्तै बिधुतीय सामाग्रीहरूमा स्विच, सकेटहरूको गुणस्तर तयार गर्दैछौँ । ग्याँस सिलिन्डर, रेफ्रिजेटर, एयर कन्डिसन लगायत सो सँग सम्बन्धित ऊर्जा बचत तथा सुरक्षाको विषयमा पनि गुणस्तर कायम गरिरहेका छौँ । यसैगरी एचडीपी पाइपको गुणस्तर पुनरावलोकन गर्ने क्रममा छौँ । अहिले पनि हामीसँग २५ भन्दा बढी स्ट्याण्डर्ड निर्माणको प्रक्रियामा छन् ।

गुणस्तरहरूको सङ्ख्या वृद्धि सँगसँगै हामीसँग नेपाल गुणस्तर इजाजत लिने उद्योगहरूको सङ्ख्या त्यतिकै बढेको छ । अहिले पनि एक सयको हाराहारीमा इजाजतका लागि प्रक्रियामा रहेका छन् । हामीले यो आर्थिक वर्षमा पचास वटा इजाजत सक्ने भनेका छौँ । सँगसँगै बजारमा जति पनि इजाजतप्राप्त वस्तुहरू छन् विभिन्न उद्योगहरूमा आकस्मिक निरीक्षण कार्यलाई पनि सक्रिय रूपमा अगाडी बढाएका छौँ ।

नेपालमा उत्पादित तथा विक्रिवितरण भई रहेका बस्तुहरूको गुणस्तरबारे बेला बेलामा कुरा उठ्ने गर्दछ, गुणस्तरहीन उत्पादनहरू नियन्त्रणका लागि विभागले के कस्तो रणनीति अवलम्बन गर्दै आएको छ ?
हामीले निर्धारण गर्ने गुणस्तरहरू स्वैच्छिक प्रकृतिका हुन्छन् । कुनै पनि उत्पादकले आफ्ना उत्पादनमा नेपाल गुणस्तर इजाजत एनएस अङ्कित चिन्ह लिएर बजारमा बिक्रिवितरण गर्न सक्नुहुन्छ । तर केही उत्पादनहरूको भने अनिवार्य रूपमा एनएस लिएको र अङ्कित गरेको हुनुपर्छ । अहिले १५ वटामा अनिवार्य छ र ती बाहेकका बस्तुहरूमा स्वैच्छिक छन् ।

सिमेन्ट, हाउस वायरिङ तारहरू, जीआईसिट, एलपीजी सिलिन्डर, रेगुलेटर जस्ता बस्तुहरूमा एनएस चिन्ह स्वदेशी उत्पादक तथा आयात कर्ताले पनि अनिवार्य इजाजत पत्र लिएर मात्र उक्त बस्तुको बिक्री वितरण गर्नुपर्ने हुन्छ । ती बाहेकका बस्तुहरूमा पनि बजार प्रवर्द्धनको लागि तेस्रो पक्षको रूपमा विभागले गुणस्तर सुनिश्चितता गरेकाे हुन्छ । जस्तै: प्लाइउड, पाइप, पेन्ट, पानी टयाङ्कीहरु लगायत धेरै बस्तुहरूको स्वैच्छिक रूपमा उत्पादकले एनएस लिइरहनु भएको छ ।

बजारमा आउने कतिपय उत्पादनहरूको मापदण्ड के हुनुपर्छ भन्ने आम उपभोक्तामा सामान्य ज्ञार्न समेत नभएकोले पनि प्रयोगकर्तालाई कुन चिज राम्रो कुन नराम्रो भन्ने नै थाहा हुँदैन । ती बस्तुहरूलाई हामीले पैसामा मात्र दाँज्ने गरेका हुन्छौँ । अवश्य पनि उपभोग्यतालाई सस्तो चिज चाहिएको हुन्छ । तर सस्तोको नाममा हामीले कम भन्दा कम गुणस्तर भएका वस्तुहरू प्रयोग गर्‍यौ भने त्यसले तत्कालका लागि लगानी त कम हुन सक्छ, तर त्यसको लाइफ हुँदैन, प्रयोगमा पनि आउँदैन । कुनै गुणस्तरीय बस्तुलाई हामी दशौँ वर्ष प्रयोग गर्न सक्छौँ भने गुणस्तरहीन बस्तु एक दुई वर्षमा नै प्रयोगविहीन हुनसक्छ । त्यसैले १०-२० प्रतिशत कमले गर्दा हामीले गर्ने लगानी व्यर्थ हुन्छ ।

सर्वसाधारणको स्वास्थ्य र सुरक्षाको लागि हामीले निश्चित बस्तुहरूलाई गुणस्तर अनिवार्य गरेका छौँ । ती बस्तुको गुणस्तरमा विभागले कडा निगरानी गर्दै आएको छ । ती बस्तुमाथि पर्ने उजुरीहरूलाई पनि हामीले उत्तिकै महत्त्व दिँदै आएका छौँ । जसले गर्दा गुणस्तरहीन बस्तुहरू उत्पादन गरेर मूल्यमा प्रतिस्पर्धा गर्नेहरू बिस्तारै विस्थापन हुँदै गएका छन् ।

गुणस्तरीय र गुणस्तरहीन बस्तुबारे आम सर्वसाधारण उपभोक्ताले कसरी बुझ्ने ?
नेपाल गुणस्तर चिन्ह प्राप्त बस्तुले मुख्य गरी तीन-चार वटा कुराहरूमा सुनिश्चितता(ग्यारेन्टी) गरेको हुन्छ । पहिलो भ्यालु अफ मनि अर्थात् लागत अनुसारको गुणस्तर हुन्छ ।

अर्को पुनः परीक्षण । जस्तो एनएस चिन्ह अङ्कित वस्तुहरू हामीले प्रयोग गर्ने हो भने पुनः परीक्षणको झन्झटको हुँदैन । र सबैभन्दा महत्त्वपूर्ण कुरा नेपाल गुणस्तर चिन्ह प्राप्त बस्तु भनेपछि हामी ढुक्कले विश्वस्त भएर प्रयोगमा ल्याउन सक्छौँ ।

निर्माण सामाग्रीहरू जस्तो: डन्डी, सिमेन्टलगायत महत्त्वपूर्ण सामानहरू नै गुणस्तरहीन तथा मापदण्ड नपुर्‍याईकन बजारमा विक्रिवितरण गर्ने गरेको पनि यहाँहरूले नै समात्दै आउनु भएको छ । पटक-पटक किन गल्ती दोहोरिई रहेको हुन्छ ? दण्ड, जरिवाना न्यून भएर या के कारणले यस्ता गल्तीहरू दोहोरिई रहन्छन् ?
यसलाई दुई वटा हिसाबले हेर्नुपर्ने हुन्छ । पहिलो कुरा विगतमा सिमेन्ट, डन्डीहरूमा अनिवार्य गुणस्तर रहेता पनि इजाजत पनि नलिने र गुणस्तर पनि आफू खुसी मूल्यमा प्रतिस्पर्धा गर्ने प्रचलन हाबी थियो । हाम्रो निरन्तरको प्रयाससँगै आम सरोकारवालाहरूको सक्रियता र सहयोगले अहिले सबै उद्योगहरूले अनिवार्यरुपमा एनएस इजाजत लिएर मात्र उत्पादन तथा विक्रिवितरण गरिरहेका छन् ।

आम उपभोक्तामा आएको सचेतना, आम सञ्चारको निरन्तरको खबरदारीले विगतका धेरै कमीकमजोरीहरू सुधार हुँदै गएका छन् । गुणस्तरमा सम्झौता गरियो भने बजारबाट हामी विस्थापन हुन्छौ भन्ने कुरा उद्योगीहरूले पनि बुझ्नु भएको छ । विगतमा जति जोखिम थियो, त्यो अब त्यो छैन । सबैभन्दा धेरै र ठुलो परिणाममा खपत हुने सिमेन्ट, डन्डी लगायतका सामग्रीहरू सबै एनएस अङ्कित छन् र निर्धक्क भएर प्रयोग गर्न सक्ने अवस्था हामीले सिर्जना गरेका छौँ ।

यति हुँदाहुँदै पनि खराब नियत भएका केही व्यापारीहरूले बदमासी गरेको सङ्केत मात्रै पाए पनि हामी कारबाही गर्दै आएका छौँ र निरन्तर निगरानीमा राखिरहेका छौँ । जसले गर्दा उपभोक्ता पनि सुरक्षित र लगानीकर्ताको लगानी पनि डुब्ने अवस्था छैन ।

हामीले गुणस्तर कायम गर्नुपर्ने चिजवस्तुहरु धेरै छन् । नेपाललाई अन्तर्राष्ट्रिय बजारमा दाँज्ने हो भने सयौँ वस्तुहरूमा गुणस्तर कायम गर्नुपर्ने छन् । तर हामीले अहिले जम्मा १५ वटा बस्तुहरूमा मात्र गरिरहेका छौँ । आम उपभोक्ताको स्वास्थ्य र सुरक्षाको लागि हामीले काम गर्नु पर्ने धेरै छ । निरन्तर रूपमा बिस्तार गर्दै जाने क्रममा छौँ ।

आम उपभोक्ताको स्वास्थ्य र सुरक्षा जस्तो महत्त्वपूर्ण जिम्मेवारी बोकेको विभागले आफ्नो जिम्मेवारी कतिको पुरा गर्न सकिरहेको छ ?
हामीसँग उपलब्ध स्रोतसाधन र जनशक्तिका आधारमा विभागले आफ्नो जिम्मेवारी पुरा गर्न सकेको छ भन्ने मलाई लाग्छ । हामीसँग सय भन्दा बढी एनएस इजाजत लिनका लागि निवेदन हुनुले पनि बजारमा विश्वसनीयता बढेको छ भन्न सकिन्छ ।

अहिले पनि हामीलाई निजी क्षेत्रबाट गुणस्तर निर्धारणमा उत्तिकै मागहरू आइरहेको छ भने गुणस्तर प्रदानमा पनि त्यतिकै वृद्धि भइरहेको छ । इजाजत पत्रको माग बढ्दै जानुले पनि उपभोक्ता माझ गुणस्तर प्राप्त बस्तुहरूको विश्वास बढेर गएको बुझ्न सकिन्छ । मैले अघि पनि भनिसकेको छु, यसका बाबजुद पनि बजारमा हामीले गर्नुपर्ने काम धेरै छ ।

विश्व बजारमा आएका नयाँ नयाँ प्रविधि र वस्तुहरू आम उपभोक्ताको रोजाइमा परिरहँदा त्यस्ता वस्तुहरूको समयमै गुणस्तरमा सुनिश्चितता गरी दिने चटारो विभागलाई छ ।

विभागसँग हाल उपलब्ध स्रोतसाधन तथा जनशक्तिले गुणस्तर निर्धारणदेखि अहिलेको बजार अनुगमन तथा नियमन सम्भव छ त ?
छैन । हामीलाई एक मात्र कठिनाइ भनेको जनशक्ति नै हो । यदि हामीसँग दरबन्दी अनुसारकै मात्र जनशक्ति उपलब्ध भई दिने हो भने विभागमा उपलब्ध पूर्वाधार तथा उपकरणहरूलाई पनि अझ व्यापक रूपमा प्रयोगमा ल्याउन सकिन्छ ।

केही दिन अघि मात्रै हामीले मेट्रोलोजि र जनस्वास्थ्यको सम्बन्धका बारेमा सामान्य छलफल गरेका थियौँ । दैनिक हजारौँ मानिसहरू स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थाहरूमा जान्छन् र चिकित्सकहरूले चेक जाँचका क्रममा विभिन्न परीक्षणहरू गर्ने गर्छन् । ती परीक्षणहरूमा मेट्रोलोजीको भूमिका के हुन सक्छ ? सरकारी तथा निजी प्रयोगशालाहरूलाई कसरी सुसूचित गर्ने र नतिजालाई बढी भन्दा बढी विश्वसनीय बनाउने भन्ने कुरामा हामीले चासो दिएका छौँ ।

अहिले पनि औषधि उद्योगहरूमा गुणस्तर कायम राख्न भूमिकाहरू त निर्वाह गरिरहेका छौँ तर निजी क्षेत्रले भित्र्याइरहेका प्रविधिअनुसार हामी पनि अपडेट हुँदै जाने र सोहीअनुसारको जनशक्ति र उपकरण थप्दै लैजानु पर्ने हुन्छ । अव मेडिकल ल्याबहरूमा पनि गुणस्तरीयता र विश्वसनीयता कायम गर्न थप सक्रियता जनाउनुपर्छ भन्ने तर्फ हाम्रो ध्यान गएको छ ।

अहिलेकै अवस्थामा भन्नुपर्दा हामीसँग कस्ता खाले कति जति जनशक्तिको अभाव खड्कीएको छ ?
विभागमा कायम ८९ जनाको दरबन्दीमध्ये अहिले हामी ६० जना मात्रै छौँ र त्यसमा ५० जना प्राविधिक कर्मचारीहरू कार्यरत छौँ । आगामी दिनमा हामीलाई कम्तीमा पनि ३५ देखि ५० जनशक्ति आवश्यक छ ।

गुणस्तर जाँचका लागि त्यतिकै लगाव भएका जनशक्ति आवश्यक हुन्छ । प्रयोगशालामा रहेका उपकरणहरू सञ्चालनको लागि पनि डेटिकेटेट रिसोर्स चाहिन्छ । एउटै जाँचका लागि ४८ घण्टादेखि १६५ घण्टासम्म निरन्तर मेसिन चलाई रहनु पर्ने पनि हुन्छ । समय समयमा निगरानी गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा रातको समयमा पनि काम गर्नु पर्ने परीक्षण विधिहरू हुन्छन् । त्यसैले थप जनशक्ति भई दिएको अवस्थामा हामीले कम्तीमा पनि अहिलेको भन्दा दुई गुणा बढी प्रभावकारिता ल्याउन सक्छौँ ।

तत्कालका लागि मन्त्रालयले थप, के कस्तो सहयोग गरिदिएको अवस्थामा विभागले अहिले भन्दा राम्रो गर्न सक्ने देख्नुहुन्छ ?
विभागको सङ्गठित संरचना पुनरावलोकन गरी दरबन्दी थप भएपछि अहिले भन्दा राम्रो गर्न सकिन्छ । उपकरणको हकमा मागेको अवस्थामा अर्थ मन्त्रालयबाट दुई चार करोड दिन अफ्ठेरो देखिएको छैन । हामीलाई उपकरणहरू चलाउने मान्छे नभएर समस्या हो । जनशक्ति नभईकन उपकरण खरिद गर्न हुँदैन । अहिले पनि हामीसँग अन्तर्राष्ट्रिय स्तरकै केही उपकरणहरू छन् । जसका लागि जनशक्ति नभएर नै हामीले ती उपकरणहरू चलाउन सकेका छैनौँ । त्यसैले बजारमा आएका नयाँ नयाँ परीक्षणका विधिहरू भित्र्याउन र भएका उपकरणबाट धेरै भन्दा धेरै लाभ लिन सो अनुसारको जनशक्ति नै आवश्यक हुन्छ ।

थप केही भन्न चाहनुहुन्छ ?
गुणस्तरबारे हाम्रा सबै उपभोक्ताहरू सजग भई दिएकै कारण बजारमा गुणस्तरीय सामानहरूको उपलब्धता बढ्दो छ । विगतका दिनहरू भन्दा अहिले क्रमशः यसमा बढोत्तरी भइरहेको हामीले पाएका छौँ । यो गतिलाई हामीले निरन्तर अघि बढाउँछौँ ।

गुणस्तर हामी सबैको जीवन पद्धतिको एउटा अभिन्न अङ्ग पनि भएकोले यसलाई कायम राख्न आम नागरिक र सरकार एकसाथ अगाडि बढ्नुपर्छ । आगामी दिनहरूमा पनि हामीलाई सबैको सहयोग र साथ दिनु हुनेछ भन्ने अपेक्षा गरेका छौँ । मूलतः आम नागरिक तथा उपभोक्ताहरूबाट देखाइने सचेतना र जागरूकता जतिको प्रभावकारिता गुणस्तरीय बस्तुको प्रवर्द्धनको लागि अरू हुनै सक्दैन ।

 

Tags :
प्रतिक्रिया दिनुहोस