उदार आर्थिक नीतिले मुलुक समृद्ध बन्छ : पूर्वमन्त्री डा. महत « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

उदार आर्थिक नीतिले मुलुक समृद्ध बन्छ : पूर्वमन्त्री डा. महत


२९ फाल्गुन २०७७, शनिबार


संघीय संरचना

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने बताएका छन् । नेपाल वितरक महासङ्घ केन्द्रीय समितिको आज तनहुँको दमौलीमा आयोजित नवौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै डा. महतले उक्त कुरा बताएका हुन् ।

उदार अर्थ नीतिले केबल देश विकास मात्र नभई आर्थिक गतिविधि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पु¥याउने डा. महतले बताए । ‘देशको राजश्व बढाउनका लागि उदार अर्थ नीतिको आवश्यक छ, किनभने आर्थिक गतिविधि बढाउने सरकारको मात्रै जिम्मेवारी होइन’, उनले भने, ‘सरकारले गर्नुपर्ने उपयुक्त काम सरकारले नै गर्नुपर्छ । बाँकी काम निजी क्षेत्रको पनि हो ।’

पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, गरीबी निवारण, सामाजिक सुरक्षाका काम सरकारले गर्नुपर्ने र उद्योगधन्दा बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । ‘सरकारले गैरसरकारी र सहकारी क्षेत्रलाई प्रोत्साहन गरेर मुलुक समृद्ध बनाउने वातावरण सिर्जना गर्नुपर्छ’, उनले भने, ‘स्वदेशी र विदेशी पूँजीको लगानी वृद्धि गर्नुपर्छ ।’

स्वदेशी पूँजी संरक्षण गर्दै व्यवसायीको हकहितका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै डा. महतले राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सबैबीच सहमति र सहकार्यको आवश्यकता रहेको चर्चा गरे । उद्योगी, व्यवसायीलाई शोषण गर्न नहुने बताउँदै पूर्वमन्त्री डा. महतले व्यवसायीले पनि सही ढङ्गबाट कर तिर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाल वितरक महासङ्घका केन्द्रीय अध्यक्ष सुरेश अधिकारीले वितरक महासङ्घलाई सरकारले अन्य व्यवसायीसरह हेर्न नहुने बताए । साधारणसभामा ४४ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरी करीब ५०० जना सहभागी छन् ।

कार्यक्रममा व्यवसायीले अनुगमनका क्रममा हतोत्साही बनाउने काम भएको बताउँदै अस्थिर राजनीतिका कारण व्यवसायी ढुक्क हुने स्थिति नरहेको गुनासो गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस