सचिवलाई कार्यालयमै रक्सी उपहारले रह्यो त सिँहदरवारको गरिमा ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सचिवलाई कार्यालयमै रक्सी उपहारले रह्यो त सिँहदरवारको गरिमा !


११ माघ २०७७, आइतबार


काठमाडौँ । दसैँ तिहारताकाको घटना हो । शरद ऋतुको त्यस घडीमा सिंहदरवारभित्रको बगैँचामा रङ्गीबिरङ्गी फूलहरू ढकमक्क फूलेका थिए । झलक्क घाम लागेको दिन । दिउँसोको करिब १ बजेको हुँदो हो, निलो प्लेटको नम्बरमा कालो रङ्गको एउटा गाडी सिंहदरवारको दक्षिण गेटबाट प्रवेश हुन्छ । सरासर गुडेको चिल्लो गाडी परराष्ट्र मन्त्रालय अगाडी रोकिन्छ ।

गाडीबाट सर्ट–पाइन्ट लगाएका दुई जना ओर्लिन्छन् । चालकसँगै बसेको व्यक्तिले एक हातमा लिस्ट अनि अर्को हातले फोनमा कुरा गर्दै गाडीबाट झर्छन् । फोन राख्छन् र केहीबेर यताउति नियाल्छन् । केही बेरमै मन्त्रालय भित्रबाट एक जना कर्मचारी आउँछन् । केही बेर कुरा गर्छन् र उनी कार्यालय भित्रै फर्किन्छन् ।

सवारी चालकले लगत्तै गाडीको डिकी खोल्छन् । डिकीबाट निकाल्छन् कूटनीतिक नियोगबाट नेपाल सरकारका सचिवका लागि भनेर पठाइएका उपहारस्वरूप एक कार्टुन भरी रक्सीका बोतल । दुई जनाले ती रक्सीका कार्टुन उठाएर सरासर लिएर मन्त्रालयका सचिव भरत राज पौड्यालको कार्यकक्ष अगाडी टक्र्याउँछन् । उनीहरू करिब सातदेखि ७ मिनेट जति मन्त्रालयभित्र बिताउँछन् र गाडीमा फर्किन्छन् ।

त्यसपछि गाडी हुइँकिएर गृह मन्त्रालयको गेटमा पुग्छ । गेटमा खटिएका प्रहरीले गाडी रोक्छन् । प्रहरीले भित्रबाट आदेशपछि मात्रै पठाउन सक्ने जवाफपछि हातमा रक्सी बाँड्ने लिस्ट बोकेर अगाडीको सिटमा बसेका अधिकारी गाडीबाट झरेर फोन लगाउँछन् । एक छिनमा प्रहरीलाई खबर आउँछ–‘पठाई दिने’

गाडी गृह मन्त्रालयको मुख्य भवन अर्थात् सचिवको ढोकैमा ढक्क रोकिन्छ । उसैगरी दुबै जना गाडीबाट ओर्लिन्छन् र गाडीको डिक्किबाट आकर्षक झोलामा एक बोतल रक्सी बोकेर ढोकाभित्र पस्छन् ।

कोभिडपछि गृह सचिव महेश्वर न्यौपानेले भुइतलाको गौडामा तैनाथ गरेका प्रहरीले उनलाई रोक्न पुग्छन् ।

सचिवज्यूलाई भेट्न भनेपछि ती प्रहरी अधिकारी सचिवलाई सोध्न जान्छन् । ‘पठाई दिनु’ भन्ने आदेश पछि उनी झोलामा रक्सी बोकेर सचिवको कार्यकक्षमा पस्छन् । करिब तीन मिनेटपछि उनी बाहिर निस्कन्छन् र पुन गाडीबाट उसैगरी झोलामा एक बोतल रक्सी बोकेर भित्र पस्छन् । पहिलो खेप सचिवलाई छोडेका उनले दोस्रो खेपमा भने कसलाई दिए त्यो भने दिने र लिनेलाई नै थाहा होला । रक्सी छोडेर गएको गाडी बाहिरिँदै गर्दा सचिवलाई छोडेको रक्सीको बोतल एक प्रहरीले उनको रातो नम्बर प्लेटको गाडीमा पछाडिको ढोका खोलेर राख्छन् ।

गृह मन्त्रालयमा ती उपहार टक्र्याइसकेपछि गाडी पश्चिमी गेटबाट बाहिरिन्छ ।

यो त एउटा उदाहरण मात्रै हो । हरेक वर्ष जसो केही दूतावासहरूले सिंहदरवारभित्रै पुगेर चाँडबाँडको नाममा आफ्नो काम पर्ने मन्त्रालयका सचिवहरूलाई दिउँसै रक्सी बाँड्दै आएका छन् । देशको प्रमुख प्रशासनिक निकाय सिँहदरवारमै दिउँसै प्रशासनिक उच्च नेतृत्वलाई रक्सी वितरण गर्नु कुनै हिसाबले ठिक नभएको बताउँछन् केही सचिवहरू । ‘यो हेपाहाको पनि हद नाघेको हो’ एक सचिव भन्छन्, ‘आफ्नो काम पर्ने मन्त्रालयका सचिवलाई एक बोतल रक्सी दिएर काम गराउने गरेको देखिन्छ’

कुनै अवसरमा घरमा खाना खान बोलाउँदा बोकेर जानुलाई ठिकै सम्म भन्न सकिए पनि सचिवजस्तो व्यक्तिलाई सिंहदरवारभित्रै कार्यकक्षमै पुगेर खुलेआम दिनु र लिनु दुवै ठिक नभएको ती सचिवको भनाई छ ।

संसारका धेरैजसो मुलुकहरूले विदेशस्थित दुतावासहरुमार्फत् महत्त्वपूर्ण चाँडबाँडका समयमा आ-आफ्नो देशको चलन अनुसार सम्बन्धित निकायका विशिष्ट पदाधिकारीहरूलाई उपहार टक्र्याउनु सामान्य मान्छन् तर कतिपय हाम्रो जस्तो आफ्नै किसिमको सामाजिक मूल्यमान्यता र संस्कार भएका मुलुकले अन्य देशका यस्ता चलनलाई आत्मसात् गर्नु राम्रो हैन । हामीले उनीहरूको चलन सहजै ग्रहण गरेर भित्र्याउन थाल्यौ भने हाम्रो पहिचान नै के रह्यो र ! यहाँ रक्सीलाई व्यक्तिगत रूपमा बाहिर कतै उपहार लिनु दिनु सामान्य मान्न सकिएला तर खुलेआम देशको मुख्य प्रशासनिक भवनभित्रै यसरी रक्सी उपहार दिनदहाडै बाँड्दै जानु खेदजनक कार्य हैन र ?

यहाँनेर हामीले उपहार लिनेदिने कार्यको विरोध गरेका हैनौँ तर हाम्रो मर्यादा, संस्कार, चलन, मुलुकको मूल्यमान्यतालाई ख्याल राखेर सही समय, सही ठाउँ र सही प्रक्रियाबाट बाहिरबाट आएका यस्ता उपहारहरू लिनदिने व्यवस्था गरियोस् भन्ने हाम्रो मान्यता हो । विदेशीहरूले चलनका नाममा हाम्रो प्रशासनलाई नहेपोस् र सामाजिक सांस्कृतिक धरोहरमाथि धावा नबोलोस् भन्ने मात्रै हो ।

हरेक साल चाडपर्वको बेला हुने यस्ता कार्यको अघिल्ला केही वर्ष चौतर्फी विरोध र आलोचना भएपछि प्रधानमन्त्री कार्यालयस्थित प्रशासन महाशामहाशाखाले सिंहदरवारभित्र विदेशस्थित कूटनीतिक नियोगबाट उपहारस्वरूप पठाइएका रक्सी भित्र नछिराउनु भनेर आदेश दिएपछि प्रहरीले रोकेको थियो । यसपालि आदेश दिने सचिव अवकाश भई सकेका थिए भने कार्यान्वयन गराउने सहसचिव र उपसचिव पनि सो महाशाखा/शाखामा थिएनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव लाल शंकर घिमिरेले प्रधानमन्त्री कार्यालय भित्र ल्याउँदै गरेको रक्सी फिर्ता मात्रै गराएका थिएनन् कि सिंहदरवारको मुलगेटबाटै रक्सी बोकेको गाडी पस्न नदिन निर्देशन दिएका थिए । घिमिरेको निर्देशनपछि दुई वर्ष जति खुलेआम सिंहदरवारभित्र रक्सी बाँड्न बन्द भएको थियो । उही प्रवृत्ति दोहोर्‍याइयो । कुनै पनि प्रशासनिक ठाउँमा सिस्टम बनाएर मात्रै हुँदैन सिस्टम लागू गर्ने कर्मचारी नै सुध्रिन जरुरी छ ।

त्यसो त उपहारका नाममा अनेक इन्ट्रेस्ट ग्रुपहरूबाट वहुथरी असुल्ने सचिव तथा सहसचिवहरूको सङ्ख्या पनि कमी छैन । काम मिलाई दिएबापत छोराछोरीको चाहअनुसार घरैमा सामान मगाउनेहरूका बारेमा बुझाउनेहरूका कुरा सुन्दा के के न भन्दा देख्नेलाई लाज भनेजस्तै छ । यसबारे प्रधानमन्त्री तहबाट नै विशेष निगरानी र कडाइ गरिएन भने निजामतीको साख धुलोमा मिसिने पक्का छ ।

नेपाल सरकारको भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (५)को उपदफा (१) बमोजिमको व्यवस्थाअनुसार दान, दातव्य, उपहार वा चन्दा लिने सम्बन्धमा, आफू बहाल रहेको पद अनुसार सम्पादन गर्नु पर्ने कुनै काममा कुनै प्रकारले असर पर्न सक्ने गरी कुनै राष्ट्रसेवकले कसैबाट नेपाल सरकार वा सार्वजनिक संस्थाको पूर्व स्वीकृति नलिई आफूले वा आफ्नो परिवारको कुनै सदस्य वा अरू कसैद्वारा कुनै प्रकारको दान, दातव्य, उपहार, कोसेली, चन्दा वा कुनै किसिमको लाभ स्वीकार गर्ने वा आफू बहाल रहेको पद अनुसार सम्पादन गर्नु पर्ने कामसँग सम्बन्धित व्यक्तिसँग सापटी लिने राष्ट्रसेवकलाई कसुरको मात्रा अनुसार तीन महिनादेखि छ महिनासम्म कैद गरी बिगो जफत गरिनेछ भनिएको छ । सिंहदरवारभित्रै कार्यालय समयमै राष्ट्रसेवकले रक्सी उपहार ग्रहण गर्दा कुनै काममा असर पर्‍यो कि परेन रु रक्सी उपहार लिन निज राष्ट्रसेवक कर्मचारीले नेपाल सरकार वा सार्वजनिक संस्थाको पूर्व स्वीकृति लिए या लिएनन् रु यो ऐनमा उल्लेखित व्यवस्थाले यस घटनालाई सम्बोधन गर्छ या गर्दैन रु त्यो कानुनका जानकारहरूको बहसको विषय होला । तर यो मुलुकको एउटा सचेत नागरिकका हैसियतले हामीले कुनै पनि राष्ट्रिय सरोकारका विषयमा बहस र छलफल गर्न पनि जरुरी देखिन्छ ।

मुलुकको इज्जत सिंहदरवारले धानेको छ । सिंहदरवार हाम्रो शान हो । सिंहदरवार हाम्रो मान हो । सिंहदरवारको इज्जत नै हामी नेपालीको इज्जत हो । सिंहदरवारको गरिमालाई सगरमाथा झैँ अटल राखिराख्नु हाम्रो कर्तव्य पनि हो ।

सिंहदरवार भौतिक शृङ्गार पटार गरेर मात्रै सुन्दर बन्दैन । यहाँभित्रका कर्मचारीले गर्ने व्यवहार, यहाँभित्रको संस्कार, यहाँभित्र रहने कर्मचारीका असल प्रवृत्तिले सिंहदरवारलाई सुन्दर बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ । अझ पथप्रदर्शक मानिने सचिवहरूले झन् सजग रहन जरुरी हुन्छ । अन्य मुलुकका चालचलनको सिको गर्नुको साटो बरु आफ्नै देशको चालचलन, सामाजिक मूल्यमान्यता, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नेतर्फ ध्यान दिन सके अझै सिंहदरवारको गरिमा बढ्न सक्ला कि ?

Tags :
प्रतिक्रिया दिनुहोस