कूटनीतिक सम्बन्धका मामलाहरू « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कूटनीतिक सम्बन्धका मामलाहरू


२७ आश्विन २०७७, मंगलबार


विषय प्रवेश :
कूटनीतिक मामिलाहरू अन्तर्राष्ट्रियकरण, राष्ट्रियकरणका विविध परिवेश र पृष्ठभूमिले माग गरे अनुरूप अध्ययन, विश्लेषण र निष्कर्षमा पुगिने विद्या हो । ज्ञान आर्जनको अद्वितीय प्राकृतिक नियमहरूको राज्यकौशलता प्रतिबिम्बित गर्ने शासकीय, प्रशासकीय तथा व्यवस्थापकीय सीपको प्रयोग समेत परराष्ट्र सेवामा झल्कनु पर्छ । समयानुसार राज्य नीति, दिव्य नीति, विश्व/कूटनीतिको पराकम्पसँगै उत्पन्न परिस्थितिलाई बुझ्न सकिएन भने कूटनीतिक अभ्यासलाई “मृत घोषणा” गरिदिँदा हुन्छ । राष्ट्रको पहिचान कूटनीतिक सम्बन्धबाटै हुने हो । कूटनीतिमा शत्रुतापूर्ण र मित्र–मिलनसारिता, आत्मनिर्णय गर्ने राज्यको क्षमता, राज्यलाई प्राप्त सार्वभौम विशेषाधिकार, सम्पूर्ण राज्य शक्तिको आधार र तत्कालीन शक्ति सन्तुलनको परिवेशलाई बोध गरी प्रमाणीकरण गर्न कूटनीतिको प्रमाणीकरण गर्दै जानुपर्छ ।

कमसेकम पुस्तान्तरणमा बहुराष्ट्रिय सङ्कटको सामना गर्न नपरोस्, राज्यले दुःख नपाओस् । राज्यका सार्वभौमिकताहरू, सिर्जनाहरू, विकासहरू, पुस्ताहरू सुख, हर्ष र गौरव गाथाले बाँच्न पाउन् । कूटनीतिको सत्य “साक्षात्कार” भनेकै समाज, संस्कृति, राज्यले अपनाएको राजनीतिक लिगेसी तथा आर्थिक नीति, मूल्य, मूल्य बोध गराउने दार्शनिक सङ्घर्षहरूको महान् सम्मिलनबाट प्राप्त सारभूत अनुभवको जिजीविषा समेत हो । कूटनीतिक मामिलामा अनुभव जन्य विषयहरू समेटिँदै जानुपर्छ । अहिलेको आवश्यकता नै पब्लिक डिप्लोमेशी हो । शान्त कूटनीतिको खोज हो ।

सन्दर्भ :
सन् १९९० को दशकबाट नयाँ शक्तिको उद्भवसँगै तीव्रतम समाज विकासले अग्रगामी छलाङ मार्दै तेस्रो विश्वका खास गरी एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी निर्धन राष्ट्रहरूमा कूटनीतिक संकटमोचनको परिघटना सार्वजनिकीकरण भए । भीमकाय प्रथम विश्व र जर्जर आर्थिक अवस्थाका निमुखा राज्यहरूको कूटनीतिक दाउपेच, स्वार्थपूर्ण टसमसले सार्वभौमिकताहरू विशेषतः नागरिक स्तरका विकासका गतिहरूमा हलचल पैदा भए । बलियो अन्तर्राष्ट्रिय सङ्गठनको समर्थन खोज्ने राष्ट्रिय राजनैतिक आन्दोलन, बलिदान, विकास र क्रान्तिलाई दाउमा राखेर सम्बृद्धिको खोजीमा अन्धाधुन्ध दौत्य सम्बन्ध विस्तार र स्वार्थको “साम्राज्य” खोजी गर्ने राष्ट्रहरू “घनचक्कर” मा फस्न थाले । यस्ता अभ्यास प्रायः कूटनीतिक मामलाका जानकार विशिष्ट प्रतिभाहरू, दशक विकासशील, अल्पविकसित, द्वन्दग्रस्त र भोकमरीले गुज्रेका मुलुकहरूमा मिहिन ढङ्गले राज्यको ल्याकत बुझेर जिम्मेवारी वहन गरेका राजदूतहरूले समेत कूटनीतिक विमर्श गर्न नसकेको समकालीन यथार्थ हो । कोरोना महामारीबाट कूटनीति विश्वले “आईन्सटाइन मस्तिष्क” को खोज गरेको छ ।

मेकियाबेलीले १५३२ “दी प्रिन्स” मा भनेका छन्, “राज्यको सुरक्षा नै प्रमुख मान्यता हो । सिंह (शक्तिशाली) र फ्याउरोको भूमिका नै कूटनीतिक द्वन्द्व हो ।” तपाईँ हामीलाई पनि थाहा छ की घना जङ्गलमा एक बलशाली सिंह जो कुशल सिकार गर्न सक्छ, उसले फ्याउरोलाई लखेटी लखेटी थकाएर अन्ततः इहलीला समाप्त गर्छ । अतः हामीमा सामान्य चाणक्य नीतिको ख्याल गरेर चतुर कलाको निरन्तर अभ्यास हुनुपर्छ । विश्वको शीतयुद्धको अन्त्य (१९९१) हुनुभन्दा अगाडी संयुक्त राज्य अमेरिका र सोभियत संघको ऐतिहासिक सम्झौताले जर्मनीमा नाजी तन्त्र (सन् १९३० मा) नै खतम भयो । कूटनीतिमा यस्तै खेल भई रहन्छ र हुनुपर्छ । हाम्रोमा पनि नेकपा माओवादी र सात राजनीतिक दलबीचको १२ बुँदे सहमतिले २०६३ मंसिर ५ मा शान्ति सम्झौता सम्पन्न भई नेपालबाट सामन्ती राजतन्त्रको समूल अन्त्य भयो ।

महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको फ्युजनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मार्गचित्रमा नेपाल हिँडिरहेको छ । यसका प्रमुख सारथि पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका बाम घटक शक्तिहरू र नेपालको प्रजातान्त्रिक शक्ति नेपाली काँग्रेसको नेतृत्वले कूटनीतिक पहलमा कार्यकारी भूमिका निभाउन सकेका छैनन् । नेपालको शान्तिपूर्ण कूटनीतिको शिखरमा धक्का लाग्ने गरी कूटनीतिले स्थान पाउने हो की भन्ने आशङ्का छ ।

समकालीन कूटनीतिक मामिलाहरूकै प्रसङ्ग कोट्याउँदै जाने हो भने आजको दुनियाँमा विश्वव्यापी प्रतिआतंकबाद विरुद्ध अग्र मोर्चामा खडा भएको नेटो शक्तिहरू २५ वर्षदेखि आफ्ना ४१ भन्दा बढी सहयात्रीहरूसँग घनिभूत हुन सकेको छैन । इस्लाम धर्म समूह, सबै समाजवादी शिविरमाथि र सार्वभौम मुलुकप्रति अमेरिकी विदेश नीति क्रूर बन्दै गएको छ । उनीहरू (अमेरिका) बारुद, साना र हलुङ्गा हतियार र सजिलै मार हान्न सक्ने एयर मिसाइल निर्माण गरी नेटो सदस्यहरूको रक्षात्मक रणनीतिमा खुम्चिएका छन् । रासायनिक, जैविक, विकीरणीय तथा न्युक्लिक पदार्थ र विद्युतीय युद्धमा सैन्य कौशलता प्रदर्शन गर्नुपर्ने, संसारलाई विश्व शान्ति, मानवअधिकारको प्रत्याभूति र प्रजातन्त्र रक्षाका लागि “शान्त तलाउ” बन्नुपर्नेमा चीन लगायत विकास साझेदार र विकासशील राष्ट्रहरूमा द्वन्द्वको बीजारोपण गरिरहेको छ ।

यो विशाल साम्राज्यवादका तथाकथित नेटोले प्रतिआतंकवाद विरुद्ध ७० प्रतिशत सुरक्षा बजेटको प्रबन्ध गर्दा समेत प्रतिआतंकवादमाथि विजय प्राप्त गर्न सकेको छैन । विश्व जनलहर शान्ति, सद्भाव, भ्रातृत्व र स्वतन्त्रतातिर उन्मुख तर परिस्थिति बर्बर आतङ्कवाद तर्फ मुखरित हुँदा समेत ६० प्रतिशत विश्वका नागरिकको सुरक्षाको ठेक्का लिएको नेटो कूटनीति अन्ततः रनभुल्लमा छ । विश्व समाज आतङ्कवादबाट मुक्त हुन सकेको छैन । यो विश्वको माग हो ।

स्मरण रहोस् आजपर्यन्त नेटोले ब्यालेष्टिक मिसाइलयुक्त रक्षा प्रणालीलाई स्याटलाइटमा आधारित राडार जडान गरेर सेन्सरमय बनाएको मात्र छैन, सैन्य कूटनीति अनुसार समुन्द्री सेन्सर सुटरसँगै समग्र मोर्चाको हाइ कमान्ड सम्हालिरहेको देखिन्छ । यस्तो अत्याधुनिक सैन्य विज्ञानले सुसज्जित हुँदासमेत विश्व आतङ्कवादलाई नियन्त्रण गर्न नसक्नु ठूलो लज्जा हो । यी सम्प्रदाय (आतंकवाद) प्रायः विवेक शून्य, जातिवादी, अन्धविश्वास, रुढीवादले ग्रस्त र केही पागलपनहरू बोकेका लम्फाजी भएको (टाइनवी २००१) समेतले उल्लेख गरेको छ ।

मानव समुदायका लागि कोभिड–१९ जस्तै आतङ्कपूर्ण धुन्धुकारिमा लागेका यस्ता उग्र आतंकवादीहरुलाई काउन्टर दिइराख्न भने नेटो सेना सफल छ । आफ्नो क्षमतालाई बढाई राख्न नेटोले अस्ट्रेलिया, जापान, न्यूजिल्याण्ड तथा दक्षिण कोरियासँग कूटनीतिक “हातेमालो” कायम गरेको पछिल्लो अपडेट हो । यसको नेतृत्व वा सुपरपावरका हिसाबले अमेरिका भए पनि ट्रम्प प्रशासनले कूटनीतिक नैतिकता भने लाजमर्दो र गिर्दो ढङ्गले सञ्चालन गरेको छ । अमेरिकी इतिहासलाई समेत गिज्याई रहेको छ ।

अमेरिकी र चिनियाँ कूटनीतिक युद्ध :
कतिपयलाई अचम्म लाग्न सक्छ की अमेरिकी एफबीआई तथा चिनियाँ गुप्तचरहरू दैनिक १० घण्टा प्रति जासुसी विज्ञानमा सिङ्गो राज्यसत्ताको सामर्थ्य खर्च गर्छन् । एक अर्काको कूटनीतिक मामलाहरू आफ्नो पक्षमा हत्याउन सेक्सपियरको नाटकीय “दर्दनाक पीडा” कै हालतमा रहेका यी दुई साम्राज्य नेपालका वीर बलभद्र जस्तै घमासान युद्धको दोसाँधमा छन् । यी दुई मुलुक सन् १९९७ को बेल ग्रेडको बमबार्ड भन्दा खतरनाक स्थितिबाट गुज्रिरहेका छन् । सिङ्गो विश्व कोभिड–१९ को पीडाले छटपटाई रहेको बेला यी राष्ट्रहरू पछिल्लो समय दूतावास बन्द गराउने स्थितिमा त्यत्तिकै पुगेका पक्कै छैनन् ।

हाल बेइजिङको चाहना, एसियन पूर्वाधार लगानी बैङ्क मार्फत चिनियाँ विशेषताहरूमा आधारित संसारमा नयाँ मूल्य बोधको सृष्टि गर्दै कोरोनामुक्त विश्वको आकाङ्क्षासहित केन्द्रीय भूमिकामा रहनु हो । यो अमेरिकाले राम्रोसँग बुझेको छ । यस कारणले नै यी दुई मुलुकबिच द्वन्द्व छ । यत्तिका पहल कदमीमा सफल बनिसकेको चीनी जनताहरू अमेरिकासँगको विशाल सम्बन्ध भने तोड्न चाहँदैनन् । यो अमेरिकनहरूले बुझ्नु पर्छ । संसारभर चिनियाँहरू कूटनीतिक सम्बन्धहरू तोड्न चाहँदैनन् । रोचक त के छ भने सन् २०२० को जनवरी २०, २४ मा स्वीजरल्याण्डको डाबोसमा सम्पन्न ५० औँ सम्मेलनबाट जलवायु परिवर्तनको मुद्दा उठान हुनासाथ अमेरिका उक्त फोरमबाट भागेको छ । उसले राष्ट्रसंघको भूमिकामा आफ्नो स्थान सुरक्षित गर्न सकेन । महाशक्ति अमेरिका साईबर मुद्दामा रुससँग पराजित छ । विश्व ज्ञानमा आधारित कूटनीति व्यवस्थापन र विज्ञान प्रविधिमा चीनसँग नराम्रोसँग पछाडि परेको कूटनीतिक विश्लेषकहरूको दाबी छ ।

१८ औँ शताब्दीदेखिको सम्बन्धमा दरार आयो । हाल निक्सन कै पालाको पुनरावृत्ति भयो । थोरै कूटनीतिक इतिहास हे¥यो भने थाहा हुन्छ की चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको चरम उत्कर्षमा समेत जोऊ इनलाईको कूटनीति भने ज्यादै बिनम्री, सार्वभौम खालको र राम्रो नियत भएको चर्चा त्यति बेला हुन्थ्यो । चीनसँग जोडिने अर्को प्रसङ्ग र आधार माओसेतुङ हुन् । उच्च दार्शनिक एवं सबल कूटनीतिज्ञ माओले उन्नत राजनीतिक योगदान गरेकाले यसैको योगदानमा टेकेर देङले सन् १९७८ को विशाल चार रणनीति कृषि, उद्योग, विज्ञान र सैन्य क्षेत्रमा चीनलाई अन्तर्राष्ट्रिय प्रवेश र आधुनिकीकरणको एसियाली नमुना बनाई दिए । यो सारा सम्भवका पछाडि १९ औँ शताब्दीका जीवित शब्दकोश, तेस्रो विश्वको मुक्तिदाता तथा उच्च कोटीका महामानव माओलाई नै जान्छ । चीनले आधुनिक आर्थिक कूटनीतिलाई युरोशियन तथा युरोजोनमा दर्बिलो उपस्थितिका साथ वित्तीय सङ्कट समाधानार्थ “प्रो–चिनियाँ” लगानी (१६+१) गरी द्विपक्षीय र बहुपक्षीय समूहहरू बीच सुदृढ आर्थिक कूटनीतिलाई युद्ध स्तरमा विकास गरेको छ ।

अबका दिनमा अन्तर्राष्ट्रिय समाज, बौद्धिक समुदाय, सन्जालीकृत विश्व समाज, सिङ्गो प्राज्ञिक समाज, अन्तर्राष्ट्रिय कानुन, राष्ट्र सङ्घका बडापत्र, अन्तर्देशीय प्रतिबद्धता र सार्वभौम प्रस्तुति जस्ता फराकिला कूटनीतिक आधारको तस्बिरलाई स्वमूल्याङ्कन गरिनु पर्छ । पश्चिमा र पूर्वी मुलुक बिचको तिक्तता कम गर्दै नेपाल जस्तो निम्न आर्थिक स्तर भएको सार्वभौम मुलुकको स्वतन्त्रतालाई समेत सुरक्षित सञ्चालन गर्ने विश्व स्तरीय असल कूटनीतिक सम्बन्ध हुनुपर्छ । एक आपसमा अविश्वासको खडेरी हुनु भएन ।

निष्कर्ष :
चीन, अमेरिका र अन्य मित्रराष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्बन्धका पहेलीका साथै मैत्री सम्बन्ध बहुराष्ट्रिय कूटनीतिक सम्बन्धका ढङ्गबाट सञ्चालित हुनुपर्छ । यो युग बोध हो । उपराज्य संरचना विस्तार, विश्वव्यापी कूटनीतिक मुद्दाहरू, समुन्द्र जस्तै फराकिला अन्तर्राष्ट्रिय बौद्धिकहरूको तार्किकता र विश्वसनीय आधिकारिकता, इ–सुरक्षा, विद्युतीय आम सञ्चार, विशाल डाटा, साइबर सुरक्षा, समावेशीकरणका डिजिटल अवरोधका सम्बन्धमा कूटनीतिक मामिला विश्लेषण हुन्छ । आज नेपाल अमेरिकी डक्ट्रिनमा हिँड्दा एमसीसी प्रकरणमा फसेको छ । नेपाल अमेरिकी सैन्य कूटनीतिको अङ्ग होइन । हुँदा पनि होइन । विशुद्ध आर्थिक प्याकेजमा विकल्प खोज्नु र एमसीसी प्रोजेक्ट खारेज गर्नु कूटनीतिक बुद्धिमत्ता हुनेछ । अन्यथा अमेरिका पहिलो दातामुलुक भएतापनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने पहिलो मुलुक नबनोस् । ज्ञान होस्, देशभक्तिपूर्ण सामर्थ्यलाई नेपालीले गुमाउने छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस