वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय


१८ भाद्र २०७७, बिहिबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनीत गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बिहीबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले गौतमको नाम राष्ट्रिय सभामा रहेको रिक्त एक पदमा मनोनयन गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएका हुन् ।

भदौ २० भित्र राष्ट्रिय सभामा रिक्त रहेको एक पदमा मनोनीत गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार सरकारले गौतमको नाम सिफारिस गर्ने भएको हो।

संविधानको धारा ७८ को उपधारा १ बमोजिम गैह्र सांसदका रूपमा मन्त्री बनेका खतिवडा संघीय संसद्को सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरूप अर्थमन्त्रीमा निरन्तरता दिइएको थियो।

भदौ २० गतेपछि अर्थमन्त्रीकै रूपमा निरन्तरता पाउन उनलाई राष्ट्रियसभाको सांसदमा पुनः नियुक्ति गर्नुपर्ने थियो तर बामदेवलाई नियुक्त गर्ने सरकारको निर्णयले खतिवडा पुनः अर्थमन्त्री बन्ने बाटो तत्कालका लागि बन्द भएको छ।

नेकपा सचिवालयले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन यस अगाडि फागुन १४ गते नै मन्त्रीपरिषदमार्फत राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरे पनि निर्णय कार्यान्वयन नहुँदा नेकपामा विवाद उत्पन्न भएको थियो।

खतिवडाको निरन्तरतामा स‌ंवैधानिक जटिलतासमेत देखिएपछि नेकपाले गौतमको नाम सिफारिस गरेको हो। संघीय संसद् अर्थात् प्रतिनिधिसभा वा राष्ट्रियसभाको एक कार्यकालमा एउटै व्यक्ति दुई पटक संसद् सदस्य हुन पाउने व्यवस्था संविधानमा कहींकतै नरहेको भन्दै कानुनविद्ले प्रश्न उठाउँदै आएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस