भुल्न खोज्दा पनि झस्काई रहने भाद्र ७ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भुल्न खोज्दा पनि झस्काई रहने भाद्र ७


७ भाद्र २०७७, आइतबार


“हमन बजार जाई मिलठ, बजारके अस्पतालमे हम्रा फे उपचार करा पाईथि” यो एकजना थारु महिलाले २०७२ सालको भाद्र ७ गतेको घटना पछिको समयमा थारु गाउँमा जाँदा बिरामी बुढोलाई स्थानीय मेडिकलमा उपचार गराई रहेको बेला मसँगको कुराकानीको बखत व्यक्त गरेको वाक्य हो । एक दिन मध्य रातको समयमा मोबाइल बज्यो मैले फोन रिसिभ गरे उताबाट निकै आत्तिएको आवाजमा कुरा गरी रहेको थियो । कुरा गर्दै गर्दा डरले कापेको आवाजमा उताबाट भन्दै थियो हजुर हामीलाई त मार्ने भए बचाउनु पर्‍यो । हामी यहाँ दुईचार घर मात्र पहाडिया छौ अरू सबै थारु बस्ती छ । मान्छे भेला भई रहेका छन् ओहोर दोहोर निकै छ पहाडिया लख्ट्ने भन्दै छन् बचाउनु पर्‍यो । त्यो आवाजले निकै बेचैनी बनायो र राति नै सुरक्षा निकायसँग समन्वय गरेर एक टोली उक्त गाउँ तिर पठायौँ । वास्तवमा भएको केही रहेनछ गर्मीको समयमा रातिमा घर बाहिर स्थानीय थारुहरू बसेर कुरा गरेको सुन्दा डराएको मात्र रहेछन् । थारु देख्दा पहाडिया र पहाडिया देख्दा थारुमा एक अर्का प्रतिको डर पैदा हुँदो रहेछ, मार्न आए भन्ने भ्रम पैदा हुँदो रहेछ ।

माथिका दुई वटा घटनालाई प्रतिनिधि मूलक रुमा मात्र उल्लेख गरिएको हो । यी नै बाट थाहा पउन सकिन्छ टिकापुरको उति बेलाको अवस्था कति भयावह थियो । कोही पनि टिकापुरमा बस्न नचाहने खान पाइन्न रे मार्छन् रे घरबाट कोही निस्कन सकेका छेनन रे भनेर सोध्ने र जिज्ञासा राख्नेको समूह ठुलै थियो । थारु र पहाडिया बिचको डर यति थियो कि देख्दा पनि तर्सने साथी भाइ पनि सङ्गै हिँड्दा अचम्म मान्ने अवस्था सृजना भएको थियो । डर त्रास यति पैदा भयो कि सुरक्षा निकाय पनि डरले अतालिने अवस्था पैदा हुन पुगेको थियो ।

२०७२ साल भाद्र ७ गते टीकापुरमा भएको घटनाले जीवनभर भुल्न नसक्ने पीडा दिएर गएको छ । एउटै गाडीमा एउटै सिटमा चढेर आन्दोलनकारीलाई सम्झाई बुझाई आन्दोलनको रापलाई कम गर्न गएका हामी साथी गुमाएर फर्किँदाको मानसिक अवस्था आज कुनै शब्दद्वारा म व्याख्या गर्न सक्दिन । घटना घट्नु आफैमा दुखद् पक्ष थियो । हामीले गर्ने प्रत्येक योजना र कार्यले सर्वसाधारण जनताको जिउधनको सुरक्षा गर्ने हो । हाम्रो कुन चाहिँ कार्यले यो काम हुन सकेन र अकल्पनीय घटना घट्न पुग्यो ? सोच्न बाध्य बनाउँछ आज । ८ जना सुरक्षाकर्मी र १ नाबालकको हत्या हुँदासम्म पनि सुरक्षा निकायको धैर्यता प्रशासनको संयतमाले मानव अधिकार उल्लङ्घन र ठुलो सङ्ख्यामा हुने धन जनको क्षति जोगिएको हामीले महसुश गरेका छौ । आफू मरेर अरूलाई सामान्य चोटपटक पनि लाग्न नदिनु सुरक्षा निकायको अदम्य साहसिक कार्य थियो ।जुन व्यक्तिको सहादतले देशले संविधान पायो । लामो समय देखिको सङ्क्रमणबाट निकास पायो । जातीय आन्दोलनको राप सेलाएर गयो । सहादत प्राप्त गर्ने महान् असली सहिदहरूलाई उच्च सम्मानका साथ आज हार्दिक श्रद्दाअन्जली अर्पण गर्न चाहन्छु ।

प्रथम पटक टीकापुरमा प्रशासक भएर जाँदा निजामती सेवामा कार्यानुभव ममा थिएन । सुरुकै दिन आन्दोलनकारीहरुले कार्यालयमा थुन्दासम्म पनि मैले उक्त घटनालाई सहजतापूर्वक लिएर आफ्नो काम निरन्तर गरिरहेको थिएँ । वार्ता, छलफल, भेटघाट दैनिक जस्तो गर्ने र वातावरण सहज बनाउन मैले सक्दो भूमिका निर्वाह गरेको थिएँ । विषम परिस्थितमा काम गर्दा सँगै उभिएको साथी घटनास्थलमा सँगसँगै गएको व्यक्ति साथमा नफर्किँदा र सँगै आउन नपाउँदाको पीडा मैले जति अरू कसले भोगेको होला । यस्तो परिस्थितिमा पनि मैले आफ्नो धैर्य, वेग र निष्ठा नगुमाई इमानदारिताका साथ पूर्णरुपमा व्यावसायिक कार्यकुशलता प्रयोग गर्दै मैले आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गरेको थिएँ जस्तो लाग्छ।

मानिसहरू घरबाट बाहिर निस्कन नसकिरहेको बेला गाउँ बस्ती, घरघर र टोल टोलमा पुगेर सहयोग र समन्वय गरेकै थियौँ ।श्रोत साधनको अभावमा पनि घटना अघि र पछि हामीले खेलेको भूमिकाले समाजलाई सही दिशा दिन सकेको विश्वास मैले लिएको छु । रातदिन नभनी मानवीय संवेदनालाई ख्याल गर्दै हर समय तयार हुने र सुरक्षा निकायसँगै स्थलगत निरीक्षणमा गई घटनाको वास्तविकता सम्बन्धित निकायमा जाहेर गर्ने काम गरेका थियौँ ।घटना पश्चात् छानबिन र अनुगमनमा आउने देशी विदेशी, सरकारी एवं गैरसरकारी जो जति समूहहरू टीकापुरमा पुग्दथे उहाँहरूको सुरक्षामा, कार्यमा सहजता र आवश्यक समन्वय गर्ने कुरामा कहिंकतै कमी कमजोरी गरेका थिएनौ । जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष निर्देशन र सम्पर्कमा रही स्थलगत रूपमा भएका घटनाहरूको जानकारी गराउने र सामाजिक सद्भाव बिग्रन नदिनेतर्फ आवश्यक सजकता अपनाई वातावरणलाई सहज बनाउने तर्फ महत्त्वपूर्ण भूमिका निर्वाह गरेकै कारण थप अप्रिय घटना घट्न नपाएको जस्तो लाग्छ।

अज्ञात समूहद्वारा जलाइएका र तोडफोड गरिएका घर टहराहरूको प्रारम्भिक विवरण तयार पारी जिल्ला प्रशासन कार्यालयमा बुझईएको थियो र ती घर टहराहरूको पुनर्निर्माणका लागि नेपाली सेनालाई अनुरोध गरी स्थानीय व्यवसायीसँग बाँस तथा रेडक्रस सोसाइटीसँग त्रिपाल मागेर निर्माण गरी हस्तान्तरण गर्ने काम सम्पन्न भएको थियो । किसानहरूको आग्रहलाई मध्यनजर गर्दै सुरक्षा निकायसँग समन्वय गरी कर्फ्युकै समयमा सार्वजनिक निर्माणका काम सम्पन्न भएका थिए।जनसमुदायहरूबिच रहेको डर त्रासलाई कम गर्दै सामाजिक सद्भाव बढाउनका लागि घरदैलो अभियान सञ्चालन गरी प्रहरी, प्रशासन र जनताबिच बढेको दुरी कम गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थियौँ ।

मिति २०७२/०५/०६ गतेका दिन जिल्ला प्रशासन कार्यालय धनगढीमा भएको सर्वपक्षीय छलफलको निष्कर्ष पछि बेलुका इलाका प्रशासन कार्यालय टीकापुरमा प्रशासनको अगुवाइमा आन्दोलनरत पक्षका नेतृत्वहरू, राजनैतिक दल, विभिन्न सङ्घसंस्था, नागरिक समाजका अगुवा र सुरक्षा निकायका प्रमुखको उपस्थितिमा छलफल कार्यक्रम राखी जिल्लामा भएको सहमति पूर्णरुपमा कार्यान्वयन गर्ने र एकठाँउमा भएको कुरालाई लिएर अर्को ठाउँमा आन्दोलनमा रहेका पक्षले कानुन हातमा नलिने यदि लिएमा कानुन अनुसार कारबाही गर्ने सहमति पनि भएको थियो ।

भाद्र ७ गते बिहानैदेखि म, प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र सशस्त्र प्रहरी उपरीक्षक लक्ष्मण सिंह, इलाका प्रहरी कार्यालय टीकापुरमा बसी सुरक्षा योजना बनाउने, सुरक्षाकर्मी खटाउने र सूचना प्रवाह गर्ने कार्यमा लागिरहेका थियौँ । ११ बजे देखि निषेधाज्ञा जारी भइसकेको थियो । मुनुवातिरबाट आएको जुलुसले निषेधाज्ञा तोडेको खबर पाएपछि हामी तिनै जना घटनास्थलतर्फ गएका थियौँ। घटनाले उग्र रुपलिएपछि र भाग दौड सुरु भएपछि घाइते प्रहरी जवानलाई लिई म अस्पताल गए अस्पतालबाट सशस्त्र प्रहरी गणमा पुग्दासबै कुरा सिद्धि सकेको थियो ।

मैले टिभीमा देखेको महाभारतको दृश्य जस्तो लाग्ने घटना आँखा अगाडी देख्दा ममा होस हवास केही बाँकी थिएन । बेहोसी मै मैले सञ्चार माध्यमबाट नै कर्फयू लागेको समाचार सम्प्रेषण गरी दिन अनुरोध गरेर कर्फयू घोषणा गरेको जानकारी प्रमुख जिल्ला अधिकारीलाई पनि दिए । रणमैदानमा घाइते भएका सुरक्षाकर्मीलाई ट्रकमा राखी अस्पताल लैजाँदा आफूमा उत्पन्न डर र त्रासले अर्ध चेतन अवस्थामा रहेको थिएँ । जुन कुरा सम्झँदा पनि आज ज्यान काँपेर आउँछ । आँखा चिम्लन मन लाग्दछ ।

७ गतेको दुखद घटना पश्चात् स्थानीय राजनैतिक दल, बुद्दीजिबीलाई सम्पर्क गर्ने र थप दुर्घटना हुन नदिने तर्फ सचेतना अपनाएका थियौ । यसका वावजुत पनि जुन खालका घटनाक्रम विकसित भए त्यसको मलाई निकै दुखी बनाएको थियो । ७ र ८ गतेका दिन भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी जिल्ला प्रशासन कार्यालय कैलालीलाई बुझाएका थियौ । पुनः विवरण सङ्कलन गर्नेभनि समिति गठन भए पश्चात् सार्वजनिक सूचना मार्फत सार्वजनिक सुनुवाइ समेत गरी मुचुल्का बनाई टीकापुर घटनाको क्षतिको विवरणको जिल्ला प्रशासन मार्फत सरकारलाई हस्तान्तरण गरे बमोजिम पीडितले राहत तथा क्षतिपूर्ति पनि प्राप्त गरिसकेका छन् ।

सामाजिक सद्भाव बिग्रन नदिनका लागि विभिन्न खालका कार्यक्रम, छलफल गर्नुका साथै घरदैलो अभियान समेत हामीले सञ्चालन गरेका थियौ । जसले प्रशासन र जनताबिचको सम्बन्ध सुमधुर बनाउन सफल भएको थियो । नगरपालिका र गा.वि.स. स्तरमा सर्वपक्षीय कार्यक्रम राखी जनताका गुनासो सुन्ने र आफूले सके जति समन्वय गर्ने हेतुले टीकापुर नगरपालिका, दुगौली, पथरैया, मुनवागा.वि.स.मा भेटघाट कार्यक्रम गरी प्रहरी र प्रशासन प्रतिको डर त्रास र अविश्वास कम गर्न गाउँ गाउँ मा जाने जनता को घर दैलोमा पुगी पिर मर्का बुझ्ने अभियान चलाएका थियौ जसले सद्भाव विकास गरी वातावरण सहज बनाउन मदत गरेको थियो।

पूर्ण सचेत र सजग भई अहोरात्र स्थितिलाई सहज बनाउने वातावरण निर्माण गर्न लागि रह्यौ । अज्ञात समूहद्वारा आगजनी तथा तोडफोड भएका घर टहरा तथा छाप्राको पुनः निर्माणका लागि स्थानी व्यापारी टिकाराम जैसीसँग र नेपाल रेडक्रस टीकापुर शाखासँग सहयोगमा नेपाली सेनालाई जनताको सुझाव बमोजिम निर्माणसमेत सम्पन्न भई पीडित व्यक्तिलाई हस्तान्तरण गरिएको थियो, जुन कामलाई जिल्ला प्रशासनले समेत सकारात्मक रूपमा लिएको थिएन ।

टिकाराम जोशी जसलाई गौरवका साथ नाम लिन चाहन्छु जसले जलेका घर टहरा निर्माण गर्दा सकारात्मक सन्देश जान सक्छ भनी बिचार र स्रोत दुवै उपलब्ध गराई सहयोग गरेका थिए ।

लामो समय कर्फयू लागेको बेलामा स्थानीय कृषकको अनुरोधमा सबै सुरक्षा निकायसँग समन्वय गरी सार्वजनिक निर्माणका काम गर्न सुरक्षा कर्मी र स्थानीय जनतालाई काम गर्नसँगै जाँदा ती काम सफलता पूर्वक सम्पन्न हुन्छन् भन्ने विश्वास कसैलाई थिएन । सिडिओ, सुरक्षा निकायका जिल्लाका हाकिम र क्षेत्रीय हाकिमले त यिनीहरूले अर्को घटना घटाउन आटे भनेर हामीलाई निकै गाली गरे तर नेपाली सेनाको पूर्ण सहयोगले सबै सुरक्षा निकायको उपस्थितिमा गई कुलो निर्माण गर्ने काम सम्पन्न भएको थियो । जुन कामले पछि सामाजिक सद्भाव बढाउन निकै महत्त्वपूर्ण भूमिका खेलेको थियो । कर्फ्युको समयमा बिरामीको उद्धार गर्न, आवागमनलाई सहज बनाउने तथा जनताका सांस्कृतिक कार्यक्रम नरोकिउन् भनी स्थानीय स्तरमा सुरक्षा व्यवस्थालाई सहज बनाई मानवीय जीवनलाई सहज बनाउने भूमिका निर्वाह गर्न स्थानीय सरकारको तर्फबाट हामीले कुनै कसर बाकिँ राखेनौ ।

उक्त घटनामा ज्यान गुमाउने सबै व्यक्ति प्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । एउटै सिटमा बसेर सँगै फिल्डमा खटिएको अनुभवी, अग्रज व्यक्तित्व गुमाएर एक्लै फर्किदा जति पीडा मैले महसुस गरेको छु त्यो भन्दा बढी पीडा र सम्झना जीवनभर रहिरहने छ । ७ गते पछिको परिस्थितिको फाइदा लिई उच्छृङ्खल व्यक्तिले जुन क्रियाकलाप गरे त्यसको पनि दण्ड उनीहरूले पाउनु पर्छ । मान्छे मार्ने जति दोषी छन् अर्काको सम्पत्ति नष्ट गर्ने पनि उति नै दोषी भएकाले उनीहरु पनि कानुनी दायरामा आउनै पर्छ । यो मेरो हिजो देखिको माग हो र रहिरहनेछ । साथै सबै घटना प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

तत्कालीन इलाका प्रशासन कार्यालय प्रमुख रहेका धिताल हाल प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस