कक्षाको भविष्य ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कक्षाको भविष्य !


६ भाद्र २०७७, शनिबार


मे आई कम ईन ! शिक्षक कक्षाकोठामा पसिसकेपछिको अर्थात् नयाँ कक्षा शिक्षणको सुरु दिन जब विद्यार्थीहरू कक्षा सुरु भएको करिब १० मिनेटसम्म कक्षाकोठामा प्रवेश गर्ने र प्राय: सबैले रटान गरेको वा एकै मिलान ब्यहोराको ‘मे आई कम ईन !’ रिङ्गटोन कुनै पनि शिक्षकको लागि नौलो विषय हुन सक्दैन, यो एक औपचारिक कक्षा-शिक्षणको वा शिक्षण कार्यको सबैभन्दा महँगो क्लासिक क्षण नै हो।

विद्यार्थीहरूलाई सिकाउन जब कुनै शिक्षक कक्षाकोठामा प्रवेश गर्थ्यो र ज्ञानको मूलको रूपमा शिक्षकलाई हेरिने अनि घेरिने गरिन्थ्यो। शिक्षकले प्रयोग गर्ने धेरै शैक्षिक सामग्रीहरू कक्षाकोठामा परिचालित हुन्थे। शिक्षक र विद्यार्थी विभिन्न भूमिकामा देखिन्थे। कक्षाकोठामा वा कक्षाबाहिर थुप्रै क्रियाकलापहरू हुन्थे विगतका दिनहरूमा। शैक्षिक जगतमा तत्कालीन समयमा प्रयोगमा ल्याइएका विधि तरिका वा प्रक्रियाहरू पक्कै पनि तत्कालीन परिवेशअनुसार नै थिए। सोही अनुसार शैक्षिक प्रक्रिया सञ्चालनमा थियो र लाभग्राही नै साबित रह्यो। तर हाल आएर अर्थात् सन् २०१९ बाट नै चीनको वुहानबाट सुरु भएको कोभिड-१९ को विश्वव्यापी महामारीपछि विश्‍वकै शैक्षिक प्रणालीमा निकै उथलपुथल गरायो। केही स्थानमा केही समय विद्यालय सञ्चालन गरिए फेरि बन्द गरिए र हालसम्म पनि प्रभावित छन्। केही राष्ट्रहरूले पुरानो शिक्षण सिकाइ क्रियाकलापलाई परिमार्जित गरी वा समयसापेक्ष परिवर्तन गरी भर्चुअल कक्षा सिकाइको माध्यमबाट शैक्षिक क्रियाकलापहरू सञ्चालनमा ल्याएको अवस्था छ। तर अब वर्तमान समयमा त्यो पुरानो शिक्षण सिकाइ क्रियाकलापमा पूर्णतया पहिलाको अवस्थामा फर्किन सकिने कुरा निकै टाढाको कुरा हुन पुगेको छ।

यसै सन्दर्भमा हेर्दा शैक्षिक मापन तथा मूल्याङ्कनको क्षेत्रमा परम्परागत प्रवृत्तिहरू विस्थापित हुने र नवीनतम प्रवृत्ति स्थापित हुने क्रम जारी छ। एकातिर शैक्षिक मापन र मूल्याङ्कनको प्रचलित एवं मुख्य साधन भौतिक रूपमा रहेको कक्षा शिक्षण र सोको मूल्याङ्कन भौतिक उपस्थिति सहितको लिखित परीक्षालाई प्रयोगमा ल्याइने गरेको अवस्था थियो तर, हालको व्यक्तिगत वा सामाजिक दूरी कायम गर्नु पर्ने अवस्था रहेको यस महामारीले त्यसलाई विस्थापित गरेको छ र विद्यार्थीहरूको शैक्षिक वर्ष नै खेर जाने अवस्थामा छ भने, अर्कोतिर शैक्षिक जगत्‍मा थुप्रै नवीन सम्भावना र चुनौतीको रूपमा विज्ञान र प्रविधिको विस्फोटनसँगै ज्ञानात्मक पक्षभन्दा सीप सिकाइलाई बढी महत्त्व प्रदान गर्नुपर्ने अवस्था देखिनु स्वाभाविक नै छ। जसले विद्यार्थीहरूलाई उनीहरूको बाँकी जीवनमा भर पर्ने ज्ञान, सीपको आधार प्रदान गरी उनीहरूलाई परिवर्तित संसारमा परिवर्तनीय हुनुपर्ने तथा बदलिरहेका परिदृश्यहरूलाई प्रतिक्रियामा रूपान्तरण गराउन सकेमा यो मात्र उपलब्धिमूलक हुनेछ।

जसरी कक्षाकोठामा चक डस्टर मोडलमा अध्ययन अध्यापन गरिँदै आएको कुरा टेक्नोलोजी प्रयोगको वृद्धिका कारण विद्यार्थीहरूले नयाँ सिक्ने विधि र विषयहरू अनुकूल बनाई अध्ययन गर्ने वातावरण बनाउनपर्‍यो र बनाउनुपर्ने अवस्था हामीमाझ सिर्जित छ, त्यसरी नै शिक्षकहरूले पनि नयाँ भूमिका र जिम्मेवारीहरू अँगालेर सोही अनुकूल बनाउनुपर्ने देखिन्छ।वर्तमान विश्व शैक्षिक परिदृश्य निकै परिवर्तन हुने अवस्थामा छ र हुदैछ पनि।आज हाम्रो शिक्षण विधि पनि कृत्रिम बुद्धिमत्ता र रोवोटिज्ममा भरोसायोग्य हुँदै गइरहेको छ।

आजभोलि विभिन्न सकारात्मक भूमिकामा देखिने विद्यार्थीहरुमध्ये केहीले विभिन्न सञ्चार माध्यममा शैक्षिक क्षेत्रका विभिन्न ट्रोल बनाई विरोध प्रदर्शन गर्ने गरेको अवस्थाले के चित्रण गर्दछ भने शैक्षिक क्षेत्रमा समयानुकूल परिवर्तन हुन सकेको छैन अर्थात् शैक्षिक वातावरण कमजोर भएको नै हो।

हामीले तत्काल प्रयोगमा ल्याएको अनलाइन कक्षा, एवं भिडियो कन्फ्रेन्स विद्यार्थीहरूलाई सुरुमा‘निकै टाढा कसैलाई भेट्नु’जस्तै अचम्मको कुरा लागेजस्तो देखिएको भए तापनि यसो भनिरहँदा समयानुकूल कुनै परिवर्तन नै नभएको भने चाहिँ होइन। वर्तमान समयमा कक्षाकोठाका अगाडी परम्परागत व्याख्यान विधिभन्दा परियोजनात्मक क्रियाकलापहरू सञ्चालित हुँदै गइरहेका छन्। होम स्कुलिङ्ग नामाकरण गरी कतिपय शैक्षिक संस्थाहरूले सहजीकरण गरेको र अभिभावकहरूले आफ्ना बच्चाहरूलाई अनलाइन क्लासतिर आकर्षित गराउँदै लगेको र बच्चाहरूले पनि उक्त कार्यविधि बढी रोज्न थालिसकेका छन्। तर नेपालको भौगोलिक आधारमा तथा चौतर्फी रूपमा इन्टरनेट र अन्य उपकरणहरूको सहज आपूर्ति लगायतका पक्षहरूले अनलाइन कक्षा सञ्चालन गर्न भनेजस्तो सजिलो नभएको कुरा सुरुवाती समयमा भए तापनि समय परिस्थितिअनुरूप यसमै नढल्किनुको विकल्प पनि त छैन। त्यसैले अब विद्यार्थीहरूलाई यसतर्फ आकर्षित गराइ कक्षाको भविष्य मजबुत बनाउँदै लैजानुपर्ने देखिन्छ। यहाँनेर अब सुधार गर्नुपर्ने विषय के देखिन्छ त भन्दा यदि अनलाइन क्लासको कुनै विषय प्रभावकारी रूपमा सिकाउन असमर्थ भए वा सकिएन भने मात्र फेस-टु-फेस क्लासहरू पूरकको रूपमा प्रयोग गर्ने गरी शैक्षिक क्रियाकलापहरू अगाडि बढाउने क्रम आजैबाट सुरु गर्दा उपलब्धिमूलक हुने देखिन्छ।

शैक्षिक क्षेत्र एक प्रणालीको रूपमा रहेको हुँदा शिक्षक, विद्यार्थीहरू, पाठ्यक्रम लगायतका पक्ष आगतसँग रहेका हुन्छन् भने शिक्षण सिकाइ क्रियाकलाप प्रोसेसिङको रूपमा रहन्छ जुन प्रोसेसिङको माध्यमलाई मात्र समयानुसार परिवर्तन गरी फरक वा भर्चुअल माध्यममा ढल्किनु नै कक्षाको सफल भविष्य हुन सक्छ। जसको प्रयोगको प्रभावकारिता हेरी विद्यार्थीका उपलब्धि, पाठ्यक्रमको प्रभावकारिता, प्रशासनिक कुशलता, शैक्षिक उत्पादन र प्रक्रिया आदीको मूल्याङ्कन गर्न सकिने देखिन्छ।

त्यसैले हामीमाझ अब तत्कालको विकल्प भनेको शैक्षिक क्षेत्रको आर्टिफिसियल इन्टेलिजेन्स र नयाँ पेडागोजी नै प्राथमिक प्राथमिकता हो। जसको प्रयोगसँगै नयाँ अन्वेषण विकास गरी सोको माध्यमबाट विद्यार्थीहरूलाई अपेक्षित उपलब्धिसहितको प्रमाणपत्र लिन मदत पुगोस्।त्यसैले यस प्रविधियुक्त पेडागोजीलाई वर्तमान समयमा एक अवसरको रूपमा प्रयोग गराउँदै जानुपर्ने हुन्छ।यसैलाई आत्मसाथ गर्न सके मात्र शैक्षिक क्षेत्रमा भनेजस्तो नतिजा सुरुवाती समयमा नआए तापनि केही समयपछि सबै यस्तै प्रक्रियामा अभ्यस्त भइसक्दछन् र एक दशक पछिको शैक्षिक क्षेत्रको भविष्य एक कफी गफ जस्तै साँच्चिकै मिठो हुनेमा विश्वस्त रहन सकिन्छ।

[email protected]

Tags :
प्रतिक्रिया दिनुहोस