दरमा ढकनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दरमा ढकनी


४ भाद्र २०७७, बिहिबार


कुनै पनि रीति रिवाज या परम्पराअनुसार व्रत बस्नुभन्दा अघिल्लो दिन शरीरलाई शुद्ध र स्फूर्त राख्नको लागि शुद्ध खानेकुरा खाने चलन हुन्छ । खानाबाट नै मन, आत्मा, चित्त शुद्ध हुने विश्वास रहेकाले पवित्र कार्यअघि खानेकुराको छनोटलाई अति महत्त्व दिइएको पाइन्छ । पछिल्लो दिन व्रत बस्नु पर्दा अघिल्लो दिन रसिलो–पोसिलो खानेकुरा खाँदा व्रतको दिन सजिलो हुन्छ । अझ तिजमा त झन् गाउने नाच्ने चलन हुन्छ, जसले गर्दा थकान हुन्छ र त्यसलाई मेटाउन भनेर पनि दरमा यस्ता खानेकुरा खाने चलन बसेको हुनुपर्छ ।

तिज विशेष गरी घरजम गरेका दिदी बहिनीहरूको लागि अति महत्त्वपूर्ण थियो । वरपरका सम्पूर्ण दिदी बहिनीहरू जम्मा भएर(जो बाल सखा हुन्थे) आलोपालो गरी एक अर्काको घरमा बसी वेदनाका गीत गाउने, आफ्ना दुःख सुखका मनका कुरा पोख्ने चलन हुन्थ्यो तर अहिले आएर आधुनिकताको नाममा विकृति घुसेर आएको छ ।

कता हराए ती पुराना भाका र पुरानो दर खाने परम्परा ? तिजका लय समेटिएका शब्दहरू ? दाजु तीजमा लिन नआएको वियोगान्तमा गाइने गीतहरू ?
‘ससुराले भन्नुहुन्छ, दाइजो थोरै ल्याकि हुन्, सासुले भन्नुहुन्छ दाइजो ल्याइनन् ।
वर्ष दिनको तीजमा बाबा लिन आउँदा, यो घरको चटारोले अघिलाई जान पाइन
वर्षा दिनका तीजमा दाजै लिन आउँदा, यो घरको चटारोले अघिलाई जान पाइन !’

संस्कृतिबाट विमुख हुँदै गइरहेको हाम्रा चाडबाड आधुनिकताको नाममा विकृति घुसाउँदै छाडा बनेको सर्वविदितै छ । कता गए ती विरहीका गीतहरू ? ती हातका थपरिहरु, ती मजुरा, ती खैजंडी ? घरमा फुपू दिदी, दिदी–बहिनीको त्यो रौनक सबै हराए । हाम्रो संस्कृति हामीहरूले नै हो जोगाउने हो, अरू कोही आएर जोगाउने वाला छैन । संस्कृतिलाई कसरी कुन बाटोमा लैजाने भन्ने कुरा कलाकारको हुन्छ तर त्यो समग्र सबै कुरालाई सही तरिकाले अगाडी लैजाने कुरा नेपाली भएको नाताले एक–एक तपाई हामीहरूको पनि हो ।

हरेक कुरा समयसँगै परिमार्जन हुन जरुरी पनि छ तर परिमार्जनको सिलसिलामा आफ्नो विषयवस्तुको मूल्य–मान्यता नै विचलित हुने गरी परिमार्जन गर्नु कतिको जायज हो ? तीज गीत, दोहोरी जस्ता हुन थाले, जहाँ मौलिक लय नै छैन । न त शब्द नै छन् । सासू–ससुराले गरेको दमन र पिडाका रोदनहरू, श्रीमानले किनिदिएको सारीको कुरा, धेरै छोरी भएर दुःख पाएको कुराहरू, उति बेलाको तीज गीतमा झल्किने गर्थे । अनि यस्तै–यस्तै गीतहरू आज पनि उत्तिकै कर्णप्रिय छन् । जस्तै:
कहाँमा जान्छौँ रानी चरी बगाल ? बरिलै भगवानलाई भेट्न ।
भगवानलाई भेट्दा के–के पाहुर ल्याउँछौँ ? बरिलै फुतपाती अछेती
दैलो मुनीको कागतीको बिरुवा, रिमीझिमी पानीमा सारौँ बरिलै
तिम्रो हाम्रो माया–प्रेम बस्यो, धीरे–धीरे माया मारम् बरिलै ।
यसपालिको तिजमा दाजै लिन आएनन्, अग्लो डाँडा हेरि–हेरि रोए बरिलै

तीजमा व्रत बस्नुलाई धर्मसँग जोडिने भएकाले अघिल्लो दिन माछा मासु खाएर व्रत बस्नु शुद्ध मानिँदैन ।

दर एउटा शुद्ध पूर्ण शाकाहारी परिकारहरूको संयोजन हो ! छोरी महिनौँ सासू ससुराको पेलानबाट थकित भएर माइत आएको बेला विशुद्ध परिवार हुन्थ्यो जो कि भाउजू बुहारी पनि माइत गएका हुन्थे । रमाई रमाई खानाका परिकार बनाई पस्कने चलन थियो ! खेतीवारिमा धान रोपाई या कोदो रोपाई सकी सकेको हुन्थ्यो ! आँगन को छेउछाउ लटरम्म घिरौँला, चिचिन्डा सोस्ता, बोडी, टुसा, तामा, काँक्रा, कटहर भरिभराउ हुन्थ्यो ! लहना गाई भैँसी कुड़ी भरि दूध हुने समय पनि पर्थ्यो ।

त्यसैले दर खाँदा ढकनी, तामाको तरकारी, काँक्राको अचार, अनदीको खाजा लगायत खाएर मनाइने परम्परा भएको होला । दर भनेको तीजको अघिल्लो दिन परिवारका महिला सदस्यहरूले खाने मीठो–मिठो परिकार हो । दरका रूपमा चौरासी व्यञ्जन तयार गरिन्छ तर पनि ढकनीलाई दरबाट हटाउने हो भने त्यो दर हुनै सक्दैन । किनभने संस्कृति भनेको परम्परा हो र यसलाई संरक्षण गर्नुपर्छ । त्यस कारण ढकनीलाई दरमा समावेश गर्न नबिर्सौँ ।

१० जनासम्मका लागि ढकनी बनाउँदा देहायनुशारका सामाग्रीहरू आवश्यक पर्दछ ।

अनदीको चामल ५ किलो (चामललाई आधा घण्टासम्म भिजाउने र पानी तारी सुख्खा) बनाउने

घिउ ३०० ग्राम

दूध ६ लिटर

चिनी ४०० ग्राम (मह, मिस्री, गुड, ब्राउन सुगर पनि प्रयोग गर्न सक्नुहुन्छ)

ड्राई फ्रुट्स (काजु, बदाम, किसमिस, छोकडा (२५० ग्राम)

ल्वाङ, सुकुमेल, मरीच एवम् अलैँचीको जै फलको धूलो १ ठुलो चम्चा ।

पकाउने विधि

१. कसौँडीमा घिउ तताउने ।

२. तताइएको घिउमा भिजाएको चामल हालेर सानो आँचमा भुट्ने ।

३. खैरो भएपछि एक छिन सेलाउन दिने ।

४. सेलाएपछि माथिबाट दूध हालेर सानो आँचमा पकाउने ।

५. छोप्दै चलाउँदै गर्ने ।

६. चामल राम्रोसँग पाकेपछि त्यसमा रहेको दूध सुक्न दिने र चिनी हालेर राम्रोसँग चलाउने ।

७. त्यसपछि ड्राई फ्रुट्स हालेर चलाउने ।

८. ल्वाङ, सुकुमेल, मरीच एवं अलैँची जै फलको धूलो राख्ने ।

९. केही समय छोपेर राख्ने ।

अब यो परिकार खानका लागि तयार भयो । घिरौँलाको तरकारी, काँक्राको अचार, गाडेको तामाको अचार, भुटेको आलुसँग दरको आनन्द लिई खाऔँ ।

ढकनी बनाउँदा चिनी, मसला र ड्राइ फ्रुट पाकी सकेपछि मात्र राख्ने । नत्र फाट्न  सक्ने सम्भावना हुन्छ । अन्तिममा आँपको लेदो राखेर आँपको स्वादमा पनि खान सक्नु हुन्छ । चकलेट पाउडर राखेर चकलेटको स्वादमा पनि लिन सक्नुहुन्छ । अन्य फलफूलको पल्प बनाई सेलाई सकेपछि मिश्रण गरी अलग अलग स्वादमा लिन सकिन्छ ।

ढकनीको स्वादसँगै नाचगान तथा शिवजीको आराधना गरौँ ।

सम्पूर्ण हिन्दु धर्मावलम्बी नारीहरूमा तीजको हार्दिक मङ्गलमय शुभकामना !

भण्डारी ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष हुन्

Tags :
प्रतिक्रिया दिनुहोस