सुदूरपश्चिममा उपहार साटासाटसँगै बन्ढुनी बारी ओल्के सङ्क्रान्ति मनाइँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सुदूरपश्चिममा उपहार साटासाटसँगै बन्ढुनी बारी ओल्के सङ्क्रान्ति मनाइँदै


ममता भट्ट

१ भाद्र २०७७, सोमबार


डडेल्धुरा । आज भदौ १ गते । ओल्के सङ्क्रान्ति पर्व । डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाईँदैछ । पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के पर्व सुदूरपश्चिममा आज उल्लासपूर्वक मनाइँदै छ ।

ओल्केको अर्थ आफूभन्दा ठुलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो । डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशमा परम्परागत रूपमा मनाइने मौलिक चाड ‘ओल्के’ सङ्क्रान्तिका रूपमा मनाइन्छ । आजका दिन बन्ढुनी बार्ने । ओल्को रूपमा एक अर्कालाई घरायसी चिज, वस्तु, सामाग्री उपहार दिने प्रचलन छ ।

अमरगढी नगरपालिका–७ स्थित तिलाडीको ऐरी गाउँमा ढोल, दमाहा लगायतका स्थानीय बाजा बजाउँदै चैत धुमारी खेल खेल्दै ओल्के बुढेली मनाइने परम्परा थियो । भदौ २ गते अमरगढी नगरपालिका–६ को दुमडा कालापत्थरमा । तर यो वर्ष भने कोरोना भाइरस सङ्क्रमणको जोखिम भएकाले पर्वको रौनक छैन ।

बुढेली सँगै यहाँका स्थानीयले एक महिना पछि बुढी पोल्ने बन्ढुनी मनाउँछन् । यसका लागि आजै गाउँघर नजिक परम्परागत रूपमा सदियौँदेखि चली आएको प्रचलन अनुसार रुखका हागाबिंगा एकै ठाउँमा थुपारी बन्ढुनी बारिन्छ ।

‘बिसुँ खानु मरुँलो भनी, ओल्के खानु बाँचुलो भनी’ भन्ने मान्यताका साथ यो पर्व मनाइन्छ । खास गरी सुदूरपश्चिमका पहाडी क्षेत्रमा आजै बन्ढुनी बारिन्छ र ठिक एक महिना पछि बुढी पोल्ने भन्दै घर घरबाट आगोको राँको निकाली जलाइन्छ ।

आउँदो असोज १ गते मनाइने सुदूरपश्चिम प्रदेशमा बन्ढुनी सङ्क्रान्तिका लागि बन्ढुनी पोल्ने ठाउँमा विशेष गरी सल्लाको रुख निश्चित एक स्थानमा गाडेर अन्य बोट बिरुवा काठी वरपर राखी जम्मा पारी बन्ढुनी बारिन्छ । जुन असोज १ गतेका दिन बुढी पोल्ने भनी जलाउने गरिन्छ ।

हरेक वर्ष भाद्र सङ्क्रान्तिका दिन मनाइने यो चाडमा आफ्ना मान्यजन छरछिमेकलाई सगुनका रूपमा पिँडालुको कलिलो पात, चिउरीको पात, दूध, दही दिएर स्वागत गर्ने गरिन्छ । सुदूर पश्चिमेली भाषामा ओल्के भन्नाले सौगात, उपहार अर्थात् कोसेली भन्ने बुझिन्छ । यस पर्वमा आफू भन्दा ठुलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप सागपात, फलफूल, मिठा–मिठा खानेकुरा बाँड्नुका साथै महिलाहरूले हातमा मेहन्दी लगाउने प्रचलन रहेको छ ।

ओल्के पर्वमा विवाहित छोरीलाई माइती घरमा आमन्त्रण गरी सेल, पुरी, माणा, निसोसे, डुब्का खिर लगायतका सुदूरपश्चिमका प्रख्यात खानाका मीठा मिठा परिकार पकाएर खाने खुवाउने प्रचलन छ । ओल्के पर्वका दिन भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाउने गरिन्छ ।

भँगेरी फूलको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने र यसले वर्षातको मौसममा खेतबारीमा काम गर्दा हात, खुट्टामा देखिने छाला सम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रही आएको छ । ओल्के सङ्क्रान्तिबाटै हिन्दु धर्मावलम्बीका अन्य चाड बाँड सुरु हुने पण्डित रामचन्द्र भट्ट बताउँछन् ।

ओल्के पर्वलाई गर्मी यामको प्रकोप र महामारीबाट बचेर नवजीवनको प्राप्ति भएको खुसीयालीमा मनाइँदै आएको जनविश्वास छ । सुदूरपश्चिममा ग्रिष्मयामलाई सङ्कटकालको रूपमा र भदौ पछाडिको समयलाई नवजीवन प्राप्तिको रूपमा लिने गरिन्छ ।

आजका दिन श्रद्धालु भक्तजनहरू नजिकैको जलाशयमा गई स्नान गर्नुका साथै मन्दिर एवं देवस्थलमा ओल्को अर्थात् हरिया सागपातहरू चढाउने गर्दछन् । यस पर्वमा महिलाहरू माइत जाने एवं अघिल्लो दिन घर परिवारमा मिष्ठ भोजन लिने प्रचलन रहेको छ ।

द्वापर युगमा भगवान् श्री कृष्णले कुटना बुढीलाई दाह गरेको सम्झनामा असोज एक गते बुढी पोल्ने परम्परा छ । भगवान् श्री कृष्णले कुटुना बुढीलाई दाह जलाउन अघि एक महिना सम्म युद्ध गरेकाले ओल्के पर्वका दिन बुढी बनाई ठिक एक महिना पछि जलाइने पण्डित भट्ट बताउँछन् ।

मानिसमा भएका दुर्व्यवहार, मानवमा आउने नराम्रा कुराहरू, रिस, घमण्डलाई जलाउने रूपमा आश्विन सङ्क्रान्तिका दिन जलाइने पण्डित भट्टको भनाई छ । सदियौँदेखि मनाइँदै आइएको यो चाडको रौनक र महत्त्वका बारेमा बृद्धबृद्धा केही जानकार रहे पनि नयाँ पिँढीका युवायुवती माझ भने यो चाडले प्राथमिकता पाउन छोडेको छ ।

फलस्वरूप सुदूरपश्चिमका मौलिक संस्कृतिका ओल्के जस्ता थुप्रै चाडपर्वको मौलिकता नै हराउन थालेकोमा पण्डित भट्टले चिन्ता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस