सिकाइ र सहयोग : बुझे श्रीखण्ड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिकाइ र सहयोग : बुझे श्रीखण्ड


८ श्रावण २०७७, बिहिबार


कोभिड–१९ का कारण भएको लामो बन्दाबन्दीका बीच बजारमा आएको लेखक खगराज बरालको पुस्तक सिकाइ र सहयोग पढ्दा मलाई दुइटा फाइदा भए । पहिलो, बन्दाबन्दीले दैनिक जीवन पट्यारलाग्दो भइरहेका बेला थोरै–थोरै गरी सात दिन लगाएर पढेकाले एक हप्ताका लागि भए पनि पट्यार कम भयो; दोस्रो, पुस्तकमा व्यक्त विचारले त्यसपछिका थप दुई साता मस्तिष्कलाई व्यस्त बनाए ।

यस पुस्तकमा दैनिक जीवन कसरी अनुशासित बनाउनेदेखि सामाजिक अभ्यासमा कसरी सुधार ल्याउने, पूर्वीय परम्परालाई किन र कसरी जीवन्त राख्ने, कसरी सिकाउने, विदेशका असल अभ्यासबाट हामीले के सिक्ने जस्ता विविध विषयवस्तु समेटिएका छन् ।

लेखकले कथानकका माध्यमबाट बालबालिकाका पक्षमा पैरवी गरेका छन् । बसमा यात्रा गर्दा ७–८ वर्षका बच्चाको भाडाका विषयमा अभिभावक र कन्डक्टर बिच चर्का चर्की हुँदा बच्चा निरीह भई टुलुटुलु हेरी बसेको, भनाभन साम्य होस् भन्ने मनसायले एक छिनपछि सिट समाएर भुइँमा उभिएको र अभिभावकले आफ्नो भाडा तिरिदिएर सिट सुरक्षित राखिदिए हुन्थ्यो भनी गरेको अपेक्षा सार्वजनिक यातायातमा यात्रा गर्ने सबै बालबालिकाको साझा कथा हो । बालबालिकाको यस पीडालाई लेखकले मार्मिक ढङ्गबाट ‘बाल अधिकार र हाम्रा व्यवहार’ शीर्षकमा उतारेका छन् । हाम्रा शौचालय बालमैत्री नहुने, घरमा अभिभावकका रुचिअनुसारका मात्र परिकार पाक्ने बालबालिकाका रुचिअनुसारका नपाक्ने, फर्निचर पनि बालबालिकाले चाहेअनुसारका नहुने र यसबाट बालबालिकालाई पर्ने पीडा यसमा उतारिएको छ । सबै बालबालिकाले भोगेका तर व्यक्त गर्न नसकेका पीडा बालबालिकाका तर्फबाट लेखकले व्यक्त गरिदिएका छन् ।

हाम्रोमा शब्द प्रयोगका विषयमा एक स्थान विशेषकाले अर्को स्थान विशेषकालाई होच्याउने गरेको पाइन्छ । कतै ‘आउँछ’ भनिएला, कतै ‘आम्च’; कतै ‘खाजा’ भनिएला कतै ‘अर्नी’ । तर, एउटा भाषिका बोल्नेले अर्को भाषिका बोल्नेलाई जिस्क्याउने वा तुच्छ ठान्ने गर्नाले सामाजिक सहिष्णुता कायम नरहन सक्छ । विविधतालाई जीवनको इन्द्रेणी मान्ने हो भने जीवन सहज छ, सुन्दर छ । भाइ–भाईबीच, छिमेकी–छिमेकीबीच, गाउँले–गाउँलेबीच र देश–देशबीच फाटो पर्दैन । ‘बुझाइमा अर्थ र अनर्थ’ लेखले बझाङमा ‘गोरु ब्याउने’ र कास्कीमा ‘वस्तु ब्याउने’ प्रसङ्गमामार्फत ठट्यौली पारामा यही सन्देश दिन खोजेको छ ।

मेरो दिमागलाई सबैभन्दा बढी ‘आनुवंशिकताको प्रभाव’ लेखले व्यस्त बनायो । यस लेखमा वर्णशंकरको असर र एउटै गोत्रका दुई प्राणीको संसर्गबाट जन्मेका सन्तानमा विभिन्न समस्या देखिने उल्लेख छ । क्रोमोजोमको सङ्ख्या नै तोकी पूर्वीय परम्परागत मान्यता र पाश्चात्य वैज्ञानिक आधार उल्लेख गर्दै लेखकले यी दुई धारका बाटा फरक भए पनि लक्ष्य एउटै भएको, साधन फरक भए पनि साध्य एउटै भएको दार्शनिक विचार प्रस्तुत गरेका छन् । यसै लेखमा एक ठाउँमा भनेका छन्, “मकै लगाएर गहुँ उत्पादन हुँदैन ।” हुन त गोत्र भिन्नताको महत्त्व दर्साउन यसो भनेका हुन् । तर, यसले उचित सन्तानका लागि गर्भपछिको अवस्थाको मात्र होइन गर्भपूर्वक अवस्थाको पनि उत्तिकै महत्त्व छ भन्ने देखाउँछ । गर्भपूर्वक स्वास्थ्य, गर्भपूर्वक सोच, गर्भपूर्वक खानपान, गर्भपूर्वक काम, आदि । चाल्र्स डार्बिनको ‘सर्भाइवल फर द फिटेस्ट’ को सिद्धान्त मान्ने हो भने पनि अहिलेको प्रतिस्पर्धी विश्वमा जो प्रतिस्पर्धामा खरो उत्रन सक्छ ऊ सफल हुन सक्छ । यसका लागि व्यक्तिको गर्भपश्चात्को मात्र नभई गर्भपूर्वक स्वास्थ्य, खानपान, सोच, काम पनि उचित हुनुपर्छ । तब मात्र देशले सही अर्थमा मानव पुँजी प्राप्त गर्न सक्छ । लेखको अन्तर्निहित अर्थ यही हो ।

दैनिक जीवनलाई अनुशासित बनाउनुपर्नेमा लेखकको जिकिर छ । निम्तालाई चार किसिममा विभाजन गरिएको छ— निम्ता गर्नै पर्ने, निम्ता गर्दा राम्रो हुने, निम्ता गरे पनि हुने/नगरे पनि हुने र निम्ता गर्नै नपर्ने । सोही अनुसार निम्ता मान्न जाने वा नजाने बारे पनि चार किसिमका निर्णय हुन सक्छन्— निम्ता मान्न जानै पर्ने, जाँदा राम्रो हुने, गए पनि हुने नगए पनि हुने र जानै नपर्ने । यी नियम लेखकले आफ्नो व्यक्तिगत जीवनमा पनि कडाइका साथ पालना गरेको मैले देखेको छु, उहाँका साथीभाइले भनेको पनि सुनेको छु । उच्च तहको कर्मचारी भएका कारण धेरै निम्ता आइरहने तर निम्ता आउने बित्तिकै यी चार वटा मध्ये कुनचाहिँमा पर्छ विश्लेषण गर्ने र निर्णय लिने लेखकको बानी छ । झट्ट हेर्दा असहज लाग्न सक्छ । तर, जति बुझ्दै गयो उति ठिक लाग्दै जान्छ ।

सिकाइ र सहयोग सिर्जनाका आधार चार वटा ‘अ’ हुन् : अनुभव, अध्ययन, अवलोकन र आदर्श । ‘नाता र सम्बोधन : अनुभव र अनुभूति’, ‘खानपान र हाम्रो चलन’, ‘परामर्शदाता र असङ्गत सोच’ अनुभवका उपज हुन् भने ‘संस्कृतको वास्तविक महत्त्व’ र ‘संस्कृत, संस्कार र संस्कृति’ मा अध्ययनको प्रभाव अधिक छ ।

त्यस्तै, ‘लैङ्गिक पक्ष र परिवेश’ र ‘पर्यटक आकर्षणमा इजिप्सेली अनुभव’ प्रायः अवलोकनमा आधारित छन् भने हरेक लेखमा लेखकका जीवन आदर्श कतै न कतै झल्किन्छन् । यस पुस्तकमा सिकाउने आफ्नै काइदा, पुर्खाको विश्वास, लैङ्गिक सवाल र जापानी परिवेश, जेनेभा बसाइँमा हाम्रो सिकाइ, लैङ्गिक पक्ष र परिवेश, नाता र सम्बोधन : अनुभव र अनुभूति, यात्राबाट सिकेका कुरा, प्रगतिको बाधक : नकारात्मक सोच, लैङ्गिकता र व्यवहारोपयोगी सिप, खानपान र हाम्रो चलन, बानी त कस्तो राम्रो !, क्षतिपूर्ति दाबीमा अनौठो प्रवृत्ति, आचरण र व्यवहार, कार्यक्रम औपचारिक : प्रसङ्ग अनौपचारिक, अनुभव र उपयोग, गृहस्थीमा फर्किएका गुरु र साङ्केतिक भाषाको मर्मजस्ता अन्य विषयहरू संग्रहित छन् ।

भाषा सरल र सहज छ । निबन्ध वा आलेख विद्वताका उपज हुन् र यिनले मनभन्दा पनि मस्तिष्क छुन्छन् भन्ने भाष्य व्याप्त भएको यो जमानामा लेखकले मन र मस्तिष्क दुवै छुने गरी आनुवंशिकता, लैङ्गिकता, बाल अधिकार, सामाजिक अभ्यासजस्ता कठिन विषयवस्तु पनि अति सरल र सहज ढङ्गबाट प्रस्तुत गर्नुभएको छ । मेरी आठ वर्षिया छोरीले यसमा भएका लेख चुर्लुम्म डुबेर पढेकी छिन् । विगत एक हप्तामा उनले पृष्ठ १२५ सम्म पढिसकिन् । हरेक लेखमा उनी चार–पाँच ठाउँमा खतितित्त हाँस्छिन् । उनले के बुझिन् त्यो सोधेको छैन तर उनले केही न केही बुझिन् । उमेरसँगै आफ्नो बुझाइलाई पुनव्र्याख्या गर्दै जालिन् हामीले टाउकोसम्बन्धी भैरव अर्यालको निबन्ध बुझेजस्तै । उतिबेला पनि बुझेकै थियौँ । अहिले पनि बुझेकै छौँ । तर हरेक बुझाइ फरक छ । यद्यपि,  बुझ्न छोडेका छैनौँ । हरेक उमेरका लागि उपयुक्त हुने र उमेर चुलिएसँगै बुझाइ गहिरिँदै जाने गरी लेख पस्कन सक्नु लेखकको लेखकीय खुबी हो ।

शिक्षासँग सम्बन्धित १० वटा र साहित्यसँग सम्बन्धित ६ वटा गरी १६ वटा पुस्तक बजारमा ल्याइसकेका बरालको परिचय हो— पेसाले प्रशासक तर रहरले सर्जक । अरूका लागि ध्यान केन्द्र तपोवन होला, सर्जक बरालका लागि लेखन नै तपोवन हो— पीडा भुलाउने तपोवन, तनाव घटाउने तपोवन । यो पुस्तक यही तपोवनभित्रको श्रीखण्ड हो । यो पुस्तक बालबालिका, युवा, विद्यार्थी, शिक्षक, अभिभावक कर्मचारी जो सुकै र जुन सुकै वर्ग र तहका लागि पठनीय एवम् संग्रहनीय छ ।

प्रतिक्रिया दिनुहोस