‘सेटिङ’ को आशंकापछि रोकियो सहसचिवको अन्तर्वार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘सेटिङ’ को आशंकापछि रोकियो सहसचिवको अन्तर्वार्ता


५ श्रावण २०७७, सोमबार


लोक सेवा

काठमाडौँ । सहसचिव(प्राविधिक) को अन्तर्वाताको सबै तयारी पुरा भइसकेको थियो । उम्मेदवारहरू अन्तर्वाताका लागि लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रिय कार्यालयमा तयारी अवस्थामा बसेका थिए । हाजिरसमेत गराइसकेकोले कति बेला आफ्नो पालो आउँछ र बोलाउँछ भनेर कुरिरहेका बेला अकस्मात् खबर सुनाइयो ‘अन्तर्वार्ता स्थगित भयो ।’

यो खबरसँगै सबै एक अर्कालाई हेराहेर गर्दै के भयो ? किन स्थगित ? भन्दै प्रश्न गर्न थाले । उपस्थितमध्ये कसैको अनुहारमा एकाएक मलिनता छायो, चिटचिट पसिना आयो । हृदयको धड्कन बढ्यो । मानौँ अन्तर्वार्तापछि उनकै नाम सफल उम्मेदवारको सूचीमा टासिनेवाला थियो । स्थगन भएको खबरसँगै उनी एकाएक छाँगाबाट खस्न पुगे ।

के कारणले अकस्मात् स्थगित भयो भन्ने कुरा अझै बाहिर नआइसकेको भए पनि स्थगन गर्न आदेश लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले दिएका थिए । ‘आजको परीक्षा स्थगन भएको जानकारी उपस्थितलाई गराउनुस्’, भन्ने अध्यक्ष मैनालीको निर्देशनपछि आयोगका कर्मचारीले परिक्षार्थीहरुलाई जानकारी गराएका थिए । लगत्तै आयोगले एउटा सूचना प्रकाशित गर्दै भन्यो ‘विज्ञापन नं. १७१६७/०७६-७७, विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदका लागि मिति २०७७/३/३१ गते २ बजेका लागि पूर्वनिर्धारित अन्तर्वार्ता कार्यक्रम विशेष कारणवश अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको ब्यहोरा जानकारी गराइन्छ । ’

त्यो विशेष कारण थियो -परीक्षार्थी र विज्ञबिचको ‘सेटिङ’ । अन्तर्वार्ता हुनु केही घण्टा अघि मात्रै कसैले आयोगका अध्यक्ष मैनालीलाई फोन गरेर भनेको हुनुपर्छ -‘फलानो उम्मेदवार र फलानो विज्ञबिच साँठगाँठ छ, यो अन्तर्वार्ता निष्पक्ष हुँदैन भनेर’ प्रशासन विशेष स्रोतले भन्यो ।

‘अध्यक्षलाई आयोगको निष्पक्षतामा माथि आँच आउँदै छ भन्ने लागेपछि तत्काल स्थगन गर्ने निर्णय लिए’को ती स्रोतको भनाई छ । अन्तर्वार्ता सुरु हुन आधा घण्टा मात्रै बाँकी थियो ।

विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव), सूचना प्रविधि विज्ञ एक पदका लागि आयोगले २०७६ पुस १५ र १६ गते लिएको लिखित परीक्षामा सहभागी १० जनामध्ये तीन जना अन्तर्वार्ताका लागि छनौट भएका थिए । उनीहरूमध्येबाटै कुनै एक उम्मेदवारले विज्ञसँग सेटिङ मिलाएको भन्ने खुलेपछि परीक्षा कार्यक्रम नै रद्द गरेर आयोगले गोप्य अनुसन्धान अघि बढाएको हो ।

प्राप्त गोप्य सूचना तथ्यको नजिक देखिएकोले छानबिनका लागि स्थगित गरिएको स्रोतले पुष्टि गरेको छ । प्रशासनलाई प्राप्त जानकारीअनुसार लिखित परीक्षामै कापी जाँच्नेसँग ‘सेटिङ’ भएको आशङ्का लागेपछि आयोगले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको थियो ।

सेटिङ मिलाउने परीक्षार्थी र विज्ञको नाम भने गोप्य राखिएको छ । ‘अनुसन्धान प्रक्रिया नटुंङिगकन नाम भन्न मिल्दैन’ विशेष स्रोतले भन्यो, ‘तर यो सत्य हो कि उम्मेदवार र विज्ञबिचको सेटिङ रहेको आयोगलाई शङ्का लागेपछि अन्तर्वार्ता रोकेको हो ।’

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले यसबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । उनले भने, ‘के कारण स्थगित भयो भन्ने विषयमा मैले भन्न सक्ने अवस्था छैन किनकि मलाई नै भनिएको छैन,तर विशेष कारणवश रोक्न सूचना बनाउनु पर्‍यो भनेपछि सूचना प्रकाशित भएको मात्रै थाहा छ ।’

आयोगको रोष्टरमा समावेश विज्ञहरूको नाम अति गोप्य राखिने भएकोले कसरी विज्ञ र परीक्षार्थीबिच सेटिङ भयो भन्ने विषय अर्को अनुसन्धानको पाटो बनेको छ ।

रोष्टरमा राखिएका नामावलीहरू शाखाका कर्मचारीले अध्यक्षसमक्ष पेस गर्छन् भने अध्यक्षले विकल्पसहित तोक्ने गर्छन् । कसको अन्तर्वार्तामा को आउँदैछन् भनेर स्वयं विज्ञहरुलाईसमेत अग्रिम जानकारी हुँदैन । गोपनीयताका कारण को कहाँ छ भनेरसमेत खोजी नगरिने भएकोले तत्काल बोलाउँदा आउन सक्ने गरी धेरै वटा विकल्प दिइएको हुन्छ र सोही अनुसार केही घण्टाअघि मात्रै फोन गरेर बोलाउने गरिन्छ ।

सूचना प्रविधि विज्ञ पदका लागि आवश्यक दक्ष तथा विज्ञ निकै थोरै भएकोले यो घटना घटेको आयोगको एक अधिकारीले बताए । ‘को बाट कसरी यस्तो हुन पुग्यो, त्यो त अनुसन्धानपछि थाहा होला’ ती अधिकारीले थपे ‘तर कतै न कतैबाट परीक्षामा सहभागी हुने विज्ञ र परीक्षार्थीबिच सुरुदेखि नै सेटिङ रहेको देखिन्छ ।’

खासगरी धेरै विज्ञहरू भएको परीक्षामा यस्ता घटना शून्यजस्तै भए पनि दुईचार जना मात्रै विज्ञ भएको ठाउँमा यस्ता विवादहरू देखिएको आयोग उच्च स्रोत बताउँछ । आयोगलाई आदर्श र पवित्र संस्था बनाउँदै लैजाने क्रममा देखिएको साना प्वालहरू टाल्दै जाँदा यस्ता घटनाहरू बाहिर आइरहेको उनको भनाई छ ।

अत्यन्त कम विज्ञहरू भएको ठाउँमा यस्ता समस्याहरू बारम्बार आउने गरेको भए पनि आयोगको आन्तरिक प्रणालीका कारण त्यस्ता कुराहरू समयमै थाहा पाएर निस्तेज गरिँदै आएको छ ।

पछिल्लो समय आयोगकै कर्मचारी तथा विज्ञको मिलेमतोका जे जति घटनाहरू सार्वजनिक भइरहेका छन् त्यसबाट पनि यसअघि घरघरमा कापी जाँच्न पठाउँदा कति बदमासी हुँदो हो भन्ने भन्ने प्रश्न उब्जाएको छ । ‘अहिले अफिसमा ल्याएर जाँच्दा त विभिन्न शङ्का उपशङ्काहरू भइरहेका छन् र घटना प्रमाणित भएका छन् भने हिजोका दिनमा झन् कति हदसम्म हुने रहेछ’ आयोगकै एक पूर्व सदस्यले दाबी गरे ।

केही दिन अघि मात्रै आयोगकै कर्मचारीले छोरीलाई उर्तीण गराउन उत्तरपुस्तिका नै पुनर्लेखन गरेको छानबिन टुङ्गिन नपाउँदै सहसचिवकै लिखित र अन्तर्वार्तामा परीक्षार्थी र विज्ञबिचको ‘सेटिङ’को घटना बाहिरिनुले आयोगको विश्वसनीयता र गरीमा माथि एक पछि अर्को चुनौती थपेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस