आत्महत्या नै अन्तिम विकल्प होइन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आत्महत्या नै अन्तिम विकल्प होइन


४ श्रावण २०७७, आइतबार


यति बेला कोरोनाको महामारीले सबैजसो परिवारका सदस्य सँगसँगै छन् । यद्यपि, पारिवारिक कलह, हिंसा र तनाव कम हुन सकेको छैन । गरिबी, बेरोजगारी एवं लैंगिक तथा परम्परागत हिंसाका कारण हुने पारिवारिक कलहले प्रायः सबैजसो व्यक्तिहरू सोच मग्न रहेका छन् । त्यही तनावका कारण पनि आत्महत्या बढेका छन् ।

विभिन्न तथ्याङ्क अनुसार चैत ११ देखि जेठ मसान्तसम्म ३ सय १३ जनाले आत्महत्या गरेका छन् । जसमध्ये चैतमा ६९, वैशाखमा १ सय १७ र जेठमा १ सय २७ जनाले आत्महत्या गरेका हुन् । सामान्य अवस्थामा व्यक्तिगत, सामाजिक र आर्थिक कारणले आत्महत्या भएका छन् । तिनका कारणमा धेरै पारिवारिक कलहले उत्पन्न हिंसा र आवेशलाई देखाइएको छ । जसमा १ सय ४१ घटना आवेशमा आएर गरेको उल्लेख छ । यसमा आफन्तबाट हुने हिंसा, भेदभाव, दबाब र कलहका कारण आवेशमा आउने र आत्महत्या गर्ने धेरै रहेका छन् ।

पति–पत्नी, बाबु–छोरा, आमा–छोरी, सासू–बुहारी लगायतबीचमा हुने मनमुटाब र कलह बढ्दै जाँदा आत्महत्या गर्ने ५४ जना छन् । गरिबीका कारण २४, प्रेममा धोका पाएर १६ र दीर्घ रोगका कारण २२ जनाले आत्महत्या गरेका छन् । ‘लैङ्गिक तथा सामाजिक विभेदले कलह हुँदै हिंसा जन्मने गर्दछ । त्यही हिंसा सहन नसकेर आत्महत्या गर्ने धेरै छन्,’विभिन्न खोज अनुसार ‘यस्तो समस्या महिलामा बढी देखियो ।’ आफ्ना कुरा निर्धक्क भन्न र समस्यासँग जुध्न नसक्दा चिन्ता एवं छटपटी बढेर आत्महत्या गर्ने पनि धेरै महिला रहेका छन् । त्यस्तै आत्महत्या गर्नेमा १ सय ७७ पुरुष र १ सय २९ महिला छन् । ७ जना यौनिक अल्पसङ्ख्यकले पनि आत्महत्या रोजेका छन् ।

अनुसन्धानअनुसार अहिले व्यक्तिमा स-साना कुरामा तनाव लिने, ननिदाउने, चिन्ता लिने र डिप्रेसनमा जाने क्रम धेरै छ । त्यसलाई हटाउन रक्सीलगायतका नशालु पदार्थ खाँदा घर झगडा बढ्छ । यसले मानसिक छटपटी र चिन्ता बढाउने र त्यही कारण आत्महत्या गरेका घटना धेरै छन् । कोरोना महामारीले निम्त्याएको लकडाउनको अवधिमा भएका आत्महत्याको कारण यकिन नभए पनि हिंसा र आर्थिक कारण प्रमुख रहेको भन्ने बुझ्न सकिन्छ ।

समस्याको समाधान
धन कमाउने आशा बोकी बिदेसिएका नेपाली दाजुभाइ दिदिबहिनिहरु यति बेला कोरोनाको सन्त्रासले खिन्न मन बनाएर स्वदेश नै फर्कनु परेको छ । घरको रिन, छोराछोरीको लागि राम्रो शिक्षा, बुवा आमा अनि प्राण प्यारी श्रीमतीको लागि राम्रो नाना खाना ,घर जग्गा जोडौला भन्ने अधिक सपनाहरू प्रायः सबैजसो बिदेसिएका दाजुभाइमा नै हुने गर्दछ । तर विडम्बना ‘कोभिड’ ले यति बेला सबै कुराहरू विपरीत बनाएको छ । अबको विकल्प के त ? भन्ने सोचाइ त प्राय सबैलाई नै हुने गर्छ नै तर आत्महत्या नै अन्तिम विकल्प त हैन नि है, आफ्नो मनमा भएका समस्याहरू आफ्नो परिवारको सदस्यलाई सेयर गर्ने गरौँ । पहिले आफू सुरक्षित र स्वस्थ बनौँ धन त त्यसपछि पनि कमाउन सकिन्छ ।

अबको विकल्पको लागि स्वदेशमानै आफ्नो उत्पादन ब्याबसायमुलक बनाएर पनि धन आर्जन गर्न सकिन्छ । नेपाल सरकारले पनि विदेशबाट फर्किएका युवा जनशक्तिको लागि सस्तो ब्याजदरमा ऋण प्रदान गरेको छ । स्थानीय स्तरहरूमा विभिन्न अनुदानहरू पनि छन् । यस्ता अवसर लिन सकियो भने आफूसँग भएका सीपलाई नेपालमानै प्रयोग गरेर धन आर्जन गर्न सकिन्छ । त्यसैले निराश नबनौँ, अवसर र विकल्प अधिक छन् । आफ्नो सुन्दर जीवनलाई व्यर्थमा मृत्युको सिकार नबनाऊ ।

कतै प्रेमका कारण, कतै शोषणका कारण, कतै अभावका कारण त कतै असफलताका कारण मानिसहरूले आत्महत्याको बाटो रोज्दछन् । तर यो त कमजोर मानसपटल र केही गर्न सक्दिन भन्ने एक किसिमको सङ्कुचित सोचाइ हो । तपाईँलाई थाहा छ नि रात पछि दिन आउँछ, चन्द्र अस्ताउँछ सूर्यको आगमन हुन्छ, त्यसैगरि नै मान्छेको जीवनमा पनि रात गएपछि दिन आउँछ । आफूलाई म गर्न सक्छु, मेरो जीवनमा आएका सबै समस्या ,अभाव र असफलतालाई एउटा माध्यम बनाएर अगाडि बढ्छु भन्ने दृढ इच्छाशक्ति राख्नुहोस् ।

एउटा बाटोबाट अगाडि बढ्दा बाधा आउँछ अथवा मनमा हीनताबोध हुन्छ भने बाटो बदल्नुहोस्, सोच बदल्नुहोस् तर कमजोर भएर हैन हिम्मत राखेर गर्नुहोस् । सफलता असफलता, अभाव त मान्छेको जीवनको एक किसिमको चर्खा हो । सबैलाई हुन्छ तर तपाइ त्यो चर्खालाई कसरी लिनु हुन्छ वा बुझ्नुहुन्छ भन्नु नै तपाईँ भित्रको तपाइत्व हो । त्यसैले एक पटक राम्रोसँग आफ्नो सुन्दर भविष्यमा आउने सुख र खुसीहरू नियाल्नु होस् ।

अन्य समाधान
-आफ्नो समस्या परिवारका सदस्य वा बुझ्ने व्यक्तिलाई सुनाउनु होस् ।

-प्रेरणादायी व्यक्तिका भिडियो , सङ्घर्ष र समस्याहरू सुन्नुहोस् ।

-योग ,ध्यान ,प्राणायाम गर्नुहोस्

-आफूलाई हरेक पल व्यस्त बनाउनुहोस् ।

-अनावश्यक कुराहरू मनमा नलिनुहोस् ।

-झैझगडा वा भिडभाडबाट टाढा रहनुहोस् ।

-सानो कुरामा पनि खुसी बन्न सिक्नुहोस् ।

-आफ्नो क्षमता बिनाको आशा राख्ने बानी नगर्नुहोस् ।

-सधैँ सकारात्मक रहनुहोस् ।

-केही दृघरोग वा मानसिक तनाव भए चिकित्सकको परामर्श लिनुहोस् ।

यो अमूल्य जिन्दगी यसरी आत्महत्या गरेर खेर नफाल्नुहोस् । आज जति पनि सफल व्यक्ति छन् उनीहरूले पनि तपाईँहरूले भोगेको भन्दा धेरै पिडा ,दुख,कष्ट सहन गरेर आजको सफलताको शिखरमा पुगेका हुन । आफू कसरी आत्महत्याको जोखिमबाट टाढा रहने भनेर बुझ्नको लागि विभिन्न सफल व्यक्तिहरूका विगतहरूबाट पनि सिक्न सकिन्छ । त्यसैले तपाईँको सुन्दर जीवनको ड्राइभर तपाइनै हो कसरी ड्राइभ गर्ने कुन मोड लिने भन्ने ह्यान्डल तपाइकै हातमा छ । त्यसैले जिन्दगीको गाडीलाई निरन्तरता दिनको लागि कुशल ड्राइभर बन्नुहोस् । अरूको देखावटी नगर्नुस् ,सादा जीवन उच्च बिचार लाई जीवनको आदर्श आत्मसात् गर्नु नै तपाईँको सम्पूर्ण तनाव को अचुक औषधि हो ।

Tags :
प्रतिक्रिया दिनुहोस