अभ्रष्टाचारी नामर्द ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अभ्रष्टाचारी नामर्द !


३ श्रावण २०७७, शनिबार


एकजना प्रतिनिधि कर्मचारी पात्रको कथा हो यो । धर्ती सम्याउँछु भन्थ्यो ऊ, आकाश छिचोल्छु भन्थ्यो ऊ । भकभकी उम्लेको तातो र रातो रगत, झरझर परेको जवानी, जोस, जाँगर र उत्साह बोकेर निजामती सेवाको जागिरमा प्रवेश गरेको थियो ऊ । त्यसबेला उसलाई लाग्थ्यो एउटा सानो परिवारको लालन पालन गर्न, छोराछोरीको पढाइ लेखाइ, बिरामी पर्दा औषधि उपचार गर्न, सामान्य चाडबाड मनाउन, सँगिनीलाई एक धरो लुगा फेर्न, सादा दालभात खान, डेराको किराया तिर्न खासै तड्पिनु पर्दैन होला । यति सामान्य आधारभूत कुराको लागि त इमानको कमाइले कसो नपुग्ला ?

तर यी सब उसको भ्रम मात्र रहेछ । परिवार चलाउन उसले तोरीको फूल नै देख्यो । सत्र वर्षसम्म लगायो उसले एउटै सर्ट । कति दिन घरबेटीले भाडा माग्छ भनेर डेरा नै आएन, मोबाइल स्विचअफ गरेर पनि बस्यो । उसको खुट्टाले बाह्र सयभन्दा बढीको जुत्ता लगाउन पाएन । छोराछोरीको स्कुलबाट फी तिर्न बिल आउँदा कैयन पटक प्रिन्सिपलसँग बाझेको छ ऊ । धन्न ईश्वरको कृपाले उसको परिवारमा ठुलो रोग लागेन र औषधि उपचारमा पैसा धेरै खर्च गर्नु परेन । तर पनि वर्ष दिनमा आउने चाड दसैँ, तिहार, ल्होसार, साकेला परिवारसँग नमनाएको बर्षौ भयो । उसलाई पनि कम्मर मर्काई मर्काई रोकी नाच्नु मन नलागेको त कहाँ हो र । मैच्याङसँग सेलो गाउने रहर कति छ कति उसलाई । स्कुल पढ्दाको पहिलो मायाको गाउँ घुम्न जान मन लागेको उसलाई । सोल्टिनीको याद पनि घरीघरी आउँछ उसलाई । तर के गरोस् बिचरा ऊ भ्रष्टाचारी नामर्द भएको छ आजभोलि । बर्षौसम्म दसैँमा त घर जान सकेको छैन ऊ ।

घरमा आमाबुबा, दिदीबहिनीलाई बहाना बाजी देखाएर काठमाडौँमै कोचिएर बर्षौ बस्यो ऊ । घर जाने आउने भाडा, लुगाफाटा, मरमसला, केही उपहार कोशेलीको हिसाब गर्दै ढक्रि बस्यो ऊ मरूभूमितुल्य यही खाल्डोमा । जागिरे छोरा भाइ जोरीपारिले के भन्लान् । यस्तै समस्याले ऊ चाडबाडमा पनि घर जान सकेन । सँगैका साथीहरू विवाहको दसौँ गठबन्धन मनाउन बैंकक जाँदा ऊ एक रात बिताउँदै नगरकोटमा सँगिनीलाई लिएर सूर्योदय हेर्न जान सकेन ।
समय घर्किदै गयो । नसामा रगतहरू सुक्दै गए । शरीरमा रोग बढ्दै गयो । जोस, जाँगर र उत्साह सेलाउँदै गयो । कामलाई सम्मान गर्न नजान्ने संस्कार, मानवीय आदर्श हराउँदै गएको समाज, लोक कल्याणकारी भूमिकाबाट हात झिक्दै गरेको अर्थव्यवस्था, आफन्त व्यवस्थापनमा सीमित राजनीति, संस्थागत हुँदै गएको भ्रष्टाचार र अपराध आदि विसङ्गति र बेतिथिले थङ्थिलो शरीर र खिन्न भएको मन सँगालेर ऊ अर्थात् अभ्रष्टाचारी नामर्द मनमनै आफूलाई धिक्कार्छ ।

कहिलेकाहीँ त लाग्दो हो उसलाई किन अभ्रष्टाचारको बाटो रोजे भनेर ? समाजमा सान, मान, इज्जत र प्रतिष्ठा कमाउन त अभ्रष्टाचारको बाटो हिँडेर नपुगिने रहेछ । पहिल्यै थाहा नभएको पनि हैन उसलाई । वास्तवमा अभ्रष्टाचारको बाटो हिँडेर उसले धेरै कुरा मिस गरेको छ ।
बाउले बनाइदिएको ढुङ्गामाटोको घर दिन प्रतिदिन झरी नसहने अवस्थामा पुगेको छ । आफ्नो कमाइको कुरा यस्तै हो वारिबाट पारी पुग्दैन । कमाउ अड्डा चहारेर सँगैका साथीभाइ हेर्दाहेर्दै कहाँबाट कहाँ पुगे । विहे, व्रतबन्ध, पिकनिक, पार्टी, भोजभतेरमा गाडी चढेर आउँछन् । सम्पत्ति लुकाउनु पो आपत् छ मर्दहरूलाई । हुन त मर्दहरूले सरकारको गरिबी निवारण गर्ने लक्ष्यबमोजिम नै त्यसो गरेका होलान् । नत्र अभ्रष्टाचारी हिँड्ने बाटोमा हिँडेर कसरी आगामी २५ वर्षभित्र गरिबी शून्यमा झर्छ त ?

उहिले हाम्रा गाउँघरमा बाबुबाजेले धर्म कर्मको लागि पाटिपौवा, कुवा धारा, फलैंचा बनाएर वर पिपल रोपेर पुण्य कमाउनु हुन्थ्यो । बाटो हिँड्ने बटुवा बर पिपलमुनिको फलैँचामा आराम गर्दै यात्राको थकान मेट्थे । ढाकर बोकेका भरिया दाजुभाइहरू सुस्केरा हालेर शीतल ताप्थे । गरिब दुःखी असक्तको सेवामा सबैको साथ सहयोग रहन्थ्यो । आजभोलि त सहर बजारका मान्छेहरू अरूलाई ठग्न पाए खुसी हुन्छन् । बाग्मती त सुल्टै बग्दै छ कुन्नि सहरका मान्छेहरू किन बिब्ल्याटो बाटो हिँड्न मन पराउन थालेका छन् आजभोलि ।

जागिर खानेहरू बिहानै घुसको बोनी भएन भने दिनभरि मुडअफ हुन्छन् अनि लोक लज्जा बिना भन्छन् आज त कुनै गतिलो मुर्गा फेला परेन यार । नीति निर्णय बनाउनेहरूले पनि सही नीति बनाउन चुक्दै गए कार्यान्वयन गर्नेले लामो हात गर्न छोडेन । मर्दहरू स्वार्थ गाँसिएकाहरूसँगको हिमचिममा रमाउँदै गए । तलदेखि खोइकुन्नी कहाँसम्म हो सेटिङ छ भन्छन् हुने नहुने काम ड्यामड्याम पार्छन् मर्दहरू । समाजका जालिझेली, चोर फटाहा, तस्कर, माफिया, बिचौलिया, दलालसँग उठबस गर्छन् मर्दहरू । हरेक छाक मिठो मसिनो, चिप्लो चोप्ला, हरेक साँझ रङ्गिन साँझ, डिस्को, दोहोरी के के हो के के । मोटाएर अर्ना जस्ता देखिन्छन् मर्दहरू । बिचरा ऊ भान्सामा उही रायोको साग, साताको एकपल्ट बोइलरको मासु पनि हम्मे हम्मे ।

पिँढीमा खुइय्य सुस्केरा हाल्दै निन्याउरो मुखले सङ्गिनीले आजकल त भन्न थालेकी छे तिमी अभ्रष्टाचारी नामर्द, कसैले नखाएको जागिर खुबै खायौँ हैन तिमीले, तिम्रै जस्तो जागिर तिम्रै जस्तो पदका साथीभाइ कहाँबाट कहाँ पुगे, छोराछोरीलाई युरोप अमेरिका, अस्ट्रेलिया क्यानडा पुर्‍याए काठमाडौँमा बङ्गला, गाडी, गरगहना, बैङ्क ब्यालेन्स चुरीफुरी नै बेग्लै । तिमी उहीँ जागिरे तिमीसँग के छ अहिले ? गल्दै र ढल्दै गएको शरीर, मर्दै गएको आशा, दुई छाक खान पनि धौधौ प्रेसर र सुगरको दबाई केले खान्छौ ? कतै क्यान्सर र किड्नीको रोग लागिहालेमा सिधै आर्यघाट । कस्तो जागिर खायौँ खसम तिमीले ! बेला बेलामा सँगिनीको यी र यस्तै प्रश्नले साबित गर्दै गएको छ कि ऊ वास्तवमा अभ्रष्टाचारी नामर्द नै रहेछ । उसलाई आजभोलि घर, गाडी, पैसा, पावर नभएकोमा त्यति सारो सुर्ता पनि छैन । तर भ्रष्टाचारको बात लागेकाहरू जेलबाट छुट्टा क्विन्टलका मालाहरूले स्वागत पाएको देख्दा, भ्रष्टाचारको बात लाग्नुपर्ने मर्दहरू छाडा साँढै झैँ डुक्रिँदै हिँडेको देख्दा भने उसको मन कुँडिएर आउँछ ।

यो अवस्थामा सुधार नआउँदासम्म धेरै अभ्रष्टाचारी नामर्दहरूको हाल यस समाजमा यस्तै रहिरहने छ । उनीहरू अल्पमतमा परिरहने छन् । इमानदार हुनुको पीडा भोगिरहने छन् जिन्दगी भरि । भ्रष्टाचारी भएबापतको मूल्य चुकाइरहने छन् यसरी नै । भ्रष्ट मर्दहरूको रजगज एकछत्र चलिरहने छ । एक मुठी पेन्सन पाउने आस पनि के हो के हो । भ्रष्टाचारले यसरी नै गाँज्दै गएमा सरकारको ढुकुटी रित्तिनु के बेर ? हेर्दै जाऊँ व्यक्ति, समाज अनि राज्य अब कुन बाटो हिँड्छ । अभ्रष्टाचारी नामर्द हिँड्ने बाटो कि भ्रष्ट मर्द हिँड्ने बाटो त्यसैले हाम्रो समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्य तय हुन्छ हुँदैन निर्धारण गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस