सामाजिक एवं सांस्कृतिक रूपान्तरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सामाजिक एवं सांस्कृतिक रूपान्तरण


३ असार २०७७, बुधबार


सामाजिक रूपान्तरण
समाजशास्त्रिहरुका अनुसारः एक भन्दा धेरै मानिसहरूको समुदाय एवं मानवीय सम्बन्धहरूको जालोनै समाज हो । मानिसले पारस्परिक लाभको निमित्त जुन कृत्रिम उपाय अपनाएको छ त्यो समाज हो । समाजको अर्थ मानवद्धारा स्थापित यस्तो सम्बन्धसँग हुन्छ‚ जसलाई स्थापित गर्नका लागि उ विवश हुनुपर्छ । परिवर्तनको संवाहक मानिससँगै समाज निरन्तर परिवर्तनशील छ‚ यसको गति रोक्न असम्भव प्राय छ । समाज परिवर्तनसँगै मानिसको विचार, आदर्श, व्यवहार, मनोभावना मात्र होइन, उसले आफ्नो कला, दैनिकी‚ रहनसहन‚ लवाइखवाई‚ चालचलन‚ धर्मसंस्कृतिमा पनि परिवर्तन अङ्गीकार गर्छ, जसले उसलाई सामाजिक बनाउँछ ।  परिवर्तनको नाउँमा समाजले स्वीकार गर्न नसक्ने विकृतिहरू पनि भित्रन सक्छन् तर त्यो बिस्तारै हराउँदै जान्छ‚ अस्वीकृत हुन्छ । समाजको स्वीकृति वा आवश्यकता विनाको परिवर्तन दिगो तथा स्थायी हुँदैन ।

परिवर्तनले समाजलाई उन्नत‚ प्रगतिशील‚ अग्रगामी एवं विकासको दिशामा अग्रसर गराउँछ । पुरातनवादी समाज रूपान्तरित हुन अग्रगामी छलाङ आवश्यक हुन्छ । सामाजिक अवस्थालाई मध्यनजर गर्दा अभियान, आन्दोलन, सङ्घर्ष‚ विद्रोह‚ क्रान्ति, जागरण‚ युद्ध जस्ता कुराले समाजलाई परिवर्तन गर्न सक्छ । जसले समाजलाई सकारात्मक परिणाम दिन्छ तर कहिलेकाहीँ समाजमा नकारात्मक परिवर्तन पनि हुन सक्छ । समाजले परापूर्व कालदेखि स्वीकार गर्दै आएको मूल्यमान्यता, धर्म, संस्कृति, परम्परामा आघात पुग्ने क्रियाकलाप समाजलाई पाच्य हुँदैन तर पनि कुनै-कुनै परिवर्तन नचाहेर पनि हुने गर्छन् ।

सामाजिक सोच, विचार, चिन्तन‚ र व्यवहार गतिशील प्रक्रिया हो । समय क्रममा यसको रूपान्तरण अवश्यम्भावी छ । सामाजिक रूपान्तरण सामाजिक विकासका लागि अपरिहार्य हुन्छ । सामाजिक रूपान्तरणको नियमले समाजको आवश्यकतालाई मध्यनजर गर्दै समाजलाई सकारात्मक संरचनात्मक परिवर्तनको दिशामा डोहोर्याइरहेको हुन्छ । सामाजिक परिवेश‚ क्रियाकलाप‚ मूल्य‚ मान्यता‚ आचरण‚ संरचना‚ सरोकार एवं सम्बन्धहरूमा परिवर्तन आइ एउटा अवस्थाबाट अर्को अवस्थामा पुग्ने प्रक्रिया वा प्रवृत्तिलाई सामाजिक रूपान्तरणका रूपमा लिन सकिन्छ । रूपान्तरण गर्नाको अर्थ हो सामाजिक कुरीति‚ कुसंस्कार‚ विकृति‚ विसङ्गति‚ विभेद‚ असमानता‚ शोषण र नकारात्मक सम्बन्धलाई अन्त्य गरी उन्नत‚ वैज्ञानिक, सुसंस्कृत‚ सत्य र न्यायपूर्ण सम्बन्धको विकास, परिमार्जन वा परिष्कृत पार्नु । अतः समाजद्वारा स्वीकार्य मूल्यमान्यता तथा संस्कृतिमा हुने परिवर्तन भनेको नै सामाजिक रूपान्तरण वा परिवर्तन हो, जुन स्थायी हुन्छ । सामाजिक रूपान्तरण जोखिम र चुनौती रहित भने हुँदैन । सामाजिक विखण्डन‚ विचलन र विकृतिप्रति सचेत रही यसको व्यवस्थापन र निराकरण गर्नु महत्त्वपूर्ण हुन्छ ।

सांस्कृतिक रूपान्तरण
इवि टेलरका अनुसारः संस्कृति भनेको ज्ञान‚ कला‚ विज्ञान‚ विश्वास‚ नैतिकता‚ कानुन एवं समाजको एक सदस्य भएको हैसियतले आर्जन गरेको क्षमता एवं आनिवानीको जटिल समग्रता हो । संस्कृतिलाई बुझ्ने सन्दर्भमा विभिन्न मतहरू पाइन्छन् । सामाजिक प्राणी भएको नाताले मानिसले आफूमा जुन कुरा राख्छ वा जस्तो व्यवहार (जैविक‚ मनोवैज्ञानिक‚ सामाजिक) सिक्छ त्यो सबै संस्कृति हो । चाड, पर्व, धार्मिक क्रियाकलाप, रीतिरिवाज, भेसभुसा, प्रचलन, मान्यता र विश्वासहरूको समष्टिगत रूप हो संस्कृति । साथै यसले समाजमा स्थापित प्रथा र परम्परालाई समेत इङ्गित गर्दछ । संस्कृति जीवन व्यतीत गर्ने एक सम्पूर्ण विधि/पद्धति हो जसले व्यक्तिको शारीरिक‚ मानसिक एवं अन्य आवश्यकताको पूर्ति गर्छ । संस्कृति सामाजिक सामूहिकतामा आधारित हुने भएकोले समाजका सदस्यहरूले परस्परमा साझा अर्थबोध गरेका हुन्छन् ।

संस्कृतिले व्यक्तिहरू निर्माण गर्छ, साथै व्यक्तिहरुलेनै सामूहिक श्रम एवं पहलद्वारा त्यही संस्कृतिको पुनः निर्माण गर्छन् । यसै सिलसिलामा मानिसको समग्र जीवनशैली‚ समुदायबाट वैयक्तिक रूपमा आर्जन गर्ने सामाजिक तथा सांस्कृतिक विरासत, हैसियत‚ सोचाइ‚ चिन्तन‚ सिकाइ‚ अनुभूतिहरू र विश्वास गर्ने पद्धति, सामूहिकतामा र वास्तविकतामा व्यवहार गर्ने शैली, समुचित सिकाइ, तत्कालीन समस्याहरूको विशेषीकृत रूप, अभिमुखीकरण, सिकिएका व्यवहारहरूको कार्यान्वयनका लागि अपनाइने संयन्त्र, बाह्य वातावरण र अन्य अनुकूलताको लागि अपनाइने पद्धति, इतिहासको गति र त्यसबाट उब्जिएका आशा र निराशा, मानक‚ उपमा वा मूल आशयको रूपमा आएका प्रतीक वा व्यवहारहरू जस्ता सांस्कृतिक पक्षमा हुने सकारात्मक परिवर्तन हो सांस्कृतिक रूपान्तरण ।

सामाजिक रूपान्तरण आफैँमा पूर्ण हुँदैन । सामाजिक रूपान्तरणसँग सांस्कृतिक रूपान्तरण जोडिएर रहेको हुन्छ । सामाजिक रूपान्तरण सांस्कृतिक रूपान्तरणको एउटा अगं मात्र हो । सामाजिक रूपान्तरणमा मानिसहरूबिचको मानवीय क्रियाकलाप‚ व्यवहार‚ क्षमता‚ सरोकार एवं सम्बन्ध गाँसिएको हुन्छ तर सांस्कृतिक रूपान्तरणमा मानिसले अङ्गीकार गर्ने उसका दैनिकीका विषयवस्तुलगायत मानिसका कला, साहित्य, भाषा, धर्म, रीतिरिवाज आदिमा परिवर्तन हुनुपर्छ । अर्को शब्दमा भन्नुपर्दा सामाजिक रूपान्तरणले वर्तमान समाजमा हुने तत्कालको परिवर्तनलाई बुझिन्छ भने सांस्कृतिक रूपान्तरणले दीर्घकालीन परिवर्तनलाई आत्मसात् गरेको हुन्छ ।

सामाजिक-सांस्कृतिक रूपान्तरणका केही विशेषताः
-विश्वव्यापी प्रकृयाः विश्वका सबै समाज परिवर्तनशील हुन्छन् । स्थिर समाज रहन सक्दैन/छैन ।
-विविध स्वरुपः समाजमा सहयोग‚ समायोजन‚ सङ्घर्ष जस्ता विविध प्रक्रियाबाट रूपान्तरणका विभिन्न स्वरूपहरू प्रकट हुन्छन् । रूपान्तरण एकरेखिय/बहुरेखिय‚ समस्यामूलक/कल्याणकारी‚ अल्पकालीन/दीर्घकालीन‚ चक्रीय/उद्धविकासिय एवं क्रान्तिकारी हुनसक्छ ।
-रूपान्तरणको कारण हुन्छः रूपान्तरणको जनसाङ्ख्यिक‚ औद्योगिक‚ आर्थिक‚ राजनीतिक‚ वातावरणीय जस्ता विविध कारण हुन सक्छन् एवं अन्य विभिन्न कारक पनि हुन सक्छन् किनकि मानव समूहका भौतिक/अभौतिक आवश्यकता अनन्त छ र यो बदलिरहन्छ ।
-निश्चित भविष्यवाणी हुदैनः यो पूर्वानुमान गर्न सकिएतापनि निश्चित भविष्यवाणी गर्न नसकिने हुन्छ । अनेक आकस्मिक कारकहरूबाट रूपान्तरणको स्थिति पैदा हुन सक्छ ।
-गुणात्मक हुन्छः यो प्रक्रिया तब सम्म चलिरहन्छ जब सम्म पुरा समाज राम्रो वा नराम्रो प्रभावबाट परिचित हुँदैन ।
यो निरन्तर भइरहने प्रक्रिया हो ।
समाज गतिशील छ र समयसँगै परिवर्तन अवश्यम्भावी छ ।
सामाजिक रूपान्तरणको गति एकनास हुँदैन । असमान एवं सापेक्षिक हुन्छ । सामाजिक पुनरुत्थानको समयमा तीव्र गति हुन्छ ।
आधुनिक समाजमा सामाजिक रूपान्तरण न मनगढन्ते रूपमा हुन सक्छ न यसलाई पुर्णत स्वतन्त्र वा असङ्गठित छोड्न नै सकिन्छ । प्रत्येक समाजमा आज योजनाबद्ध रूपमा सामाजिक रुपान्तरणलाइ नियन्त्रण गरी वाञ्छित लक्ष्यको दिशामा क्रियाशील गर्न सकिन्छ ।
संस्कृति पुस्ता-पुस्तान्तरमा हस्तान्तरण हुन्छ । यसरी एक पुस्ताबाट अर्को पुस्तामा सांस्कृतिक हुने प्रक्रियालाई सामाजिकीकरण र सांस्कृतिकीकरण भनिन्छ । जुन प्रक्रियामा रूपान्तरण भएको पाइन्छ ।

सामाजिक-सांस्कृतिक रूपान्तरणका केही आधार/माध्यम एवं निर्धारक तत्वहरुः
उद्धविकासः समाजशास्त्रि/मानवशास्त्रिका अनुसार जैविक परिवर्तन सामाजिक परिवर्तनका केही आन्तरिक कारणले सम्भव हुँदै गएको परिप्रेक्ष्यमा उद्धविकासिय ढङ्गबाट बिस्तारै समाज रूपान्तरण हुँदै जान्छ ।
प्रगति/बिकासः औद्योगिकीकरण र आधुनिकिरकण जस्ता सामाजिक विकासका प्रक्रियाबाटै परम्परागत समाज आधुनिक समाजमा रूपान्तरण हुन्छ ।
विचार एवं सिद्धान्तको प्रयोग : स्वतन्त्रता‚ समानता‚ पहिचान‚ समावेशिता‚ समन्याय‚ मानवअधिकार‚ लोकतन्त्र‚ समाजवाद जस्ता वैचारिक एवं सैद्धान्तिक अवधारणाहरूले समाजमा क्रान्ति ल्यायो । रूपान्तरणमा यसको ठुलो भूमिका छ ।
सामाजिक आन्दोलनः संस्थागत सामाजिक नियमको सहारा लिएर व्यक्तिले व्यवस्थित आन्दोलनको माध्यमबाट कुनैपनि परम्परागत व्यवस्थाको बदल्न सक्छ ।
शिक्षाको विकाशः शिक्षालाई चेतनाको बाहक, समाजको नाभी, मार्गदर्शक, विकासको सशक्त माध्यम‚ सामाजिक, सांस्कृतिक परिवर्तनको मेरुदण्ड, मानव सशक्तीकरणको साधनको रूपमा लिन सकिन्छ । औपचारिक, अनौपचारिक शिक्षाको माध्यमबाट सामाजिक शक्तिका प्रत्येक अवयवहरू रूपान्तरण हुने गर्छन् ।
सूचना प्रविधिको विकाशः वर्तमान युग प्रविधिको युग हो । प्रविधिले मानवीय सम्बन्धलाई नयाँ उचाइबाट विकास गरेको छ । हिजोका जटिल सामाजिक सम्बन्धहरू आज सरल‚ सहज भएका छन् । विश्व एउटा गाउँ भएको छ । सामाजिक सञ्जाललाई मात्र लिने हो भने पनि आज व्याक्तिसँगसँगै समाजको मुभमेन्ट बोकिरहेको अनुभूति हुन्छ ।
राजनीतिक जागरणः राजनीतिक जागरणले अधिकार प्राप्ति‚ आफ्नो हकहित, पहिचान‚ जनसहभागिता, जातीय तथा सामुदायिक हित एवं संरक्षणका विषय‚ लोकतन्त्र‚ मानवअधिकार‚ समानता‚ शोषण‚ दमन र विभेदबाट उन्मुक्ति जस्ता विषयलाई उठाइ सामाजिक रूपान्तरण गर्न ठुलो योगदान गरेको छ । यसले समावेशिता, समविकास र समन्यायमा आधारित समतामूलक समाज निर्माणको बहसलाई जागृत गरेको छ ।
सांस्कृतिक प्रभावः नवीन सोच‚ संस्कार र संरचनाको विकास मार्फत पुराना सामाजिक भेदभाव क्रमशः विघटन हुने क्रममा छन् । यसले सामाजिक अन्तरघुलनलाई सहज बनाएको छ । सामाजिक-सांस्कृतिक मूल्य मान्यता‚ रीतिरिवाज‚ चालचलन‚ रहनसहन प्रगतिशील हुँदै गएको छ ।
सचेतनाः राजनीतिक चेतनाको परिवर्तनले सचेत नागरिक समाज विरोधी‚ मानवीयता विरोधी कार्यको खुलेर विरोध गर्न सक्षम भएको छ । तथा आफ्नो अधिकार माग्न‚ अन्यायको विरुद्धमा आवाज उठाउन थालेको छ ।
क्रान्तिः ठुलाठुला राजनीतिक परिवर्तन‚ आर्थिक-सामाजिक रूपान्तरण‚ सांस्कृतिक रूपान्तरणमा क्रान्तिले गुणात्मक फड्को मारेको पाइन्छ । पुरानो सामाजिक संरचनालाई भत्काइ नयाँ निर्माण गर्ने‚ शासकीय प्रणाली बदल्ने एवं समाजको व्यापक र आमूल परिवर्तन गर्ने मुख्य आधार/माध्यमनै क्रान्ति हो । मार्टिन लुथर किङका अनुसारः एउटा सामाजिक आन्दोलन जसले समाजलाई उत्प्रेरित मात्र गर्छ भने त्यो विद्रोह हो । तर‚ त्यसले मानिस र संस्थाहरू दुबैलाई परिवर्तन नै गरिदिन्छ भने त्यो क्रान्ति हो ।
बसाइसँराइः गरिबी‚ भोकमरी‚ जटिल भूगोल‚ कठिन जीवनयापन‚ अन्धविश्वास‚ विभेद जस्ता अवस्थाहरूबाट मुक्त हुन मानिसको बसाइसराइ हुन गयो । यसैगरी शिक्षा‚ स्वास्थ्य‚ रोजगार, आवास, आय आर्जन, लगानी र नयाँ ठाउँमा जाने चाहना एवं आवश्यकताले मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराइ हुँदा समाजको मूल संरचनामा नै रूपान्तरण भएको पाइन्छ ।
वातावरणः भौगोलिक सुगमता‚ ऐतिहासिक सह-सम्बन्ध‚ सांस्कृतिक निकटता र आर्थिक पक्षको कारणले मानवीय सम्बन्धहरूमा उतारचढाव हुने गर्दछ । वातावरणीय आधारमा टेकेर यथास्थितिवादी मनोविज्ञान वा हिजोको निरन्तरताबाट समाज सचेततापूर्वक अगाडी रूपान्तरण हुँदै जान्छ ।
विश्वव्यापीकरणः प्रविधिको विकाशसँगै विश्वव्यापीकरणले सामाजिक सम्बन्ध‚ सेवा‚ व्यवहार‚ क्रियाकलापलाई अन्तराष्ट्रियकरण गरिरहेको छ । हिजो र आजका सामाजिक  प्रणालीहरू परिवर्तन भएका छन् । मानिसहरू अन्तर्राष्ट्रिय उपभोक्ता बन्दैछन ।
औद्योगिकरणः औद्योगिकरणसँगसँगै उत्पादन‚ उत्पादन प्रणाली‚ उत्पादकत्व‚ उत्पादन सम्बन्धहरू परिवर्तन भएका छन् । पुँजीको विकाससँगै मानिसहरूको आर्थिक हैसियत बदलिन गई सामाजिक सम्बन्ध‚ व्यवहार‚ रहनसहन‚ भेसभुसा‚ लवाइखवाई‚ चालचलनमा परिवर्तन ल्याइदियो ।
आधुनिकीकरणः आधुनिकीकरणले मानवीय सम्बन्धलाई नयाँ ढङ्गबाट परिभाषित गरेको छ । परिवार‚ निजी सम्पत्ति र समाजको संरचनामा परिवर्तन गरेको छ । पुराना कुसंस्कृतिहरु तिरस्कृत हुँदै गएका छन् भने कतिपय संस्कृतिहरू सभ्य‚ सुसंस्कृत हुँदै गएका छन् । कतिपय नयाँ संस्कृतिहरू भित्रिएका छन् ।
राजनीतिक सहभागिताद्वारा लक्षित वर्गको सशक्तीकरण एवं क्षमता  विकास गरी रूपान्तरण गरिन्छ ।
संस्थागत सम्झौताको माध्यमबाट सामाजिक सम्बन्ध‚ संरचना एवं व्यवहारलाई रूपान्तरण गरिन्छ ।
संस्थागत वैधता तथा कानुनी रूपमै सुधार तथा परिवर्तन गरी समाजको आवश्यकता र मागलाई सम्बोधन गरिन्छ ।

नेपाल सन्दर्भः एक मन्थन
नेपालमा जाति वा समुदाय विशेषका आ-आफ्नै विशिष्टतायुक्त सयौँ भिन्न संस्कृति तथा जीवनशैलीहरू छन् ।  उदाहरणको रूपमा खस संस्कृति, नेवार संस्कृति, मगर संस्कृति‚ गुरुङ‚ चेपाङ्ग‚ थारु‚ शेर्पा‚ धिमाल‚ राजवंशी‚ सन्थाल‚ राई‚ लिम्बु संस्कृति आदिलाई लिन सकिन्छ । नेपाल सरकारको राष्ट्रिय संस्कृति नीतिअनुसार वर्तमान नेपालको सीमाभित्र इतिहासको विभिन्न कालखण्डमा बसोबास गरेका विभिन्न मानवसमुदाय वा मानवसमुदायहरुले सिजृना गरेर छाडेका र हाल बसोबास गरिरहेका हाम्रा विभिन्न जाति एवं समुदायका पुर्खाहरूले सिजृना र अवलम्बन गरी हामीलाई जिम्मा लाएर गएका भौतिक अभौतिक सम्पदाहरू र त्यस अनुरूपको जीवनशैलीको समष्टिगत रुपनै नेपालको राष्ट्रिय संस्कृतिको रूपमा रहेको छ ।

यसैगरी नेपालको संविधानले सामाजिक-साँस्कृतिक रूपान्तरणको नीति अख्तियार गर्दै स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सु-सम्बन्धमा आधारित समाजको निर्माण गर्न चाहेको देखिन्छ । सामाजिक रूपान्तरणको विषय सामाजिक सांस्कृतिक विविधताका जटिलताहरूको वैज्ञानिक व्यवस्थापनको माध्यमबाट मात्र हुन सक्छ । सामाजिक विविधताका जटिलताहरू जात-जाति, धर्म, रङ्ग, लिङ्ग, प्रथा, परम्परा, रीतिरिवाज तथा संस्कारका नाममा हुने विभेद, असमानता, शोषण र अन्यायसँग गाँसिएका हुन्छन् । जसलाई संविधानमै संशोधन गरी सामन्ती‚ निरङ्कुश‚ केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दैः बहु जातीय‚ बहु भाषिक‚ बहु धार्मिक‚ बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता‚ सामाजिक सांस्कृतिक ऐक्यबद्धता‚ सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गीय‚ जातीय‚ क्षेत्रीय‚ लैङ्गिक‚ विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता‚ समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ । नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र संवर्द्धन गर्ने हक सुनिश्चित गरिएको छ । सयौँ थुँगा फूलका हामी एउटै माला नेपालीको उद्गार छ ।

स्वतन्त्रता, न्याय, समानता, समृद्धि, उन्नति र विकासका लागि नेपाली जनताले विगत लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन्, जसको फलस्वरूप २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, १० वर्षे जनयुद्ध, २०६२/०६३ सालको जनआन्दोलन र मधेस आन्दोलनहरू भए । विगतका सङ्घर्ष र आन्दोलनबाट केही राजनीतिक परिवर्तन भए पनि नेपाली जनता अझै अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन र विभेदबाट मुक्त हुन सकेका छैनन् । समाजको बस्तुगत पक्षलाई हेर्ने हो भने हरेक राजनीतिक परिवर्तनपछि पनि नेपाली जनताको जीवन कष्टकर नै देखिन्छ । राजनीतिक परिवर्तनसँगै नेपाली समाज रूपान्तरणको ठुलो अपेक्षा गरिएको थियो तर परिकल्पना गरिएअनुसार हाम्रो समाजमा सामाजिक-सांस्कृतिक परिवर्तन हुन सकेको छैन, अर्थात् आशातीत समाजको रूपान्तरण हुन सकेको छैन तर राजनीतिक चेतनाको तुलोमा परिवर्तनलाई हेर्ने हो भने केही सकारात्मक परिणाम भने आएको पाइन्छ ।

जस्तैः नेपालीहरूमा आफ्ना हक अधिकारको प्राप्तिका विषयमा खुलेर आवाज उठाउन सक्ने तथा आफूमा परेको दमन‚ शोषणको खुलेर विरोध गर्ने संस्कार विकास भएको छ । हरेक तह तप्कामा जाति‚ क्षेत्र‚ लिगंको सहभागिता, आफ्नो हकहित, समावेशिताको विषय र आफूमाथि भएको विभेदको विरोध, सामाजिक सहभागिता आदि विषयलाई लिन सकिन्छ । समाजमा रहेको जातीय छुवाछुत‚ जमिन्दारी प्रथा‚ हलिया प्रथा‚ दास प्रथा‚ छाउपडी प्रथा‚ कमाराकमारी प्रथा लगायतका कुप्रथाहरुको उन्मुलन भएतापनि राजनीतिक परिवर्तनले जातीय‚ क्षेत्रीय‚ वर्गीय‚ लैगिंक असमानता हटाउन सकेको देखिँदैन । तर‚ केही हद सम्म जातीय विभेद र वर्गीय विभेदका घटना क्रमश सहर हुँदै ग्रामीण स्तरमा कम हुँदै गएको भने पाइन्छ । सहभागितामूलक एवं समावेशी लोकतन्त्रको माध्यमबाट समाज रूपान्तरणको मुद्दालाई उठाए पनि त्यसको आशातीत उपलब्धि भएको देखिँदैन । आजसम्म पनि समाजको वस्तु स्थिति‚ यथार्थता‚ मनोविज्ञान‚ आवश्यकता‚ सामाजिक-सांस्कृतिक मूल्यमान्यता, रीतिरिवाजको विश्लेषण गरी प्रगतिशील योजना कहिकतैबाट आउन नसकेको समाजशास्त्रिहरुको गुनासो छ । बिस्तारै पछिल्ला घटनाक्रमले जात, धर्म र साम्प्रदायिकता जस्ता भावनाको बीजारोपण भई समाजमा रहेको सहसम्बन्ध, सद्भाव र सहकार्यको वातावरण खलबलिने त होइन भन्ने प्रश्न उब्जाएको छ । कुनै पनि कुरामा गहिरो विश्लेषण र त्यसको संष्लेषणविनानै तुरुन्त प्रतिक्रिया दिने‚ हल्लै हल्लामा बहकिने‚ सामाजिक सञ्जालमा भाइरलको संस्कारले विकृतिजन्य सामाग्रीलाई प्रसारमा ल्याउने र समय बितेपछि पश्चात्ताप गर्ने‚ तड्पिने बानी बस्दै गएको छ । अरूको कमजोरी, गल्ती र अयोग्यता तुरुन्तै देख्ने‚ उपदेश‚ आदर्शका गफ लाउने तर आफ्ना कमजोरीहरूबाट नसच्चिने, संयमित नहुने‚ असल संस्कृतिको विकास भन्दा भाइरल संस्कृतिको विकासमा तल्लीन हुने हुँदै  गएको छ ।

यसैगरी पछिल्लो पुस्तामा प्रविधि र परिश्रममा रमाउने‚ नयाँ नयाँ उद्यमको विकास गर्ने‚ समाज र राजनीतिप्रति अपडेट हुने‚ नयाँ शैलीको व्यवसाय गर्ने जस्ता कुराहरू विकास हुँदै गएको भने पाइन्छ । प्रविधिमा अभ्यस्त युवाहरू प्रत्येक वर्ष नयाँ पुस्ताका रूपमा बदलिँदै गएका छन् । पढ्ने, बोल्ने, प्रतिक्रिया दिने‚ मनोरञ्जन गर्ने जस्ता व्यवहारिक शैली सबै बदलिएको छ । लवाई खवाई, रहनसहन र आशा-अपेक्षाहरू फेरिएका छन् । तर मुलुकको समग्र अवस्थाले युवा जनसङ्ख्याको उचित लाभ लिन सकेको छैन । गरिबी‚ बेरोजगार‚ उचित योजनाको अभाव र उच्च राजनीतिक नेतृत्वको इच्छाशक्तिको अभाव देखिएको छ । भ्रष्टाचार र बेथितिले चरम सीमा नाघेको भनी रिपब्लिक अफ ब्राइबेरी हुने त होइन ? भनी विज्ञ विश्लेषकहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।

वर्तमान सन्दर्भमा सामाजिक-सांस्कृतिक एवं आर्थिक रुपमान्तरणनै नेपाली समाजको मुख्य भाष्यको रूपमा छ । विगत लामो समय देखि नेपाली समाजका अभाव, गरिबी, पछौटेपन‚ विभेद‚ शोषण एवं असमानताको विकल्पमा पहिचान‚ आत्मसम्मान‚ समानता‚ समृद्धि र न्यायसहितको सामाजिक एवं राजनीतिक व्यवस्था कायम गर्न विभिन्न अभियान एवं सङ्घर्षहरू भए । गणतन्त्र स्थापना भई सङ्घीय शासन प्रणालीमा मुलुक प्रवेश पनि गर्‍यो यद्यपि जनताको जीवनस्तर र भोगाइले परिवर्तनका उपलब्धिहरू अनुभूति गर्ने अवसर प्राप्त नगरेको‚ बरु उल्टो सम्भ्रान्त वर्ग एवं ठालुहरूकै हातमा उपलब्धि पुगेको भनी समाज क्रमशः निराशा तर्फ धकेलिइरहेको देखिन्छ ।

मानवशास्त्री डोरबहादुर विष्टले नेपाली समाजको विकास एवं रूपान्तरणका अवरोधकहरू भनी उजागर गरेको सामन्ती संस्कार, चिन्तन‚ सोच, शोषण, विभेद, भाग्यवाद जस्ता मुद्धाहरुमा राजनैतिक परिवर्तनहरू संवेदनशील भएनन् । फलतः राजनैतिक परिवर्तनले शासनका पात्र परिवर्तन गर्‍यो । तर, शासनको आधारभूत चरित्र, चिन्तन‚ सोच, शैली र संस्कार पूरानै रहृयो । अन्ततः विधिवत् रूपमा जातीय विभेद हटाइएको बर्सौँ भयो तरपनि अन्तरजातीय र जातभित्रकै छुवाछुतले आज पर्यन्त केही समुदाय/वर्ग सिकार भइरहेकै छ‚ गम्भीर क्रूर अमानवीय घटना घटेकै छन् । के शिक्षित के अशिक्षित व्यवहार समाजमा छुवाछुत कायमनै छ । उच्च घरनामा बालश्रम एवं खर्चिलो पार्टी भोज चलेकै छ । भ्रष्टहरूले सम्मान पाइरहेकै छन् । कर्म, विज्ञान‚ प्रविधि, मेहनत, कानुन र सभ्य सामाजिक पद्धतिमा विश्वास नगरी भाग्य, कालो धन, तस्करी‚ ठगी, कालो बजारी र कमिसनबाट मात्र सम्पन्न हुन सकिने सोचको विकास हुँदै गइरहेको छ । स्वार्थ समूहहरूले शासन प्रक्रियामा प्रभाव जमाएकै छन । विज्ञ, अनुसन्धानकर्ताहरू, वैज्ञानिकहरू पलायन हुँदै गएको अवस्था छ ।

यसैगरी कोभिड-१९ को सङ्कट गहिरिँदै जाँदा भोक र गरिबिको आयतन बढेको‚ हजारौँको रोजगार गुमेको‚ शैक्षिक क्षेत्र‚ स्वास्थ्य क्षेत्र‚ पर्यटन क्षेत्र एवं आर्थिक विकासका विविध क्षेत्रहरूमा गम्भीर असर पुगेको छ । सामाजिक जनजीवन डर‚ भय‚ त्रासमा रहेको‚ सामाजिक सम्बन्ध‚ मनोविज्ञान‚ व्यवहार‚ क्रियाकलाप एवं चालचलनमा फरकपन आएको पाइन्छ । सांस्कृतिक चाड‚ पर्व‚ जात्रा‚ मेला‚ विवाह‚ कला‚ धार्मिक क्रियाकलाप, रीतिरिवाज एवं जीवनशैलीका तरिकाहरूमा अदलबदल हुन पुगेको अवस्था छ । अब सामाजिक-सांस्कृतिक रूपान्तरणको अभियान आर्थिक‚ राजनैतिक‚ शैक्षिक‚ वातावरणीय‚ प्रविधिगत तहबाट सुरु गरी सार्वजनिक‚ निजी‚ सहकारी र सामुदायिक क्षेत्रको परिचालन गरेर ऐतिहासिक‚ भौगोलिक‚ समाजशास्त्रिय चिन्तन/डिस्कोर्सबाट मुलुकलाई दिगो शान्ति‚ सुशासन‚ विकास र समृद्धिको बाटोमा लैजानु आजको आवश्यकता हो ।

राष्ट्रभित्र रहेका स्रोतसाधनहरू (जमिन, श्रम शक्ति, उद्योगधन्दा, पुँजी, वित्त) कसरी परिचालित भएका छन् ? कसरी‚ कसले‚ कसका हितमा उपयोग र दोहन गरिरहेका छन् ? यसको विधिवत् अध्ययन आवश्यक छ । कसरी परिवर्तनलाई संस्थागत गर्ने‚ जीवन्त तुल्याउने ? यसको खोजी हुन जरुरी छ । असमानता‚ विभेद र भेदभावलाई कसरी हटाउने ? कस्तो अभियानमार्फत, कस्तो आर्थिक तथा सामाजिक-सांस्कृतिक रूपान्तरणमार्फत ? यी गम्भीर विषय हुन । संविधानले भने जस्तो समाजवाद त्यतिकै आउँदैन । ठोस परिस्थितिको ठोस विश्लेषण, परिवर्तनका लागि ठोस योजना, योजना कार्यान्वयनका लागि नयाँ क्रियाशील र कामकाजी संस्थाहरूको व्यवस्थापन आवश्यक हुन्छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस