क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


८ जेष्ठ २०७७, बिहिबार


बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका ४१ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका शिक्षकको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले पुष्टि गरे । उनले भने ,‘आइसीयूमा उपचाररत उनको विहान ७ बजेर १० मिनेटमा निधन भएको छ’

जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा भर्ना भएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनमा कोरोना पोजेटिभ देखिएको हो। भैरहवास्थित प्रयोगशालाले स्वाव परीक्षण गरेको थियो।

ज्वरो आएपछि स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पुगेका उनी त्यहाँ निको नभएपछि अर्घाखाँचीको छायाँ पोलिक्लिनिकमा गएका थिए। त्यहाँबाट उनी बुटवल गएका थिए । गुल्मीमा कोरोना पोजटिभमा कसरी संक्रमण भयो भन्ने अझै खुलेको छैन्।

उनको सम्पर्कमा आएका चिकित्सकसहित ३८ जनाको स्वांब संकलन गरेर कोरोना परीक्षण गरिँदैछ। उनको अन्य व्यक्तिसँगको सम्पर्कको विषयमा अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। यससँगै प्रदेश ५ मा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। १ सय ९६ जना संक्रमित भएका छन्। यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या ४४४ पुगेको छ । जसमध्ये ४५ जना निको भएर घर फर्किसकेका छन् ।

बुधबार संक्रमितको मृत्यु भएको हल्ला फैलिएको थियो । त्यसपछि अस्पतालले विज्ञप्ति जारी गर्दै उनको मृत्यु नभएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस