१० जनामा कोरोना भेटिएपछि कचनकवलका पाँच वडा सिल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१० जनामा कोरोना भेटिएपछि कचनकवलका पाँच वडा सिल


७ जेष्ठ २०७७, बुधबार


झापा । झापाको कचनकवल गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । पालिकामा सात वडा रहेका छन् ।

शनिवार भारतको मुम्बईबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नं २ स्थित पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरू सबैको पिसीआर परीक्षणका लागि कोसी अञ्चल अस्पताल स्वाब सङ्कलन गरी पठाइएको थियो ।

उनीहरूमध्ये सोमबार साँझ एक २३ वर्षीय युवामा कोरोना लागेको पुष्टि भएको थियो भने मङ्गलवार थप नौ जनामा पुष्टि भएको छ । उनीहरूलाई राखिएको क्वारेन्टिनमा समेत सिल गरिएको उनले बताए । सोही पालिकाकाको सीमा क्षेत्रबाट मात्र चार दिनभित्रमा १४६ नेपाल प्रवेश गरेका छन् । सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई सुरक्षित तरिकाले क्वारेन्टिनमा ल्याएर राखिएको हुँदा गाउँवासीमा त्रास नफैलिएको पालिकाका अध्यक्ष अञ्जार आलामले बताए ।

मङ्गलबार पुष्टि भएका नौ जनालाई नेपाल रेडक्रस सोसाइटी झापा र बनियानी स्वास्थ्य चौकीको एम्बुलेन्समार्फत विराटनगरस्थित कोभिड अस्पताल लगिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस