मन्त्रिपरिषदमा नेपालको नयाँ नक्सासहितको प्रस्ताव लैजाने तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषदमा नेपालको नयाँ नक्सासहितको प्रस्ताव लैजाने तयारी


४ जेष्ठ २०७७, आइतबार


काठमाडौं । मन्त्रीपरिषद बैठकमा नेपालको नयाँ नक्सासहितको प्रस्ताव लैजाने तयारी भएको छ । नापी विभागले तयार पारेको नक्सालाई भूमि व्यवस्था मन्त्री पद्मा कुमारी अर्यालले मन्त्रिपरिषद बैठकमा लैजाने तयारी गरेकी हुन् । मन्त्रिपरिषदमा नक्साबारे छलफलपछि मात्रै पारित हुनेछ ।

नयाँ नक्सा प्रकाशन गर्न मन्त्री अर्यालले नापी विभागलाई निर्देश गरेकी थिइन् । उनकै निर्देशनमा लिम्पियाधुरा सहितको भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ नक्सा तयार भएको हो । तर नक्सा सार्वजनिक गर्नुअघि सरकारले त्यसका प्राविधिक, कुटनीतिक र अन्य सबै पक्षलाई विचार गरेर परिपक्व निर्णय गर्नुपर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममै लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने भनिएको र नेकपा सचिवालय बैठक तथा संसदीय समितिले पनि निर्देशन दिइसकेको थियो ।

भारतसँग वार्ताबाट समाधान हुने अपेक्षामा नक्सा जारी गर्न रोकिएको र अब भारतले लिपुलेकबाटै सडक खन्न थालेपछि नक्सा जारी गर्न नेपाललाई दबाब परेको मन्त्री अर्यालले बताइन् ।

नेपालको हाल प्रचलनमा रहेको नक्सामा लिम्पियाधुरा छैन । लिम्पियाधुरा नेपालको नक्सामा नरहेको भन्दै यसको विरोध भइरहेको छ । नेपालको संविधानको अनुसूचीमा उल्लेखित राष्ट्रिय नक्सामा समेत लिम्पियाधुरा समेटिएको छैन । नयाँ नक्सा जारी गरेर भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन नेपाल सरकारले कुटनीतिक पहल गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस