नोबेल कोरोना कहरको भूराजनीतिक अर्थ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नोबेल कोरोना कहरको भूराजनीतिक अर्थ


१० बैशाख २०७७, बुधबार


विषय प्रवेश
चीनको उहान सहरमा एक जना ५७ वर्षीया महिला माछा तथा मासु व्यापारीमा देखा परेको नोबेल कोरोना भाइसको संक्रमणले हाल विश्वव्यापी महामारीको रूप लिएको छ । पृथ्वीमा एकै पटक यति धेरै देश एउटै समस्याले आक्रान्त भएको यो पहिलो पटक हो । नरसंहारकारी प्रथम र दृतीय विश्वयुद्धमा समेत पृथ्वीमा एकै पटक यति धेरै देश प्रभावित भएका थिएनन् । यतिबेला विश्वका लगभग सबै देशहरू लकडाउनको अवस्थामा छन् । नेपाल लकडाउनको अवस्थामा प्रवेश गर्नुअगी नोबेल कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १५ हजार थियो भने पंक्ति लेख्दाको समयसम्म यो संख्या १ लाख ७७ हजार ६ सय ४१ पुगेको छ भने २१० वटा देशहरू प्रत्यक्ष प्रभावित छन् । सिंगो मानव जातिको अस्तित्व नै समाप्त हुनसक्ने त्रासदीका बीच हाल नोबेल कोरोना भाइरसको संक्रमणले विश्व त्रसित छ ।

के हो नोबेल कोरोना भाइरस ?
हालसम्म नोबेल कोरोना भाइरसको मुल स्रोतको पहिचान आधिकारिक रूपमा हुन सकेको छैन । वैज्ञानिकहरूले नोबेल कोरोना भाइरसको सम्भावित कारण उहान सहरको समुद्री खाना तथा पशु बजारमा चमेरा, कोब्रा सर्पजस्ता वन्यजन्तुको उपभोग र त्यहाँबाट भाइरसको एक्सपोजर भएको हुनसक्ने बताएका छन् । चीनको उहान सहरका एकजना माछा तथा मासु व्यापारीमा सामान्य रुघाखोकी र ज्वरोबाट देखा परेको नोबेल कोरोना भाइरस नयाँ प्रजातिको जिवाणुबाट संक्रमित रोग हो भनेर पहिचान गर्न तीन हप्ता लागेको थियो । रूघाखोकी र ज्वरोको लागि अस्पताल गएकी एकजना महिला बिरामीको स्वस्थ्य परीक्षण गर्दा ३३ वर्षीय डा. लि उइलिंग हि ले नयाँ तथा फरक खालको भाइरस मानिसमा संक्रमण भएको बताएका थिए । तर चीन सरकारले जनतालाई आतङ्कित बनाउन अनावश्यक हल्ला फैलाएको आरोपमा डा. लि उइलिंग हिलाई जेल हाल्यो । बन्दी अवस्थामा रहेको २६औं दिनमा नोबेल कोरोना भाइरसकै संक्रमणले डा.लि उइलिंग हि यो संसारबाट बिदा भए । उनको मृत्यु हुँदासम्म चीनमा संक्रमितको संख्या सयौं पुगिसकेको थियो । संक्रमण भएको तीन हप्तापछि चीनले आफ्नो देशमा नयाँ भाइरसको संक्रमण भएको विषयमा डब्लुएचओलाई जानकारी गरायो । नयाँ प्रजातिको भाइरस भएको किटानी सहित विश्व स्वास्थ्य संगठनले यसलाई नोबेल कोरोना भाइरस नाम दियो । हालसम्म मानव जातिमा संक्रमण हुने ६ किसिमका भाइरसमध्ये यसलाई भाइरस प्रजातिकै नयाँ भाइरस मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसले ज्वोरो, रुघाखोकी लाग्नुका साथै फोक्सोको सङ्क्रमण गराई निमोनिया निम्त्याउँछ । यो भाइरस केही घण्टाभन्दा बढी हावामा बाँच्न सक्दैन । यसको उष्मायन अवधि लगभग १ देखि १४ दिन बीचको अनुमान गरिएको छ ।

नोबेल कोरोना भाइरसको उत्पत्तिमा चिनियाँहरूको अप्राकृतिक खानपिन जिम्मेवार रहेको दाबी गर्नेहरू पनि प्रशस्त छन् । कुकुर, बिरालो, सर्प, बिच्छी, चमेरा, फट्याङ्ग्रा आदि विभिन्न जीवजन्तुहरूको मासु खाने चिनियाँ चलन छ । समुद्री जीवजन्तुहरूको मासु समेत चीनमा लोकप्रिय छ । विभिन्न जीवजन्तुको मासु र जनावरसँगको असुरक्षित सम्पर्कबाट मानिसमा खतरनाक भाइरस संक्रमण हुनसक्ने तर्कमा लगभग सम्पूर्ण चिकित्सकहरूको एक मत पाइन्छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेसुसले मानवलाई संक्रमणबाट बचाउन जंगली तथा सामुद्रिक जीवजन्तुको मासुमा रोक लगाउनुपर्ने विचार अगाडि सारेका छन् ।
चीनको एक प्रतिष्ठित अस्पतालका प्रसूती तथा स्त्री रोग विशेषज्ञ डा. राजनकिशोरी केसीका अनुसार नोबेल कोरोना भाइरस सन् २००२ मा चीनमै देखिएको सार्स र सन् २०१२ मा मध्यपूर्वको मिर्स र कोरोना भाइरसभित्रकै समूहहरुको एउटा ठूलो सदस्य हो ।

जैविक हतियारको बहस
नोबेल कोरोना भाइरसलाई जैविक हतियार हो भनेर ठोकुवा गर्नेहरू समेत प्रशस्त छन् । क्यानडाको ग्लोबल रिसर्च नामको वेवसाइटको लिंक सेयर गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकी सैनिकले उहानमा कोरोना भाइरस ल्याएको भनी ट्वीट गरेर । झाओले आफ्ना फलोअर्सलाई उक्त ट्वीट रिट्वीट गर्न अनुरोध गरेका थिए । उक्त वेवसाइटले गत अक्टुबरमा उहानमा भएको मिलिटरी वर्ल्ड गेम्समा सहभागी अमेरिकी सैनिकमा कोरोना भाइरस भएको लेखेको छ । संसारको एउटा महाशक्ति चीनले कोरोना भाइरस अमेरिकी उत्पादन हो भनिरहेका बेला अर्को महाशक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई पटक पटक चाइनिज भाइरस भन्दै आइरहेका छन् । तर राष्ट्रपति ट्रम्पको भनाइ खण्डन गर्दै अमेरिकी पत्रिका न्यूयोर्क टाइम्समा थ्री रुल्स फोर ट्रम्प प्यान्डामिक शीर्षक दिएर अमेरिकी लेखक पाउल क्रुगम्यान लेख्छन्; ‘नोबेल कोरोना भाइरसलाई ट्रम्पले चिनियाँ भाइरस भनिरहेका छन् । आफ्नो नश्लवादी सोंच र आफ्नो असफलतालाई लुकाउन अरुमाथि दोषारोपण गर्नु उनको राष्ट्रपतीय निर्णायक विशेषता हो । यदि कोरोनाको उपनाम दिनैपर्ने हो भने यसलाई ट्रम्प महामारीको रूपमा चित्रण गर्नु उपयुक्त हुनेछ ।’

रसियन विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखोराभाले हालै पूर्वसोभियत संघबाट विघटित देश जर्जियाको जैविक प्रयोगशालामा अमेरिकाले जैविक हतियार निर्माण गरिरहेको आरोप लगाएकी छिन् । रसियाबाट प्रकाशित हुने प्रभ्डा डट रू का लागि प्रमुख सम्पादक इन्ना नोभिकोभाले लिएको अन्तरवार्तामा रसियन भूराजनीतिक विशेषज्ञ सेन्टरका निर्देशक भ्यालेरी कोरोभिन भन्नुहुन्छः ‘नोबेल कोरोना भाइरसको निर्माण जहाँसुकै गरिए पनि अमेरिकाको जैविक हतियार निर्माण गर्ने ल्यावबाट चीनलाई घेराबन्दी गरिएको छ । रसियाको सीमा क्षेत्रमा अवस्थित युक्रेन र जर्जियालगायतका देशमा अमेरिका लामो समयदेखि जैविक हतियारको काम गरिरहेको छ ।‘

संयुक्त राष्ट्रसंघ जैविक तथा रासायनिक हतियारका सल्लाहकार वैज्ञानिक इग्नोर लिकुलिनले नोबेल कोरोना भाइरस अमेरिकाले उत्पादन गरेर चीनमा छोडिएको बताएका छन् । चीनमा संक्रमण देखिनासाथ अमेरिकाले २०२० को फेब्रुअरीसम्म चीनमा २ लाख मानिस संक्रमित भएर १ लाखको संख्याम मर्ने भविष्यवाणी गर्नुलाई यसको आधार मान्नुपर्ने भनाइ लिकुलिनको छ । भाइरसले फरक फरक कालको स्वाभाव देखाउनु, कतै रुघाखोकी लाग्नु र कतै कुनै लक्षण नदेखिएर मान्छे मर्नु, एक पटक संक्रमित भएर निको भइसकेको मान्छेलाई पुनः संक्रमण हुनुले भाइरस प्राकृतिक नभई कृत्रिम उत्पादन भएको उनको जिकिर छ । विश्व स्वास्थ्य संगठन र चीनले दिएको चेतावनीलाई ट्रम्पले उडाउनुको अर्थ भाइरसले चीनलाई मात्रै नोक्सान गर्ने र त्यो अमेरिकासम्म आइ नपुग्ने कुरामा अमेरिका ढुक्क रहेको हुनसक्ने निकुलिनको दाबी छ । तर पछिल्लो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल कोरोना चीनले फैलाएको पुष्टि भएमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

सन् २०१९ को नोभेम्बर दोस्रो साता चीनको उहान सहरमा कोरोना प्रकोपले महामारी रूप लिने सूचना अमेरिकाले आफ्नो जासुसी निकाय, सैनिक, ह्वाइट हाउस र इजरायललाई अक्टोवरमै दिएको रहस्य खुलेको छ । अमेरिकाबाट प्रशारण हुने एबीसी न्यूज (९, अप्रिल) र इजरायलबाट प्रशारण हुने च्यानल १२ ले हालै यसको रहस्य खोलेका हुन् । यसरी विभिन्न सञ्चार गृह र रुसी अधिकारी, उच्च राजनीतिशास्त्री तथा विशेषज्ञहरूले बारम्बार नोबेल कोरोना भाइरस अमेरिकी जैविक हतियार हो भनि दावी गरिरहनुको कुनै कारण र आधार नहोला ? किन अमेरिकी अधिकारीहरू यी आरोपप्रति मौन छन् ? एक अर्काप्रति आरोप प्रत्यारोपले अमेरिका र चीन जुँघाको लडाइँ गरिरहेका छन् । तर इतिहास हेर्दा लेखक तथा विश्लेषकको हवला दिएर अमेरिकाले कुनै पनि घटना हुनुभन्दा पहिल्यै पटकथा लेखाउने गरेका दृष्टान्तहरू देखिन्छन् । ती पटकथा साँच्चै नै भविष्यवाणी हुन् वा संयोग हुन् ? वा अमेरिका आफैँ धामी आफैँ बोक्सी बन्ने प्रपञ्च हुन् ? हेरौँ-

खाडी क्षेत्रमा तेल लुट्ने पटकथा
भूराजनीतिक परिवेशका दर्जनौं अमेरिकी रणनीति विश्व मानचित्रमा पटाक्षेप गरिएका छन् । हेगका अधिकारीहरूलाई समेत मूकदर्शक बनाएर आफ्नो कटपुतली तथा कथित न्यायालयबाट खाडी क्षेत्रको शक्तिशाली राष्ट्र इराकका राष्ट्रपति सद्दाम हुसेनलाई फाँसीमा झुण्याउने अवस्था सिर्जना गर्न अमेरिकाले अपनाएको रणनीति पुरानो होइन ।

सन् १९९२ मा अमेरिकाले एकजना राजनीतिशास्त्री सम्यूल पी हन्टिंगन लाई प्रवचन दिन लगाएर सन् १९९३ मा सोही प्रवचनमाथि आधारित एउटा पुस्तक लेख्न लगायो । क्ल्यास फोर सिभिलाईजेसन नामको उक्त पुस्तकमा शीतयुद्धपछि विभिन्न देशहरूबीच धर्म र संस्कृतिमा आधारित सभ्यताको द्वन्द्व हुनेछ भन्ने भविष्यवाणी गर्न लगाइयो । उक्त कथित भविष्यवाणीको हवला दिएर आज पनि आतंकवादको नाममा मानव हत्याको धन्दा चलाएर अमेरिका खाडी क्षेत्रको तेल लुटिरहेको छ ।

सन् १९७९ मा सद्दाम हुसेन राष्ट्रपति हुनुअघि इरानमा अमेरिकाका विश्वाशिला मित्र शाहको निरंकुश राजतन्त्र फ्याँकेर आयतोल्लाह खमेनीले इस्लाम धर्म परम्पराअनुसार शासन सञ्चालन गरे । यो घटनाबाट अमेरिका इरानदेखि निकै क्रुद्ध बन्यो । अमेरिकाको आँखा खाडी क्षेत्रको तेलमाथि थियो, त्यसैले शक्तिशाली इरानविरुद्ध खाडी क्षेत्रमा उभिनसक्ने अमेरिकालाई भरपर्दो मित्रको आवश्यकता परयो । अतः अमेरिकाले जासुसी सूचना सूचीकृत गर्ने उपकरण, अत्याधुनिक हातहतियार र डलर ओइरो नै लगाएर इराकलाई सहयोग गर्‍यो । अमेरिकी सहयोगले हौसिएका सद्दाम हुसेनले आफूलाई खाडी क्षेत्रको शक्तिशाली सम्राट नै सम्झेर इरान र इराकको सीमाक्षेत्रमा खनिज तेलको अथाह भण्डार रहेको भनि अमेरिकी मिडियाले गरेको अफवाहको विश्वासमा इरानसँग युद्ध गर्न तयार भए । यस युद्धमा छिमेकी देश कुवेतले १ खर्ब ७० करोड डलर ऋण र आफ्ना दुईवटा टापुहरू भाडामा दिएर इराकलाई सहयोग गर्ने बचन दिएको थियो ।

एउटा ढुंगाले दुईवटा चरा मार्ने रणनीतिअनुरुप अमेरिकाले आफू कुवेतको पक्षमा रहेको विश्वस्त पार्दै इराकलाई कुनै पनि सहयोग नगर्न सुटुक्क सुझाव दियो । उता इरान, कुवेत र प्यालिस्टाइन भूभागमा कब्जा जमाएर बसेका इजरायलीविरूद्ध इराकको पक्षमा उभिने भन्दै सद्दाम हुसेनलाई विश्वास लिन सफल भयो । अमेरिकी सहयोगले मात चढेका सद्दाम हुसेन आफू खाडी क्षेत्रलगायत मध्यपूर्वकै दादा बनेको सपना देख्न थाले । अन्ततः सीमा विवादको निहुँमा ४ सेप्टेम्बर, १९८० मा इरानको तेल क्षेत्रमा सद्दामले भिषण आक्रमण गरिछोडे । ८ अगस्त, १९८८ सम्मको आठबर्से भिषण युद्धमा १० लाख जनताको नरसंहार भएपछि इराकले इरानमाथि विजय प्राप्त गर्‍यो ।

पूर्वसम्झौता बमोजिम इरान र इराक युद्धमा आर्थिक सहयोग, सामुद्रिक नाका भाडामा नदिएको र केही सीमा विवादलाई लिएर २ अगस्त, १९९० को एका बिहानै इराकले कुवेतमाथि बमबारी गर्न थाल्यो । इराकले कुवेतमाथि आक्रमण गर्नु भन्दाअघि आफू इराककै पक्षमा रहने कुरामा सद्दाम हुसेनलाई आश्वस्त गर्दै तत्कालीन इराकका लागि अमेरिकी राजदूतले भनेका थिए; “मलाई राष्ट्रपति बुसबाट इराकसँग सुमधुर सम्बन्ध बढाउने आदेश प्राप्त भएको छ । कुवेतसँगको तपाईँको सीमा विवादमा हामी कुनै हस्तक्षेप गर्ने छैनौँ ।” कुवेतमाथि आक्रमण गर्नु एक दिनअघि मात्रै तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री जोन कलालेल भनेका थिए; “खाडी क्षेत्रका कुनै पनि राष्ट्रको सीमा विवादमा अमेरिकाले इतिहासकालदेखि कसैको पक्ष लिने काम गरेको छैन ।”

यस युद्धमा कुवेतलाई पराजित गरेर इराकले आफ्नो १९औं प्रान्त भएको घोषणा गर्‍यो । तर अमेरिकाको लागि यी सबै नाटकका रिहर्सल मात्रै थिए । इरान र कुवेतमाथि इराकले कब्जा गरिसकेपछि इराकसँग विश्वलाई नै खतरा हुनसक्ने रासायनिक र जैविक हतियार रहेको अमेरिकाले निहुँ बनायो । परिणामस्वरूप सन् १९९१ मा अमेरिका, बेलायत, जर्मनी, इटली र अष्ट्रेलियालगायत २८ मुलुक सम्मिलित सेनाले ३१ दिनसम्म इराकमाथि २ लाख ५० हजार टन बम बर्साएर २० हजार निरपराध इराकी जनताको नरसंहार गरे । सन् २००४ मा पुनः दोस्रो पटक भएको आक्रमणमा अमेरिका र बेलायत सम्मिलित सेनाले इराक कब्जामा लिई ३० डिसेम्बर, २००६ मा मानवताविरोधी अपराधको नाममा सद्दाम हुसेनलाई फाँसी दिइयो ।

कोरोना कहरको पटकथा
सेप्टेम्बर, २००५ मा अमेरिकी जासुसी संस्था सिआइएले प्रकाशन गरेको प्रतिवेदनमा सन् २०२० मा पृथ्वीमा महामारी आउनसक्ने भविष्यवाणी गरिएको रहस्य हालै चर्चामा रहेको छ । अमेरिकी लेखक अलेक्जेण्डर एडलरले लेखेको द न्यू सीआइए रिपोर्ट, ह्वाट वील बी द फेस अफ द वल्र्ड इन २०२५?” मा यो विषयको खुलासा गरिएको र उक्त पुस्तक सन् २००५ देखि २००९ सम्म पश्चिमा जगतमा निकै चर्चामा रहेको बुझिएको छ । सिआइएको प्रतिवेदनको हवला दिँदै उक्त पुस्तकको एउटा उपशीर्षक अ पोसिबल आउटब्रेक अफ अ ग्लोबल पेन्डेमिकमा विषालु र संक्रामक रोगले स्वास प्रश्वासमा अवरोध सिर्जना गर्ने र उक्त रोगको पर्याप्त उपचार नहुने उल्लेख गरिएको छ । पोर्चुगलबाट प्रकाशन हुने पत्रिका ‘भिसाओ’ ले समेत सिआइएको प्रतिवेदनको हवला दिएर स्वास प्रश्वासको संक्रमण र यसको महामारी रूपको व्याख्या गरेको भेटिएको छ ।

यस्तै एकजना उपन्यासकारमार्फत ४० वर्ष पहिले नै कोरोना भाइरससँग नजिक रहेर अमेरिकाले गर्न लगाएको भविष्यवाणी अनौंठो छ । सन् १९८१ मा अमेरिकी उपन्यासकार डेन कोन्टाजले लेख्नुभएको आइज अफ डार्कनेस मा मानव निर्मित जैविक हतियारलाई गोर्की ४०० नाम दिइएको पाइन्छ । त्यो बेला अमेरिका र सोभियत संघ विश्व महाशक्ति थिए । एक अर्काका प्रतिद्वन्द्वीको रूपमा रहेका अमेरिका र सोभियत संघबीच शीत युद्ध जारी थियो । सोभियत संघलाई निशाना बनाउने योजनामा उक्त जैविक हतियारलाई गोर्की ४०० नाम दिइएको अनुमान गरिन्छ ।

सन् १९९० का सोभियत संघ विघटन र शीत युद्धको समाप्तिसँगै संशोधन गरी उक्त पुस्तकको नाम वुहान ४००लेखियो । १९९० पछि सोभियत संघ विघटन भएपछि विश्व महाशक्तिको रूपमा उदयमान चीनतिर निशाना सोझ्याउन पुस्तकको नाम संसोधन गरिएको बुझ्नु अत्युक्ति हुँदैन । उक्त पुस्तकको एक हरफमा लेखिएको छ; “वुहान ४०० जैविक हतियारलाई चिनियाँ सेनाले ल्यावमा निर्माण गर्नेछ ।”

रुसी सेनालाई अफगानिस्तानबाट लखेट्ने प्रयोजनका लागि अमेरिकाका अनन्य मित्र बनाइएका साउदी अरबका खर्बपति ओसामा विन लादेन आतंककारीको नाममा अमेरिकी सेनाबाटै मारिए । करिब ४२ वर्षदेखि लिवियामा निरंकुश शासन गर्दै आइरहेका कर्णेल मुअमर गद्दाफी लिवियाली बिद्रोही जनताको नाममा अमेरिकी आशीर्वाद प्राप्त नेटो सैनिकद्वारा आफ्नै गृह नगरमा मारिएका थिए ।

माथि उल्लिखित दृष्टान्तहरूले कथित लेखक तथा भविष्यवेत्ता जन्माएर कागजमा पटकथा रचना गराउने र समय अन्तरालमा तिनै पटकथामा आधारित योजना कार्यान्वयनमा अरुमाथि आक्रमण गर्ने अमेरिकी कूटनीतिको पोल खुलासा हुन्छ । इरान र इराकबीच रहेको पर्सियन खाडीमा अथाह तेल भण्डार रहेको आफ्ना मिडियाबाट झुट्टा समाचार प्रशारण गराएर अमेरिकाले खाडी युद्धको विजारोपण गर्‍यो, आठ वर्षपछि मात्रै त्यहाँ तेलको भण्डार नभएर आफूलाई मूर्ख बनाइएको इराकले भेउ पाउँदासम्म कुवेत युद्धको पृष्ठभूमि तयार भइसकेको थियो । कुवेतलाई आफ्नो प्रान्त बनाउन पाएकोमा मख्ख परिरहेको समयमा स्वयं इराकमाथि अमेरिकी बर्बादीको बादल मडारीसकेको थियो । मडारिरहेको बर्बादीको बादलमुनि लेखक सम्यूअल पी हन्टिंगनलाई क्ल्यास अफ सिभिलाईजेशन नामको सिर्जना गर्न लगाएर सद्दाम हुँसेनलाई फाँसी मात्रै चढाएन आतंकवादको नाममा मानवता विरोधी अपराध गर्दै आइरहेको छ । ४० वर्षअघि लेखिएको गोर्की ४०० र वुहान ४०० को कथा आज विश्वलाई स्तब्ध बनाइरहेको नोबेल कोरोना भाइरस भाइरसको आतंक केवल संयोग मात्रै हो वा अरू ? समयले बताउने छ ।

कोरोना भाइरसको कारण प्राकृतिक होस वा कृत्रिम तर यसले मानव जातिकै अस्तित्वमाथि प्रश्न चिन्ह लगाएको छ । प्राकृतिक स्रोतको अति दोहन, अत्याधुनिक सूचना प्रविधिको आविष्कार तथा उपयोग, औद्योगिकीकरण तथा विश्वव्यापीकरणले उत्पत्ति गरेको संकटको रूपमा यसलाई बुझिन थालेको छ । विकास र समृद्धिको नाममा स्थापित धारणाहरू धर्मराउन थालेका छन् । जैविक र रासायनिक हतियारहरू मानव अस्तित्व समाप्त गर्न पर्याप्त रहेको भनेर सुनिएका कथनहरू आज अनुभवबाट गुज्रिन थालेका छन् ।

विश्वका धनि तथा विकसित मानिएका देशहरूको अहंकार र गरिब तथा पिछडिएका भनिएका देशहरूको हिनताबोधको मनोविज्ञान बदलिएको छ । विकासका मानक मानिएका सहरीकरण, उद्योग, कलकारखाना र यान्त्रिकरणले धानिएको अर्थतन्त्र एक दिन बालुवाको घरझैं तहसनहस भएर समाप्त हुँदारहेछन् भन्ने अनुभूति भएको छ । नोबेल कोरोना भाइरसको आगामी भूराजनीतिक अर्थभन्दा पहिले पृथ्वीको राजनीतिक नक्शा बदल्ने पाँचवटा ठूला महामारीको चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

१. युरोपको जमिनमा सामन्तवादी सम्बन्धको अन्त
चौधौं शताब्दीमा यूरोपबाट सुरु भएको प्लेगरूपले विश्वव्यापी महामारीको रुप लियो । यूरोप, एसिया र उत्तरी अफ्रिकी देशहरू यो महामारीको चपेटामा परेका थिए । पृथ्वीको २० करोड र यूरोपको मात्रै एक तिहाइ जनसंख्या मृत्युको शिकार बनाएको प्लेग रोगले युरोपको राजनीतिक नक्शा नै परिवर्तन गराइदियो ।

किसानहरूलाई आफ्नो श्रम मूल्यको बार्गेनिङ् गर्न र सामन्तहरूको शोषण उत्पीडनविरुद्ध आवाज उठाउन यसले जागृत गरायो । कृषि प्रविधिको खोजी गरी कृषि लागत र उत्पादनबीच रहने अन्तरको निष्कर्षलाई श्रमको अवयवसँग जोड्न प्लेग रोगले महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो । आधुनिकीकरणका सूत्रहरूको प्रयोग गरी अर्थतन्त्रलाई विकासित गराउन, खोज अनुसन्धान, शक्ति सञ्चय र प्रदर्शन, सामुद्रिक यात्रामा अब्बल सावित गराउँदै उपनिवेश बनाउनेजस्ता कार्यमा यसले यूरोपलाई उत्प्रेरित गरायो ।

२. युरोपियनहरूद्वारा अमेरिकी महादेश कब्जा
सन् १५२० अतिक्रमण गर्न उत्तर अमेरिका पुगेका युरोपियनहरूबाट मेक्सिकोमा बिफर फैलियो । मेक्सिकोबाट बिफरले उत्तर अमेरिकामा महामारीको रूप लियो । यसबाट ८० लाख मानिसको ज्यान गयो । यो महामारीको दौरानमा अमेरिका कब्जाको अभियानमा जुटेका युरोपियनहरुले त्यहाँको कूल ६ करोड जनसंख्यामध्ये ५ करोड ५० लाख अमेरिकी आदिबासीको हत्या गरेर अमेरिकामा इसाई धर्मको जग बसाले । जनसंख्याको विनाशले त्यहाँ खेती गरिएको ५ लाख ६० हजार हेक्टर जमिन जङ्गलमा परिणत भयो । यूरोपियन बर्बरताले अमेरिकाको मानवीय नक्शा र पर्यायवरण नै बदलिदियो । बिफरले अमेरिकी आदिवासीहरूलाई आफ्नो देशमा अल्पमतमा पारिदियो । अङ्ग्रेज तथा युरोपियनहरूको हालिमुहाली गराइदियो ।

३. महाशक्ति अमेरिकाको उदय
सन् १८९३ मा संयुक्त राज्य अमेरिकाबाट फैलिएको पित ज्वरोले करिब २० लाख मान्छेको ज्यान लियो । अमेरिकाबाट सुरु भएर १८९८ सम्म क्यारेबियन देशहरूसम्म फैलिएको महामारीले संयुक्त राज्य अमेरिकालाई आजको महाशक्ति राष्ट्रसम्म पुर्‍याइदियो । यो बेलासम्म ग्वाटेमाला, हण्डुरस, क्युवा, हैटी लगायतका मध्य अमेरिकी देशहरू फ्रान्सको कब्जामा थिए भने अमेरिकामा समेत फ्रान्सेली उपनिवेशको दबदबा थियो । अमेरिकालाई पूर्णरूपमा अधिनस्थ बनाउने रणनीतिमा फ्रान्स थियो । सोही महामारीको कारण सन् १९०१ मा हैटीमा फ्रान्सविरुद्ध विद्रोह भयो । महामारी र विद्रोहका कारण आफ्नो ६० हजार सेनामध्ये ५७ हजार सेना गुमाएर हैटी र अमेरिकाबाट फ्रान्स भाग्न बाध्य भयो । आफ्नो नियन्त्रण बाहिर रहेपछि नगद लिएर अमेरिकालाई हैटी जिम्मा लगाएर फ्रान्स फर्किएको थियो । यदि फ्रान्स पछि हट्ने परिस्थिति नआएको भए अमेरिका फ्रान्सको उपनिवेशमा रहिरहन्थ्यो । १७७६ को अमेरिकी स्वतन्त्रा संग्रामको इतिहासले हावा खाइसकेको हुन्थ्यो । तर दुर्भाग्यवश नगद लिई हैटीलाई अमेरिकाको जिम्मा दिएर फ्रान्स उत्तर अमेरिकी महादेशबाटै विदाबारी भयो । आजको महाशक्तिको रूपमा अमेरिका स्थापित हुनमा यो महामारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो ।

४. अफ्रिकामा युरोपेली उपनिवेश
पशुहरूमा फैलिएको महामारीले अफ्रिकालाई यूरोपको उपनिवेशभित्र रहन महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो । सन् १८८८ देखि १८९७ सम्म पशुहरूमा फैलिएको महामारीले अफ्रिकी महादेशका ९०% पशुहरू सखाप बनायो । यसले गर्दा अफ्रिका पशुविहीन भएर खेती बन्द भयो । यही मौका छोपेर अफ्रिकामाथि यूरोपले कब्जा गर्‍यो । सिंगो अफ्रिका युरोपको उपनिवेशमा रहनुको कारण नै यही महामारी बन्यो ।

५. चीनमा मिङ राजवंशको अन्त्य
सन् १६४१ देखि १६४४ सम्म चीनमा प्लेग र मलेरियाको महामारीले धेरै धनजनको क्षति भयो । मानवीय क्षतिको कारण कृषि उत्पादन घटेर भोकमरी सुरु भयो । यस प्राकृतिक विपत्तिले त्यसबेलाको सबैभन्दा शक्तिशाली मिङ राजवंशलाई यति कमजोर बनायो कि सामान्य डाँका र लुटेराहरूसँग समेत सामना गर्न नसकी मञ्चुरियाको किंग राजवंश सदाको लागि अन्त भयो । यसबाहेक पृथ्वीमा पटक पटक महामारीमा घटना घटिसकेका छन् ।

एक्काइशौं शताब्दीमा पृथ्वीमा धेरै महामारीका रुप धेरै देखिए । तर समयमै नियन्त्रण गर्न आधुनिक चिकित्सा विज्ञान सफल भएको कारण कुनै पनि संक्रमणले ती महामारीले विश्वव्यापी रुप लिन पाएनन् । मानव शरीरमा भाइरस संक्रमण हुन थालेको सन् १९६० पछि मात्रै हो । सन् १९६८ जुलाई १३ मा हङकङमा देखिएको फ्लुजन्य भाइरस सिंगापुर र भियतनाममा १७ दिनभित्र फैलिएको थियो भने तीन महिनाभित्र यसको फैलावट फिलिपिन्स, भारत, अस्ट्रेलिया, युरोप र संयुक्तराज्य अमेरिकासम्म भएको थियो ।

सुरुमा हङकङ फ्लुका नामले चिनिएको यो भाइरस स्वाइनफ्लू महामारीको रुपमा फैलिएको थियो । यो रोगबाट करिब १० लाख मानिसको मृत्यु भएको बताइन्छ । विभिन्न प्रकारका फ्लूजन्य रोग (स्वाइनफ्लु, बर्डफ्लु, एशियन फ्लु, इन्फ्लुएन्जा आदि) संक्रमणका कारण विश्‍वमा सन् १९१८ देखि यता करिब दुई करोडदेखि पाँच ५ करोड मानिसले ज्यान गुमाउनु परेको विश्‍व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । सन् १९७६ मा प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखा परेको एचआइभि एडसबाट हालसम्म करिब ५ करोड मानिसको मृत्यु भइसकेको बताइन्छ । तर पछिल्लो समयमा एचआइभी एड्सबाट मर्नेहरूको संख्या ५०% ले घटेको छ । छोटो समयमा फैलावट र मृत्यु दर हेर्दा नोबेल कोरोनाले विश्वको सबैभन्दा ठूलो महामारीको रुप लिने देखिन्छ । यो महामारीबाट पृथ्वीमा यसप्रकारको हलचल ल्याउने देखिन्छः

१. मानव जीवन प्रकृतितर्फ फर्कने
मानव र प्रकृतिबीचको लडाइँ चरमोत्कर्षमा पुग्दा ठूलो प्रलय हुनेछ भन्ने भनाइ पुरानै हो । प्रकृतिको अति दोहन अभिशाप मात्र होइन यो मानव जातिकै उन्मूलनको कारक बन्न सक्छ भन्ने तर्कमा विमति पाइँदैन । यो सास्वत सत्यमा विमति नभए पनि मानव गतिविधि प्रकृतिविरुद्ध रहँदै आयो । जसरी एउटा मान्छेको अनुहार र हस्तरेखा अर्को मान्छेसँग दुरुस्त मिल्दैन त्यसरी नै पृथ्वीको एउटा भूगोलको आकृति अर्को भूगोलसँग मिल्दैन । भूआकृति र पर्यावरणको स्वत्व नै हरण हुनेगरी भएको कृत्रिमता प्रकृतिलाई सैह्य हुँदैन, अन्ततः एकदिन हिसाब किताबसहित आफूमाथिको भद्दा लेपनको प्रकृतिले मानवलाई सजाय दिएरै छोड्छ ।

विश्वव्यापीकरण र सूचना प्रविधिले मानव जीवन सरल मात्र बनेन, यसले विनाश र प्रलयको खाडल पनि खनिरहेको छ । प्रशिद्ध वैज्ञानिक स्टिफन विलियम हकिङले सन् १९९३ मा प्रकाशित आफ्नो पुस्तक ब्ल्याक होल्स एण्ड वेवी युनिभर्सेस अदर एसेसमा’ ब्रह्माण्डसम्बन्धी अनेकौं रोचक प्रसंगसहित आगामी १ हजार वर्षमा पृथ्वीको तापक्रमले जीवन अस्तित्व समाप्त हुने दावी गरेका छन् । हकिङले आगामी ६ सय वर्षभित्र मंगललगायत अन्य ग्रहमा मानवलाई स्थानान्तरण गरिसक्नुपर्ने सुझाव दिएका छन् । पृथ्वीमा जीवन चक्र शून्यबाट सुरु हुने भएकोले आगामी ६ सय वर्षभित्र दोस्रो ग्रहमा स्थानान्तरण गर्न सके मात्रै मानव जातिको अस्तित्व बचाउन सकिने हकिङको तर्क छ । पृथ्वीको तापक्रममा यसरी अचाक्ली वृद्धि हुनुको कारण औद्योगिकीकरणको तीव्र वृद्धि, जङगल फडानी, खनिज उत्खनन् र नाफा बजारमा मानवबाट हुने कार्बन उत्सर्जनले बिग्रिँदो पर्यायवरण नै हुन् ।

हाम्रो वैदिक दर्शनले मानवलाई मांशहार निषेध गर्छ । प्रकृतिले मानवलाई मांशहार बन्ने शरिर दिएको छैन । अप्राकृतिक भोजन तथा आहारको अधिक सेवनले मानवको मानसिक र शारीरिक अवस्था पनि अप्राकृतिक हुने गर्छ । मांशहार प्राणी र शाकाहार प्राणीको भिन्नता शारीरिक बनावटबाटै छुट्टिन्छ । मांशहारभित्र तीखो दाँत र नङग्रा भएको जीव पर्दछन्, जस्तोः बाघ, बिरालो, कुकुर, स्याल, भालु आदि । शाकाहारभित्र थेप्चो दाँत र नङ तथा खुर भएका जीव पर्दछन्, जस्तोः मानव, गाई, भैंसी, खसी बाख्रा, मृग आदि ।

मानवबाहेक शाकाहार पृथ्वीका सम्पूर्ण प्राणीहरू प्रकृतिले दिएको उमेर बाँच्दछन् । मानवलाई जस्तो अन्य प्राणीहरूलाई उच्च तथा न्युन रक्तचाप, डाइबेटिज, कोलेस्टर, युरिक एसिडजस्ता नसर्ने दीर्घ तथा क्यान्सर, क्षयरोग, दादुरा आदिजस्ता सरुवा रोग लाग्दैन । यसो हुनुको एउटै कारण हो, हरेक प्राणीले प्रकृति प्रदत्त आहार खानु । धर्तिमा मानव मात्रै यस्तो प्राणी हो जसले प्रकृति प्रदत्त अलावा प्रकृतिबाट निषेधित आहार सेवन गर्ने गर्छ । उहिले ऋषिमुनिहरू डेढ/दुई सय वर्ष बढी बाँच्थे । तर अचेल पृथ्वीमा मानव मात्र यस्तो प्राणी भएको छ, जुन प्रकृतिले दिएको पूरा आयु बाँच्न नपाई अप्राकृतिक आहारको कारण अल्पआयुमै मृत्युको शिकार भइरहेको छ । अप्राकृतिक आहारको कारण सरुवा तथा नसर्ने दिर्घ रोगबाट ग्रसित भई मानवको अकालमै ज्यान जाने गरेको छ ।

हाल विश्वव्यापी महामारीको रूप लिइरहेको नोबेल कोरोना भाइरसको व्युत्पत्तिको सम्बन्धमा विभिन्न आडकलबाजी भइरहेका छन् । मानवमा सर्ने यसअघिका ६ प्रकारका भाइरसहरूको कारण मांशहार नै भएको र हाल भाइरस प्रजातिमा पर्ने छुट्टै नयाँ भाइरस देखा परेकोले यसको नाम नोबेल कोरोना भाइरस राखिएको हो । चीन र अमेरिकाले एक अर्कालाई आरोप लगाएजस्तो यो मानव निर्मित जैविक हतियार होस् वा प्राकृतिक तर मानव जातिको अप्राकृतिक सम्बन्ध र गतिविधि नै यसको प्रमुख कारक हो भन्ने कुरा निर्विवाद छ । अतः प्रकृतिको अति दोहन, तीव्र औद्योगिकीकरण, विश्वव्यापीकरण मानव अअप्राकृतिक आहारको अन्त गरी प्रकृतितिर फर्किनु आजको प्रमुख आवश्यकता हो । नोबेल कोरोना महामारीले विश्व समुदायलाई नयाँ बहसमा लैजाने छ । जिब्रोको स्वादका लागि प्राणी जगतका विभिन्न परिकार आहार गर्ने पश्चिमा चलनलाई हावा खुवाएर वैदिक सभ्यताको अहिंसावादी जीवन अंगीकार गरिने छ र गरिनु पर्छ ।

२. शक्ति सन्तुलन र धुव्रिकरण
सोभियत संघको विघटनपछि संयुक्त राज्य अमेरिका एक मात्रै विश्वको महाशक्तिको रुपमा उदाइरह्यो । युरोपियन युनियनलगायत पश्चिमा शक्तिकेन्द्रका गठबन्धनहरू अमेरिका अगाडि बाउन्ने मात्र सावित भएनन् उनीहरू प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा महाशक्ति अमेरिकासँग भाइचाराको सम्बन्धबिना बाँच्न नसक्ने अवस्था देखियो । अतः बिसौं शताब्दिको शक्तिकेन्द्र अमेरिका तथा पश्चिममा देशहरू रहन गए ।

नोबेल कोरोना महामारीको कारण विश्वको विद्यमान शक्ति सन्तुलन उल्टिएर नयाँ शक्तिकेन्द्र निर्माण हुने तस्वीर देखा परेको छ । युरोपियन युनियनबाट नोबेल कोरोना महामारीसँग जुध्न सहयोग नपाएपछि युरोपेली राष्ट्र सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुचिचले आफूलाई अब उप्रान्त चीनले मात्रै बचाउन सक्ने भन्दै युरोपियन युनियनलाई दन्त्य कथाको संज्ञा दिए । विश्वव्यापी २ सय दश देशहरू नोबेल कोरोना भाइरसबाट प्रभावित भइसक्दासम्म सर्वियालगायत संसारका एक सय दशभन्दा बढी देशहरूसम्म सहयोगी हात लिएर चीन पुगेको छ । महाशक्तिको रूपमा चिनिएको अमेरिका भने सबैभन्दा बढी मृत्यु हुने राष्ट्रमा दरिएर थला परेको अवस्था छ । न्यूयोर्क सिटीका मेयर बील डी ब्लेसियोले संघीय सरकारसँग ३० हजार भेन्टिलेटर माग गर्दा ट्रम्प प्रशासनले दिन सकेन । स्मरण रहोस् अमेरिका विश्वमै सबैभन्दा बढी स्वास्थ्य उपकरण उत्पादन गर्ने देश हो । तर पटक पटक अमेरिकाको हस्तक्षेपसँग जुधिरहेको देश क्युवाले नोबेल कोरोना महामारीबाट आफ्ना नागरिकलाई बचाउन गरेको व्यवस्था उदाहरणीय देखियो ।

संसार लकडाउनको अवस्थामा पुग्दा सुरुमा अमेरिका बन्द हुन बनेको देश होइन भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पलेको सबैभन्दा बढी मृत्यु देशमा अमेरिका दरिएपछि विश्व स्वास्थ्य संगठनसँग सहयोग याचना गर्दै सहयोग नगरे दिइँदै आइरहेको अमेरिकी सहयोग रोक्का गर्ने चेतावनी दिन विवश भए । सुरुमा लकडाउन गर्न र मास्क लगाउन नमानेका राष्ट्रपति ट्रम्प सहायता नपाएको झोंकमा विश्व स्वास्थ्य संगठनलाई चेतावनी दिन पुग्नु नोबेल कोरोना महामारीले दिन प्रतिदिन थपिँदै गइरहेको संकटअगाडि बिचरा अवस्थामा पुग्नु सिवाय केही होइन ।

यसैबीच रसियन सैनिक चिकित्सक टोली सहयोगको पोको बोकेर अमेरिकालगायत संकटग्रस्त देशमा उपस्थित हुनलाई शक्ति ध्रुविकरणको रूपमा बुझ्न सकिन्छ । आफ्नो अखण्ड भूगोलभित्र विदेशी सेनाको प्रवेश हुनुजस्तो एउटा सार्वभौम राष्ट्रका लागि दुर्भाग्य के होला ? अहिले जवाफ दिने समय नभए पनि भविष्यले यस प्रश्नको उत्तर जरुर खोज्नेछ । विश्वको महाशक्ति देश आफ्नो सार्वभौमिकतासँग सौदाबाजी गर्न विवश बनेको बेला चीनले संकटलाई नियन्त्रणमा ल्याएर नोबेल कोरोना महामारीको इपिसेन्टर बनेको उहानलगायतका सहरहरू खुला गरेर जनजीवन सामान्य अवस्थामा फर्काइसकेको समाचार छ ।

नोबेल कोरोना महामारी अगाडि शक्ति राष्ट्रको सामरिक क्षमताले हावा खाएको मात्र छैन, अब्बल चिकित्सा व्यवस्था बनाएर औषत आयु बढाएका देशहरूको समेत निँद हराम गरिदिएको छ । संसारमै अब्बल चिकित्सा व्यवस्था भएको इटालीका प्रधानमन्त्री जिसेफ कोन्टे भक्कानिएर सडकमा रोइरहेको दृश्यले विश्व स्तब्ध बनायो । अथाह प्रयासका वावजुद भकाभक जनताको ज्यान जान थालेपछि ‘जो जहाँ हुनुहुन्छ त्यहीँ बसेर भगवान भरोसामा ज्यान छोडिदिनुहोस’ भन्दै सडकमा भक्कानो फुटाएर रुन उनी विवश भए । प्रधानमन्त्रीको निराशजनक अभिव्यक्तिपछि नागरिकहरूले फ्याकेका नगदबाट (युरो) इटालीका सडकहरू छोपिएका दृश्यहरूले शक्ति र समृद्धिको हालसम्मको विश्व परिभाषालाई फगत झुटो सावित गरिदियो । आखिर मानव संकटलाई डलर, युरो र फगत समृद्धिले बचाउन सक्दो रहेन छ । प्रकृतिको निर्मम प्रहारसँग जुध्न नाफा बजारको पर्याय बनेको पुँजीवादी अर्थव्यवस्था असफल मात्रै होइन, निस्काम समेत सावित भइदियो ।

सीमाविहीन संक्रमण कोरोना महामारीको मुख्य सन्देश हो । संसारलाई ध्वस्त गर्नसक्ने हरजारौंको संख्यामा अणुवम निर्माण गरेर आफूलाई पृथ्वीको दादा सम्झेर बसेको अमेरिका यतिबेला कायल छ । संक्रमणले धनि गरिब, विकास अविकास केही भनेन । बरू गरिब तथा अविकसितभन्दा आधुनिकीकरण तथा चरम औद्योगिक विकास भएका देशहरू यसको निशानामा छिटो परे । नेपाललगायत गरिब तथा अविकसित देशहरू संक्रमणबाट कम प्रवाहित हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय हवाई यातायात सुविधा कम हुनु, पर्यटकहरूको न्युन आगमन र श्रमबजारमा अन्तर्राष्ट्रिय श्रमिकहरूको संख्या कम हुनु देखियो । हालसम्म संक्रमणबाट उच्च मृत्युदर हुनेमा चरम विकास भएको अमेरिका र युरोपेली देशहरू रहेका छन् । कुल मृत्यु हुने संख्यामा युरोप र अमेरिकाको हिस्सा ८६ प्रतिशत रहेको छ ।

सामरिक क्षमता बलियो हुँदैमा, नागबेली चिप्ला सडक हुँदैमा, गगनचुम्बी महल हुँदैमा, सूचना प्रविधिको उच्चतम विकास हुँदैमा, औद्योगिकीकरणको तीव्र विकास हुँदैमा, ठूला अस्पताल बनाउँदैमा र मेडिकल सामग्री र चिकित्सक धेरै उत्पादन गर्दैमा मान्छे बचाउन सकिँदो रहेनछ भन्ने कुरा नोबेल कोरोना कहरले प्रमाणित गरिदियो । यस्तो विषम परिस्थिति र संकटमा मान्छे बचाउन राज्य नियन्त्रित अर्थव्यवस्था तथा केन्द्रिकृत राज्य प्रणाली नै सफल हुँदोरहेछ भन्ने तस्वीर देखियो । चीन, क्युवा, उत्तर कोरिया, दक्षिण कोरिया र रसियाजस्ता देशहरूले महामारी नियन्त्रण र मान्छे बचाउन भएको सफलताले विश्वको शक्ति सन्तुलन उल्टिएर एसियातर्फ धुव्रिकरण हुने प्रष्ट देखियो ।

३. राजनीतिक व्यवस्थामा परिवर्तन
सोभियत संघको विघटन तथा शीतपुद्धको अन्त्यपछि दुनियाँमा समाजवादी अर्थव्यवस्थाको पराजय र उदार पुँजीवादी अर्थव्यवस्था विजयको रूपमा विश्व राजनीतिलाई बुझ्न थालियो । खुला, उदार तथा पुँजीवादी अर्थव्यवस्थाको विजय मात्रै होइन निर्विकल्प व्यवस्थाको रूपमा यसको हर्षबढाइँ गरियो । पुँजीवाद परिस्कृत हुँदै नयाँ चरण र रूपमा प्रवेश गर्दै जाँदा यसले थुप्रै विकृति, विसंगति र कमजोरीहरूलाई पनि सतहमा ल्याइरह्यो । तर, पुँजीवादका हिमायतिहरूले जीवन पद्धति नै प्रजातन्त्र हो भन्दै पुँजीवादलाई प्रजातन्त्र रक्षाकवज ठाने । परिणामस्वरूप पुँजीवादलाई एकाधिकार, प्रतिस्पर्धात्मक, दलाल नोकरशाही चरण हुँदै भूमण्डलीकरणको चरणसम्म विकसित गराउन यो विचारको महत्त्वपूर्ण भूमिका रह्यो । यहाँसम्म आइपुग्दा हरेक चरणमा पुँजीवादले आफ्नो फरक फरक चरित्र निर्माण गर्दै आयो । खास गरी पछिल्लो समयमा विश्वव्यापीकरण तथा विश्वव्यवस्थाको रूपमा पुँजीवादले आफ्नो चरित्र निर्माण गरेपछि सूचना प्रविधिको चरम विकास भयो । तर सूचना प्रविधिको उपभोगबाट मानवले जुन सुखानुभूति गरिरहेको छ, त्यो नै मानव जातिको वर्वादीको कारक त बन्दै छैन ? बहस सुरू हुनुपर्ने देखिएको छ ।

सूचना प्रविधिले विशाल पृथ्वीलाई सानो गाउँमा परिणत गरिदिएको छ । संसारका विशाल कला संस्कृति, रहनसहन, समसामयिक गतिविधि, समाचार, विचार विमर्श एउटा बन्द कोठाबाट नियाल्न सकिने मात्रै होइन एक ठाउँदेखि अर्को ठाउँसम्मको भौतिक दूरी छोट्टिएको छ । पृथ्वीको एउटा कुनामा आविष्कार गरिएको प्रविधिले तुरुन्तै विश्वव्यापी रूप लिने गरेको छ । जसरी सूचना प्रविधिले मानव जीवनलाई सहज र सुगम बनाउँदै लगेको छ । तर यसको अर्को रूप त्यो भन्दा भयावह र वर्वादीको हुँदोरहेछ । पृथ्वीको सुदूर पूर्वमा रहेको चीनलाई नोबेल कोरोना भाइरसको संक्रमणले बिरामी बनाइरहेको बेला सुदूरपश्चिममा रहेको अर्को देश अमेरिका निश्चिन्त थियो । संक्रमण देखा परेको तीन साताभित्र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेसुसले यो विश्व समुदायकै लागि खतरनाक हुने चेतावनी दिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी–७ को बैठकमा नोबेल कोरोना भाइरसलाई चाइनिज भाइरस नामकरणका गर्न असफल प्रस्ताव गरिरहेका थिए ।

ट्रप्पको यो दुस्साहसिक प्रस्ताव राजनीतिक प्रणाली र शक्ति प्रदर्शनको आडमा नोबेल कोरोना महामारीलाई राजनीतिकरण गर्ने चालबाजी बाहेक केही थिएन । जब चीनमा नोबेल कोरोना भाइरस भुसको आगोझैं सल्किँदै थियो अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायतजस्ता पुँजीवादका हिमायति राष्ट्रहरू यसलाई चीनको समस्या मात्रै देखेर हाँसिरहेका थिए । उनीहरू चीनले गरेको लकडाउनलाई गिज्याइरहेका थिए । शक्ति र वैभवको घमण्डमा चिनियाँ अर्थतन्त्रलाई जिस्काइरहेका थिए । हाल तिनै देशहरू संक्रमण र मृत्यु हुने संख्याको अग्रपंक्ति छन् । उत्तर कोरियालाई तथ्याङ्क लुकाएको आरोप लागेको छ तर उसले आफ्नो देशलाई नोबेल कोरोना भाइरस मुक्त जोन भनेर घोषणा गरेको छ । अहिलेसम्म विश्व स्वास्थ्य संगठन लगायत विश्वका कुनै पनि स्वतन्त्र निकायले नोबेल कोरोना महामारीको कारण उत्तर कोरियामा मान्छे मरेको पुष्टि गर्न सकेको छैन ।

अमेरिका, इटाली, स्पेन फ्रान्स, बेलायत संसारमै राम्रो स्वास्थ्य सुविधा र धेरै स्वास्थ्य उपकरण उत्पादन गर्ने देशहरूमा पर्छन तर तिनै देशहरु यो संकटबाट दुनियाँका सबैभन्दा संकटग्रस्त देशहरुमा दरिए । यसको प्रमुख कारण पुँजीवादका लागि नभई नहुने खुल्ला उदारवादी अर्थव्यवस्था देखियो । यसको विपरीत सरकार नियन्त्रित चीन, क्युवा र उत्तर कोरियाजस्ता देशहरू संकट व्यवस्थापनका लागि तुलत्नामक सफल देखिए । संकट व्यवस्थापनका लागि कडा नीति लिएको कारण रसिया र दक्षिण कोरिया पनि यसमा सफल देखिए ।

आधुनिकीकरण, विज्ञान प्रविधिको होडबाजीमा अगाडि बढिरहेको पुँजीवाद मानव अस्तित्व रक्षाको लागि निस्काम हुँदोरहेछ । प्रजातन्त्र, खुला समाज र उदारवादी अर्थव्यवस्थाले निम्त्याएको संकट रक्षाको लागि बन्द तथा राज्य नियन्त्रित अर्थव्यवस्थाको आवश्यक पर्दोरहेछ भन्ने देखियो । विकास विनासको कारक बन्नु हुँदैन । नाफा बजारका लागि पुँजीवादले ल्याएको संकट चरमोत्कर्षमा पुगिरहेको रहेछ । नाफा र शक्तिका लागि पुँजीवादले कुल्चिदै आएको मानवताविरोधी कार्यको हिसाब किताब गर्ने समय आएको देखिन्छ । मानव सभ्यता रक्षा गर्न पुँजीवादको पतन अवश्यभावी देखियो । आखिर मान्छे बचाउन राज्य नियन्त्रित, बन्द समाज तथा केन्द्रीकृत शासन व्यवस्था नै अपरिहार्य हुँदोरहेछ । अतः पैसा, प्रविधि र शक्तिलाई प्रमुख मान्ने वा मानव कल्याणलाई सर्वोपरी ठान्ने ? सुहाउँदो राजनीतिक व्यवस्था रोज्नु विश्वलाई अनिवार्य भइसकेको छ ।

उपसंहार
नोबेल कोरोना भाइरसले विश्व समुदायलाई नयाँ शिक्षा जरुर दिएको छ तर नेपालजस्ता गरिब तथा तेस्रो विश्वका देशहरूलाई यसले विशेष सतर्क गराएको छ । खाडी तथा अन्य मुलुकमा आफ्नो सीप र श्रम बेची सहरमा घर बसाल्न चाहने युवाहरूले सोच्नुपर्ने बेला आएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आफ्नो देशमा रहेका विदेशी नागरिकलाई छिटोभन्दा छिटो स्वदेश फर्कन हालै चेतावनी दिए । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आप्रवासीहरूलाई फिर्ता जान पटक पटक उर्दी गरेको सुनिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आफ्नो देशमा रहेका नेपाली कामदारहरूलाई फिर्ता जान उर्दी गरेको सुनिन्छ तर यसको आधिकारिक पुष्टि हुन भने सकेको छैन । नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीले हालै गर्नुभएको ट्वीटमा दुई देशका प्रधानमन्त्रीबीच जो जहाँ रहे पनि सम्बन्धित देशले सोही ठाउँमा गासबासको बन्दोबस्त गर्ने सहमति भएको उल्लेख छ ।

एकैछिन कल्पना गरौँ ! यतिबेला हरेक देशहरूले वैदेशिक रोजगारका लागि विदेशिएका नागरिकहरु स्वदेश फिर्ता हुनैपर्ने बाध्यता आयो भने के होला ? पुँजीवादले खडा गरेको बहुराष्ट्रिय कम्पनिमार्फत विश्वको प्राकृतिक स्रोतको दोहन मात्रै गरेन त्यहाँको बहुसंख्यक जनशक्तिलाई कुल्लीमा परिणत गरेर श्रम शोषण समेत गरिरह्यो । आफ्ना खेतबारी बाँझो राखेर श्रम बजारमा कुल्लीको जागिर खान विदेशिएका नेपालीजस्तै कामदारहरूलाई यो विषम अवस्थामा मर्नुको विकल्प नहुने रहेछ । यो पुँजीवादले थोपरेको गम्भीर संकटको गतिलो उदाहरण हो । रेमिट्यान्सलाई अर्थतन्त्रको मुल स्रोत मान्ने देशहरूले सोच्नैपर्ने बेला आएको छ । यसै सन्दर्भमा विश्लेषक भरत दाहाल लेख्नुहुन्छः

‘पश्चिमाहरूले हाम्रा मूल्यवान परम्परागत मूल्य र मान्यतालाई पछ्यौटे र थोत्रा भने, हामीले हो भन्यौं । तिनीहरूले हाम्रो जीवन पद्धतिलाई असभ्य भने हामीले हो भन्यौं । तिनीहरूले हाम्रा संस्कार र संस्कृतिलाई कुरीति भने, हामीले हो भन्यौं । तिनीहरूले हाम्रो आत्मनिर्भर उत्पादन प्रणालीलाई अविकास भने र पैसाको लोभ देखाए, हामी तिनीहरूको ग्राहक बन्न तयार भयौँ । तिनीहरूले आफ्ना लागि विकास गरेको शासन प्रणाली हस्तान्तरण गरे, हामीले त्यसलाई प्रजातन्त्र भन्ठान्यौँ । तिनीहरूले हाम्रा मुल्यवान सम्पदाहरू लुटे र हामीलाई विष जिम्मा लगाए, परिणाम के भयो ? उनीहरूले हामीलाई कुल्लीको जागिर नदिँदा हामी मर्ने भयौँ । उनीहरूले तयारी वस्तु नपठाउँदा हामी भोकै बस्ने भयौँ । उनीहरूको जहरबाट बाँच्नका लागि आफ्नो सबै सम्पत्ति उनीहरूलाई नै बुझाइरहेका छौँ ।

आफ्नो उत्पादन, आफ्नो भान्सा र आफ्ना वनस्पतिहरू कति मूल्यवान औषधिहरू हुन भन्ने कुरा विश्व स्वस्थ इतिहासले बारम्बार पुष्टि गरिसक्दा पनि पश्चिमाहरूको आधुनिकताको होहल्लाको नक्कलका पछाडि दौडेर हामीले सबै चिज गुमाएका छौँ । रासायनिक तत्वहरूको प्रयोगले हाम्रो उत्पादन विषाक्त भएको छ । खाना पाक्ने भान्छालाई पछ्यौटे संस्कार ठानेर बजारका विषालु तैयारी खाना खाइरहेका छौं । स्वस्थताको ज्ञारेन्टी भएका भाँडाहरू हटाएर सस्तोको नाममा हामीले रोग उत्पन्न गर्ने मिश्रित धातुका भाँडा प्रयोग गरिरहेका छौँ । शरिरका लागि एकदमै सुरक्षित रेशाबाट बन्ने पोशाकहरू तिरस्कार गरेर हामीले रोग उत्पन्न गर्ने पोशाकहरुलाई आत्मसात गरेका छौँ ।’

शक्ति, सम्पत्ति र समृद्धिको नाममा पुँजीवादको विभाजनमा परेको तेस्रो विश्वका देशहरूको आफ्नै मूल्य मान्यताहरू छन् । उनीहरूका आफ्नै परिवेश, सभ्यता र संस्कार छन् । डलर र शक्तिको परिभाषामा गरिब तथा तेस्रो विश्वमा वर्गीकृत भए पनि कला संस्कृति र सभ्यताको दृष्टिकोणले हरेक देश सम्पन्न छन् । सामरिक क्षमता र वैभवले मात्रै सम्पन्नताको परिभाषा पूर्ण हुन सक्दैन । विश्लेषक भरत दाहालले भने झैं आर्थिक विकासमा पछि पर्ने बित्तिकै त्यहाँका मूल्य मान्यता पनि पिछडिएकै रूपमा बुझ्न थालियो । पश्चिमा भन्ने बित्तिकै उन्नत, आधुनिक र सभ्य समाज बुझ्ने मनोविज्ञानले विश्वलाई पश्चिमा विकृत मान्यता ग्रहण गरायो ।

आत्मियता र अभिवादनका लागि आलिंगनमा टाँसिएर चुम्बन गर्नु र हात मिलाउनुलाई सभ्य ठानियो । पानीको सट्टा ट्वाइलेट पेपर प्रयोग गर्नुलाई शिक्षा मानियो । आफ्नो रैथाने भाषाको सट्टा अङ्ग्रेजी बोल्नुलाई बौद्धिकता मानियो । परिणामस्वरूप आफ्ना लागि पश्चिमाहरूले प्रयोग गरेका मूल्य मान्यता हाम्रा हुन पुगे भने हाम्रा मूल्य मान्यताहरू पछ्यौटेपनको विरासतमा बिलाए । नोबेल कोरोना महामारीले अमेरिकी राष्ट्रपति ट्रप्पलाई नमस्कार गर्न मात्र सिकाएन पश्चिमा जगतले अंगीकार गरेका मूल्य मान्यता र चालचलनहरू अव्यवहारिक र अवैज्ञानिकसमेत सिद्ध गरिदियो । नेपाल लगायत तेस्रो विश्वका देशहरूका पुँजीवादले कुल्चेका कैयौं मूल्य मान्यताहरूको सान्दर्भिकता उजागर भएका छन् ।

नोबेल कोरोना महामारीले सिकाएको अर्को सत्य कृषि महत्त्व र विकास हो । संसारमा कृषिजस्तो भरपर्दो स्थायी अर्थतन्त्र अरु होइन रहेछ । सेवा, मेसिन र कल कारखानामा आश्रित अर्थतन्त्रको कुनै ठेगान हुँदो रहेनछ । पेट भर्न र बाँच्नको लागि कृषि चाहिन्छ । इन्टरनेट, पर्यटन, प्रविधि, उद्योग कल कारखाना र सेवाले उत्पादन गर्दैन । पुँजी उत्पादन र संचयका लागि विकास गरिएको अर्थतन्त्र र व्यवस्था अस्थायी हुन् । माटो जीवन हो, स्वदेश आमा । हाम्रा खेतबारी बञ्जर राखेर अर्काको लागि श्रम गरिने वैदेशिक रोजगारले एक दिन हामी खाल्डोमा पर्ने रहेछौँ । कृषिमा आश्रित अर्थतन्त्र नै निश्चिन्त ढुक्क रहने आधार हो । अतः रेमिट्यान्स र वैदेशिक रोजगारका यसअघि स्वीकृत मान्यता तिरस्कृत हुन वाञ्छनीय छ । नोबेल कोरोना महामारीले यस विषयलाई बहसमा ल्याउने छ र आफ्नो सभ्यता, माटो र स्वदेशलाई माया गर्न विश्वलाई सिकाउने छ । अबको लडाइँ पुँजी र शक्तिको नभई विचार र सभ्यताको हो । भूमण्डलीकरण र प्रविधि सिंगो मानवताका लागि नभएर एकाध व्यक्ति र कर्पोरेट हाउसहरूको लुटका लागि रहेछ । नवउदारवाद, बजार अर्थतन्त्र र भूमण्डलीकरणको व्याख्या शक्ति र सम्पत्तिका लागि रहेछ, मान्छेका लागि होइन । नोबेल कोरोना महामारीको निष्कर्ष यही हो र यस्तै रहने छ ।

यी लेखकका नीजि बिचार हुन्

Tags :
प्रतिक्रिया दिनुहोस