कोरोना भाईरसः के पृथ्वीले आराम गर्न खोजेको हो ? « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कोरोना भाईरसः के पृथ्वीले आराम गर्न खोजेको हो ?


७ बैशाख २०७७, आइतबार


यति बेला विश्व नै कोरोना भाइरस(कोभिड-१९) को महामारीले विकराल संकटबाट गुज्रिरहेको छ। कोरोनाले फैलाएको जस्तो त्रासदी र भयावह अवस्था सायदै यो पृथ्वी र पृथ्वी भित्रको प्राणिजगतले भोग्नुपर्‍यो होला। यो महामारी कतिसम्म फैलिन्छ र कहिले अन्त्य हुन्छ भन्ने कसैले पनि भन्न सक्दैनन्। इतिहासले के देखाउँछ भने यस्ता महामारीको अन्त्य हुन्छ तर त्यसका लागि समय भने लाग्छ। विश्वमा यस पूर्व पनि महामारीले करोडौँ मानिसको ज्यान लिएको इतिहास छ। यसरी त्रासदीको वातावरण सिर्जना गर्ने भाइरस कसरी उत्पत्ति हुन्छ भन्ने विषयमा विभिन्न अड्कलबाजीहरू गरिएता पनि पर्यावरणविदहरुको आकलन सबैभन्दा नजिक रहेको देखिन्छ । कोभिड-१९ कै कारकतत्व मानिएको कोरोना भाइरसको नयाँ अवतार उत्पत्ति हुनुको पछाडि मानवीय विकाससँग जोडिएको पर्यावरणीय कारण हुन सक्छन् भन्ने धारणा रोग पर्यावरणविद्हरूको रहेको छ। मानवीय गतिविधिहरूले पृथ्वीलाई पारेको अनावश्यक भार र प्रदूषणबाट पनि संक्रामक रोगहरू फैलिन्छन् । तसर्थ, चलायमान पृथ्वीको आफ्नो गतिविधिलाई मानवीय गतिविधिले गर्दा केही समय आराम गर्न खोजेको हो त? यो विषयमा पनि सोच र खोज हुन जरुरी छ ।

मानवजातिले विकासको नाममा पृथ्वीमा गरेको विनाशलाई प्रकृतिले धान्न सक्ने अवस्थामा देखिँदैन । समय–समयमा बाढी, पहिरो, खडेरी, हावाहुरी र विभिन्न ब्याक्टेरिया भाइरसको प्रकोपबाट देखा पर्ने रोगव्याधिको नामले प्रकृतिले सचेत गराउँदै आएको छ । तर पनि मानिस स्विकार्ने र सच्चिने पक्षमा देखिँदैन । उद्योगको नाममा निस्कने धुवाँ–धूलो, आवश्यकभन्दा बढी पेट्रोलियम पदार्थको प्रयोग, खनिज पदार्थको उत्खनन, विकास र सहरीकरणको नामले हुने बोट–बिरुवा र वनस्पतिको विनाशले गर्दा बिस्तारै सबै जीवहरूलाई सङ्कटमा धकेल्ने काम गर्दै छ । यसै गतिमा प्रकृतिको विनाश हुँदै जाने हो भने पृथ्वीमा कठोर प्रजातिका शत्रुजीवहरुको मात्रै विकास हुने र मानवरहित जीवहरू विनाश हुन गई सम्पूर्ण मानव सङ्कटमा पर्न सक्ने अनुमान गर्न सकिन्छ । यो वर्तमान कोरोना सन्त्रास पनि पृथ्वीमा मानव गतिविधिका कारण सिर्जित शत्रु जीव हो। र पृथ्वीले आराम गर्नका लागी सिर्जना गरेको परजीवी हो भनी व्याख्या गर्न कुनै हिचकिचाहट छैन ।

इतिहासकार युभल नोह हरारीले भनेका छन्, ‘तीन वटा खतराले मानव जातिको अस्तित्व समाप्त पार्न सक्छन्। ती हुन्, आणविक युद्ध, पर्यावरणको विनाश र प्रविधिले निम्त्याउने विनाश। हामीले यिनै तीन मुद्दामा केन्द्रित भएर सोच्नुपर्छ।’ यी तीन खतरा निम्त्याउनुमा मानव नै जिम्मेवार छन्। प्रविधि र विकासको तीव्रतासँगै मानिसले आफ्नू मात्र नभई पृथ्वीकै अस्तित्व सङ्कटमा पारेको विश्लेषकहरू बताउँछन्। वन विनाश, औद्योगिकीकरण, बढ्दो सहरीकरणलगायतका विभिन्न विकास–निर्माणका कामले मानवीय जीवन मात्र नभई पृथ्वीकै अस्तित्व सङ्कटमा परिरहेको छ। बढ्दो प्रदूषणले जलवायु परिवर्तन लगायतका समस्यामा बल पुर्‍याइरहेका छन्। यसले पृथ्वीको आयु छोट्ट्याउन मद्दत पुर्‍याइरहेको छ। त्यसैले पृथ्वीले आफ्नो लामो आयुको लागी कोरोना (कोभिड-१९) जस्ता रोगहरू मार्फत आराम गर्न खोजेको त होइन? भन्ने प्रश्न आम जनमानसमा उब्जिएको छ ।

रोग लाग्नुमा अमुक किटाणुमात्र जिम्मेवार हुँदैन, हाम्रो सामाजिक, आर्थिक, मानसिक र पर्यावरणीय अवस्था पनि उत्तिकै जिम्मेवार हुन्छ ।भाइरस सूक्ष्म तरिकाले जल, जमिन र जङ्गलमा वास गरिरहेको हुन्छ । यसले मानव शरीरमा वास पाएपछि प्रतिरक्षा प्रणाली कमजोर बनाएर मानिसलाई रोगी बनाउँछ । यी कसरी मानव शरीरमा प्रवेश गर्दछन् त? यो सर्वविदितै छ, हाम्रा मानवीय गतिविधिहरूले यिनले सहजै हाम्रो शरीरमा प्रवेश गर्दछन् । हामी हाम्रा हरेक क्रियाकलापहरूमा पृथ्वीको रक्षा कसरी गर्ने भन्दा पनि व्यक्तिगत फाइदाको लागी दोहन गरिरहेका हुन्छौ ।त्यही दोहन गर्ने सिलसिलामा चाहे हाम्रो खानपानबाट होस, चाहे रीतिरिवाज र संस्कारबाट होस, भाइरस हाम्रो शरीरमा प्रवेश गर्दछ । यही भाइरसले महामारीको रूप लिई मानव जगतलाई खतरामा पार्दछ ।

धेरैजसो संक्रामक महामारीहरू जनावरको माध्यमबाट मानिसमा सरेका छन् । यो कोरोना (कोभिड -१९) पनि चमेरा वा सालक वा दुबैबाट मानिसमा सरेको हो भनी अड्कलबाजी गर्न थालिएको छ ।यसरी जनावरबाट मानव शरीरमा यस्ता भाइरसहरू आउनुमा मानिसकै गल्ती छ । जङ्गल फडानी, अव्यवस्थित औद्योगिकीकरण, अव्यवस्थित सहरीकरण र सहरहरूको विस्तारले गर्दा जनावरमा रहेका घातक परजीवीले मानव शरीरमा आउने बाटो पाएका छन् । त्यस्ता जनावरको सिकार गरेर मासु खाने र त्यसका विभिन्न अङ्गको प्रयोग गरिनुले पनि अन्य जनावरमा भएका भाइरस मानव शरीरमा छिर्ने मौका पाइरहेका हुन्छन् । पारिस्थितिक पद्धतिलाई सन्तुलित राख्न सके यस्ता महामारीजन्य प्रकोपहरूले मानव जातीलाई सताउने छैन। तसर्थ पृथ्वीमा मानव अस्तित्व सँगै अन्य जनावर र वोटविरुवा तथा परजीवीहरूको अस्तित्वलाई स्वीकार गर्दै तिनीहरूलाई जुन अवस्थामा छन्, त्यही अवस्थामा रहन दिए महामारीजन्य रोगहरू फैलने थिएनान ।

हामी एउटा अन्तर सम्बन्धित र अन्तर निर्भर पर्यावरणीय सञ्जालका सदस्य हौँ । प्रकृति, वनस्पति र गैरमानव जीवको भलोमै हाम्रो पनि भलो छ । उनीहरूलाई गरिने हानी अन्ततः हामी मानव जातिमाथिकै प्रहार हो । हामीले प्रकृतिको सदुपयोग गर्नु पर्दछ । तर, प्रकृतिलाई यातना दिनुहुँदैन । प्रकृतिका सबै अवयवसँग सहकार्य र सहअस्तित्वले मात्र हामी मानव जातिको जीवनलाई पनि हित गर्छ । मानव जातिमा सर्वप्रथम यस खालको बोध विकास हुन जरुरी छ ।

कोरोनाका कारण सुस्ताएको वा ठप्प भएको मानवीय गतिविधिका कारण विश्वभर वायु प्रदूषण घटेको समाचार आइरहेका छन्। साथै वायु प्रदूषणले कोरोनाको सङ्क्रमणको प्रभावलाई झनै धनी भूत गर्ने नयाँ वैज्ञानिक अनुसन्धानले देखाएका छन्। एकातिर जलवायु परिवर्तन विशेष गरेर प्रदूषणले गर्दा महामारीको प्रकोप झन् बढ्ने र अर्कातिर महामारीको कारक वन्यजन्तु हुने तथ्य स्थापित हुँदै जाँदा मानव स्वास्थ्यका लागि पृथ्वीको स्वास्थ्य ठिक हुन आवश्यक छ भन्ने दृष्टिकोण स्थापित भएको छ।

पृथ्वीको क्षमता कति छ भन्ने कुरा मानिसले निर्धारण गर्ने होइन कि यस पृथ्वीमा मानव अस्तित्व कति छ भन्ने कुरा मानिस आफैले निर्धारण गर्ने हो। जति लामो पृथ्वीको आयु बन्छ त्यति नै धेरै मानव अस्तित्व स्वीकार्य छ । मानिसले वेलैमा आफ्नो अस्तित्व अन्य जनावर, वोटविरुवा र परजीवीहरूमा निर्भर छ भन्ने कुरा जानी पर्यावरणलाई सन्तुलित बनाउने प्रयास गर्‍यो भने मात्रै पृथ्वीले मानव सभ्यतालाई स्वीकार गर्दछ नत्र भने यस्तै कोरोना जस्ता महामारीजन्य रोग प्रकोप मार्फत मानिसलाई मृत्युवरण गराउँदै आफूले आराम गर्नुपर्ने बाध्यता सिर्जना हुन्छ । वेलैमा चेतना भया ।

Tags :
प्रतिक्रिया दिनुहोस