सर्वोच्च अदालतले मुद्दा दर्ता र थुनछेकको काम शुरु गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सर्वोच्च अदालतले मुद्दा दर्ता र थुनछेकको काम शुरु गर्ने


२८ चैत्र २०७६, शुक्रबार


high court

काठमाडौँ । सर्वोच्च अदालतले फौजदारी मुद्दामा थुनछेकका आदेशको काम गर्ने निर्णय गरेको छ ।

लकडाउनको अवधि लम्बिदै जान थालेपछि सर्वोच्च अदालतको शुक्रबारको पूर्ण बैठकले यसअघिका कामबाहेक फौजदारी मुद्दासँग जोडिएका केही काम विस्तार गर्ने निर्णय गरेको हो ।

थुनामा रहेका तर अभियोगपत्र दर्ता नभएका कारण बन्दी अलपत्र पर्ने अवस्था भएपछि अनुसन्धानका क्रममा थुनामा रहेका व्यक्तिहरुलाई दृष्टिगत गर्दै सेवा थप गरिएको अदालतले जनाएको छ ।

सर्वोच्च अदालतको शुक्रबारको निर्णयअनुसार, आइतबारदेखि देशभरका अदालतमा अभियोग पत्र दर्ता, आरोपिहरुको बयान, थुनछेक आदेश हुनुका साथै थुनुवाको म्याद थपका काम पनि शुरु हुनेछन्। निर्णयमा भनिएको छ, ‘बन्दाबन्दीको अविध लम्बिदै गएको र अनुसन्धान तहकिकातको क्रममा हिरासतमा रहेका व्यक्तिहरुको सुरक्षित जीवनको हक तथा वैयक्तिक स्वतन्त्रताप्रति विशेष रुपमा संवेदनशीलता अपनाउन आवश्यक देखिएको।’

सर्वोच्च अदालतले अभियुक्तलाई अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति दिने, म्याद थप गर्ने, पक्राउ परेकाको बयान लिनेलगायतका काम पनि चालु राख्न निर्देशन दिएको छ। शुक्रबारको निर्णय भए पनि कार्यान्वयन भने आइतबारदेखि मात्रै हुनेछ।

यससँगै सरकारी वकिलका कार्यालयका साथै अख्तियार, सम्पत्ति शुद्धिकरण विभाग, राजस्व अनुसन्धान विभाग लगायतका निकायलाई पनि मुद्दा लैजान बाटो खुलेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस