पूर्वसचिव उपाध्यायलाई स्वास्थ्य सचिव कोइरालाको चेतावनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वसचिव उपाध्यायलाई स्वास्थ्य सचिव कोइरालाको चेतावनी


२२ चैत्र २०७६, शनिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले पूर्वसचिव भीम उपाध्यायलाई ‘अपराधी’ को संज्ञा दिँदै चरित्र हत्या नगर्न चेतावनी दिएका छन् ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको समाचारसँगै पूर्वसचिव उपाध्यायले कोइराला विरुद्ध ट्विट लेखेपछि जवाफमा स्वास्थ्य सचिव कोइरालाले आक्रोशित भएका हुन् ।

पूर्व सचिव भीम उपाध्यायले गरेको ट्विटबाट उनले स्वास्थ्य सामग्री खरिदमा संलग्नहरू पदमुक्त हुने दाबीसहित सचिव कोइरालाको नाम पनि मुछेका थिए । उनले ट्विटमा भनेका थिए, ‘भोलि आइतबारसम्म विष्णु रिमाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ पदबाट हटे भने भने अचम्म नमान्नु होला । नभए होलसेलमै पदमुक्त हुन बाध्य हुनसक्छ ।’

जवाफमा स्वास्थ्य सचिव कोइरालाले उपाध्यायमाथि आक्रोश पोख्दै मेलम्ची खानेपानी आयोजनाको अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै आफ्नो चरित्रहत्या नगर्न चेतावनी दिएका छन् । उनले ट्विटमा भनेका छन्, ‘भीमजी, मेलम्चीमा यहाँले भ्रष्टाचार गरेको समाचार पढ्दा मलाई पनि त्यस्तै लागेको थियो । हेक्का रहोस्, अपराधीले अरूलाई पनि अपराधी नै देख्छन् । म देश र जनताको नोकर हुँ । तपाई जस्तो अहङ्कारी अपराधी होइन । म अपराधी र देशद्रोही होइन, फेरि पनि हेक्का रहोस् । कोठामा बसेर अरूको चरित्र हत्या नगर ।’

Tags :
प्रतिक्रिया दिनुहोस