सामाजिक र व्यापारिक भूमिकाबीच उपयुक्त सन्तुलन कायम गर्नु नै कम्पनीका लागि प्रमुख चुनौती « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सामाजिक र व्यापारिक भूमिकाबीच उपयुक्त सन्तुलन कायम गर्नु नै कम्पनीका लागि प्रमुख चुनौती


प्रशासन विशेष ब्युरो

५ चैत्र २०७६, बुधबार


सरकारले स्थापना गरेको नयाँ कम्पनी हो नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी । साविकका नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेड गाभेर बनाइएको यो कम्पनी यतिबेला नयाँ ढंगले प्रस्तुत हुन खोजिरहेको छ । कम्पनीको नयाँ सिइओ नियुक्तिसँगै आन्तरिक तथा बाह्य वस्तुस्थितिलाई मध्यनजगर गरी वर्तमान परिस्थितिमा प्रतिस्पर्धात्मकरुपमा बजारमा उतार्ने प्रयासको थालनी भएको छ । देशभर छरिएर रहेका सम्पत्ति र दायित्व खोजबिनदेखि अत्याधुनिक उपकरणहरु खरिद, जडान तथा सञ्चालन, खाद्यान्न खरिद तथा पर्याप्त भण्डारण, घुम्तीसेवामार्फत शहरी क्षेत्रमा पनि व्यापारको शुरुवातलगायत आधा दर्जन बढी कामहरुको शुरुवात भईसकेको छ । भोकमरी तथा आपतविपदमा दुर्गम क्षेत्रहरुमा खाद्यान्न सेवा पुर्याउँदै आएको साविकको खाद्य संस्थान नेशनल ट्रेडिङसहित मर्ज भएर कम्पनीमा गएसँगै शहरी क्षेत्रमा समेत जर्वर्जस्त रुपमा बजार हस्तक्षेप गर्ने गरी उपस्थिति जनाउने तयारीमा कम्पनी रहेको छ । यसै सन्दर्भमा कम्पनीको वर्तमान अवस्था, भावी रणनीति तथा चुनौती विषयमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदी ‘प्रयास’ सँग प्रशासन डटकमले गरेको कुराकानी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वर्तमान अवस्था, उदेश्य, लक्ष्य लगायत परिपूर्तिका लागि अपनाइएका रणनीतिहरुको बारेमा बताइदिनुस् ?
२०७६ साउन २८ पछि साविकका दुईओटा संस्थानहरु नेशनल ट्रेड लिमिटेड र नेपाल खाद्य संस्थानलाइ मर्ज गरेर एउटै खाद्य व्यवस्था तथा व्यापार कम्पनी स्थापना गरिएको हो । कम्पनी स्थापना गर्दा व्यवस्था गरिएका प्रवन्धपत्र नियमावलीको विषयलाई मुख्य आधार मानेर कामकारवाही अगाडि बढाएका छौँ ।

सरकारले बजारको मूल्य तथा आपूर्ति हस्तक्षेपका लागि यस्ता कम्पनीहरुलाई आफ्नो सहायकको रुपमा लिएर अगाडि बढ्ने गरेको अवस्थामा किसानहरु अर्थात् उत्पादकसँग चिजवस्तु किन्ने र बजारमा प्रवाह गरिन्छ । जसले गर्दा अस्वाभाविक रुपले मुल्य बढ्न दिँदैन र व्यापारीहरुको अति मुनाफा कमाउने आकांक्षा पनि सीमित हुन्छ । र, त्यसको प्रत्यक्ष फाइदा उपभोक्ताले पाउँछन् । त्यसैले यो कम्पनी उपभोक्ताको हितको लागि पनि हो ।

अनिकाल होस् या दैवी विपत्ति, महामारी तथा अन्य जुनसुकै आपतविपद् पर्दा होस् नागरिकलाई केही खाद्यान्न संचितीकरण कम्पनीले गर्दछ । २५ हजार मेट्रिक टन राष्ट्रिय मौज्दात र साग खाद्यान्न भण्डारणको लागि ८ हजार मेट्रिक टन गरेर ३३ हजार मेट्रिक टन राख्नुपर्ने गरी तोकिएको छ । सोहीअनुसार विभिन्न स्थानमा भएका गोदामहरुमा संचितीकरण गरेका छौँ । कतिपय अवस्थामा हामीले दुर्गमका उत्पादनहरु पनि भण्डारण तथा विक्रिवितरण गर्दै आएका छौँ । जस्तोः अहिले हामीसँग फापर, दाललगायत केही खाद्यवस्तुहरु कर्णालीका उत्पादन छन्। यसका साथै चाडबाडको अवसरमा हामीले भेडा च्याङ्ग्राहरु विक्रिवितरण गर्दै आएका छौँ । बजारमा त्यही चिज अति महंगो नहोस् भन्नका लागि नै अति आवश्यक वस्तु बिक्री वितरण गर्छौ ।

साविकमा नेशनल ट्रेडिङले गर्ने गरेको ड्यूटी फ्रि सामान, निर्माण सामाग्री तथा मागको आधारमा सामानहरु खरिद गरेर ल्याउने र सुपथ मुल्यमा विक्रि वितरण गर्दै आएकोमा अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनिसकेपछि पनि हामीले त्यो काम गरेका छौँ । किनकी व्यापार गर्ने भनेको त मुनाफा कमाउने पनि हो । त्यसकारण मुनाफा कमाउने उदेश्य पनि जोडिएको छ । कम्पनीसँग परस्पर विरोधी खालका उदेश्य पनि छन् । राज्यको उदेश्य हासिल गर्नको लागि सुपथ मूल्यमा बिक्री, पर्याप्त मूल्यमा किसानसँग खरिदको साथसाथै व्यापारिक खालको मर्म र उद्देश्य अनुसार हामीहरु चल्नुपर्ने छ । यो चुनौतीकै वीचमा अहिले कम्पनी छ ।

सरकारको उदेश्य पूरा गर्न स्थापना भएको यस कम्पनीले सर्वसाधारणको विश्वास जितेर आगामी दिनमा के कस्ता कदम चाल्नुपर्ने देख्नुहुन्छ ?
बजारमा सहज आपूर्ति प्रणाली कायम गर्नको लागि सरकारको तर्फबाट हामी भूमिका खेल्छौँ । सरकारले कम्पनीले केही सहयोग गर्छ । हामी कम्पनीमा आइसकेपछि हाम्रो सम्पत्ति कति हो ? हाम्रो पूँजी कति छ ? यसलाई कसरी बढीभन्दा बढी मुनाफामा लैजाने ? व्यवसायिक प्रयोग कसरी गर्ने भन्ने लाइनमा व्यवसायिक योजना बनाउने क्रममा छौं ।

हामी आफैँ व्यापार गर्न जान्ने कम्पनी होइन तर अब जान्नु पर्ने भएको छ । त्यो योजना हामीसँग भइसकेपछि हामीलाई अलिकति मार्ग प्रसस्त हुन्छ । हाम्रा साथीहरुको विज्ञता खाद्य व्यवस्था, स्टोरेज, वितरण जस्ता कुराहरुमा छ भने अन्य बजारीकरण, ब्राण्डिङलगायतमा अलि कम छ । बजार विश्लेषणको ज्ञान कौशल भएको र क्रेताको मनोविज्ञान बुझी जनसम्पर्क बढाउने खालको जनशक्ति पनि खाँचो छ । त्यसैले व्यापार केन्द्रित व्यक्तिहरु पनि रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण(ओएण्डएम) गर्दैछौं ।

हामीले जनशक्तिको क्षमता विकासका लागि सोच बनाईरहेका छौँ । त्यसका लागि तालिम दिने कार्यशालाहरु आयोजना केही भइसकेका छन् र निरन्तरता दिनेछौँ । खाद्य संस्थानबाट कम्पनीमा आएसँगै कर्मचारीहरु सकेसम्म छोडेर स्थानीय तहमा भएपनि जाने क्रम बढेको छ । तिनीहरुलाई कसरी टिकाई राख्ने भन्ने अर्को ठूलो चुनौती छ । के के भयो भने आकर्षण हुन्छ रु कामको प्रकृति अनुसार के सुविधा दिन सकिन्छ ? सूचक कस्तो विकास गरेर जान सकिन्छ भन्नेलगायत कुराहरुमा हामीले छलफल चलाईरहेका छौँ । निश्कर्षमा पुगेर अवलम्वन समेत गर्नु छ ।

त्यस्तै हामी व्यवसायिक बन्ने हो भने हाम्रो जग्गा र भन्डारगृह ९गोदाम० हरुलाई व्यवसायिक खालको बनाउनु पर्यो। अर्कोतिर अन्य वस्तुहरुको पनि प्याकेटिङ, लेबलिङ, गुणस्तर नियन्त्रणलगायत मिलाउनु पर्यो । सबैभन्दा महत्वपूर्ण कुरा एक ठाँउको उत्पादन देशैभरी कसरी पुर्याउने हो । तराईको चामल पहाड हिमालसम्म पुर्याउने, हिमाली तथा पहाडी जिल्लामा उत्पादन भएको वस्तुलाई खरिद गर्दै भण्डारण गर्ने र उपयुक्त समयमा आवश्यकता भएको ठाउँमा पुर्याउनुपर्ने दायित्व छ ।

देशमा अत्यावश्यक वस्तुको आपुर्ति व्यवस्थालाई सहज र सन्तुलित बनाई राख्न अन्य सरकारी निकायहरुसँग कसरी समन्वय र सहकार्य भईरहेको छ ?
संयोगले वाणिज्य विभागको महानिर्देशक पनि म आफै भएकोले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको सहकार्यमा धेरै सहज भएको छ । आयल निगमको मिटिङमा पनि पनि सञ्चालकको रुपमा उपस्थित भइरहेको हुन्छु । त्यसैगरी साल्ट्र टेड्रिङलगायतसँग पनि हाम्रो सम्वाद हुन्छ ।

तत्काल आक्रामकरुपमा बजार उपस्थिति जनाउने अवस्थाबारे के योजना छ ?
बजारमा उपस्थिति हामीले जनाई सकेका छौँ । अब विस्तृतिकरण र थप प्रभावकारिताको समय हो । अहिले पनि उपत्यकाका विभिन्न ठाउँहरुमा घुम्तीसेवा मार्फत खाद्यान्नहरुको विक्रिवितरण भईरहेको छ । यसबाहेक हामीले इन्डक्सन चुलो पनि बिक्रि गरिरहेका छौँ । अब हामी यतिमा सिमित नभई अत्यावश्यक वस्तुको पहिचान गर्दै आवश्यक भण्डारणको व्यवस्थासहित जवर्जस्तरुपमा बजारमा नगई सुख छैन । एकातिर हामीले सेवामुखीभावले काम गर्नुछ भने अर्कोतिर राज्यकोतर्फबाट बजारमा हस्तक्षेपसहित मूल्य एकरुपताको लागि पनि काम गर्नु छ । अहिले टुंगो नै लागि सकेको छैन तर भविष्यमै भाटभटेनी सुपर मार्केटसँग सहकार्य गर्दैछौँ । जहाँ हाम्रा उत्पादनहरु पनि विक्रि वितरणका लागि दुइपक्षवीच समझदारी गरेर जाने सम्वन्धमा कुरा भैरहेको छ । त्यसैगरी सहकारीमार्फत पनि बिक्री गराउने योजना अघि सारेका छौँ । देशभर फैलिएका सहकारीमार्फत गाउँगाउँ र टोलटोलमा जान सक्छौँ । केही गर्न खोजिएको त छ तर यो पर्याप्त छैन । व्यापक सुधार गररे जानुपर्ने छ ।

प्रादेशिक संरचना अनुकुल, समसामयिक, व्यवसाय–उन्मुख तथा निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी पूर्ण व्यापारिक एवं व्यावसायिक संस्थानको रुपमा स्थापित हुनका लागि आवश्यक नीति, नियम तयार गर्ने काम कहाँ पुगेको छ ?
ढिलो चाँडो हामीले सेयर स्ट्रक्चरमा निजी क्षेत्रलाई प्रवेश गराउनै पर्छ । अहिले हाम्रो कम्पनीमा ४ मन्त्रालय शेयरहोल्डर हुनुहुन्छ । क्रमशः सरकारको सेयरलाई निजीमा लगेर निजीको हिस्सेदारी पनि कायम गर्न जरुरी छ । त्यसपछि मात्रै निजी क्षेत्रको विज्ञताहरु भित्र्याउन सक्छौँ ।

हामी छिट्टै प्रादेशिक संरचनामा पनि जाँदै छौं । हाल भईरहेका कार्यालयहरुमध्ये कसलाई प्रदेश कार्यालय बनाउने भन्नेबारे छलफल चलाईरहेका छौँ । खाद्यको चामल कुहिएको छ भन्ने गलत सन्देशलाई चिर्दै सुधार गर्नेपर्ने सूचिका रुपमा गुणस्तरीय सामान, आकर्षक प्याकेजिङ, ब्राण्डिङ, लेवलिङमा ध्यान दिईरहेका छौँ । व्यवसायिक कार्ययोजना बनाई सकेपछि सो अनुसार ओएण्डएम गरेर आवश्यक कानूनसहित कम्पनीलाई अगाडी बढाउँछौँ । पूर्व सचिव दुर्गानिधि शर्माको संयोजकत्वमा काम भईरहेको छ ।

साविकको संस्थान कम्पनी बनेपछि अब सोहीअनुसार नियम, कानुन बनाउनु पर्नेछ । कर्मचारी प्रशासन विनियमावलीको मस्यौदा बनिरहेको छ । आर्थिक तथा खरिद विनियमालीमा पनि काम भईरहेको छ । सबै नयाँ संरचना बनाएर जानु पर्ने भएकोले केही समय लाग्न सक्छ तर चुप लागेर बस्दैनौँ । अहिलेका जिम्मेवारीलाई पुरा गर्दै थप नयाँ इन्नोभेटिभ कामसहित अगाढी बढ्छौँ ।

अन्तर्राष्ट्रिय संघ,संस्थाहरुसँग सम्पर्क बढाई कम्पनीलाई व्यवसायिक संस्था बनाउने बारे यहाँको योजना के छ ?
देश बाहिरको हकमा अहिले विश्व खाद्य कार्यक्रम, जापनिज सरकारसँग सहकार्य रहेको छ । यदी अन्य कुनै निकाय आयो भने पनि हामी सहकार्य गर्न सक्छौँ । देशभित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सहकार्य गर्ने तयारीमा छौँ । यसले किसानहरुका उत्पादनहरु वाइव्याक गर्न र उचित मूल्य उपलव्ध गराउन सहयोग पुर्याउँछ ।

पछिल्लो समय देशभर छरिएर रहेका सम्पत्ति र दायित्व खोज्नेदेखि घुम्तिसेवामार्फत घरदैलोमै सेवा पुर्याउन शुरु गर्नु भएको छ, प्रतिक्रिया र प्रभावकारीता के छ ?
घुम्ति सेवा निकै प्रभावकारी देखिएको छ र राम्रो प्रतिक्रिया आएको छ । बिक्री वितरण बढीरहेको छ । यसले एक किसिमको कम्पनीको प्रचार प्रसार गर्ने र घरदैलोमै गुणस्तरीय खाद्यवस्तु पुर्याउने काम पनि भएको छ । कम्पनीसँग भएका पुरानै साधनहरुलाई मर्मत गरेर उपत्यका भित्रै भएपनि शुरुवात गरिसकेपछि अब हामीले नयाँ सवारी साधन र थप स्टोरहरु राख्ने तयारीमा छौँ ।

जहाँसम्म सम्पत्तिको कुरा छ, नेशनल ट्रेडिङ र खाद्यमै अथाह सम्पत्ति छ । बीघौँ बीघा जमिन आफ्नो कायम गरेर त्यसको उत्याधिक उपयोग गर्दै अगाडि बढ्नु पर्नेछ । त्यसलाई आफैले प्रयोग गरेर, भाडामा लगाएर वा संरचना बनाएर जानुपर्ने हुन्छ ।

देशका विभिन्न स्थानहरुमा महत्वपूर्ण ठाउँमा हाम्रो जग्गा जमिन छ । खाद्यको छुट्टै भण्डारण भएकोले पनि त्यो ऐतिहासिक भण्डारण रहेछ भन्ने पनि देखियो । त्यसैले यसको सदुपयोग महत्वपूर्ण पनि छ । यस्ता महत्वपूर्ण सम्पत्तिहरुबारे कतिपय स्थानीय तह र मन्त्रालयको समेत सहयोगमा हिसाबकिताव गर्ने, ट्याक्स क्लियर गर्ने काम गर्नुपर्ने छ ।

प्रतिस्पर्धात्मक बजारमा उपभोग्य वस्तुको गुणस्तर, मूल्य, आकर्षक प्याकेजिङ, बजार रणनीतिलगायत विषयहरुमा के कसरी जाने योजना छ ?
बजार रणनीति नै तयार गरेका छौं । अब त्यो बजारीकरण रणनीति नअपनाइकन धरै छैन । हामी कुन–कुन पक्षहरुसँग कहाँ कहाँ मिलेर कस्तो सहकार्य गर्न सक्छौ र त्यसका लागि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने विषयमा तयारी भएको छ । हाम्रो घुम्ति भ्यान सिंहदरवार भित्र किन नजाने ? हामीले बजार प्रतिस्पर्धामा किन नउत्रने त ? लगायत पक्षहरुमा व्यापक तयारी भईरहेको छ । कम्पनीले सुपथ मूल्यमा बेचेपछि बजार सस्तोमा दिन बाध्य हुन्छ । त्यसरी जानको लागि जो हामीसँग बिक्री वितरण छ त्यसलाई सुधार गरेर जान्छौं ।

यहाँको नेतृत्वसँगै कम्पनीले धेरै कामहरु एकैपटक शुरुवात गरेको छ, यसको निरन्तरतासँगै संस्थागत गराउनेतर्फ पनि केही संयन्त्र बनाउनु भएको छ ?
हामीले भइरहेका कर्मचारी साथीहरुको वृत्ति विकासको पक्षमा जोड दिएका छौं । पछिल्लो समय दुईजना कायम मुकायम नायव महाप्रबन्धकमा बढुवा पनि हुनुभयो । अन्य कर्मचारीलाई पनि विज्ञताअनुसार जिम्मेवारी दिएका छौँ । टिमवर्क बनाएर अघि बढ्ने सोँचमा छौँ । यसमा सञ्चालक समितिको पनि हौसला र मार्गदर्शन आवश्यक छ । आगामी दिनमा म रहुँला वा नरहुँला तर पनि त्यो संस्थाले केही विषयलाई आत्मसात गरेर आफ्नो सोंच र व्यापारलाई बढोत्तरीका लागि अघि बढ्छ । टिम चाहीँ उत्साहित भएर अगाडि बढ्नुपर्ने देख्छु मैले । सेलाएर होइन ।

कम्पनीका मुख्य चुनौतीहरु के के हुन् र त्यसको समाधानका उपाय के देख्नुहुन्छ ?
दुई तीनवटा चुनौती देख्छु । एउटा सम्पत्ति व्यवस्थापन र व्यवसायीकरण । दोस्रो जनशक्तिको निपुणता र तेस्रो अहिलेको आवश्यकतालाई कसरी समना गर्दै अघि बढ्ने भन्ने हो । यी पक्षहरु महत्वपूर्ण रहन्छन् । आवश्यक पर्यो भने नयाँ खालको सेवा समूह रहने गरी कर्मचारी दरबन्दी नै थपेर पनि हामी अघि बढ्ने सोँचमा छौँ । त्यसपछि अर्को चुनौती भनेको एकातिर सामाजिक भूमिका अर्कोतिर व्यापारिक भूमिका हो । यसमा सन्तुलन मिलाएर जानु पर्ने पनि चुनौती छ । त्यसलाई हामीले हाम्रा जनशक्ति संरचना विधि सबैको परिप्रेक्ष्यमा कार्यान्वयन गर्दै अगाडि बढ्छौं ।

हामी आफैँ व्यापार गर्न जान्ने कम्पनी होइन तर अब जान्नु पर्ने भएको छ । त्यो योजना हामीसँग भइसकेपछि हामीलाई अलिकति मार्ग प्रसस्त हुन्छ । हाम्रा साथीहरुको विज्ञता खाद्य व्यवस्था, स्टोरेज, वितरण जस्ता कुराहरुमा छ भने अन्य बजारीकरण, ब्राण्डिङलगायतमा अलि कम छ । जहाँनेर कमी छ त्यहीनेर सुधार गरेर सकरात्मक सोँचका साथ अघि बढ्दा उपलव्धी हाँसिल हुनेमा विश्वस्त छौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस