चितवनमा दादुराका २३ बिरामी फेला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चितवनमा दादुराका २३ बिरामी फेला


२९ फाल्गुन २०७६, बिहिबार


भरतपुर । चितवनमा दादुरा–रुबेला रोग देखा पर्न थालेको छ । दुई वर्षअघि दादुराका बिरामी शून्य रहेको जिल्लामा पछिला वर्षमा २३ जनामा दादुराका बिरामी फेला परेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सन् २०१९ मा १९ र २०२० मा चार जनामा दादुरा देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख तथा वरिष्ठ स्वास्थ्य अधिकृत दीपकप्रसाद तिवारीका अनुसार सन् २०१७ र २०१८ मा दादुरा–रुबेलाका बिरामी शून्य थिए । २०१९ मा ५२ जनामा परीक्षण गरेकामा १९ र २० मा आठजनामा परीक्षण गरेकामा चारवटा केसमा पोजेटिभ आएको उनले बताए ।
तराईका विभिन्न जिल्लाबाट आएर काठ, तरकारी र इँटाभट्टामा काम गर्र्दै आएका अभिभावकका बालबालिकालाई दादुरा देखिएको उनले जानकारी दिए । दादुरा–रुबेला खोप लगाउन ढिला भएका कारण पनि पछिल्लो समयमा यसका बिरामी देखा पर्न लागेको तिवारीको भनाइ छ ।

अन्तिम पटक चितवनमा आर्थिक वर्ष २०७१/७२ सालमा खोप अभियान सञ्चालन गरिएको थियो । भूकम्प र कर्मचारी समायोजनका कारण नेपाल सरकारले खोप अभियान सञ्चालन गर्न ढिला भएको उनले बताए । प्रत्येक चार वर्षमा दादुरा रोगको खोप लगाउनुपर्ने हुन्छ । यो रोग पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई लाग्ने गर्दछ ।

यसैबीच चितवनमा दादुरा–रुबेला विरुद्धको खोप अभियान दुई चरणमा हुने भएको छ । स्वास्थ्य कार्यालय चितवनले चैत २ गतेदेखि जिल्लाका पाँच स्थानीय तह र १० देखि दुई स्थानीय तहमा खोप अभियान शुरु गर्न लागेको हो । चार वर्षपछि शुरु गर्न लागिएको खोप अभियान जिल्लामा दुई चरणमा सञ्चालन गरिने छ ।

पहिलो चरणअन्तर्गत चैत २ देखि ७ गतेसम्म भरतपुर महानगरपालिका, रत्ननगर, माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका खोप अधिकृत अमृत महर्जनले जानकारी दिए ।

त्यस्तै दोस्रो चरणमा चैत १० देखि १८ गतेसम्म राप्ती र खैरहनी नगरपालिकामा खोप सञ्चालन गरिनेछ । यस अभियानमा नौ महिनादेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्धको खोप लगाइने भएकाले आफ्ना बालबालिकालाई नजीकको खोप केन्द्रमा लगेर खोप लागाउन अभिभावकलाई स्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ ।

यसपटक चितवनका ५८ हजार ९८३ जना बालबालिकालाई खोप लगाउने कार्यालयको लक्ष्य छ । खोप अभियान सम्पन्न गर्न ५६८ केन्द्रमा एक हजार १३६ स्वयम्सेवक र १३२ खोप कार्यकर्ता खटिनेछन् । खोप अभियानमा खोप तथा कोल्डचेन, शैक्षिक सामग्री आपूर्ति तथा वितरण गरिनेछ । चितवनका सात स्थानीय तहमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा खोपकर्ता र स्वयम्सेवक खटिनेछन् । भरतपुर महानगरपालिकाका २५९ खोप केन्द्रमा ४० खोपकर्ता र ५१८ स्वयम्सेवक खटाइने कार्यालयले जनाएको छ ।

रत्ननगर नगरपालिकाका ६३ खोप केन्द्रमा १६ खोपकर्ता र १२६ स्वयम्सेवक, कालिका नगरपालिकाका ४२ केन्द्रमा आठ खोपकर्ता र ८४ स्वयम्सेवक, खैरहनीका ५२ केन्द्रमा १३ खोपकर्ता र १०४ स्वयम्सेवक, राप्तीका ६७ केन्द्रमा १५ खोपकर्ता र १३४ स्वयम्सेवक, माडीका ४४ केन्द्रमा २८ खोपकर्ता र ८८ स्वयम्सेवक तथा इच्छाकामना गाउँपालिकामा ४१ केन्द्रमा १२ खोपकर्ता ८२ स्वयम्सेवक खटिनेछन् । दाजुराको खोप ७५ प्रतिशतसम्म प्रभावकारी भएको कार्यालय प्रमुख तिवारीले बताए ।

नेपाल सरकारले नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क खोप दिने गर्दछ । खोप लगाएमा ७५ प्रतिशतसम्म प्रभावकारी हुने बताइएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा रुबेला निवारण गर्ने लक्ष्य राखेको छ ।

हाल विश्वमा दादुराबाट हुने मृत्युदर भने ६६ प्रतिशतले घटेको भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ चिकित्सक युवानिधि बसौलाले जानकारी दिए । नेपालमा सन् २००३ देखि दादुरा–रुबेलाको देशव्यापी सर्भिलेन्स शुरु भएको हो । नेपालमा खोप अभियान भएको दुईदेखि पाँच वर्षपछि दादुरा रोगीहरु बढ्ने गरेको उनले बताए। नेपालमा सन् २०१९ मा ३६६ जनामा दादुरा रोग देखापरेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस