मुख्यमन्त्री राउतलाई ‘महामूर्ख’ उपाधि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री राउतलाई ‘महामूर्ख’ उपाधि


२६ फाल्गुन २०७६, सोमबार


जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सोमबार जनकपुर बासीले ‘महामूर्ख’को उपाधि दिएका छन् ।

मिथिला नाट्य कला परिषद् (मिनाप) ले प्रत्येक वर्षको होलीमा प्रदान गर्दै आएको यो उपाधि यस पटक प्रदेशका मुख्यमन्त्री राउतलाई दिइएको हो ।

मजाक शैलीमा महामूर्ख भनिए पनि समाजमा योगदान पुर्‍याइका व्यक्तिलाई होलीमा यो उपाधि दिने गरिएको छ ।

मुख्यमन्त्री राउतले प्रदेशको सामाजिक रूपान्तरणका लागि ‘बेटी पढाउ बेटी बचाउ’, ‘छोरी शिक्षा बिमा’ सहितको अभियान चलाएको र दलित र महिलाको लागि आरक्षणको व्यवस्था गरेका कारण उनलाई यो उपाधि दिइएको मिनापले जनाएको छ ।

मिनापले महामूर्खका साथै समाजका अगुवाहरूलाई विभिन्न पदवीबाट सम्मान गरेको छ ।

यस पटक पटमुर्खको उपाधि राजपाका प्रदेश सांसद मनिष सुमन, हराशंखको उपाधि प्रदेश सांसद रामअशिष यादवलाई, सिलौटा उपाधि नेकपा प्रदेश सांसद रामचन्द्र मण्डललाई, भभकौवा उपाधि राजपाका प्रदेश सांसद प्रमेश्वर साहलाई दिइएको छ ।

त्यसै गरी टुनमुसरी उपाधि जनकपुरधामकी उप–मेयर रीता झालाई, लोढाशंकर उपाधि पत्रकार महासङ्घ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई, घरघुसना उपाधि मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई, बेलगोबना उपाधि साहित्यकार रोशन जनकपुरीलाई दिइएको छ ।

बेस कुल्हैर उपाधि युवा अभियन्ता सुशील कर्णलाई, खाप सुरत उपाधि महोत्तरीको पिपरा नगरपालिका प्रमुख विक्रम चौधरीलाई, अदलबदली उपाधि पुनम झालाई र बज्रकिट उपाधि बलराम साहलाई प्रदान गरिएको छ ।

मिनापले भाषा, संस्कृति, कला, सामाजिक रूपान्तरण, राजनीति जस्ता विद्यामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस