प्रेससँगको सम्बन्धलाई सुमधुर बनाउँदै लैजानुछ : अर्थमन्त्री डा.खतिवडा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रेससँगको सम्बन्धलाई सुमधुर बनाउँदै लैजानुछ : अर्थमन्त्री डा.खतिवडा


२१ फाल्गुन २०७६, बुधबार


काठमाडौं । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले प्रेससँगको सम्बन्धलाई मन्त्रालयका नीति, कानून, बोली र व्यवहारले स्वास्थ्य र सुमधुर बानाउँदै लैजानुपर्ने बताएका छन् ।

पुनःनियुक्तिपछि सञ्चार मन्त्रालयमा आज उनले पदबहालीका क्रममा प्रेससँगको सम्बन्ध सुमधुर बनाउन मन्त्रालय मातहतका सबै निकायको सहयोग आवश्यक रहेकामा जोड दिए । उनले मुलुकका जेठा पत्रकारिता गर्ने सञ्चारमाध्यम अझ प्रभावकारी र आधुनिक शैलीले अघि बढाउनुपर्ने धारणा व्यक्त गर्दै निजी क्षेत्रका सञ्चारमाध्यम र सूचना प्रविधिमा काम गर्ने संस्थासँग कसरी अघि बढ्ने भन्नेमा पनि छलफल गर्नु आवश्यक रहेको बताए ।

मन्त्री डा.खतिवडाले भने, ‘सूचना प्रविधि आधुनिक समाजको मुख्य सम्भावक हो, हामीले मुलुकलाई आधुनिकीरकण गरी नयाँ समाज निर्माण गर्नुछ, नयाँ प्रविधि विकास गरी आर्थिक विकास गर्नुछ, साथै शासकीय प्रबन्धमा नयाँपन ल्याउनुछ । यसका लागि सूचना प्रविधिको सम्पूर्ण प्रयोगमा अघि बढ्नुछ ।’

मुलुकलाई छिटै डिजिटल नेपाल बनाउन मन्त्रालयले योगदान पुर्‍याउनुपर्ने बताउँदै उनले कृषिको आधुनिकीकरणका साथै शिक्षा, स्वास्थ्यलगायतका अवसर वृद्धि गर्नुपर्ने धारणा व्यक्त गरे । ‘पूर्वाधार निर्माणसँग सम्बन्धित काम र खरिद प्रक्रियालाई पूर्ण प्रतिपस्पर्धाका आधारमा पारदर्शी ढङ्गले स्पष्ट विधि अपनाएर अघि बढायौँ भने सबैलाई स्वीकार्य हुने र हामी पनि विवादरहित हुन्छौँ’, मन्त्री डा.खतिवडाले भने।

मन्त्रालय मातहतका निकायका प्रमुखलाई जनताप्रतिको जवाफदेहीता र संवैधानिक जिम्मेवारी पूरा गर्न केन्द्रित भएर लाग्न निर्देशन दिँदै उनले ‘बाँकी निजी क्षेत्रले गर्ने कुरामा प्रतिष्पर्धा गरिराख्नु जरुरी छैन’ भने ।

राष्ट्रको सञ्चारको राष्ट्रिय एकता, स्वाभिमान र संस्कृति संरक्षणलगायतका विषयमा आफ्नै महत्व हुन्छ भन्दै उनले आफूले काम गर्ने कर्मचारीलाई सधैँ प्रोत्साहित र मार्गदर्शन गर्ने बताए । सो अवसरमा उनले आफ्नो पुनःनियुक्तिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रपति र प्रधानमन्त्रीप्रति आभार प्रकट गर्दै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरे ।

मन्त्री खतिवडाले राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि मङ्गलबार पदबाट राजीनामा दिएका थिए । आजै पुनःनियुक्ति भएका अर्थ र सञ्चारमन्त्री डा.युवराज खतिवडाले आजै पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्यक्रममा सञ्चार मन्त्रालय सचिव, सहसचिव, मातहतका विभाग र निकायका प्रमुखको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस