बारामा ५० प्रतिशतले धान उत्पादनमा कमी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बारामा ५० प्रतिशतले धान उत्पादनमा कमी


६ पुस २०७६, आइतबार


कलैया । बारामा विभिन्न कारणले किसानले लगाएको धान उत्पादनमा यस वर्ष कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

समयमा पानी नपर्नु, रासायनिक मलखादको अभाव र फौजी किराको आक्रमण जस्ता कारणले कृषकले लगाएको चैते, भदैया, अगहनी धानको उत्पादनमा ५० प्रतिशत कमी आएको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी र्दिए ।

यो वर्ष चैते १२ हजार ११३ हेक्टर, भदैया धान ११ हजार ९३० हेक्टर र अगहनी धान ३४ हजार १६३ हेक्टरसमेत गरी कूल ५८ हजार २०६ हेक्टर क्षेत्रफलमा धान खेती भई एक लाख ३७ हजार ६२६ दशमल ३२ मेट्रिक टन धानको प्रतिक्विन्टल रु २ हजार २०० का दरले रु ३ अर्ब दुई करोड ७७ लाख ७९ हजारको धान उत्पादन भएको कृषि प्राविधिक गेनालाल मण्डलले बताए ।

गत आर्थिक वर्ष चैते धान १२ हजार २२५, भदैया धान ११ हजार ९२५ र अगहनी धान ३८ हजार ५५० समेत गरी कूल ६२ हजार ७०० क्षेत्रफलमा लगाएको हुँदा रु ५ अर्ब ८८ करोड ५० लाख १९ हजार १४० बराबरको २२ लाख ६७ हजार ५०० दशमलव ८७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको कार्यालयले जनाएको छ ।

नगदे बालीका रूपमा उखु खेती र माछा पालनतिर किसान बढी केन्द्रित भएको हुँदा धान उत्पादनमा कमी आउने गरेको ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिए ।

कलैया बजारमा तरकारी मूल्य सस्तो

कलैया बजारमा हरियो तरकारीको मूल्य गत महिनाभन्दा अहिले सस्तो भएको छ । कृषकले खेती गरेको हिउँदे तरकारीहरु बजारमा आउन थालेपछि पहिलाभन्दा अहिले सस्तो भएको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिए । केराउ प्रतिकिलो ६०, गोलभेँडा ४०, बन्दाकोभी ५०, काउली ४०, भण्टा २०, मूला १० रुपैयाँ किलोका दरले बिक्री भइरहेको छ ।

त्यसैगरी रायो ५, पालुङ्गो १०, मेथी १०, चम्सुर १० रुपैयाँ पुलाको बिक्री भइरहेको छ । गत महिना काउली प्रतिकिलो रु ८०, केराउ १७०, गोलभेँडा २४०, भण्टा ५०, हरियो सागसब्जी प्रतिपुला रु २० का दरले भइरहेको थियो । तरकारी अहिले सस्तो भएपछि राहत महसुस भएको वस्तपुरका इमरान आलमले भने । यस वर्ष किसानहरुले छ हजार ३२५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका हिउँदे तरकारी खेती गरेको ज्ञान केन्द्रका प्राविधिक मण्डलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस