प्रदुषण फैलाउँदै ठूला अस्पताल : रोग नियन्त्रण गर्ने निकाय नै प्रदुषण गर्न सक्रिय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

 प्रदुषण फैलाउँदै ठूला अस्पताल : रोग नियन्त्रण गर्ने निकाय नै प्रदुषण गर्न सक्रिय


२३ कार्तिक २०७६, शनिबार


काठमाडौँ । रोग नियन्त्रण गर्ने निकाय नै प्रदुषण गर्न सक्रिय रहेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर नेपालमा वातावरण पदूषण गर्नेमा सबैभन्दा धेरै अस्पताल नै छन् ।

केही दिनअघि देशभरका २६ वटा विभिन्न अस्पताल तथा उद्योग प्रतिष्ठानहरुमा गरेको अनुगमनका क्रममा १२ वटा अस्पताल र एउटा चिकित्सालय कारवाहीमा परे । जसमध्ये राजधानी काठमाडौकै ठूला भनिएका अस्पताल र सरकारी अस्पतालले नै वातावरण र मानव स्वास्थ्यमा सिधै हानी पुर्‍याउने प्रदुषण गरेको भेटिएको छ ।

यी अस्पतालले जथाभावी फोहोर गरी वातावरण र मानव स्वास्थ्यमा असर हुने कार्य गरेकोले वातावरण संरक्षण ऐनअनुसार अस्पताललाई जरिवाना गरेको जनाएको छ । विभागका अनुशार यस्ता अस्पतालहरुलाई ४० हजारदेखि ९० हजारसम्म जरिवाना गरिएको छ ।

वातावरण प्रदुषण गर्ने ठूला अस्पतालहरुमा नर्भिक इन्टरनेशनल हस्पिटललाई ९० हजार जरिवाना गरिएको छ । त्यसैगरी काठमाडौँ मेडिकल कलेज, गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर, किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, नोबल अस्पताल सिनामङ्गल, काठमाडौँ भ्याली अस्पताल सुन्धारा, अल्का अस्पताल जाउलाखेल, एभरेस्ट अस्पताल र चितवन मेडिकल कलेज भरतपुरले प्रदूषण गरेबापत ९० हजार रुपियाँका दरले जरिवाना तिरेका छन् ।

त्यसैगरी सरकार मातहतको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई पनि कारवाही गरिएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई वातावरण प्रदूषण गरेबापत ४० हजार रुपियाँ जरिवाना गरिएको छ । त्यसैगरी नरदेवीस्थित आयुर्वेदिक चिकित्सालयलाई प्रदूषण गरेबापत २५ हजार रुपियाँ गरेको छ ।

विभागले गरेको अनुगमनका क्रममा वातावरण प्रदुषण गर्ने उद्योगहरमा केपी सिमेन्ट इन्डस्ट्रिज धादिङ, बाबा भेजिटेबल आयल इन्डस्ट्रिज मोरङ, रिलायन्स स्पिनिङ मिल्स सुनसरी, यती डिस्टिलरी चितवन पनि प्रदूषण गरेबापत ९० रुपियाँका दरले जरिवानामा परेका छन् ।

त्यस्तै क्वालिटी थाई फुड्स मोरङ, चण्डिका डिस्टिलरी मोरङ, प्रिमियर वायर्स मोरङ, घोराही सिमेन्ट इन्डस्ट्रिज दाङ, ओम प्लाइउड इन्डस्ट्रिज नेपालगन्ज, प्रगति टेक्सटायल इन्डस्ट्रिज सुनसरी, क्वालिटी ग्रिट एन्ड क्रसर उद्योग तनहुँ, खनाल ग्रिट बालुवा तनहुँ, एसियन थाई फुड्स सुनसरी पनि वातावरण प्रदूषण गरेबापत ९० हजार रुपियाँ जरिवाना तिर्नेमा पर्छन् ।

यी उद्योगहरुले मापदण्डविपरीत धुलो, धुवाँ उत्पादन गरी वायु प्रदूषण गरेको अभियोग छ । यसरी कारवाही गरिएका कतिपय उद्योगहरु यस अघि दिइएको चेतावनीलाई वेवास्ता गरेकोसमेत भेटिएको छ ।

प्रदुषणका कारण छिमेकी राष्ट्र भारतले निकै चूनौती र कठिनाई भोगिरहेको अवस्थामा नेपालमा भने उपचार र नियन्त्रणकारी निकाय नै प्रदूषण गर्न उद्यत हुनु विडम्बनाको कुरा हो ।
दिनहुँ थपिँदो प्रदुषणका कारण वायुमा बढ्दै गएको कालो कार्बन सबैभन्दा खतरनाकरुमा देखिएको विज्ञहरुको भनाई छ । यसले वातावरणसँगै मानिसको फोक्सोमासमेत प्रत्यक्ष असर पु¥याइरहेको छ ।

वातावरण संरक्षण ऐन २०५३ को दफा ७ मा प्रदूषण रोकथाम तथा नियन्त्रण समबन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा १ मा ‘कसैले पनि वातावरणमा उल्लेखनीय प्रतिकुल प्रभाव पार्ने गरी वा जनजीवन र जनस्वास्थ्यका लागि खतरा हुनसक्ने किसिमले प्रदूषण सृजना गर्न वा तोकिएको मापदण्ड विपरीत कुनैयान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनी, ताप,रेडियोधर्मी विकिरण तथा फोहोरमैला निष्काशन गर्न, गराउन हुँदैन’ भन्ने उल्लेख छ ।

सोही दफाको उपदफा दुईमा उपदफा एक विपरीत कार्य गरी वातावरणमा प्रतिकुल प्रभाव पारेमा आवश्यक शर्त तोकी त्यस्तो कार्य गर्न नपाउन गरी रोक लगाउने व्यवस्था रहेको छ ।
सोही ऐनको दफा १७ मा प्रदूषणका कारण कुनै व्यक्ति वा संस्थालाई हानी नोक्सानी पुग्न गएमा क्षतिपूर्ति भराउन सक्ने उल्लेख छ भने दफा १८ मा दण्ड सजाय अन्तर्गत वातावरण ऐन विपरीत कार्य गरेमा त्यस्तो कार्य तुरुन्त बन्द गराउन सकने र कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस