मादक पदार्थले लठ्ठिएका प्रअले कार्यक्रम बिथोल्न खोजेपछि… « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मादक पदार्थले लठ्ठिएका प्रअले कार्यक्रम बिथोल्न खोजेपछि…


७ आश्विन २०७६, मंगलबार


खोटाङ । मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आधारभूत तह कक्षा १ देखि ५ सम्मका प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता गर्न आयोजित कार्यक्रममा उनी मादक पदार्थ सेवन गरेर आएपछि नगरपालिकाका तर्फबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको बताईको छ ।

दिक्तेलस्थित एक होटलमा आयोजित कार्यक्रमबाटै पक्राउ परेका राईलाई हिरासतमा राखेर कारवाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यसअघि गाउँमा रहँदा पनि चौबीसै घण्टा मातेर हिँड्ने प्रअ राईलाई सेवाबाटै हटाउने तयारी गरिएको छ ।

विद्यालय समयमा मादक पदार्थ सेवन गरेको प्रमाणित भएमा सेवाबाटै हटाउन सकिने नगरपालिकाको नगर शिक्षा ऐनको धारा २२ (ख)मा उल्लेख छ।

प्रअ राईका कारण झण्डै एक घण्टापछि शुरु गरिएको कार्यक्रममा नगरपालिका र प्रधानाध्यापकबीच अन्तरक्रियात्मक छलफल तथा प्रतिबद्धतापछि कार्यसम्पादन करार सम्झौता गरिएको छ । नगरप्रमुख रिजालको रोहवरमा नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा र नगरभित्रका ५६ विद्यालयका प्रधानाध्यापकबीच २५ बुँदे कार्यसम्पादन करार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

विद्यालय विकास प्रस्ताव तयार गरी सोहीअनुसार कार्यक्रम कार्यान्वयन गर्ने, वार्षिक शैक्षणिक योजना बनाउने र कार्यान्वयन गर्ने, आगामी शैक्षिकसत्रदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नेलगायत सम्झौता भएको छ । सम्झौतापत्रमा प्रत्येक शैक्षिकसत्रको वैशाख १५ गतेभित्र विद्यार्थी भर्ना अभियान सञ्चालन गरी विद्यालय उमेर समूहका सम्पूर्ण विद्यार्थीलाई विद्यालय भर्ना गराउने तथा १६ गतेदेखि अनिवार्य पठनपाठन शुरु गर्ने उल्लेख गरिएको छ ।

पाठ्यक्रम र शिक्षक निर्देशिकालाई सबै शिक्षकले अनिवार्यरूपमा प्रयोग गर्ने÷गराउने, प्रत्येक विषयका शिक्षकले पाठ्यवस्तुअनुसार सामग्री प्रयोग गरेर मात्रै शिक्षण गराउनुपर्नेलगायत शर्त सम्झौतामा उल्लेख छ । नगरपालिकाभित्रका सबै विद्यालयका शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्षको प्रतिबद्ध रहेको जनाइएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागेको नगरपालिकाले यसअघि आधारभूत तहको कक्षा ६ देखि ८ र ९ देखि १२ सम्म सम्झौता गरिसकेको छ । कक्षा १ देखि ५ सम्मका ५६ विद्यालयसँगै नगरभित्र सञ्चालित सबै (९४ वटै) विद्यालयमा कार्यसम्पादन करार सम्झौता सम्पन्न गरेर कार्यान्वयमा ल्याइएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस