भाइरल हेपाटाइटिस, सर्ने माध्यम र रोकथामका उपायाहरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भाइरल हेपाटाइटिस, सर्ने माध्यम र रोकथामका उपायाहरु


तारा योगी

१२ श्रावण २०७६, आइतबार


आज जुलाई २८ विश्व हेपाटाइटिस दिवस, विश्व भरिनै हेपाटाइटिसका विरुद्ध जनचेतना अभियान चलिरहेको छ । ‘ हेपाटाइटिस उन्मुलन गर्न लगानी गरौँ -Invest in Eliminating Hepatitis’ भन्ने नाराका साथ जोखिमपूर्ण व्यवहारबाट टाढा रहौँ, हेपाटाइटिसका विरुद्ध खोप लगाऊँ, परीक्षण गरौँ, सङ्क्रमण भएको वा नभएको पत्ता लगाऊँ र समयमानै उपचार गराऊँ भन्ने कुराहरूलाई व्यापक जनचेतना अभियानको रूपमा लिई मनाइँदै गरेको विश्व हेपाटाइटिस दिवसले पक्कै पनि तपाईँ हामीलाई यस रोगका बारे सचेत गराएको छ र सचेत हुन जरुरी छ ।

पछिल्लो समय नेपालमा क्रोनिक हेपाटाइटिस ‘बी’ र ‘सी’ का सङ्क्रमित बढ्दै गइरहेको परिपेक्षमा नेपाल सरकारले यसको रोकथाम, स्क्रिनिङ्ग, परीक्षण र उपचारको लागी राष्ट्रिय कार्यक्रम तथा निर्देशिका बनाइ लागु गर्न जरुरी छ साथै जोखिममा भएका नागरिकलाई परीक्षणको पहुँचमा ल्याउन हेपाटाइटिस मार्कर तथा मोलिक्यूलर टेष्टिङ्ग सहितको सुविधा भएका प्रयोगशाला सेवा विस्तार र सक्षम बनाउँदै लानुपर्छ र को्रनिक (दीर्घकालीन) हेपाटाइटिसको उपचार सेवा सर्वसुलभ बनाउनु पर्छ ।

के हो भाइरल हेपाटाइटिस
भाइरसको कारणले गर्दा हुृने कलेजोको सङ्क्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । कलेजोको सङ्क्रमण गराउने प्रमुख पाँच भाइरसहरू हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ हुन । यी मध्य हेपाटाइटिस ‘बी’, ‘सी’ र ‘डी’ भाइरसले दीर्घकालीन कलेजो सङ्क्रमण गराई कलेजोको सिरोसिस तथा क्यान्सर पनि गराउन सक्छन् ।

विश्वमा करिब ३२५ मिलियन मानिसहरू हेपाटाइटिस भारसद्धारा सङ्क्रमित छन् भने यी मध्य धेरै हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट पीडित छन् । लगभग ८० प्रतिशत मानिसहरू परीक्षण र उपचारको पहुँच भन्दा बाहिर छन् । दिगो विकास लक्ष्य–२०३० अन्तरगत विश्वबाट सन् २०३० सम्म भाइरल हेपाटाइटिसको नयाँ सङ्क्रमणलाई ९० प्रतिशत र यसबाट हुने मृत्युलाई ६० प्रतिशतले घटाउने लक्ष्य लिइएको छ ।

भाइरल हेपाटाइटिसका प्रकार
सङ्क्रमण गराउने भाइरसका अनुसार हेपाटाइटिसका प्रकार निम्नानुसार छन् ः
१) हेपाटाइटिस ‘ए’
२) हेपाटाइटिस ‘बी’
३) हेपाटाइटिस ‘सी’
४) हेपाटाइटिस ‘डी’
५) हेपाटाइटिस ‘ई’

हेपाटाइटिस ‘ए’
हेपाटाइटिस ए भाइरसको कारणले हुने कलेजोको सङ्क्रमणलाई हेपाटाइटिस ‘ए’ भनिन्छ । मुख्य गरी दूषित पिउने पानी तथा खानाबाट यो भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ । हेपाटाइटिस ‘ए’ ले कलेजोको तीव्र (एक्यूट) सङ्क्रमण गराउँछ । यसले को्रनिक (दीर्घकालीन) रूप लिँदैन । सङ्क्रमण पश्चात् केही हप्ता वा महिना पछि आफै सन्चो भएर जान्छ भने धेरै कमलाई मात्र कलेजोको गम्भीर समस्या ल्याउन सक्छ ।

हेपाटाइटिस ‘बी’
हेपाटाइटिस बी भाइरसको कारणले हुने कलेजोको सङ्क्रमणलाई हेपाटाइटिस ‘बी’ भनिन्छ । हेपाटाइटिस ‘बी’ या त तीव्र (एक्यूट) वा दीर्घकालीन (को्रनिक) हुनसक्छ । एक्यूट हेपाटाइटिस ६ महिना वा त्यो भन्दा कम समयमा सन्चो भएर जान्छ भने को्रनिक हेपाटाइटिसमा सङ्क्रमण ६ महिना भन्दा बढी र केही व्यक्तिमा जीवनभर रहिरहन्छ । को्रनिक हेपाटाइटिस भएका मध्य केही व्यक्तिलाई पछि गएर कलेजोको सिरोसिस तथा क्यान्सर हुनसक्छ ।
यदि जन्मेको एक वर्षभित्र बच्चाहरू हेपाटाइटिस ‘बी’ बाट सङ्क्रमित भएका छन् भने ती मध्य ८० देखी ९० प्रतिशतलाई को्रनिक हेपाटाइटिस हुनसक्छ भने वयस्क अवस्थामा पुगेपछि सङ्क्रमित भएका मध्य ५ प्रतिशत भन्दा कमलाई मात्र दीर्घकालीन सङ्क्रमण हुनसक्छ । त्यस्तै यी को्रनिक हेपाटाइटिस ‘बी’ का वयस्क मध्य २० देखि ३० प्रतिशत लाई पछि गएर कलेजोको सिरोसिस (कलेजोका कोशिकाहरू नष्ट हुनु) र क्यान्सर हुनसक्छ ।

हेपाटाइटिस ‘सी’
हेपाटाइटिस सी भाइरसको कारणले हुने कलेजोको रोगलाई हेपाटाइटिस ‘सी’ भनिन्छ । यो भाइरसले तीव्र (एक्यूट) वा दीर्घकालीन (को्रनिक) दुवै सङ्क्रमण गराउन सक्छ । उपचार नगरे को्रनिक हेपाटाइटिस ‘सी’ का धेरै व्यक्तिलाई पछि गएर सिरोसिस तथा क्यान्सर हुनसक्छ ।

हेपाटाइटिस ‘डी’ 
हेपाटाइटिस डी भाइरसको कारणले हुने कलेजोको रोगलाई हेपाटाइटिस ‘डी’ भनिन्छ । हेपाटाइटिस ‘बी’ को सङ्क्रमण भएका व्यक्तिलाई मात्र हेपाटाइटिस ‘डी’ को सङ्क्रमण हुन्छ । क्रोनिक हेपाटाइटिस ‘बी’ बाट सङ्क्रमित मध्य ५ प्रतिशतलाई हेपाटाइटिस ‘बी’ सँगसँगै हेपाटाइटिस ‘डी’ को सङ्क्रमण हुन सक्छ । यस्तो दोहोरो सङ्क्रमणले गर्दा कलेजोको सिरोसिस तथा क्यान्सर हुने सम्भावना धेरै बढ्छ ।

हेपाटाइटिस ‘ई’
हेपाटाइटिस ई भाइरसको कारणले हुने कलेजोको सङ्क्रमणलाई हेपाटाइटिस ‘ई’ भनिन्छ । मुख्य गरी दूषित पिउने पानी तथा खानाबाट यो भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ तर अध्ययनले यसबाट सङ्क्रमित केही आमाबाट पनि बच्चामा सर्न सक्ने जनाएको छ । हेपाटाइटिस ‘ई’ ले कलेजोको तीव्र (एक्यूट) सङ्क्रमण गराउँछ । र यो सङ्क्रमण पश्चात् केही हप्ता वा महिना पछि आफै सन्चो भएर जान्छ भने धेरै कमलाई मात्र कलेजोको गम्भीर समस्या ल्याउन सक्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका केहीलाई मात्र क्रोनिक हेपाटाइटिस ‘ई’ हुन सक्छ । तर हेपाटाइटिस ‘ई’ ले गर्भवती महिला र उनबाट जन्मिने नवजात शिशु लाई भने गम्भीर असर गर्न सक्छ ।

हेपाटाइटिस ‘ए’ र ‘ई’ सर्ने माध्यम तथा जोखिमपूर्ण तत्त्वहरू निम्नानुसार छन्:

  •  मुख्य गरी दूषित पिउने पानी तथा खाना र फोहर हात का माध्यम बाट हेपाटाइटिस ‘ए’ र ‘ई’ का भाइरसहरू सर्ने गर्छन् ।
  • साथै सङ्क्रमित व्यक्तिको दिशापिसावको सम्पर्कमा आएमा एक व्यक्तिबाट अर्कोमा सर्छ ।
  • हेपाटाइटिस ‘ई’ सङ्क्रमित केही आमाबाट पनि बच्चामा सर्न सक्छ ।
  • अव्यवस्थित फोहरमैला तथा ढल, व्यक्तिगत सरसफाइमा कमी, खुला दिसा, असुरक्षित खानेपानीको वितरण तथा मुख–मलद्धार मैथुन हेपाटाइटिस ‘ए’ र ‘ई’ लाई बढवा दिने जोखिमपूर्ण तत्त्वहरू हुन् ।
  • हेपाटाइटिस ‘ए’ र ‘ई’ को सङ्क्रमण विशेष गरी वर्षमायामा धेरै देखिने गर्छ ।

हेपाटाइटिस ‘बी’, ‘सी’ र ‘डी’ सर्ने माध्यम तथा जोखिमपूर्ण तत्त्वहरू निम्नानुसार छन्:

  • सङ्क्रमित आमाबाट उनले जन्म दिएको बच्चामा सर्न सक्छ,
  • सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सिरिन्ज तथा सुईको पुनः प्रयोग गर्दा वा अकस्मात खोपिदा,
  • सङ्क्रमित रगतजन्य वस्तु तथा खुला घाउको सम्पर्कमा आउँदा,
  • सङ्क्रमित व्यक्तिले दिएको रगत चढाउँदा,
  • असुरक्षित यौन सम्पर्क गर्दा,
  • असुरक्षित तरिकाले ट्याटु खोप्दा,
  • सङ्क्रमित व्यक्तिले प्रयोय गरेका रेजर वा दात माझ्ने ब्रस जस्ता सामानहरू प्रयोग गरेमा,

भाइरल हेपाटाइटिसका लक्षणहरू
कलेजोको सङ्क्रमण गराउने भाइरस, सङ्क्रमणको प्रकार र सर्ने माध्यम फरक भएता पनि यी पाँचै प्रकारका हेपाटाइटिसका लक्ष्णहरु लगभग उस्तै र मिल्दाजुल्दा हुन्छन् । त्यस कारण लक्षणका आधारमा छुट्ट्याउन सकिँदैन । कुन प्रकारको हेपाटाइटिस हो भनी थाहा पाउन रगत परीक्षण गर्नुपर्छ । सामान्यतया धेरै सङ्क्रमित व्यक्तिहरूमा हेपाटाइटिसका लक्षणहरू देखिँदैनन् । केहीमा निम्नानुसार लक्षणहरू देखिन सक्छन्

  • ज्वरो आउनु
  • थकाइ लाग्नु,
  • वाकवाकी लाग्ने तथा बान्ता हुने,
  • खाना खान मन नलाग्ने,
  • जन्डिस देखिने (छाला र आँखा पहेँलो देखिनु)
  • मांसपेशी, जोर्नी र पेट दुख्ने

परीक्षण
भाइरल हेपाटाइटिस निदानका लागि चिकित्सकको सल्लाह अनुसार रगतमा निम्न कुराको परीक्षण गरन्छिः

  • हेपाटाइटिस ए को लागि, रगतमा हेपाटाइटिस ए भाइरस एन्टिबडी (HAV-Antibody) को जाँच गरिन्छ, यदि नतिजा पोजेटिभ आए फेरी हेपाटाइटिस ए भाइरस आरएनए(HAV-RNA) को जाँच गर्नुपर्ने हुनसक्छ ।
  • हेपाटाइटिस बी को लागि हेपाटाइटिस बी सरफेस एन्टिजेन (HBsAg) को जाँच गरिन्छ, यदि सङ्क्रमित भएको नतिजा आएमा भाइरल लोड तथा भाइरसको सक्रियपना र दीर्घकालीन सङ्क्रमण हो या होइन भनी थाहा पाउन अन्य जाँच (HBV-DNA, HBeAg, HBcAg) चिकित्सकको सल्लाह लिई गर्नुपर्ने हुन्छ ।
  • हेपाटाइटिस सी को लागि रगतमा हेपाटाइटिस सी भाइरस एन्टिबडी (HCV-Antibody) को जाँच गरिन्छ, यदि नतिजा पोजेटिभ आए फेरी दीर्घकालीन सङ्क्रमण हो या होइन भनी थाहा पाउन हेपाटाइटिस सी भाइरस आरएनए (HCV-RNA) को जाँच गर्नुपर्ने हुन्छ ।
  • हेपाटाइटिस डी को लागि रगतमा हेपाटाइटिस डी भाइरस एन्टिबडी (HDV-Antibody) को जाँच गरिन्छ ।
  • हेपाटाइटिस ई को लागि रगतमा हेपाटाइटिस ई भाइरस एन्टिबडी (HEV-Antibody) को जाँच गरिन्छ । यदि नतिजा पोजेटिभ आए फेरी दीर्घकालीन सङ्क्रमण हो या होइन भनी थाहा पाउन हेपाटाइटिस ई भाइरस आरएनए (HEV-RNA) को जाँच गर्नुपर्ने हुन्छ ।

यदि आफू जोखिममा छु भन्ने लाग्छ भने सम्बन्धित चिकित्सकको सल्लाह लिई जाँच गर्न सकिन्छ ।

रोकथामका उपायाहरु
हेपाटाइटिस ‘ए’ र ‘ई’ को सङ्क्रमण हुनबाट बच्ने उपायाहरु

  • हेपाटाइटिस ‘ए’ को खोप उपलब्ध छ । यदि आफू जोखिममा छु भन्ने लाग्छ भने खोप लगाउन सकिन्छ । तर हेपाटाइटिस ‘ई’ का विरुद्ध खोप उपलब्ध छैन ।
  • हेपाटाइटिस ‘ए’ र ‘ई’ को सङ्क्रमणबाट बच्न स्वच्छ तथा सुरक्षित खाना र पानीको प्रयोग गरौँ
  • खुला दिसा गर्ने बानी हटाऊँ र दिसा–पिसाब शौचालयमा मात्र गरौँ ।
  • खाना खानुभन्दा अगाडि र शौचालय प्रयोग गरिसकेपछि राम्रोसँग साबुन पानीले हातहरू धुने गरौँ ।
  • फोहर मैला र ढलको उचित व्यवस्थापन गरी आफू वरिपरिको वातावरण स्वच्छ राखौँ
  • गर्भवती महिला आफू जोखिममा छु भन्ने लागेमा तुरुन्तै चिकित्सकसँग जाँच गराऊँ ।
  • मद्यपानको लतबाट टढा रहने,

हेपाटाइटिस ‘बी’, ‘सी’ र ‘डी’ को सङ्क्रमण हुनबाट बच्ने उपायाहरु

  • हेपाटाइटिस ‘बी’ र ‘डी’ को सङ्क्रमण हुनबाट बच्ने पहिलो उपाय भनेको हेपाटाइटिस बी खोप हो । हेपाटाइटिस ‘बी’ को सङ्क्रमण भएमा मात्र हेपाटाइटिस ‘डी’ को सङ्क्रमण हुनसक्ने भएकाले हेपाटाइटिस बी खोपले हेपाटाइटिस ‘डी’ हुनबाट पनि बचाउँछ ।
  • नेपालमा हेपाटाइटिस बी खोप शिशुहरूलाई स्वास्थ्य संस्था मार्फत डीपीटी खोपको ३ डोजसँगै जन्मेको ६ महिना भित्र दिइन्छ । यो खोप आफ्नो बच्चालाई नछुटाई लगाऊँ । किशोरावस्था तथा वयस्कले पनि यो खोप लगाउन सकिन्छ ।
  • हेपाटाइटिस सी को खोप भने अहिलेसम्म उपलब्ध छैन ।
  • प्रत्येक गर्भवती महिलाले आफू हेपाटाइटिस बी बाट सङ्क्रमित भएको वा नभएको थाहा पाउन हेपाटाइटिस बी सरफेस एन्टिजेन (HBsAg) को जाँच गराउनुपर्छ यदि सङ्क्रमित भए बेलैमा चिकित्सकको सल्लाह लिनुकोसाथै सुत्केरी हुन अस्पतालमानै आउनुपर्छ ।
  • सङ्क्रमित आमाबाट बच्चामा सर्न रोक्न जन्मेको १२ घण्टा भित्र नवजात शिशुलाई हेपाटाइटिस बी इम्यून ग्लोबुलिन (HBIG) र २४ घण्टा भित्र हेपाटाइटिस बी खोप दिनुपर्छ ।
  • सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सिरिन्ज तथा सुईको पुनः प्रयोग गर्दा वा अकस्मात खोपिदा सर्न सक्ने भएकाले विशेष सावधानी अपनाउने र एकले प्रयोग गरेको सुई अर्कोले प्रयोय नगर्ने ।
  • सङ्क्रमित रगतजन्य वस्तु तथा खुला घाउको डाइरेक्ट सम्पर्कमा नआउने,
  • परीक्षण गरी सुरक्षित प्रमाणित भएको रगत मात्र चढाउने,
  • यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने,
  • जथाभाबी असुरक्षित तरिकाले ट्याटु नखोप्ने
  • अरूले प्रयोय गरेका रेजर वा दाँत माझ्ने ब्रस जस्ता सामानहरू प्रयोग नगर्ने,
  • लागु पदार्थको दुव्र्यसनि देखि टाढा रहने,
  • मद्यपानको लतबाट टढा रहने,

उपचार

  • एक्यूट भाइरल हेपाटाइटिस ‘ए’ र ‘ई’ को कुनै विशेष उपचार छैन र यो सङ्क्रमण पश्चात् केही हप्ता वा महिना पछि आफै सन्चो भएर जान्छ भने धेरै कमलाई मात्र कलेजोको गम्भीर समस्या ल्याउन सक्छ । बिरामीले सन्तुलित आहार र प्रशस्त तरल पदार्थ लिई आराम गर्नुपर्छ साथै अनावश्यक औषधी, सिटामोल र बान्ता रोक्ने औषधिहरूले यती बेला कलेजोमा झन् असर गर्ने भएकोले प्रयोय गर्नुहुँदैन ।
  • को्रनिक हेपाटाइटिस ‘ई’ भएका व्यक्तिले चिकित्सकको सल्लाहमा एन्टिभाइरल औषधी लिन सक्छन् ।
  • एक्यूट हेपाटाइटिस ‘बी’ को कुनै विशेष उपचार छैन र यो सङ्क्रमण पश्चात् केही हप्ता वा महिना पछि आफै सन्चो भएर जान्छ । को्रनिक हेपाटाइटिस ‘बी’ का बिरामीलाई निश्चित मापदण्ड (भाइरल लोड, भाइरसको सक्रियपना तथा अन्य रगत परीक्षणको नतिजा¬) का आधारमा एन्टिभाइरल औषधीद्धारा उपचार गरिन्छ । एन्टिभाइरल औषधीले भाइरसको सक्रियतालाई कम गराउने मात्र हो, पुर्णरुपमा हेपाटाइटिस ‘बी’ भाइरसलाई हटाउन सक्दैन तर सिरोसिस र कलेजोको क्यान्सरको जोखिमलाई धेरै कम गर्छ । को्रनिक हेपाटाइटिस ‘बी’ का सबै व्यक्तिलाई उपचार नचाहिन सक्छ, सङ्क्रमित मध्य करिब १० देखी ४० प्रतिशतलाई मात्र उपचारको आवश्यक्ता हुन्छ । चिकित्सकको निरन्तर निगरानीमा चाही रहिरहनुपर्छ ।
  • एक्यूट हेपाटाइटिस ‘सी’ का सङ्क्रमितलाई उपचार नचाहिन सक्छ तर को्रनिक हेपाटाइटिस ‘सी’ का १२ वर्ष माथिका सङ्क्रमित सबैलाई डाइरेक्ट एक्टिङ्ग एन्टिभाइरलद्धारा उपचार गरिन्छ । उपचार पश्चात् यो लगभग पुर्णरुपमा निको हुन्छ साथै सिरोसिस र कलेजोको क्यान्सरको जोखिम पनि कम हुन्छ ।
  • को्रनिक हेपाटाइटिस ‘डी’ लाई पनि एन्टिभाइरलद्धारा उपचार गरिन्छ ।

ध्यान नपुर्याए भाइरल हेपाटाइसटसले ज्यान समेत लिन सक्छ । रोग लागेर उपचार गर्नुभन्दा रोगनै लाग्न नदिन रोकथामका उपायाहरुमा विशेष ध्यान दिन जरुरी छ । भाइरल हेपाटाइसटसको जोखिममा भएका हरेक व्यक्तिले परीक्षण गराउनुपर्छ । क्रोनिक हेपाटाइटिस ‘बी’, ‘सी’ र ‘डी’ बाट सङ्क्रमित मध्य केहीलाई पछि गएर सिरोसिस तथा कलेजोको क्यान्सर हुनसक्छ त्यस कारण सङ्क्रमित व्यक्तिले अरू आवश्यक जाँच र उपचारको लागी सम्बन्धित चिकित्सकको सल्लाह लिन आवश्यक छ ।

Sources:
WHO guidelines on Hepatitis B and C
CDC-Viral Hepatitis
WHO Fact sheets on Viral Hepatitis

Tags :
प्रतिक्रिया दिनुहोस