लोक सेवा भर्नाबारे सांसदलाई सचिवले भने –सक्षम नेपालीले जागिर खान पाउने कि नपाउने ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लोक सेवा भर्नाबारे सांसदलाई सचिवले भने –सक्षम नेपालीले जागिर खान पाउने कि नपाउने ?


प्रशासन विशेष ब्युरो

२४ जेष्ठ २०७६, शुक्रबार


सङ्घीयता कार्यान्वयनका सन्दर्भमा कर्मचारी समायोजन पछि पनि स्थानीय तहमा देखिएको कर्मचारी अभावलाई हटाउन सरकारको आग्रहमा लोक सेवा आयोगले खोलेको स्थानीय तहका लागि कर्मचारी भर्नाबारेको विवाद यति बेला चरम उत्कर्षमा छ । केही राजनीतिक दल, नेता तथा सङ्घ सङ्गठन हुँदै संसद्को राज्य व्यवस्था समितिमा नै यसले प्रवेश पाएपछि यति बेला यसबारे चौतर्फी बहस सिर्जना भइरहेको छ ।

कर्मचारी समायोजन ऐनको दफा १२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र संविधानका केही दफाहरूको आधारमा विज्ञापन गरेको सरकारको धारणा छ भने सत्तारुढ दलकै केही सांसदहरूले संविधानको मर्म विपरीत भन्दै चर्को विरोध गरेका छन् । संसदीय समितिको शुक्रवार बसेको बैठकमा उपस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिव यादव प्रसाद कोइरालाले प्रतिनिधिसभाका सांसदहरूसमक्ष राखेका धारणा हामीले जस्ताको त्यस्तै प्रस्तुत गरेका छौँ ।

लोक सेवाको विज्ञापन गर्नु हाम्रो रहर होइन । नेपाल सरकार यस्तो विधि निरीह तरिकाले अगाडी बढ्यो कि जसको कारणले हाम्रो आवाज पनि सुनेन । संविधान पनि हेरेन । कानुन पनि हेरेन । यो त बडा उदण्डै भयो भन्ने कुरा जुन यहाँ आइरहेको छ नि यथार्थमा यो होइन ।

हामीलाई पीडा छ । दिनमा मन्त्रालयमा तलदेखि माथिसम्मै कर्मचारी माग्नेको लाइन छ । करारमा दिन सक्छौँ हामीले ? हिजो ब्लड रिलेसनका मान्छे भर्ना गरेका छन्  । कि भन्नुपर्‍यो हाम्रा भाइ भतिजा जतिले जितेका छन् ती व्यक्तिहरू राख्न पाउनु पर्छ भनेर बोलिदिनु पर्‍यो हजुरहरूले ? हामी राख्न तयार छौँ ल । त्यो ठाउँमा स्वच्छ, सक्षम नेपाली नागरिकले जागिर खान पाउने कि नपाउने ? त्यो कुरा पनि बोली दिनु पर्‍यो ।

हरेक कुराहरू हाम्रा मात्रै ठिक हुन्छन् । यसले कामै गरेन, यसले हामीलाई पतितै बनायो भनेर हामीले सोच्न हुँदैन । हामीले पनि के सोचिरहेका छौँ भने स्वच्छ व्यक्ति आउन् जसले गर्दा घुलमिल भएर योग्य व्यक्तिहरू त्यो ठाउँले पाओस् भन्ने हाम्रो पनि चाहना हो ।

सरकारले कसैलाई राख्नका लागि यत्रो विधि हत्कण्डा मच्चाएकै होइन । उसले चाहन्छ भने अहिले करारमा भटाभट नियुक्ति गर्छ । हजुरहरूलाई नसोधिकन गर्ने अधिकार थिएन र उसलाई ? सरकारले एक जना मान्छे राख्न दिएको छैन किन ? ब्लड रिलेसनका मान्छे राख्छ भनेर । सरकारले आफूले पनि राखेको छैन । हामीले यसको भावना चाहिँ बुझ्ने गरौँ । हजुरहरू भन्नुहुन्छ संविधानको भावना अनुकूल जाऔँ । हामीले के गरेका छौँ र ? हामी संविधानको भावना विपरीत गएका छौँ ? कुनै व्यक्तिलाई लगेर राखेका छौँ ? मन्त्रालयले कुनै व्यक्तिलाई लगेर राखौँ भनेका छौँ ? मन्त्रीका कुनै व्यक्ति राखौँ भनेका छौँ छैनौँ नि ?

हामीले संविधानको भावनालाई कदर गरेर अगाडी बढौँ भनेका छौँ ।

कि होइन, गाउँपालिकामा मान्छे चाहिँदैन, मन्त्रालयले दिनु पर्दैन, स्पष्ट रूपमा उसैले नियुक्ति गर्दछ, माथिको कानुन हामीले हेर्दैन भन्दिऔँ । हामी त्यो कानुन पनि टेक्दैनौँ । भोलि माग्यो भने उनीहरूले हामी व्यक्ति पनि दिँदैनौँ ।

जे जति कुराहरू आइरहेको छ यसले हामीलाई के पीडा भइरहेको छ भने मन्त्रालय यति निरीह भई दियो कि जसले गर्दा कानुन पनि टेर्दो रैनछ यो । यो चाहिँ आफ्नै तरिकाले लाग्यो । यिनीहरूले आफ्नै भाइ भतिजाहरू राख्नै आँट्यो यसले । यो तरिकाले उठ्यो क्या क्वैसन्स । यो तरिकाले नजाऔँ ।

स्थानीय तहमा देखिएका कर्मचारी अभावबारे करारमा राख्दा उपयुक्त हुन्छ कि भनेर छलफल गर्दा ७ वटा पालिकाबाट यसरी भर्ना गरिएका कर्मचारीको सूची मगाएका थियौँ । त्यहाँको मेयरको भाइ–भतिजा, साला–साली रहेछन् । अर्को ठाउँमा कार्यकारीको आफ्नी भान्जी बुहारीसमेत राखेको रैछ । त्यो पीडा बोलेको मैले । जनताले जागिरै खान नपाउने भए । सरकार हाम्रो भन्ने तर जनताले जागिरै खान नपाउने भएपछि गारो हुने भएकोले र अहिलेको कानुनमा पनि करारमा राख्न पाईदैन भन्ने भएकोले हामीले करारको बारेमा बोल्न नसकेका हौँ ।

समावेशीको विषयमा हामी गम्भीर छौँ । ९ हजार हाराहारीको विज्ञापनमा कमै मात्र समावेशी देखिँदा पिडै भयो भनेर छलफल पनि गर्‍यौँ र कानुन पनि हेर्‍यौँ । कानुनले हामीलाई अधिकार नदिएको रैछ । यसलाई अब के गर्न सकिन्छ त्यसमा जाऔँ । सरकारले काम गर्दा यो यो सिद्धान्त अवलम्बन गर्दा राम्रो हुन्छ भनेर हामीलाई भन्नुभयो भने हामीले त्यसलाई कहीँ राखेर अगाडी बढाउन सकिने छ भने त्यो पनि हेरौँ । र, हजुरहरूले पनि यो ऐन, कानुन, संविधान र अहिलेको जुन मैले अघि सुरुमा भनेको व्यवहारगत समस्याहरू छन् ।

स्थानीय तह धेरै ठाउँमा रिक्त छन् । ती ठाउँमा यहाँबाट मान्छे पठाउन नसकिने । करारमा भर्ना नसकिने । तीन महिनाभित्र पठाउनु पर्ने अवस्था छ । उनीहरू तीन महिना धैर्य गर्न तयार छन् । तर तीन महिनापछि त्यहाँ पनि विस्फोटन हुन्छ । स्थानीय स्तरमै जनताले सेवा पाउन् भनेर त्यत्रो मरिहत्ते गरेर सङ्घीयता ल्याएको र स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्‍यौँ तर भोलिका दिन फेरी त्यहाँ काम नपाएर केन्द्रमा धाउनु पर्‍यो भने त्यहाँ भन्दा विस्फोटन कहीँ पनि हुँदैन । जनता त्यहाँबाट अर्को आक्रोशित हुन्छ ।

त्यो अवस्थालाई हेरेर हामी जनतालाई सेवा दिन हतारिएका हौँ । अरू कार्यले हतारिएका होइनौँ । कसैलाई जागिर खुवाउनका लागि होइन । विकास निर्माण कार्यलाई अघि बढाउनका लागि र जनतालाई त्यही स्थानीय तहबाट सम्पूर्ण सुविधा उपलब्ध होस् भन्ने हाम्रो चाहना हो । अरू यहाँभन्दा बाँकी सरकारको चाहना केही पनि छैन ।

यो भएन भने फेरी दुई वर्ष पर लम्बिन्छ । प्रदेश लोक सेवा आयोग गठन गर्नुपर्छ । पाठ्यक्रम निर्धारण गर्नुपर्छ । परीक्षा लिनु पर्छ । परीक्षा पनि मेरिट बेसमा लिएको हुनुपर्दछ । त्यसको सिद्धान्तभन्दा बाहिर जान पाउँदैन । यो पुरा गर्न अहिले हामीले जति चाँडो गर्दा पनि दुई वर्ष लाग्छ र दुई वर्ष र अहिलेको दुई वर्ष चार वर्ष जान्छ । कार्यकाल नै बितेर गएपछि विकास निर्माणदेखि जनताले पाउने सेवा, सुविधा कहाँबाट पाउने ? भोलि गएर डिजाष्टर हुन सक्ने भएकोले हाम्रो चाहना यसलाई बरु कसरी समावेशी गर्न सकिन्छ ? कसरी यसलाई परिमार्जित र परिष्कृत गर्न सकिन्छ ? त्यसलाई हेरिदिऔँ । मेरो, मन्त्रालय र सरकारको आग्रह भनेको समावेशी र कसरी सम्पूर्ण रूपले काम गर्ने वातावरण बन्न सक्छ त्यसमा लागौँ ।

समिति र सरकार भनेका एक अर्काका पूरक हुन् । सरकारले कसरी अघि बढ्दा राम्रो हुन्छ भनेर बाटो देखाउने काम समितिको भएकोले सोही अनुसार सघाउनका लागि मन्त्रालय र सरकारको तर्फबाट आग्रह गर्छु ।

Tags :
प्रतिक्रिया दिनुहोस