माथिल्लो त्रिशूली थ्री ‘ए’को संरचनाको सफल परीक्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माथिल्लो त्रिशूली थ्री ‘ए’को संरचनाको सफल परीक्षण


१७ बैशाख २०७६, मंगलबार


काठमाडौं । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको संरचनाको परीक्षण सफल भएको छ । विद्युत् उत्पादनपूर्व गर्नुपर्ने सम्पूर्ण परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ ।

यो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्वाइनमा झारिन्छ र त्यसबाट जेनेरेट, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चले–नचलेको हेरिन्छ । विद्युत् भने उत्पादन गरिँदैन ।

सोमबार विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाबाट ३० मेगावाट (पहिलो युनिट) विद्युत् मंगलबारबाट उत्पादनको लक्ष्य राखिएको थियो । तर, आयोजननाका संरचना तथा त्यहाँ रहेका उपकरणहरुको परीक्षणमा समय लागेकाले व्यवसायिक रुपमा विद्युत उत्पादनमा ढिलाइ भएको निर्देशक घिसिङले बताए ।

उनले वैशाखभित्र व्यवसायिक रुपमा एउटा युनिटबाट विद्युत् उत्पादन हुने जनाएका छन । दोस्रो युनिट (३० मेगावाट) को असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण सकिएको छ ।

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी० मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो ।

१७ जेठ २०७१ (३१ मे २०१४)भित्रमा निर्माण सक्ने गरी सिजिजिसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विविध कारणले आयोजनाको निर्माण ढिलाई भएपछि २०७३ असार १६ सम्म म्याद थपिएको थियो ।

भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद २०७६ वैशाख १७ वैशाख सम्म थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस