गुलाबले सिँगारिएको घतान गाउँ « प्रशासन

गुलाबले सिँगारिएको घतान गाउँ


प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १५:३९

म्याग्दी । बेनी नगरपालिका वडा नं ९ मा रहेको घतान गाउँ गुलाबी गाउँले परिचित बन्दैछ । प्रेमको प्रतीक रातो गुलाब घतानका अधिकांश घरआँगन, बारीमा देख्न सकिन्छ ।

बेनीबजारदेखि ५ किमी पर रहेको उक्त गाउँका हरेक घरमा फक्रिएका रातो गुलाबमा जो कोहीको आँखा पुग्छ । घर अगाडि झपक्क गुलाब झुलिरहेको दृश्यले गाउँको सौन्दर्यलाई समेत बढाइरहेको छ ।

घतान गाउँको झण्डै ८० प्रतिशत घरमा गुलाब रोपिएको वडा महिला सञ्जालका अध्यक्ष रश्मि बानियाँले जानकारी दिए । ‘गुलाबको फूल अधिकांशले मन पराउने फूल हो । गाउँमा गुलाब असाध्यै राम्रोसँग फुल्छ । घरको शोभा पनि यस फूलबाट देखिने हुँदा अधिकांशका घरमा गुलाब रोपिएको छ’, बानियाँले भने,’यति बेला गुलाब फक्रने समय, गाउँ नै उज्यालो भएको छ ।’ यसको महत्वको उजागर भयो भने सो गाउँमा व्यावसायिक गुलाब खेती गर्न सकिने उनको भनाइ छ ।

गाउँको केही माथितिर भने लालीगुराँसको दृश्यले लोभ्याउने बानियाँले बताए । गुलाब सेतो, पहेँलो रङका पनि पाइन्छ तर प्रणय दिवसमा रातो गुलाब नै आदानप्रदान गरिन्छ । कालो गुलाब प्रेमको अन्त्य मानिन्छ ।

भारतको जयपुरका घरहरु पिन्क(गुलाबी रङ) हुन्छन् । घतान गाउँले पनि गुलाबको पहिचान दिएकामा घतानीहरु खुशी देखिन्छन् । घतान ऐतिहासिक धार्मिक एव पर्यटकीयस्थलले समेत परिचित छ । रघुगंङ्गा र कालीगण्डकी सङ्गममा रहेको नौ रोपनी क्षेत्रफलको चक्रशिलामा अवस्थित गलेश्वर धाम विश्वकै अलौकिक शक्तिका रुपमा मानिन्छ ।

यसै ठाउँमा पुलस्त्य ऋषिको आश्रम रहेकाले पनि यो गाउँ धार्मिक रुपमा पनि उत्तिकै परिचित छ । गाउँमा आउनेहरुले गाडी रोकेर फूलसँग तस्वीर लिने गरेको इच्छा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष स्थानीयवासी शान्ति रोकाले बताइन्।

‘बाटो हिँड्ने सबैले मन पराउँछन् गुलाब, फोटो खिंचेर जान्छन्’, उनले भनिन् । धौलागिरि बेस क्याम्प जाने पदमार्ग समेत उक्त गाउँ हुँदै जान्छ । धौलागिरि, माछापुच्छ्रे, नीलगिरि र अन्नपूर्ण हिमशृङ्खलाका सुन्दर दृश्यसमेत उक्त गाउँबाट देख्न सकिने उनको भनाइ छ ।

घतानमा झण्डै ९ सय घरधुरी छन् । कुल जनसङ्ख्या चार हजार ८१० रहेकामा महिलाको सङ्ख्या २ हजार २९५ तथा पुरुषको सङ्ख्या १ हजार ८९४ छ ।

आकर्षक गुलाबको फूलसँगै उक्त स्थान कृषिका लागि पनि उत्तिकै प्रसिद्ध मानिन्छ । यहाँ केराउ, टिमुर, सिमी र मुला, बन्दा, काउली, प्याज, लसुन र गोलभेंडाको राम्रो उत्पादन हुने गरेको वडाध्यक्ष बेलबहादुर चोखालले जानकारी दिए । घतानबासीले सिस्नोको धूलो उत्पादन गरेर आयआर्जनसमेत गर्दै आएका छन् ।

धान, मकै, कोदो र गहुँको अन्नबाली, फलफूलमा सुन्तला, क्यूबी र केरा तथा नगदेबाली अलैँचीको पनि राम्रो उत्पादन हुने गरेको वडाध्यक्ष चोखाल बताउछन् । उक्त गाउँका झण्डै ८५ प्रतिशत मानिस कृषिमा निर्भर छन् । अन्य मानिस वैदेशिक रोजगार अन्य पेशा व्यवसायमा आबद्ध छन् ।

‘मुक्तिनाथ प्रवेशद्वार गलेश्वर धाम, पुलाश्रम हुँदै घतान, पुलाकोट, ढोलथान, जगन्नाथ, टोड्के र बेनी–गुफा मन्दिर, कपिल आश्रम, पुलाश्रमलगायतको मार्गलाई व्यवस्थित गर्ने कार्य अगाडि बढाएका छौँ’, गाउँको प्रवर्द्धनका लागि गुरुयोजना तयार गरिरहेका चोखालले भने ।

 

प्रतिक्रिया दिनुहोस