शिक्षक क्रान्ति: नलुकेको यथार्थ « प्रशासन
Logo २ कार्तिक २०७८, मंगलबार
   

शिक्षक क्रान्ति: नलुकेको यथार्थ


केदार कोइराला

१६ चैत्र २०७५, शनिबार


शिक्षक क्रान्ति

नेपालमा गुरुहरूको स्थान: इतिहास
नेपालको निजामती सेवाको माईलस्टोन भनेर चिनिएको नेपाल निजामती सेवा ऐन, २०१३ को गजेटेड सेवाको एक नम्बरमा नेपाल शिक्षा सेवाको व्यवस्था गरिएको थियो । श्री ५ को सरकारले २०१८/२/२६ र ३२ गतेको निर्णयानुसार प्रथम श्रेणीमा १२ जना, द्वितीय श्रेणीमा ३६ जना, तृतीय श्रेणीमा ७३ जना तथा संस्कृत तर्फ प्रथम श्रेणीमा ३ जना, द्वितीय श्रेणीमा ९ जना, तृतीय श्रेणीमा ११ जना, नेपाल विविध सेवा १ जना, नेपाल प्रशासन सेवा तृतीय श्रेणीमा २ जना रहने गरी नेपाल शिक्षा सेवा गठन गर्ने निर्णय गरेको देखिन्छ।

नेपाल शिक्षा सेवा (श्रेणी विभाजन, भर्ना र प्रमोसन) नियमहरू, २०२२ ले प्रथम, द्वितीय र तृतीय श्रेणीका पद रहने गरी एम ए वा सो सरहको डिग्री प्राप्त गरेको व्यक्ति मात्रै गजेटेड पदमा नयाँ नियुक्तिका लागि योग्य हुने व्यवस्था गरेको थियो । हाईस्कुल माध्यमिक स्कुल वा प्रधानपाठशालाको निमित्त बि ए वा सो सरह हुने व्यवस्था थियो । प्रथम श्रेणी र पदमा प्रिन्सिपल, भाईस प्रिन्सिपल, सिनियर प्रोफेसर, प्रधानाचार्य, उपप्रधानाचार्य तथा आचार्य रहने, द्वितीय श्रेणी र पदमा प्रोफेसर तथा प्रधानाध्यापक तथा तृतीय श्रेणी र पदमा लेक्चरर, अध्यापक, हाईस्कुल हेडमास्टर, प्रधानपाठशालाका मुख्य शिक्षक रहने व्यवस्था सो नियमावलीले गरेको थियो। तृतीय श्रेणीको पदमा बाहेक सबै पदमा बढुवा द्वारा मात्रै पदपूर्ति गरिने व्यवस्था गरेको थियो ।

नेपाल शिक्षा सेवा (समूह तथा श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमहरू, २०३३ ले ९ वटा समूह रहने व्यवस्था गर्‍यो । (१) टीचिङ्ग (२) जनरल एजुकेसन (१२ वटा उपसमूह) (३) प्लानिङ्ग, रिसर्च एन्ड म्यानपावर (४) प्रिन्टिङ्ग (५) फिजिकल एजुकेसन (६) पेन्टिङ एण्डफोटोग्राफी (७) आर्कियोलजी (८) टेस्ट एन्ड म्यानेजमेन्ट एन्ड गाईडेन्स एन्ड काउन्सिलिङ्ग (९) लाईब्रेरी साईन्स थिए । सबै समूह तथा उपसमूहका पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक रहने गरी तोकिएको थियो ।

श्री ५ को सरकारले २०१८/२/२६ र ३२ र नेपाल शिक्षा सेवा (श्रेणी विभाजन, भर्ना र प्रमोसन) नियमहरू, २०२२ ले शिक्षा सेवा भनेको कुर्सीमा बस्ने हाकिमसावहरुको समूहको परिकल्पना समेत गरेको देखिएन, थिएन। एम ए पास गरेका गुरुहरूबाट शासन प्रणाली अनुरूपको शिक्षा दिई योग्य नागरिक बनाउने व्यवस्थाको अनुसरण गरेको भन्ने बुझ्दा फरक पर्दैन । शिक्षक भनेको निजामती पद थियो । मान मर्यादा थियो । गुरुलाई भगवानको प्रतीकको रूपमा पुजिने व्यवस्था थियो ।गुरुलाई पुजिने गरिन्थ्यो ।गुरु अनुशासन र ज्ञानका बिम्ब मानिनुहुन्थ्यो ।

गुरुहरूको मान मर्दन सुरु : मान सम्मान हिन्दमहासागरको पिंधमा
नेपाल शिक्षा सेवा (समूह तथा श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमहरू, २०३३ ले गुरुहरूको गरिमालाई घटाउने र ती नै शिक्षकहरूलाई कज्याउने हाकिमसावहरुको सिर्जना गरेको सेवा समूह तथा उपसमूहको व्यवस्थाबाटै स्पष्ट देखिन्छ। शिक्षा सेवाबाट गुरुहरूको दर्जा निजामती पद नहुने गरी हटाइयो । यो कसको मनसायबाट प्रेरित भएर भएको हो शिक्षाका हाल कार्यरत निजामती हस्तीहरू नै जानुन्।यसले शिक्षा सेवा सञ्चालन गर्ने हाकिमसावहरु र स्वच्छ भावना सहित शिक्षा प्रवाह गर्ने गुरुहरूबिच कित्ता काट गर्‍यो । ज्ञानले भरिएका उहिलेका गुरुहरूलाई ठिटाहरूले तह लगाउने हुकुमी शासन शैली अपनाइयो । त्यस पछिका शिक्षा सेवा ऐन तथा नियमावलीले शिक्षक पदलाई निजामती पद मानेन। नेपाल सरकारको मर्यादाक्रममा गुरुको स्थान अटेन ।अटाउन चाहेन पनि ।गुरुको भूमिका निर्वाह गर्दै गर्दा निजामती सेवाको शिक्षा सेवामा अवसर देखेर अवसरलाई पोल्टामा हालियो तर गुरुको स्थान पहिलेकै अवस्थामा फिराउने कुरामा चुँ सम्म बोलेको सुनिँदैन, किन ?

प्रजातन्त्रको उदय सँगै आएको निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० आयो । शिक्षा सेवाले तस्थान पायो तर गुरुहरूको स्थान गायब भयो । गुरुहरूलाई नियन्त्रण र निर्देशन दिने हाकिमसावहरुको सङ्ख्या बढेर आकाश छोयो । अझ लोकतान्त्रिक शिक्षा पद्धति आएपछि त राजनीतिक दलै पिच्छेका मास्टर भए, तर गुरु र शिक्षकहरू लोप हुँदै गए, अहिले लोपोन्मुखको सूचिमा गुरु परे । राहत, अस्थायी, स्थायी, निजी स्रोत……..बाह्रथरीका राजनीतिक आवरणमा शिक्षक नियुक्तिलाई प्रदूषित पार्दै लगियो । गुरुहरूले आफ्नो वास्तविक पहिचान गुमाएर मास्टरमा परिणत हुनुभयो ।

प्रजातन्त्र आउनुभन्दा अघि नै शिक्षण पेसामा रहेका गुरुहरूले त्यो बेलाको गुरुको गरिमा अझै पनि राख्न सफल भएको महसुस मैले गरेको छु । आज पनि सम्पूर्ण गुरुहरू जसले मलाई शिक्षा दिनु भयो सँग भेट हुँदा सिधा आँखा जुधाएर हावा गफ गर्न सक्ने क्षमता ममा छैन । किनकि मैले उहाँहरूको ज्ञानको तुलनामा म सँग केही पनि छैन। मलाई त्यो महसुस भएको छ । उहाँहरूले सिकाएको नैतिकताको पाठले मलाई गुरुलाई जहिल्यै पनि आदर र सम्मान गर्नुपर्ने सिकायो ।त्यस्ता गुरु अव शिक्षण पेसामा चाहिएको छ । तर शिक्षा सम्बन्धी नीति निर्माण गर्नेहरूले शिक्षकको वृत्ति विकास हुनुपर्छ, नयाँ ज्ञान, सीप तथा कौशल भएका युवाहरूलाई शिक्षण पेसामा लैजानुपर्छ भन्ने सामान्य हेक्का नराखेको उदाहरण लाइसेन्स नामको ल्याइते उपकरणले स्पष्ट पारेको छ । ल्याइते उपकरणले सेवा प्रवेश गरेपछि तालिम कि तालिम प्राप्त मान्छे मात्रै सेवामा ल्याउने भन्ने कुरामा प्रशासकको दिमाग भुट्न सफल भएको छ । संशोधित शिक्षा ऐनको संशोधन भएको एक शब्द पनि कार्यान्वयन नगरी अर्को माथि अर्को संशोधन गर्नु भनेको शिक्षा सेवाका अब्बल प्रशासकहरूमा लुकेको क्षमतालाई नाङ्गै बनायो ।शिक्षा नीतिलाई अझै तल भसायो ।

म पनि शिक्षण पेसाबाट निजामती सेवामा आएको हुँ । माध्यमिक स्तरको राम्रै गणित शिक्षकको रूपमा सङ्खुवासभामा स्थापित भएको थिए । तर निजी स्कुलको । निजी स्कुललाई समाजले गरिबका छोराले पढाउने र धनीका छोराले पढ्ने स्थानको नाममा चित्रित गरेको छ । गरिबका छोरा त्यहाँ माथि पनि सरकारी विद्यालयमा पडेकाहरूको वर्चस्व निजी स्कुलका शिक्षकहरूको छ । अलमलिन ठिकै छ, निजी स्कुल भए पनि चल्छ तर भविष्य छैन भन्ने जमातले मेरो मन बिगारिदियो । माध्यमिक स्तरको शिक्षकको पुरा तलब दिएको थियो निजी सक्कलले तर भविष्य दिने काम सरकारले गरेको थिएन र अझै पनि छैन । शिक्षकमा हुनुपर्ने गुणहरूलाई व्यवहारमा उतार्न नसकेर भागेर निजामती सेवामा आएको भने होइन । अहिले निजामती सेवामा निकै सङ्ख्यामा शिक्षण पेसाबाट आउनु भएका र मुख्य काम शिक्षण पेसामा रहनु भएका गुरुहरू तह लगाउने हाकिम सावहरु हुनुहुन्छ (मेरो तितो अनुभव: शिक्षा सेवाका प्रा.स.ले माध्यमिक तहका शिक्षक तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई मलाई नमस्कार नगर्ने यो तपाईँ को हो ? भनेर हकारेको शब्द तथा दृश्य मेरो मानस पटलमा अझै ताजा छ, यसैको आधारमा गुरुहरू तह लगाउने हाकिम साव भनेको हो, अन्यको हकमा अकबरी सुनलाई कसी लगाउन पर्दैन)। शिक्षकमा हुनुपर्ने गुणहरूलाई व्यवहारमा उतार्न नसकेर निजामती सेवा नआएको हुनाले शिक्षक जति नैतिक पेसा अरू थिएन र छैन भन्न मलाई हिचकिचाहट छैन ।

निष्कर्ष
शिक्षकहरूको वृत्ति विकास अनिश्चित बनाउनु हुँदैन । शिक्षकको मर्यादालाई राज्यले नचिन्ने बनाउनुहुँदैन।शिक्षण पेसाबाट सरकारी सेवामा आउने सबैले शिक्षा नीति देशको आवश्यकता अनुकूल बनाउनुपर्छ ।गरी बका छोराछोरीले पढ्ने र धनीका छोराछोरीले लिने शिक्षा फरक बनाउनु हुँदैन । आफ्ना बच्चा मात्रै तारे स्कुलमा पढाउने वातावरण तयार गर्नुहुँदैन । तारे स्कुल र सर्वसाधारण पढ्ने शिक्षाका पाठ्यक्रम फरक बनाउनुहुँदैन । बुढानीलकण्ठका बच्चा हात्ती वन तथा हात्तीवनका बच्चा भक्तपुर सहर घुमाउँदै बुढानीलकण्ठ पुर्‍याउन पाउने टुरिष्ट एजुकेसनको व्यवस्थाको अन्त्य गर्नुपर्छ । तारे स्कुलमा शेयर हाल्ने व्यवस्थाको अन्त्य गर्नुपर्छ । हिन्द महासागरको हिरा जस्तै भएको नेपालको शिक्षा नीतिलाई सङ्घीयता अनुकूल बनाउनुपर्छ ।यसले मात्रै लोकतान्त्रिक लाभांशहरूको वितरण सम न्यायिक बनाउन सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस