एउटै ठेलाको कमाइ महिनाको एक लाख « प्रशासन
Logo १७ आश्विन २०७९, सोमबार
   

एउटै ठेलाको कमाइ महिनाको एक लाख


६ माघ २०७५, आइतबार


हेटौँडा । ठेलामा व्यापार गरेर महिनामा रु १ लाखसम्म कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ नवलपरासी घर भई हाल हेटौंडामा ठेला किचेन चलाएर बसेका ३५ बर्षीय युवराज नेपाल । वैदशिक रोजगारको सिलसिलामा मलेशियामा थुप्रै हण्डर खाएका युवराजलाई चितवनमा कुखुरा फार्मले पनि डुबायो । फेरि दुबई गएका उनलाई एक वर्षकोे बसाइले फेरि कहिल्यै विदेश नजाने गरी नेपाल फर्काइदियो । आज रु २० हजार भन्दा कमको लगानीमा हेटौंडामा दैनिक तीन/चार हजार त मुनाफा मात्रै गर्ने युवराज भन्छन् – ‘हिजो विदेश नगएर यस्तै काम गर्‍यो भए हेटौँडामा पाँच तले घर बनाइ सक्या हुन्थें ।’

उनको ठेला वरपर केराका परिकारसहित चटपटे, पकौडा, आलु चप, भेज मोमोलगायतका परिकारहरु खाने ग्राहकहरुको घुइँचो लागेको देख्न सकिन्छ । साइँला दाइको नामले परिचित हँसिला युवराजको वास्तविक कथा भने निक्कै नै उतारचढावले भरिपूर्ण छ ।

नवलपरासीमा जन्मिएका युवराजले विदेश गएर टन्न पैसा कमाउने सपना देखे । ऋणपान गरेर मलेसिया उड्नु पनि भयो । भुँइ कहिल्यै नछोड्नु भएका उनले बोइङ चड्दा भुँई मात्रै छोड्नु भएन, देश, आमा, बाबा, आफन्त, साथीभाइ, स्नातकसम्मको अध्ययन सबै छाडे । पैसा कमाउन ती सब कुरा त्याग्नु नै पर्ने थियो । धेरै नेपालीहरुले त्यागेकै थिए । हवाइजहाज चड्नु अघिसम्म पनि उनलाई विदेश गएर आएका नेपालीहरुको सुकिलामुकिला दैनिकीले लोभ्याइ नै रहेको थियो, विदेशमा बगाएका पसिनाको गन्ध अत्तरले पुरिएकै किन नहोस् । युवराजका अनुसार हवाइजहाज गुड्न थालेदेखि नै अनौठो डर, देश छोड्नु पर्दाको ग्लानि अनि, के ले हो के ले थिचेको जस्तो निस्सासिएको जस्तो अनुभूति भएको थियो ।

‘कसम मलाई सानोमा दाजुभाइ सिरकले थिची खेल्थ्यौं, त्यतिखेर अलि धेरै बेर सिरकले थिचिँदा जस्तो उकुसमुकुस हुन्थ्यो त्यस्तै भयो’ उनले विगत सम्झँदै आफ्नै लवजमा भने । तर, पैसा कमाउने र धनी मान्छे बन्ने सपना बिपना भन्दा धेरै गुणा चहकिलो बनेर आँखामा बसेपछि युवराजलाई तीन वर्ष मलेशिया बस्न उकुसमुकुसले छेकेन । केही पैसा कमाउनु पनि भयो तर, त्यो पैसा पर्याप्त थिएन र कम पनि थिएन । युवराज भन्नुहुन्छ – ‘रातदिन अर्काको देशमा डर, चिन्ताबीच जोतिँदा मनग्ये आम्दानी गरे पनि परिवारसँगै हुन नपाउँदा साह्रै गाह्रो हुने रहेछ ।

त्यही भएर मलाई पनि आफ्नै देशमा आउन मन लाग्यो ।’त्यसो त तीन वर्षको अवधिमा एकपटक पनि नेपाल नफर्कनु भएका युवराजले विदेश मै हुँदा आफ्नो पिता गुमाए । जन्मदाताको काजक्रिया गर्न नेपाल फर्कन खोज्दा कम्पनीले दिएन । ‘पसिना मात्र हैन दाइ मैले धेरै गाग्री आँशु पनि बगाएको छु विदेशमा,’ युवराजले भावुक हुँदै भने । नेपालमै केही गर्ने सोचसहित युवराज नेपाल फर्के ।

त्यसो त विदेशमै हुँदा उनलाई नेपाल मै गर्न सकिने थुप्रै कामहरुको ‘आइडिया’ नफुरेको होइन तर, के चाहीँ गर्ने निक्र्योल भने हुन सकेको थिएन । यसबीचमा चितवनकी निरु चिमरियासँग उनको विवाह भयो । एक्लो युवराजसँग अब सहयात्री थपिएपछि नेपालमै बसेर कुखुरापालन गर्ने योजना बन्यो । नवलपरासीका युवराज कुुखुरा पाल्ने योजनासहित चितवनमा बसाइँ सरे । चितवनमै खोर बन्यो । कुखुराका चल्ला पनि हालियो । चल्ला बढ्दै गए ।

चल्लाहरु कुखुरामा परिणत भए । बेच्ने बेला पनि भयो । तर बेच्ने बेलाका कुखुरा भटाभट मर्न थाले । युवराजलाई ‘तावाबाट उफ्रेको माछा भुङ्ग्रोमा’ भने झैं भयो । मलेशियाबाट कमाएको अलिअलि रकम पनि यसले डुबायो । परदेशप्रतिको वितृष्णा कुखुरापालनको घाटाले कता हरायो कता । युवराज २०६९ सालमा दुबईका लागि उड्नु भयो । यो उनको दोस्रो वैदेशिक यात्रा थियो । उनका अनुसार दुबई पनि फापेन । मासिक १० हजार रुपैयाँको तलब खाना खान नै नपुग्ने । युवराज एक वर्षको दुबई बसाइलाई बिट मारेर गोजीमा १० हजार रुपैयाँ बोकेर नेपाल फर्के ।

त्यसपछि आफन्त भेट्न हेटौंडा आएका युवराजले हेटौँडामा सटर भाडामा लिएर दुनोट बनाएर बेच्न थाले । आँखै अगाडि ताजा दुनोट, सेल, जेरी, पुरी बनाउँदै गरेको देखेपछि ग्राहकहरु बढ्दै गए, व्यापार पनि बढ्दै गयो । ठिकैको कमाइ भए पनि सटर भाडा महङ्गो भएकाले बचत हुन सकेन । युवराजले हेटौँडामा ठेला किचेन खुब चलेको देखिरहेका थिए । साँझपख हेटौंडाका सडक किनारमा मोमो, ससेस, चप, पकौडा, चटपटेलगायतका खानेकुराका ठेला किचेनहरु देखेपछि युवराजलाई त्यस्तै पसल चलाउन मन लाग्यो र उनले त्यसै गरे ।

हेटौंडाको व्यस्त बजारबाट अलि पर हेटौँडा सिमेन्ट उद्योग जाने बाटोमा उनले ‘साइँला दाइको ठेला किचेन’ खोले। बजारले नयाँ तर स्वादिला परिकार खोज्छ भनेर केराको नयाँ परिकार कल्पना गरे र नाम राखे भयो ‘बनाना ससेस’ । आज त्यही बनाना ससेसले युवराजको धेरै पैसा कमाउने सपना पूरा गर्दैछ र परिवारका चाहनाहरु पनि । आज साँइला दाइको ठेलाबाट दैनिक अपरान्ह ३ बजे देखि साँझ ८ बजेसम्ममा तीन–चार सय ग्राहक सन्तुष्ट बन्ने गर्छन् ।

यो सबै काममा सहयोग गर्छन् उनकी श्रीमती निरु ।’फ्रन्टमा म छु व्याकग्राउण्डमा मेरी वाइफ,’युवराजले नेपालीमा अङ्ग्रेजी मिसाएर भने । निरु भने ठेलामा के सकियो वा के आवश्यक पर्‍यो याद गरेर बस्छन् । सकिएका चिजबिज कोठाबाट ल्याइ हाल्छन् । दुई छोराका अभिभावक बनिसकेको यो जोडीको सफलताका कथाले चाहना भए आफ्नै देशमा बसेर केही गर्न सकिन्छ भन्ने तथ्यलाई स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस