ऋणमा डुबेको दुर्गमको विद्यालय नन्दामाता मावि « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ऋणमा डुबेको दुर्गमको विद्यालय नन्दामाता मावि


प्रशासन संवाददाता

२८ मंसिर २०७५, शुक्रबार


अछाम । राज्यले आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ । तर जिल्लाकै विकट क्षेत्र ऋषिदहमा रहेको नन्दामाता माध्यमिक विद्यालय रु १५ लाख ऋणमा डुबेर सञ्चालन भइरहेको छ । जिल्लाकै विकट मेल्लेख गाउँपालिका–२ डाँडासिरीमा रहेको विद्यालयमा शिक्षक दरबन्दीको अभावका साथै भौतिकरूपमा पनि दयनीय अवस्थामा रहेको पाइएको छ ।

वि.सं. २०४९ मा स्थापना भई २०७१ बाट माध्यामिक तहसम्म पढाइ भइरहेको उक्त माविमा अहिले सातजना शिक्षक निजी स्रोतबाट पढाइरहेका छन् भने दुईजना अस्थायी करार र एक जना राहत कोटामा छन् । पाँच २५ विद्यार्थी रहेको विद्यालयमा शिक्षकलाई तलब दिन निकै समस्या रहेको विद्यालयका प्रधानाध्यापक सर्जन धामीले बताए ।

विद्यालय आर्थिक, भौतिक र दरबन्दीका हिसाबले खराब हालतमा रहेको उनको भनाइ छ । धामी भन्छन्, “राज्यका विभिन्न निकायमा हाम्रो पहुँच नहुनु, भौगोलिकरूपमा ठगिनु र सरोकारवालाको ध्यानाकर्षण समेत नहुनुले सयौं विद्यार्थीको भविष्य अन्धकार हुने खतरा छ ।”

विद्यालयमा डेस्कबेञ्च पनि स्थानीय अभिभावकले निःशुल्क बनाइदिएका छन । पुस्तकालय र विज्ञान प्रयोगशाला तथा उपयुक्त कक्षा कोठाको पनि निकै अभाव रहेको छ । कहिलेकाहीँ निजी स्रोतका शिक्षकको तलबका लागि भारतमा रहेका स्थानीयवासीले चन्दा सहयोग गर्ने गरेका छन् भने विद्यालयमा कुनै योजना आउँदा स्थानीयवासीले श्रमदान गर्छन् र बचेको रकमले शिक्षकको तलब खुवाउने गरिएको छ ।

स्थानीयस्तरमा रहेका सामुदायिक वनबाट समेत सहयोग लिने गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन धामीले बताए। उनले भने, “गाउँमा विद्यालयको आवश्यकता छ तर यसकै कारण जनता निकै बोझमा छन, अहिले पनि शिक्षकले पाउनुपर्ने तलब वापतको रु १५ लाख ऋण तिर्न बाँकी छ ।” यही अवस्थामा विद्यालय सञ्चालन गर्न निकै समस्या रहेको अध्यक्ष धामीले बताए ।

शिक्षक, स्थानीयवासी र अभिभावकको लगाव र विद्यालयप्रतिको समर्पण तथा विद्यार्थी सङ्ख्याकै कारण अभावकैबीच विद्यालय सञ्चालन गर्नुपरिरहेको स्थानीय अगुवा कुशलराज बुढाले बताए । विद्यालयका लागि स्थानीयवासीले सबै काम निःशुल्क गर्ने गरेका उनको भनाइ छ ।

नन्दामाताका शिक्षकले पनि वर्षौंदेखिको तलब नपाउँदा विस्थापित हुनुपर्ने अवस्था छ । एकजना शिक्षक तलब नपाएपछि रोजगारीका लागि भारतको शिमला गएका छन् भने अर्का शिक्षक आफूले पाउने ८५ हजार तलब नलिएरै अन्यत्र गइसकेको विद्यालयले जनाएको छ । विद्यालयको अवस्थालाई हेरेर शिक्षकले पनि सहयोग गरिरहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

विद्यालयको समस्या समाधानका लागि गाउँपालिकाको पनि ध्यानाकर्षण भएको पालिका अध्यक्ष लोकबहादुुर बोहराले बताए । नन्दामाता माविलगायत अन्य विद्यालयका लागि पनि गाउँपालिकाले शिक्षक दरबन्दी उपलब्ध गराउने र भौतिक संरचना निर्माणका लागि पहलकदमी भइरहेको अध्यक्ष बोहराले बताए।

“गाउँपालिकाले शिक्षा नीति बनाएर समग्र शैक्षिक अवस्था सुधारको विशेष योजना बनाएको छ”, अध्यक्ष बाहरोले भने, “विद्यार्थी कोटा पुगेका विद्यालयमा शिक्षक दरबन्दीको सम्पूर्ण व्यवस्था हुन्छ, म गाउँपालिका अध्यक्ष हुँदासम्म यहाँको शैक्षिक व्यवस्थापन सम्पूर्ण तरिकाले गरिन्छ ।”

गाउँपालिकाले ४० जना विद्यार्थी बराबर एक शिक्षकको अवधारणा ल्याएको जनाइएको छ । यस अनुरूप नन्दामाता माविका लागि पाँचवटा दरबन्दी उपलब्ध गराइने गाउँपालिका अध्यक्ष बोहराले बताए ।

अन्य विद्यालयमा पनि विद्यार्थीको अनुपात हेरेर शिक्षक दरबन्दीका लागि गाउँपालिकाले पर्याप्त बजेटको व्यवस्था गरेको छ । यस्तै गाउँपालिकामा अब बन्ने विद्यालयका भवन कर्कटपाता रहित र पक्की बनाइने गाउँपालिकाले जनाएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गाउँपालिका प्रतिबद्ध भएर लागिपरेको पालिका अध्यक्ष बोहराले बताए । अभिभावक र शिक्षकले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्ने भन्दै शिक्षाको विकासका लागि गाउँपालिकाले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नरहने अध्यक्ष बोहराले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस