श्रीमानको खोजीका लागि राज्यले पहल गरिदियोस् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रीमानको खोजीका लागि राज्यले पहल गरिदियोस्


१० आश्विन २०७५, बुधबार


सुदूरपश्चिमका थुप्रै परिवार भारतमुखी रोजगारीमा आश्रित छन् । रोजगारीका लागि भारत जानेहरूले त्यहाँको कमाईबाट परिवारको ‘आर्थिक समस्या’ टारेका छन् । तर, केही परिवारलाई भने त्यही रोजगारी अभिशाप झैं बनेको छ । रोजगारीका लागि भारत पसेका परिवारका सदस्य उतै बेपत्ता भएपछि केही परिवारको बिल्लीबाठ बनेको छ ।

यहीँ समस्या भोग्दै आएकी एक पात्र हुन्, कञ्चनपुरकी ३५ वर्षीया टिकेश्वरी भट्ट । उनका श्रीमान् १० वर्षदेखि भारतमा बेपत्ता छन् । श्रीमान् बेपत्ता भएपछि परिवारले भोगेका समस्याबारे उनीसँग प्रशासन डटले गरेको कुराकानी ।

तपाईँको श्रीमान घर नआउनु भएको कतिभयो ?
आउने पुसमा १० वर्ष हुँदैछ । बिहे भएको एक वर्षपछि कमाउन भारत जानु भएको हो । त्यसपछि फर्कनु भएन । उहाँलाई पर्खेर बसेकी छु । हाम्री एक छोरी छ । ऊ १० वर्षपुग्दैछे । उसले पनि बुबाखोइ भनेर मलाई हैरान गर्छे ।

कहिले आउनुहुन्छ जस्तो लाग्छ ?
यकिन त भन्न सक्दिनँ । तर, आउनुहुन्छ जस्तो लाग्छ । उहाँघर नफर्कनु भएको १० वर्ष भएकाले कहिले काहिँ त मन खिन्न बनाउँछ ।

छरछिमेकमा रोजगारीका लागि विदेशिएकाहरू घर फर्कदा श्रीमान्को झन् याद आउँछ होला नि?
आउँछनि । श्रीमान्सँगै बस्न पाएहुन्थ्यो जस्तो लाग्छ । तर, के गर्नु भाग्यमै छैन । श्रीमान् घर नफर्केको लामो समय भएकाले कहिलेकाहिँ त मन भक्कानिन्छ ।

कमाउन गएका श्रीमान् नै बेपत्ता भएपछि घरखर्च कसरी चलाई रहनु भएको छ त ?
समस्या छ नि । सासू–ससुरा बूढा भइसक्नुभयो । घरमा कमाउने देवर मात्रै हुनुहुन्छ । उहाँ पनि अर्काको पसलमा काम गर्नुहुन्छ । यसैबाट गुजारा चलेको छ ।

श्रीमान्को खोजीका लागि कहिँ कतै पहल भएको छ कि छैन ?
निड्स नेपालले पहल गरेको छ । यसकै सहयोगबाट झण्डै एक वर्षअघि रेडक्रसमा श्रीमान्को खोजीका लागि निवेदन दियौं । रेडक्रसले भारतको रेडक्रसमा पत्र पठाएको सुनेकी छु । तर, यकिन थाहाछैन । दुई–तीन महिना पछि केही खबर आउँछ भन्थे । तर, आएन ।

निड्सकै सहयोगमा मानवअधिकार आयोगमा पनि श्रीमान्को खोजीका लागि निवेदन दिएकी छु । श्रीमान्लाई कसैले खोजीगरि दियोस् भन्ने चाहना छ ।

यस्तो प्रयासले आशा त पलाउँछ नि है ?
आशामात्रै त हो । श्रीमान्को खोजी कसैले गरि दिएनन् । बेकार आशा गरेर मात्रै के गर्नु ?

सरकारले खोजी गरि दिए हुन्थ्यो जस्तो लाग्दैन ?
लाग्छ नि किन नलाग्नु ? मेरो श्रीमान् १० वर्षदेखि भारतबाट घर फर्कनु भएको छैन । यसले परिवार पीडामा छ । परिवारका सबै सदस्य उहाँको अवस्थाबारे जान्नखोजिरहेका छौं । तसर्थ यसबारे राज्य पक्षबाट पहलहोस् भन्ने सबैको चाहना छ ।

तपाईँको जस्तै समस्या भएका महिला गाउँमा अरु पनि छन् ?
धेरै होलान् । यति छन् भनेर ठ्याक्कै भन्न सक्दैन । तर, सबैलाई आफ्नो दुःख ठूलो लाग्छ ।

तपाईँको सबैभन्दा ठूलो चिन्ता के हो ?
छोरीलाई कसरी पढाउने भन्ने चिन्ता छ । एक्लो ज्यान भए त जे गरे पनिहुन्थ्यो । तर, छोरी छ । उसलाई कसरी हुर्काउने र पढाउने भन्ने चिन्ता छ । आर्थिक स्रोत भए त खासै गाह्रो हुँदैनथ्यो ।

बच्चाले कहिले खानेकुरा किनिमाग्ला, कहिले खेल्ने सामग्री । उसले मागेको कुरा कहाँबाट दिने ? म सँग पैसा नभएको त उसले पक्कै बुझ्दैन । अनि उसले मागेको कुरा दिन नसक्दा पनि त दुःख लाग्ला ।

छोरीको स्कुलको फिस अहिलेसम्म ससुरा तिरिरहनु भएकोछ । उहाँ जजेमानीबाट अलि अलि कमाउनुहुन्थ्यो । तर, अब उहाँपनि बूढो भइसक्नुभयो । त्यसैले जजेमानीगर्न सक्नुहुन्न । जग्गा चार–पाँचकठ्ठा मात्रै छ । त्यहाँको उत्पादनले मात्रै खानपुग्दैन । खानलाई पनि किन्नैपर्छ ।त्यसका लागि पनि जोहो गर्नैपर्याे ।

भोट माग्नआएका नेताहरूलाई समस्या सुनाउनु भएन?
भोट माग्न आउने प्रायः सबैलाई श्रीमान् खोजीका लागि पहल गरिदिन भनेकी थिएँ । त्यतिखेर सबैले यसबारे पहल गर्छु भन्नु भएको थियो । तर, चुनाव पछि कसैले वास्ता गर्नुभएन । उहाँहरू कुरा मात्रै गर्नुहुन्छ, काम गर्नुहुन्न ।

Tags :
प्रतिक्रिया दिनुहोस