सकारात्मक सोचबाट आत्मसन्तुष्टि मिल्छ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सकारात्मक सोचबाट आत्मसन्तुष्टि मिल्छ


बीर बहादुर राई

१ श्रावण २०७५, मंगलबार


भागवत गीतामा भनिएको छ–तपाईँ जस्तो सोच्नुहुन्छ, अन्त्यमा त्यस्तै हुनुहुन्छ । यसबाट पनि बुझ्न सकिन्छ की मानव जीवनमा सोँचको त्यति नै धेरै महत्व छ जति मानव भएर जन्मनुमा छ ।

जिउनेक्रममा आईपर्ने अनेकथरी उतार चढाव तथा बाधा अड्चनको चक्रबाट निस्कने बाटो हो सकरात्मक दृष्टिकोण । पछिल्लो अवस्थामा नेपालमा नकरात्मकता अत्याधिक बढ्दै गएको देखिन्छ । प्रायः सबै क्षेत्रमा यसको प्रभाव परेतापनि आम नागरिकसँग प्रत्यक्ष जोडिने कर्मचारीतन्त्रमा देखिएको प्रभावलाई निकै आलोचना हुने गरेको छ । सबैभन्दा बढी आलोचना हुन्छ व्यवहारको ।

व्यवहारमा के ले असर गर्छ ? मनमा बारम्बार उब्जिरहने प्रश्न हो । कोही नजिकको कर्मचारी मित्रसँगको भेटघाटमा समसामयिक छलफलपछि प्रायः राखिने जिज्ञासा हो व्यवहार । मेरा मित्र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव बीरबहादुर राईसँगको कुराकानीका क्रममा पनि यही प्रशंग उठ्यो । सरकारी जागिरे जीवन यात्राका तितामिठा अनुभव सुनाउँदै गर्दा आजको दिनसम्म आइपुग्दा सकरात्मक सोच नै सबैभन्दा ठूलो उपलब्धी उनले सुनाए । के यतिबेला तपाई सन्तुष्ट हुनुहुन्छ भन्ने मेरो प्रश्नमा उनले आफू यसरी आत्मसन्तुष्ट हुन सकिरहेको बताए: 

निरन्तर सक्रिय
म यहाँका लागि एकदम नयाँ छु । यहाँ ठूला क्षेत्रहरू छन् । बालबालिका, महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकको क्षेत्र अत्यन्त संवेदनशील तथा सहृदयका साथ काम गर्नुपर्ने क्षेत्र हो ।

त्यही किसिमले सम्बोधन गर्न सके थोरै भए पनि काम गर्न सकिन्छ भन्ने मेरे विश्वास छ । यसका लागि कर्मचारीको टिमसँगै सरोकारवाला र समाजको साथ र सहयोग आवश्यक छ ।

विगतका कामले वर्तमानमा आनन्द
मैले धेरै ठाउँमा काम गरें । म सकारात्मकरूपमा काम गर्नुपर्छ भन्नेमा विश्वास राख्छु ।

आफ्नो कामबारे कसैले राम्रो प्रतिक्रिया दिँदा काम गर्ने उत्प्रेरणा आउँदो रहेछ । तर, यो एकै पटक आउँदैन । एकै पटक गर्छु भन्ने भावना विकास पनि हुँदैन । यो काम गर्दै जाँदा हुने कुरा हो । त्यसले हामीलाई काम गर्न प्रेरित गर्नुका साथै बल दिन्छ । त्यो एउटा सफलताको सानो कडीको रूपमा काम गर्छ भन्ने पनि लाग्छ ।

‘सकारात्मक प्रतिक्रिया नै कर्मचारीको सम्पत्ति’
सेवाग्राहीले गरेको पोजेटिभ रेस्पोन्स(सकरात्मक प्रतिक्रिया) भनेको हाम्रो सम्पत्ति हो । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई गरेको श्रद्धा र रेस्पोन्सले पनि हामीलाई मोटिभेट गर्छ । त्यो मोटिभेसन पाउन हामीले लामो समय प्रयास गर्नुपर्छ । सेवा गर्न संवेदनशील, कर्तव्यनिष्ट, अनुशासित र मृदुभाषी हुनुपर्याे । सकेसम्म कसरी राम्रो गर्न सकिन्छ ? ती प्रयासहरू गर्न सकियो भने विस्तारै सेवाग्राही हामीप्रति पोजेटिभ हुन्छन् । त्यसले वातावरण नै पोजेटिभ बनाउँछ । र, काम गर्ने वातावरण बन्छ ।

अवकासपछिको आत्मसन्तुष्टिका लागि इमान्दारपूर्वक जिम्मेवारी वहन
हामीलाई जन्मदै एउटा सर्टेन टाइम दिएको छ । त्यसैमाथि कर्मचारीको हकमा निश्चित अवधि तोकेको छ । त्यसैले समय महत्वपूर्ण छ । हामीले राज्यबाट पाएको जिम्मेवारी, उत्तरदायित्व र भूमिकालाई सहीरूपमा निर्वाह गर्न सक्यौं भने भोलि यो काम गर्न सकिएन भनेर पछुताउनु पर्दैन ।

आफ्नो जिम्मेवारीलाई व्यवस्थित, संयमित, अनुशासित र कर्तव्यनिष्ट भएर पूरा गर्याै भने आत्मसन्तुष्टि हुन्छ । यसले अवकासपछि पनि सकारात्मक सोच कायम हुन्छ भन्ने मलाइ लाग्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस