कृषि विश्वविद्यालयका वैज्ञानिकले गरे नयाँ अनुसन्धान  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कृषि विश्वविद्यालयका वैज्ञानिकले गरे नयाँ अनुसन्धान 


१३ बैशाख २०७५, बिहिबार


चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले बेमौसममा पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धानमा सफलता प्राप्त गरेका छन् ।

उनीहरुले चैत, वैशाख, जेठ र असार महिनामा अक्सर कमै भैँसी ब्याउने भएकाले ती समय पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धान सफल बनाएका हुन् । चैतदेखि असार मध्यसम्म भैँसीमा गर्भधारणको हिसाबले बेमौसम मानिन्छ । विश्वविद्यालयको पशु प्रजनन प्रविधि विभागले गत वर्षको असार २ गते आठ वटा भैँसीमा गराएको गर्भधारणबाट पाँच वटा भैँसी ब्याएका हुन् । ती भैँसी चैत २९ गतेदेखि वैशाख १० गतेसम्म ब्याएका थिए । बेमौसममा लैना भैँसी तयार भएपछि दूधको उत्पादन सबै मौसममा बराबर हुने उनीहरूको तर्क छ ।

मुख्य अनुसन्धानकर्ता प्रा. डा. भूमिनन्द देवकोटाका अनुसार सन् २०१३ बाट निरन्तर गरिएको अनुसन्धानबाट यो सफलता मिलेको हो । यस वर्ष विश्वविद्यालय हातामा रहेका सात भैँसी र एक जना किसानको भैँसीमा परीक्षण गरिएको थियो । जसबाट विश्वविद्यालयका चार र किसानको एक भैँसी ब्याएका हुन् ।

भैँसीका प्रजनन अंग कस्तो छ भनेर अल्ट्रासाउण्ड प्रविधिबाट हेरेर आवश्यकता अनुसारको हर्मोन तयार गरी भैँसीलाई खुवाउँदा सुख्खा मौसममा भैँसी प्रजननमा सहज भएको जानकारी दंदै उहाँ उक्त मौसममा नाम्ले, माटेलगायतका आन्तरिक परजीवीका कारण भैँसीमा तनाव हुने र वातावरणीय तापक्रमका कारण पनि भैँसीमा तनाव बढ्ने गरेको देखिएको उल्लेख गर्छन् ।

हिउँदको समयमा पर्याप्त पोषणको अभाव र तनावका कारण भैँसीको शरीरभित्र आन्तरिक परजीवीको संक्रमण बढी भएको पाइएकाले पोषणयुक्त खाना खुवाउने र विशेष किसिमको हर्मोन प्रयोग गरेर भैँसीलाई हिउँदको समयमा पनि प्रजननयोग्य बनाउन सकिएको अध्ययनले देखिएको अनुसन्धानकर्ता डा. देवकोटाकाको भनाइ छ ।

साउनदेखि मंसिरसम्म भैँसीको प्रजननको हिसाबले सबैभन्दा उपयुक्त मौसम मानिन्छ । पुसदेखि फागुनसम्मको समयलाई मध्यम र त्यसपछिको समय पूर्ण सुख्खा एवं गर्भधारणका लागि अनुपयुक्त मानिन्छ । जसका कारण कुनै मौसममा दूध बढी भएर मिल्क होलिडे हुन्छ भने कुनै समयमा नेपालमा दूधको अभाव हुने गर्दछ । आगामी पाँच वर्षभित्र यो प्रविधि किसानसम्म पु¥याउने लक्ष्य राखिएको छ । अनुसन्धानले नेपालमा भैँसीको उत्पादन, उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने उनले बताए ।

चितवनको रामपुरमा रहेको भैँसी फर्म र पोखराको पशु विकास फर्ममा रहेका भैँसीमा अनुसन्धान गरिँदै आएको छ । विगतका वर्षमा प्रत्येक वर्ष १० वटा भैँसीमा यो परीक्षण गरिएकामा तीन/चार वटामा मात्रै सफलता मिलेको थियो । यस वर्ष भने रामपुरमा आठ वटामध्ये पाँच वटा र पोखरामा सात वटामध्ये दुई वटा भैँसीले चैतदेखि असारसम्म गर्भधारण गरी ब्याइसकेका छन् ।

नेपालमा कूल गार्हस्थ उत्पादनको २६ दशमलव ८ प्रतिशत हिस्सा कृषिले ओगटेकामा १३ प्रतिशत योगदान पशुजन्य स्रोतको छ भने भैँसीको मात्र योगदान छ प्रतिशत छ । नेपालको पहाडी क्षेत्रमा लिमे, पारकोटे र गड्डी जातका भैँसी पालिन्छ भने तराई क्षेत्रमा स्थानीय तराई जात र भारतीय मुर्रा जातको भैँसी पालिन्छ । नेपालमा ५२ लाख भैँसी रहेको सरकारी तथ्यांक छ ।

विश्वमा भैँसीको संख्या दुई अर्ब रहेको छ भने भारतमा मात्रै एक अर्ब आठ करोड भैँसी छन् । विश्व स्वास्थ्य संगठनले प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उपभोग गर्नुपर्ने जनाए पनि नेपालमा ७२ लिटर मात्रै उपभोग हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस