काठमाडौंमा भेटिँदै चिनियाँ र भारतीय रेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौंमा भेटिँदै चिनियाँ र भारतीय रेल


प्रशासन विशेष ब्युरो

२५ चैत्र २०७४, आइतबार


काठमाडौं । पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ।

काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ।

सन् २०१६ को मार्चमा चीन भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले केरुङ– काठमाडौं–पोखरा–लुम्बिनी रेल सञ्चालन गर्ने सम्झौता गरेका थिए। चिनियाँ प्राविधिकको टोलीले यो रेल मार्गका लागि पौने तीन खर्ब रुपैयाँ खर्च लाग्ने जनाएको छ।

उत्तरको रेल काठमाडौं ल्याउने सम्झौता भएको दुई वर्षपछि दक्षिणको रेल पनि काठमाडौं ल्याउने सम्झौता भएको छ। यो सम्झौताअनुसार काम भए उत्तर र दक्षिणका रेल काठमाडौंमा भेटे हुनेछन्।

भारतले रक्सौलबाट काठमाडौं जोड्ने रेल मार्ग बनाइदिने भएपछि केरुङबाट रसुवागढी हुँदै काठमाडौंसम्मको रेलमार्ग बनाउन चीन सरकारले चासो देखाएको छ।

चीनले यस अघि केरुङ –काठमाडौं करिब एक सय किमि रेलमार्ग बनाउन चासो देखाएको थियो। नेपाली भूमि रसुवागडीबाट भने काठमाडौंसम्मको यस्तो रेलमार्गको दूरी करिब ७५ किमि मात्रै हुने उल्लेख छ।

काठमाडौंसम्म रेल ल्याउने विषयमा भारतसँग सहमति भएपछि अब चीनले पनि यो रेलमार्ग बनाउन सहमति गरेरै अगाडि बढ्ने आशा बढेको छ। प्रधानमन्त्री ओलीले भू–राजनीति मिलाउन पनि दुवै छिमेकी मुलुकसँग समान दूरी कायम राख्न काठमाडौंलाई दुवै मुलुकबाट रेलमार्गले जोड्न खोजेका हुन्।

चीनसँग सहमति भइनसकेको भए पनि उसले देखाएको चासो आधारमा दुई छिमेकी राष्ट्रबीच कामठाडौंमा रेलमार्ग निर्माणमा प्रतिस्पर्धा हुने देखिएको छ। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस