सिँहदरबार पुगे नयाँ मन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिँहदरबार पुगे नयाँ मन्त्री


प्रशासन विशेष ब्युरो

३ चैत्र २०७४, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मौजुदा मन्त्रिपरिषद्मा एमालेबाट ९ र माओवादी केन्द्रबाट ६ सहित १५ जना सहभागी गराउँदै प्रधानमन्त्री ओलीले शुक्रबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

एमालेबाट ६ मन्त्री र ३ राज्यमन्त्री तथा माओवादीबाट ५ मन्त्री र १ राज्यमन्त्री बनेका छन् । तेस्रो विस्तारसँगै मन्त्रिपरिषद् २२ सदस्यीय पुगेको छ । नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा पार्टीभित्रको आन्तरिक समीकरणलाई पनि सम्बोधन गर्ने प्रयास गरेका छन् ।

एमालेबाट ३ दोहोरिए, ६ मन्त्री नयाँ अनुहार
एमालेबाट सचिवद्वय प्रदीप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, केन्द्रीय सदस्य रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् । तीनै नेता दोस्रोपटक मन्त्री बनेका हुन् । गुल्मीबाट निर्वाचित ज्ञवाली यसअघि पर्यटन र विष्ट ऊर्जा तथा धनुषाबाट निर्वाचित महासेठ सिँचाइमन्त्री बनेका थिए । ओली नेतृत्वको मन्त्रिपरिषद्मा एमालेबाट ३ मन्त्रीले पहिलोपटक अवसर पाएका छन् ।

पोलिटब्युरो सदस्य जगत विश्वकर्मा युवा तथा खेलकुद, केन्द्रीय सदस्य शेरबहादुर तामाङ कानुन तथा न्याय र अर्का केन्द्रीय सदस्य रवीन्द्र अधिकारी पर्यटनमन्त्री बनेका हुन् । तामाङ सिन्धुपाल्चोक, अधिकारी र विश्वकर्मा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

त्यस्तै, राज्यमन्त्रीहरूमा काभ्रेबाट निर्वाचित गोकुल बाँस्कोटाले सञ्चार, स्याङ्जाबाट निर्वाचित पद्मा अर्यालले स्वास्थ्य र डोल्पाबाट निर्वाचित धनबहादुर बुढाले पर्यटन मन्त्रालयको जिम्मा पाएका हुन् । सञ्चारमन्त्री नियुक्त नभएकाले बाँस्कोटाले नै मन्त्रालयको कार्यभार सम्हाल्दै क्याबिनेट सदस्यकै हैसियतमा प्रतिनिधित्व गर्नेछन् ।

दुई जिल्लाबाट चार मन्त्री, प्रदेश ७ शून्य
एमालेले समावेशिता सुनिश्चित हुने गरी मन्त्रीहरूको चयन गर्न खोजे पनि प्रदेश ७ बाट भने एकजना पनि परेनन् । जब कि यो प्रदेशबाट प्रेम आलेमगर, गणेशसिंह ठगुन्ना र नारदमुनी राना थारू मन्त्रीको दौडमा थिए । एमालेले दुई जिल्लाबाट दुई–दुईजनालाई मन्त्री बनाएको छ । गुल्मीबाट ज्ञवाली र विष्ट तथा कास्कीबाट अधिकारी र विश्वकर्मा मन्त्री बनेका छन् ।

भट्टराई मन्त्री बन्न नपाएका एक्ला पदाधिकारी, ढकाल पनि अटाएनन्
मन्त्री बन्ने चर्चामा रहेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई र पोलिटब्युरो सदस्य भानुभक्त ढकाल विस्तारित मन्त्रिपरिषद्मा अटाएनन् । भट्टराई र ढकाल कुनै वेला अनेरास्ववियुमा एउटै कार्यकालमा अध्यक्ष र महासचिव थिए । पार्टीमा प्रभावशाली संगठक र कुशल वक्ताको व्यक्तित्व बनाएका सचिव भट्टराईलाई गत मंसिरमा चुनावी प्रचारका क्रममा प्रधानमन्त्री ओली चुनाव जिते मन्त्री बनाउने वचन दिएका थिए । ताप्लेजुङको चुनावी अभियानमै उनले जनताले जिताएर पठाए, आफूले योगेशलाई मन्त्री बनाउने बताएका थिए ।

प्रधानमन्त्री ओलीनिकट ढकाल पनि प्रभावशाली नेता मानिन्छन् । नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङलगायतले यी दुईलाई मन्त्री बनाउन प्रधानमन्त्री ओलीलाई सुझाब दिएका थिए । त्यस्तै, मन्त्रीको प्रतिस्पर्धामा रहेका केन्द्रीय सदस्यहरू पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, यज्ञराज सुनुवारले पनि अवसर पाएनन् ।

एमालेबाट थपिएका मन्त्री तथा राज्यमन्त्री
प्रदीप ज्ञवाली – परराष्ट्र
गोकर्ण विष्ट – श्रम तथा रोजगार
शेरबहादुर तामाङ – कानुन तथा न्याय
रघुवीर महासेठ – भौतिक पूर्वाधार तथा यातायात
रवीन्द्र अधिकारी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
जगतबहादुर विश्वकर्मा – युवा तथा खेलकुद
लालबाबु पण्डित – संघीय मामिला तथा सामान्य प्रशासन (जिम्मेवारी हेरफेर)

राज्यमन्त्री
गोकुल बाँस्कोटा – सञ्चार तथा सूचना प्रविधि
पद्मा अर्याल – स्वास्थ तथा जनसंख्या
धनबहादुर बुढा – पयर्टन

माओवादीबाट थपिएका मन्त्री
गिरिराजमणि पोखरेल – शिक्षा
वर्षमान पुन – ऊर्जा, जलस्रोत तथा सिँचाइ
चक्रपाणि खनाल बलदेव – कृषि, भूमि व्यवस्था तथा सहकारी
शक्ति बस्नेत – वन तथा वातावरण
विना मगर – खानेपानी

राज्यमन्त्री
रामकुमारी चौधरी – कृषि, भूमि व्यवस्था तथा सहकारी

माओवादीबाट राज्यमन्त्रीसहित ६ गए, २ नयाँ अनुहार
ओली सरकारमा माओवादीबाट राज्यमन्त्रीसहित ६ मन्त्रीले शपथ लिएका छन् । शक्तिबहादुर बस्नेत वन तथा वातावरण, वर्षमान पुन जलस्रोत तथा ऊर्जा, गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान प्रविधि, चक्रपाणि खनाल कृषि, भूमि व्यवस्थापन तथा सहकारी र विना मगर खानेपानीमन्त्री बनेका छन् । रामकुमारी चौधरी कृषि राज्यमन्त्री बनेकी छिन् ।

खनाल र मगरलाई पहिलो अवसर
मन्त्री चक्रपाणि खनाल र विना मगर पहिलोपटक मन्त्री बनेका हुन् । उनीहरूको संसद्मा पनि पहिलो उपस्थिति हो । दोस्रो संविधानसभामा दुवैजना पराजित भएका थिए । खनाल माओवादी युद्धमा सैन्य क्षेत्रमा लामो समय काम गरेका, तर शान्तिप्रक्रियामा आएपछि अवसर नपाउने नेतामा पर्छन् । मगर अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।

पाचौँपटक मन्त्री बने पोखरेल
शिक्षा, युवा तथा खेलकुदमन्त्री गिरिराजमणि पोखरेललाई पाँचौँ अवसर मिलेको छ । पोखरेल यसअघि चारपटक मन्त्री बनिसकेका नेता हुन् । माओवादीबाट सत्तामा धेरै अवसर पाउने निकै कम नेतामा उनी पर्छन् । उनी ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार, ०६५ मा प्रचण्ड नेतृत्वको सरकार, ०७२ केपी ओली नेतृत्वको सरकार र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।

पुन र बस्नेत तेस्रोपटक मन्त्री
ऊर्जामन्त्री वर्षमान पुन र वनमन्त्री शक्तिबहादुर बस्नेत तेस्रोपटक सत्तामा उक्लिएका हुन् । ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय सम्हालेका उनी ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए । बस्नेत भने ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री र ०७२ मा केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस