किन गल्ती गर्छन् डाक्टर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

किन गल्ती गर्छन् डाक्टर


२० फाल्गुन २०७४, आइतबार


काठमाडौं । २०६८ साउनमा थाइराइड क्यान्सरको शल्यक्रिया (अप्रेसन) गर्न अस्पताल भर्ना भएकी रुपन्देही शंकरनगर–३ की छमकुमारी बोहराको भरतपुर क्यान्सर अस्पतालमा पाठेघरको शल्यक्रिया भयो । स्त्रीरोग विशेषज्ञ डा. जितेन्द्र परियार नेतृत्वको टोलीले एउटा रोगको उपचार गर्नुपर्ने बिरामीलाई अर्कै उपचार गर्‍यो । नेपाल मेडिकल काउन्सिलले परियारको चिकित्सक लाइसेन्स ६ महिनाका लागि रद्द गर्‍यो।

गत फागुन ११ गते थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा बायाँ घुँडाको लिगामेन्टको उपचारका लागि भर्ना भएकी चितवनकी विन्दु पौडेलको दायाँ घुँडाको शल्यक्रिया भयो । अस्पतालका शल्यचिकित्सक डा। प्रविन नेपाल नेतृत्वको टोलीले गरेको शल्यक्रियामा अस्पताल प्रशासनले गल्ती स्वीकारेर बिरामी पक्षसँग सम्झौता गरिसकेको छ । यो घटनामा पनि काउन्सिलले थप अनुसन्धान जारी राखेको छ।

एकातिर उपचारका क्रममा ‘लापरबाही’ भएको भन्दै चिकित्सकमाथि आक्रमणका घटना बढिरहेका छन् भने अर्कोतिर उपचारका क्रममा हुने असावधानी र समन्वय अभावमा चिकित्सकीय त्रुटि (मेडिकल एरर) का घटना बढिरहेका छन् ।

डाक्टरले जान्दाजान्दै आर्थिक प्रलोभन वा दबाबमा परेर आँखा नदेख्ने र खुट्टा सुकेका बिरामीलाई समेत निरोगिताको प्रमाणपत्र दिलाएका, छोरा जन्माइदिने भन्दै बिरामीको भावनामा खेलबाड गर्दै अनावश्यक औषधि र जाँच थोपरेर आर्थिक शोषण गरेका, बिरामी नहेरीकनै मानसिक समस्या भएको भन्दै गलत रिपोर्ट दिने गरेका तथ्यका आधारमा काउन्सिलले धेरै चिकित्सकमाथि कारबाही गरिसकेको छ ।

स्वास्थ्य क्षेत्रमा भएको प्रविधिको विकास, विशेषज्ञ जनशक्तिको पर्याप्तता र स्वास्थ्य संस्थाको उचित व्यवस्थापनसँगै उपचारमा डाक्टरले गर्ने गल्ची घट्नुपर्ने हो । चिकित्सा क्षेत्रका विज्ञका भनाइमा गलत ठाउँमा शल्यक्रियाका यी दुई घटनाबाहेक अन्य धेरै घटना सार्वजनिक भएका छैनन् । यस्ता घटनाले बिरामीको चिकित्सकप्रति विश्वास घटेको छ । साथै स्वास्थ्य संस्था र डाक्टरमाथिका आक्रमणका घटना बढेका छन् । किन हुन्छ त डाक्टरबाट यस्ता गम्भीर त्रुटि ?

चिकित्साशिक्षाविद् डा. जगदीशप्रसाद अग्रवाल अनुसार विकसित भनिएका अमेरिका, बेलायतजस्ता देशमा पनि बर्सेनि मेडिकल एररका घटना हुने गरेका छन् । ‘मूल कुरा यस्ता त्रुटि हुँदा अस्पतालकै सिस्टमले पनि पहिल्याउने र समीक्षा गर्छ त ?’ डा।अग्रवाल थप्छन्, ‘हाम्रो कति अस्पतालमा यस्ता त्रुटि जाँच गर्ने प्रणाली लागू भएको छ त ?’ धेरै स्वास्थ्य संस्था र चिकित्सकले यस्ता कुरामा ध्यान नदिएका कारण गल्ती घटना न्यून हुने आधार नरहेको उनी बताउँछन् ।

विज्ञहरुका अनुसार चिकित्सकले दबाब वा प्रभावमा परेर जानाजान गलत गलत उपचार गरेका हुन सक्छन् । त्यसैले यस्ता घटना कम गर्न गल्ती गर्ने चिकित्सकहरुमाथि नियमन र कारबाही बढाउनुपर्छ । गम्भीर चिकित्सकीय त्रुटि निश्चित प्रोटोकलहरुको समुचित प्रयोग, बिरामी पक्षका चिकित्सकसँग समन्वय, उपचारमा संलग्न समूहबीच छलफल आदि कार्यले त्रुटि घटाउन सकिने विज्ञहरुको भनाइ छ ।

नेपाल मेडिकल काउन्सिलका इथिकल कमिटीका सदस्य डा। ढुण्डी पौडेलका अनुसार बिरामी पक्ष सचेत भएका वा बाहिरैबाट देख्न सकिने (घुँडाजस्तो) शल्यक्रियामा भएका त्रुटिमात्रै सार्वजनिक हुने गरेका छन् । तर बिरामीको अज्ञानताको फाइदा उठाएर यस्तै थुपै त्रुटि गुपचुपमै राखिएको हुनसक्ने पौडेल बताउँछन् । ‘बिरामी पक्ष पनि क्षतिपूर्ति लिने र कानुनी प्रक्रियामा नजाने प्रवृत्तिले यस्ता घटना हामीसम्म नआइनपुग्ने अवस्था छ,’ उनले भने । पौडेलका अनुसार नर्भिकको घटनामा पनि पहिलोपटक काउन्सिलले बिरामी पक्षको उजुरीबिना नै चिकित्सकसँग जबाफ लिएर छानबिन जारी राखेको छ ।

अहिले आममानिसमा डाक्टर वा स्वास्थ्य संस्थाले बिरामीको रोग ठीक पारिदिए भइहाल्यो नि, किताब हेरर औषधि दिए पनि हुन्छ भन्ने सोच विकास भएको छ । ‘महत्वपूर्ण कुरा त बिरामीसँग डाक्टर वा अन्य स्वास्थ्यकर्मीको संवाद हुनुपर्छ, भरोसा जाग्नुपर्छ,’ डा। पौडेल भन्छन्, ‘अहिले चिकित्सा सेवामा आचारसंहिता र मानवीय पक्ष हराउँदै गएको छ।’

स्वास्थ्य क्षेत्रमा बढ्दो निजीकरण र व्यापारीकरणले पनि उपचारमा गम्भीर त्रुटि निम्तिएको चिकित्सकहरु बताउँछन् । ‘निजीमा काम गर्ने डाक्टरले जति बिरामीलाई धुत्न र लुट्न सक्छ त्यति नै ऊ प्रशासनको आँखामा राम्रो हुन्छ, अन्यथा सेवाबाटै निष्कासित हुनुपर्छ,’ डा. पौडेल भन्छन्।

बिरामी उपचारका क्रममा चिकित्सकीय त्रुटिका घटना संसारभर नै हुने गरेको अग्रवाल बताउँछन् । चिकित्सकीय त्रुटिभित्र गलत औषधि, गलत जाँच, गलत रिपोर्टिङ, रोगको गलत ठम्याइदेखि शल्यक्रिया वा अन्य उपचार हुन सक्छन् । ‘सन् २०१६ मा अमेरिकामा २ लाख ५१ हजार ४ सय ५४ मेडिकल एररका घटना भए । बेलायतमा प्रति ११ सेकेन्डमा एउटा मेडिकल एररका घटना हुन्छ,’ डा।अग्रवालले भने, ‘तर हाम्रोमा गम्भीर भएर सार्वजनिक भएकाबाहेक कति अस्पतालले यस्ता एररका घटना बाहिर ल्याउँछन् र सुधार्न योयो गर्यौं भन्छन् ?’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस