हुलाक टिकटमा राजनीति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हुलाक टिकटमा राजनीति


२० फाल्गुन २०७४, आइतबार


काठमाडौं । दुई वर्षअघि तत्कालीन सञ्चारमन्त्री शेरधन राईको सिफारिसमा ‘हुलाक टिकट छाप्नैपर्ने’ सूचीमा पूर्वी नेपालका प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नाम समावेश गरियो । तालुकदार मन्त्रीको सिफारिसमाथि हुलाकका कसैले खोजीनीति गरेन । सिफारिसअनुरूप ‘सहिद रामकुमार राई’ का नाममा १० रुपैयाँ मूल्यका १० लाख हुलाक टिकट छाप्ने निर्णय भयो ।

कला अधिकृत पूर्णकला लिम्बूले छोटो अवधिमै टिकट–डिजाइन गरिन् । इन्डोनेसियाको सेक्युरिटी–प्रेसमा टिकट छाप्न सुरु भयो । करिब १ लाख ८० हजार प्रति टिकट छापिएपछि मात्रै थाहा भयो– रामप्रसाद राईलाई सरकारले सहिद घोषणा गरेकै रहेनछ । ‘त्यसपछि बाँकी टिकट छपाइको काम तुरुन्तै रोकिहाल्यौं,’ केन्द्रीय टिकट भण्डारका व्यवस्थापक नारायणप्रसाद पौड्यालले भने । हाल प्रदेश १ का मुख्यमन्त्री तत्कालीन सञ्चारमन्त्री राईको प्रस्तावमा योद्धा राईको टिकट त छापियो, तर टाँचालाग्न सकेन । त्यो टिकट अहिले गोश्वारा हुलाकको भण्डारमा थन्क्याएर राखिएको छ । उसो तयिनै विद्रोही नेता राईको २०५५ सालमा पनि टिकट छापिएको थियो, ७५ पैसा मूल्यको ।

२०६२÷६३ सालको आन्दोलन चल्दै गर्दा छापिएका नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका १० लाख प्रति टिकट पनि ‘राजकीय’ शब्दका कारण भण्डारमा थुप्रिएका छन् भने राजा वीरेन्द्र, मुमा बडामहारानी रत्न र राजा ज्ञानेन्द्रका व्यक्ति टिकटमाला पनि अनावश्यक आर्थिक व्ययभार बनेका छन् । विशेषतस् राजनीतिक परिवर्तन र सरकार हेरफेरसँगै प्रत्यक्ष असर देखिने टिकट छपाइको मामलामा सबभन्दा बढी ‘व्यक्तिमाला टिकट’ मा पर्ने रहेछ ।

कांग्रेस सरकारका पालामा माओवादीबाट पीडित व्यक्ति, घटनामा टिकट निकाल्ने कुरा आउँछ भने माओवादी सरकारमा छँदा आफ्नै नेता वा क्रान्तिकारी पात्रको नाममा टिकट छाप्न पहल हुन्छ ।

गोश्वारा हुलाकका एक अधिकारीका अनुसार व्यक्तिगत टिकटमालाको प्रवृत्ति कस्तो भइदियो भने व्यक्तिले राज्यलाई गरेको योगदानभन्दा पनि राजनीतिक पहुँच÷प्रभावमा बढी केन्द्रित देखिन्छ । ‘यस्तो पहुँच र प्रभावबाट टाढा बस्न हामीले टिकट प्रकाशन कार्यविधि बनाएका छौं । व्यक्तिमालाको टिकट निकाल्न, दबाब झेल्न र छनोट गर्न गाह्रो भएको अवस्थामा कार्यविधि बनेको हो,’ हुलाक सेवा विभागका कार्यवाहक महानिर्देशक राजन पौडेल भन्छन्, ‘कार्यविधिअनुसार कुल टिकट प्रकाशनको २० प्रतिशत मात्रै व्यक्तिमालाका टिकट छाप्न थालिएको छ ।’

हुलाक टिकट छपाइमा कहिलेकाहीँ व्यक्तिगत पहुँच र प्रभावले काम गरेको उनले बताए । जस्तो, यो पटक कूटनीतिज्ञ जयराज आचार्यले गरेको सिफारिसमा सरदार यदुनाथ खनालको टिकट निकाल्ने निर्णय भएको छ । कवि कलानिधि अधिकारी, इन्जिनियर कुलधर्मराम तुलाधर, समाजशास्त्री हर्षबहादुर बुढामगर, संगीतज्ञ अम्बर गुरुङ र पूर्वप्रधानमन्त्री सुशील कोइरालाको हुलाक टिकट निस्कँदै छ । यसमध्ये समाजशास्त्री बूढामगरको टिकट छाप्न उपराष्ट्रपति कार्यालयको बढी ‘सरोकार’ देखिएको थियो ।

यसअघि निर्णय भएर पनि ‘विवादमा परेका अथवा निर्णय पुरानो भएकाले’ विद्रोही नेता रामप्रसाद राई र पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको टिकट नछापिने भएको छ । महानिर्देशक पौडेल भन्छन्, ‘अधिकांशको इच्छा व्यक्तिकेन्द्रित टिकटमै हुन्छ ।’ विभागका अनुसार गत वर्ष मात्रै ९ करोड थान टिकट छाप्न झन्डै ५ करोड रुपैयाँ खर्च भएको थियो । यसबाट १ अर्ब ४० करोड रुपैयाँ राजस्व उठ्नुपर्ने हुन्छ ।

टिकट भण्डारका व्यवस्थापक पौड्यालका अनुसार झन्डै २० लाखप्रति हवाई पत्र पनि भण्डारका बाकसमा तालाबन्द गरेर राखिएको अवस्थामा छन् । ‘१० रुपैयाँ मूल्यका हवाईपत्र ६ लाख, ५० पैसा मूल्यका १० लाख, ७५ पैसाका ५ लाखजति हवाई पत्र तालाबन्द गरेर राखिएको छ,’पौड्याल भन्छन्, ‘सरकारी नियममा राजस्व दाखिला हुनुपर्ने उत्पादनलाई लिलाम गर्न पनि मिल्दैन, धुल्याउन पनि मिल्दैन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस