सुधारगृह बन्न सकेन कारागार « प्रशासन
Logo ६ जेष्ठ २०७९, शुक्रबार
   

सुधारगृह बन्न सकेन कारागार


१९ फाल्गुन २०७४, शनिबार


बुटवल । बुटवल उपमहानगरपालिका–५, राममन्दिर क्षेत्रस्थित प्रभु मनी ट्रान्सफरमा २०६२ कात्तिक २४ गते डकैती गर्न आएको समूहको प्रतिकार गर्दा स्थानीय बुद्धि भण्डारी मारिए, अर्का एकजना घाइते भए।

प्रतिकार गर्न खोज्ने भण्डारीलाई गोली हान्ने सोमबहादुर आलेलाई तत्कालै प्रहरीले नियन्त्रणमा लियो । हत्या, हातहतियार तथा खरखजना मुद्दामा कसुरदार ठहरिएपछि आले कारागार चलान भए । साढे दस वर्ष कैदी जीवन बिताएर उनी २०७३, जेठमा पाल्पा कारागारबाट छुटे।

साढे दस वर्ष कारागार बसेर छुट्दा आले पुरानै आपराधिक काममा लाग्छन् भन्ने प्रहरीले सायदै सोचेको थियो । कैदबाट छुटेको केही महिनामै लुटपाटमा लागेका आले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र संघका कार्यकर्ता वसन्त पौडेलको हत्यामा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उद्योगी–व्यवसायी र पेसाकर्मीबाट पैसा उठाउने र पैसा नदिए ज्यानसमेत लिने कर्ममा लिप्त गुण्डा नाइके मनोज पुनका मुख्य सहयोगी आलेले नै पुनको पछिल्लो ‘नेटवर्क’ विस्तार गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् ।पुन र आले फागुन ९ मा देवदहको भवानीपुरमा प्रहरी इन्काउन्टरमा मारिएसँगै उनीहरुको आपराधिक क्रियाकलाप पनि अन्त्य भएको छ।

सुनवल नगरपालिका–७, नवलपरासीका ३६ वर्षीय पदम चौधरी पनि नौ वर्ष कैदी जीवन बिताएर २०७४ वैशाख ६ गते पाल्पा कारागारबाट छुटे । २०६५ असारमा अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय ठेकिएका चौधरीको आपराधिक कर्म कारागारबाट बाहिरिएपछि पनि बाटो बदलिएन् । कारागार बस्दा नाइके भई राम्रो छवि बनाएका उनले छुटेपछि समाजमा रामै्र गर्छन् भन्ने विश्वास प्रहरीलाई थियो । कैद भुक्तान गरेर छुटेको केही महिनामै चौधरी पनि आपराधिक कार्यमा लागेपछि ‘कारागार सुधार गृह’ बन्न नसकेको पुष्टि भएको छ।कारागारबाट छुटेपछि पनि पुनका मुख्य सहयोगी आलेमार्फत अपराधिक क्रियाकलापमा लागेका चौधरी पनि युवा संघका कार्यकर्ता पौडेलको हत्यामा संलग्न भएको र त्यसका लागि २ लाख ३० हजार रुपैयाँ लिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

आले र चौधरी मात्रै होइन्, जघन्य अपराधमा संलग्न भइ कैद सजाय भुक्तान गरी कारागारबाट छुटेका मध्ये धेरैजसो पुरानै आपराधिक गतिविधिमा संलग्न भएको देखिएको छ । कुनै व्यक्तिले अपराध गरिसकेपछि छानबिनका लागि प्रहरीले पक्राउ गर्छ । कानुनअनुसार, प्रहरीले अनुसन्धान गरी सरकारी वकिल हुँदै अदालतमा मुद्दा पेस गर्छ । कसुरदार ठहरिए अदालतले कानुनअनुसार दण्ड र जरिवाना तोक्छ । ‘यो दण्ड र जरिवाना कसुरदारलाई आफ्नो कुकर्मप्रति प्रायश्चित गरी आचरण सुधारका लागि गरिएको व्यवस्था हो,’ संघीय प्रहरी एकाइ कार्यालय, भैरहवाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘जेल परेर निस्केपछि आचरण सुधार हुनुको साटो पुनः अपराधमा संलग्न हुने डरलाग्दो प्रवृति समाजमा विकास भएको छ ।’

पौडेलकै हत्यामा संलग्न सुनसरी, डुमराहा–५, मर्चैयाका महिनारायण चौधरी पनि पटकपटक विभिन्न अपराध अभियोगमा कारागार परेर निस्केका हुन् । २०६५ साउनतिर कास्की पोखराको चौथेमा धनमाल लुटपाटमा संलग्न भएपछि कारागार परेका उनी २०७१ सालमा छुटे । छुटेको ४०औं दिनमा हातहतियार तथा खरखजना मुद्दामा पुनः जेल परेका चौधरी साढे तीन वर्षपछि २०७४ जेठ १५ गते गणतन्त्र दिवसको दिन सजाय मिनाहा भई छुटे । छुटेको केही महिनामै उनी अपराधकै दुनियाँमा संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।हतियार देखाउँदै बुटवल र आसपास क्षेत्रमा २०७२, असारको पहिलो साता शृंखलाबद्ध डकैतीका घटना भए । दिउ“सै हतियार देखाउँदै तर्साएर धनमाल लुट्ने शृंखलाबद्ध घटनामा संलग्न पा“चजना असार १७ गते पक्राउ परे।

लुटपाटमा संलग्न भएको अभियोगमा बर्दिया, खैरापुर–९ घर भई बुटवल उपमहानगरपालिका–१३ बस्ने निरज गुरुङ, रुपन्देही मैनहियाका प्रभुदयाल हरिजन, बुटवल–८ का विश्वास गुरुङ, बुटवल–२ का राजु गुरुङ र कालिकोट राँचुली–१ घर भई बुटवल–१० बस्ने देवीकृष्ण न्यौपाने पक्राउ परे । न्यौपानेबाहेक अरु चारजना कसुरदार ठहरिएपछि जेल सजाय भुक्तान गरी निस्केका हुन्। २०६२ मा १२ वर्ष कैद र १२ लाख रुपैयाँ जरिवाना सजाय ठेकिएका निरज नौ वर्ष कैद सजाय भुक्तान गरी २०७२ जेठ १५ गते गणतन्त्र दिवसका दिन बा“की कैद माफी पाएर पाल्पा कारागारबाट छुटेकामध्ये एक हुन् । हरिजन २०६४ सालमा हाटीवनगाईका शत्रुधन यादवलाई अपहरण गरेको कसुरमा पा“च वर्ष कैद भुक्तान गरी २०६९ सालमा भैरहवा कारागारबाट छुटेका हुन्।

प्रहरीका अनुसार विश्वास ब्राउन सुगर कारोबार र चोरी मुद्दा कसुरमा सात वर्ष कैद भुक्तान गरी २०७१ असोजमा पाल्पा जेलबाट छुटेका हुन् । राजुलाई २०६६ मा चोरी मुद्दामा ७० हजार धरौटी माग भयो । मागबमोजिम धरौटी राख्न नसकेपछि उनी थुनामा परे । एक वर्ष कैद बसेर धरौटी रकम घट्यो, बाँकी ३० हजार धरौटी बुझाएर उनी २०६७ फागुनमा थुनामुक्त भएका हुन् ।भैरहवाका आकाश गुरुङलाई २०७१ भदौ २८ गते अपहरण गरी अपहरणकारीले लाखौं रुपैयाँ फिरौती मागे । परिवारले मागेजति फिरौती दिन नसकेपछि उनको हत्या भयो । गुरुङको हत्याका मुख्य योजनाकार भनिएका केदार साहनी यो घटनाअघि हातहतियार तथा खरखजना मुद्दामा जेल परेका थिए।

हातहतियार तथा खरखजाना मुद्दामा जेल परेका सिद्धार्थनगर नगरपालिका, गल्लामन्डीका साहनी २०६६ माघ २ गते अन्य ६ कैदीसहित सुरुङ खनेर कपिलवस्तु कारागारबाट भागेका थिए । गुरुङको हत्यापछि भारततिर लागेका उनले आपराधिक नेटवर्क विस्तार गर्न सक्ने विश्लेषण गर्दै प्रहरी चनाखो बनेको छ। जेलबाटै भागेको दुई महिनापछि चैतमा साहनी पक्राउ परे । हातहतियार र कैदी भागे–भगाएको मुद्दामा पाँच वर्ष कैद सजाय पाएका उनी सजाय भुक्तान गरी कारागारबाट निस्केका हुन् । कारागारबाट निस्केपछि पनि उनी आपराधिक काममै लागे । अहिले उनीमाथि भैरहवाका आकाश गुरुङको हत्या गरेको अभियोग छ।

कुनै अभियोगमा मुद्दा चलेपछि सबुतप्रमाण आधारमा अदालतले दोर्षी र निदोर्षी भएको फैसला गर्छ । दोषी ठहर भए अदालतले तोकेको कैद सजाय भुक्तान गरी कारागारबाट बाहिर निस्कन पाउनु खुसीको विषय हुनुपर्ने हो । तर कैद सजाय भुक्तान गरेर निस्केका केही मानिस समाजमा सामान्य ढंगले जीवनयापनका लागि अघि बढ्नुको साटो पुनः आपराधिक कर्ममा संलग्न हुने प्रवृत्तिले कारागार ‘सुधार गृह नभएर झन् कडा खालका अपराधी जन्माउने थलो बनेको’ कोणबाट पनि विश्लेषण गर्न थालिएको छ ।अपराधको प्रायश्चित गर्नुको साटो जेलबाटै छुट्दा आपराधिक क्रियाकलापमा लाग्ने योजना बुन्दै निस्कनेहरु बढिरहेकाले प्रहरी अधिकारी पनि चिन्तित छन्।

लागूऔषध ओसारपसार, हत्या, अपहरण र डकैतीजस्ता गम्भीर अपराधमा कसुरदार ठहरिएपछि कैद सजाय भुक्तान गरेर निस्केकाहरु पुनः पुरानै अपराधको दुनियाँमा लाग्ने गरेको अनुसन्धानबाट देखिएको संघीय प्रहरी एकाइ कार्यालय प्रमुख एसएसपी थापाले बताए । ‘जेल सजाय भोगेर निस्केकाहरु गलत कामप्रति पश्चाताप गर्दै सही बाटोमा लाग्छन् भन्ने विश्वासमा आघात पुग्न थालेको छ । जेलबाट निस्केपछि झन् ठूला अपराधका घटनामा संलग्न हुनुले समाजमा अपराध डरलाग्दो तरिकाले बढेको छ,’ उनले भने।

संघीय प्रहरी एकाइ कार्यालय, भैरहवाको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७३-०७४ मा लुम्बिनी अञ्चलका ६ वटा जिल्लामा जघन्य अपराधमा संलग्न हुनेको संख्या ७ सय ५२ छ । तीमध्ये लागूऔषधका ५ सय ३८, जबरजस्ती करणीका ९५, कर्तव्यज्यानका ६४, मानवबेचबिखनका ३१ र हातहतियार खरखजना मुद्दाका १८ र अपहरण तथा शरीर बन्धक मुद्दाका १८ जना छन्।

समाजमा अपराध घटना बढ्दै गएपछि ९ असार, २०६७ मा बुटवल–६, जेसिज चोकमा व्यवसायी रमेश भण्डारी र उनकी श्रीमती आशा भण्डारीलाई गोली हानी हत्या गरेको घटनामा संलग्न भोलेबाबा भन्ने शम्भु गौतमको अमपराधिक कनेक्सन जेलबाटै बाहिर हुनसक्ने आकलन गर्दै प्रहरीले निगरानी गरिरहेको छ । अहिले मकवानपुर जेलमा रहेका गौतम यसअघि पनि पटकपटक जेलमा बसेका थिए । रुपन्देही, सैनामैना नगरपालिका, बरौलीका गौतम दर्जनौं डकैती र हत्यामा संलग्न भएको प्रहरी बताउँछ।

अपराधको कसुरमा कैद सजाय भुक्तान गरी छुटेपछि पुनः सोही कर्ममा संलग्न हुनुमा व्यक्तिको आपराधिक मनोवृत्ति मात्रै नभई समाजले उसलाई हेर्ने घृणाको दृष्टिकोण पनि जिम्मेवार भएको प्रहरी अधिकारी बताउँछन् । एसएसपी थापाको भनाइमा जेलबाट निस्केकालाई समाजले सामान्य व्यवहार गर्नुको साटो अपराधीकै रुपले हेर्दा पनि समस्या बढेको छ।

बुटवल बहुमुखी क्याम्पस समाजशास्त्र विभाग प्रमुख जीवनारायण अधिकारी पनि समाजले हेय र घृणाले हेर्न थालेपछि जेल बसेर बाहिर निस्केका मानिस पुनः अपराधकै दुनियाँमा फर्कने गरेकाले समाजले उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन आउनुपर्ने बताउँछन् ।अपराधशास्त्री युवराज संग्रौला अहिले कारागार अपराधीलाई सुधार गर्ने थलोका रुपमा नभएर अपराधी जन्माउने घरको रुपमा चिनिन थालेको बताउँछन् । उनले भनेझैं जेल परेकाहरुले जेलमै नया“ अपराधका लागि योजना बनाउने र बाहिर आएपछि त्यसमै संलग्न हुने गरेको देखिन्छ।

२०७२ जेठ १५ गते गणतन्त्र दिवसमा कैद सजाय माफी भएर छुटेका निरज र कपिलवस्तुको बहादुरगञ्जका रहिस मियाँले जेलमै आपराधिक योजना बनाएका थिए । हातहतियार मुद्दामा जेल परेर छुटेका मियाँले नै पाल्पा जेलमा बस्दा निरजलाई डकैती र लुटपाटका लागि हतियार व्यवस्था गरिदिने वचन दिएका थिए । जेलबाट छुटेपछि मियाँले निरजको टोलीलाई भारतबाट ल्याएर दुई थान पेस्तोल र दुई थान कटुवा पेस्तोल बेचे । गुण्डा नाइके पुनका मुख्य सहयोगी आलेले जेलमा बसेकै चिनजान र हिमचिमकै कारण पौडेल हत्यामा पदम र महिनारायणलाई प्रयोग गरेका हुन्।

कारागारमा बस्दा संगठित हुने र छुटेपटि नयाँ व्यक्तिलाई समेट्दै आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका छन् । जेलबाट छुट्नेबित्तिकै निरजसँगै बुटवलबाट पक्राउ परेका कालिकोटका देवीकृृष्णको अपराधमा संलग्नता नयाँ छ । होटलमा मजदुरी गर्न कालिकोटबाट बुटवल झरेका उनले पैसाको लोभमा हतियार लुकाइदिने काम गर्दै आएका थिए । तिवारी हत्यामा संलग्न १२ मध्ये आधाजसो अपराधमा संलग्न नयाँ पात्र हुन्।

अपराधशास्त्री संग्रौला जेललाई सजाय दिने ठाउँको रुपमा नभई शिक्षा दिने थलोको रुपमा विकास गर्नुपर्ने बताउँछन् । ‘अपराध कर्ममा लागेकालाई अपराधप्रति पश्चाताप गर्दै राम्रो बाटोमा लाग्ने उत्प्रेरणा दिन जरुरी छ,’ उनले भने । तर अहिले यो आवश्यकतालाई बुझेर मिहिन ढंगले काम गर्ने योजना र जाँगर सरकारी निकायमा नभएको उनको ठम्याइ छ।

संग्रौलाका अनुसार, जेल सुधारलगायत केही सुरक्षा रणनीतिबारे सुझाव दिन २०७० सालमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले संग्रौलासहितको एक टोलीलाई जिम्मा दिएका थिए । टोलीले जेल सुधारसम्बन्धी प्रतिवेदन पनि बनायो । तर प्रतिवेदन कार्यान्वयनमा कर्मचारीतन्त्रले चासो नदिएको उनको बुझाइ छ।

संग्रौलाको टोलीले बुझाएको प्रतिवेदनमा बाँकेमा कृषि फार्मिङसहितको खुला जेल बनाउन, त्रिशूलीमा औद्योगिक कारखानासहितको जेल बनाउन र भीमफेदीको जेललाई स्तरोन्नति गर्न सुझाव दिइएको छ ।
जानकारका अनुसार जेलबाट कैद भुक्तान गरी निस्केका धेरै व्यक्तिको परिवार छिन्नभिन्न भइरहेको र केही गर्न पनि पुँजी अभाव हुँदा फेरि अपराधका घटनामा संलग्न हुने प्रवृत्ति बढेको देखिन्छ । सरकारले कैदीबन्दीलाई जेलबाट पुनस्र्थापनाको प्याकेजसहित बिदा गर्न सके उनीहरू आपराधिक दुनियाँमा फर्कन नसक्ने विषयमा प्रहरी अधिकारी पनि सहमत छन् ।आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस