यसकारण पाएन मन्त्रिपरिषद्ले पूर्णता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यसकारण पाएन मन्त्रिपरिषद्ले पूर्णता


१५ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार चार मन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादी केन्द्रबाट १५ मन्त्रीलाई एकैपटक शपथ खुवाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी भने लम्बिएको छ ।

एमालेबाट आठ तथा माओवादीका सातजना मन्त्री नियुक्त गरेर पूर्णता दिने योजनामा प्रधानमन्त्री थिए । तर, संघीय समाजवादी फोरमले पनि सोमबार सरकारमा सहभागी हुने संकेत गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी धकेलिएको हो । फोरमलाई परराष्ट्रसहित अर्को एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारीमा प्रधानमन्त्री ओली छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको उपस्थितिमा फोरम अध्यक्ष उपेन्द्र यादवसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको सोमबारको छलफल सकारात्मक दिशामा अघि बढेको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले बताए ।

उच्चस्रोतका अनुसार अर्थमन्त्रीमा पोखरेल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेबीच तीव्र प्रतिस्पर्धा देखिएपछि प्रधानमन्त्री ओलीले नयाँ विकल्प प्रस्ताव गरेका थिए । खतिवडालाई अर्थमन्त्री बनाउन दृढ रहेका प्रधानमन्त्रीले ज्ञवालीलाई परराष्ट्र र पोखरेललाई विनाविभागीय मन्त्री बनाउने गरी आइतबार बेलुकीसम्म ‘कन्भिन्स’ गरिसकेका थिए । उनलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत विनाविभागीय मन्त्रीका रूपमा सातवटै प्रदेश सरकारको समन्वय गर्ने जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी थियो । तर, अन्तिममा विनाविभागीय जिम्मेवारीमा सरकारमा सहभागी नहुने संकेत गरेपछि प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

३० साउन २०१३ मा जन्मिएका खतिवडाले मेची क्याम्पस भद्रुपरबाट इकोनोमिक्स विषयमा स्नातकसम्मको अध्ययन गरे । त्यसपछि त्रिभुवन विश्व विद्यालयबाट ०३७ मा अर्थशास्त्रमा र ०४० मा जनप्रशासनमा स्नातकोत्तर गरेका हुन् । खतिवडाले दिल्ली स्कुल अफ इकोनोमिक्स, दिल्ली विश्वविद्यालयबाट ०४७ मा वित्तीय अर्थशास्त्रमा पिएचडी गरेका हुन् ।

सहायक अनुसन्धान अधिकृतका रूपमा ०३९ मा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका उनले त्यहाँ करिब २० वर्ष बिताए । खतिवडा ०५७ मा राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भए । राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुखका रूपमा करिब तीन वर्ष काम गरेपछि उनी ०५८ देखि २०६१ सम्म राष्ट्रिय योजना आयोगको सदस्य भए । उनले त्यसवेला पञ्चवर्षीय योजना तुर्जमामा महत्वपूर्ण योजना दिएका थिए ।

योजना आयोग छाडेपछि ०६२ देखि तीन वर्षसम्म युएनडिपीको क्षेत्रीय केन्द्र, कोलम्बोमा वरिष्ठ अर्थविद्का रूपमा काम गरे । त्यसपछि नेपाल फर्किए । असार ०६६ मा उनलाई तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरे । आयोगको उपाध्यक्षमा नौ महिना काम गरेर उनले राजीनामा गरे । ९ चैत ०६६ मा उनी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भए । गभर्नरको पाँचवर्षे कार्यकाल सफल भएको सरोकारवाला बताउँछन् ।

०७२ मा पुनः योजना आयोगको उपाध्यक्ष बने । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उनी योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए । तत्कालीन अर्थमन्त्री विष्णु पौड्यालसँग अर्थशास्त्रको ज्ञान नभएको भन्दै खतिवडालाई छाया अर्थमन्त्री पनि भन्ने गरिन्थ्यो । उनले महेन्द्र विद्या भूषण, सुप्रबल गोर्खा दक्षिणबाहुलगायत सम्मानसमेत पाएका छन् ।

सरकारले पूर्णता नपाउनुका चार कारण

१. फोरमलाई सरकारमा ल्याउने तयारी
प्रधानमन्त्री केपी ओली सोमबारै सरकारलाई पूर्णता दिने योजनामा थिए । तर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुन सकारात्मक बनेपछि योजना बदलियो । ‘सरकारमा सहभागी हुने सन्दर्भमा संघीय समाजवादी फोरम सकारात्मक रहेका कारण उहाँहरूलाई स्वागत गर्नकै लागि मन्त्रिपरिषद्लाई तत्काल पूर्णता नदिइएको हो,’ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भने ।

२. संविधान संशोधन गर्ने तयारीमा सरकारमा
सरकारमा सहभागी हुन तयार भएपछि प्रधानमन्त्री ओली र यादवबीच संविधान संशोधन गर्ने सहमति भएको छ । तर, लिखित राजनीतिक सहमतिपछि मात्र सरकारमा आउने फोरमले अडान राखेको छ । ‘संविधानको धारा २७४ संशोधन गर्ने सहमति भएको छ, तर राजनीतिक सहमति नभइसकेकाले सोमबार सरकारमा सहभागी नभएका हौँ,’ फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘कुरा सकारात्मक दिशामा अघि बढेको छ, उहाँहरूले मानेको ७ प्रदेश र हामीले भनेको १० प्रदेशबीच एक–दुई दिनमा कुरा मिलेपछि सरकारमा सहभागी हुन्छौँ ।’

३. फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिन बाँकी
सरकारमा सहभागी हुन फोरम तयार भए पनि उसले कुन मन्त्रालय पाउने टुंगो लागेको छैन । माओवादी अध्यक्ष प्रचण्डसहितको उपस्थितिमा सम्पन्न सोमबारको छलफलमा फोरमले परराष्ट्रसहित दुई मन्त्रालय मागेको छ । एमाले परराष्ट्र दिन तयार छ, तर अर्को एक मन्त्रालयबारे माओवादीसँग समेत छलफल गरेर टुंग्याउनुपर्ने भएकाले मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिने योजना केही दिन लम्बिएको हो ।

४. एमालेमा मन्त्री बन्नेको रस्साकस्सी
एमालेमा मन्त्रीका आकांक्षी धेरै छन् । अर्थमन्त्रीको दौडमा रहेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डेलगायतको सट्टा प्रधानमन्त्री ओलीले विषयविज्ञका रूपमा डा। युवराज खतिवडालाई अर्थमन्त्री बनाए । पोखरेलले खासै रुचि नभएको रक्षा पाएका छन् भने दौडमा रहेका अन्य नेताहरूले पनि रोजाइको मन्त्रालय पाउने सम्भावना कम छ । सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टसँगै स्थायी समिति सदस्य छविलाल विश्वकर्मा पनि मन्त्रीका दाबेदार छन् । त्यस्तै, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, वसन्त नेम्वाङ, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, शेरबहादुर तामाङ, गोकुुल बाँस्कोटा, जगत विश्वकर्मा, प्रेम आले, नारदमुनि राना, राजेन्द्र गौतमलगायत डेढ दर्जनभन्दा बढी दौडमा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस