कालिकोटमा कर्फ्यु : म्यादी प्रहरी र स्थानीयको प्रदर्शन उग्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कालिकोटमा कर्फ्यु : म्यादी प्रहरी र स्थानीयको प्रदर्शन उग्र


९ पुस २०७४, आइतबार


सुर्खेत । कालिकोटमा म्यादी प्रहरी र स्थानीयको प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले शनिबार कफ्र्यु आदेश जारी गरेको छ । अवस्था नियन्त्रणबाहिर जान लागेको भन्दै प्रशासनले शनिबार दिउँसो चार बजेबाट सदरमुकाम मान्ममा अनिश्चितकालीन कफ्र्यु लगाएको हो ।

प्रहरीको गोली लागेर शुक्रबार एक म्यादी प्रहरीको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीले शनिबार दिनभर मान्ममा प्रदर्शन गरे । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय वार्तामा प्रशासनले माग पूरा गर्न आलटाल गरेको भन्दै उनीहरूले तोडफोडसमेत गरेका छन् । कफ्र्यु तोडेर प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।

म्यादी प्रहरीले निर्वाचनमा खटिँदाको ज्याला कम भएको गुनासो गरेपछि शुक्रबार प्रहरीसँग झडप भएको थियो । सोहीक्रममा प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो । घटनाको विरोधमा म्यादी प्रहरी, राजनीतिक दल र स्थानीयले संयुक्त प्रदर्शन सुरु गरेपछि शनिबार सदरमुकाम मान्म बन्द भयो । कर्णाली राजमार्गको कालिकोट खण्डमा समेत यातायात अवरुद्ध भएको छ । स्थानीय प्रशासनले गोलीले नभई ढुंगाले लागेर म्यादीको मृत्यु भएको भनेपछि स्थानीय बासिन्दा र दलसमेत आक्रोशित बनेका हुन् ।

स्थानीय बासिन्दाले गोली चलाउने प्रहरी, आदेश दिने सीडीओ र डीएसपीलाई तत्काल कारबाही गर्न माग गरेका छन् । मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई २५ लाख क्षतिपूर्ति, म्यादी प्रहरीलाई उचित ज्याला दिनुपर्ने र घाइतेको निःशुल्क उपचार गर्नुपर्ने अडान संघर्ष समितिले लिएको छ । संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस