नयाँ गाडी नै प्रदूषित « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

नयाँ गाडी नै प्रदूषित


२८ कार्तिक २०७४, मंगलबार


काठमाडौं । नेपालमा आयात गरिएका नयाँ गाडी नै प्रदूषित हुने गरेको पाइएको छ । यातायात व्यवस्था विभागले युरो थ्री स्तरलाई कानुनी मान्यता दिए पनि आयात हुने गाडीको मापदण्ड जाँच नगरिँदा नयाँमै समस्या देखिएको हो ।

नेपाल भित्रिने सवारीसाधन युरो थ्री मापदण्डको हो/होइन भन्ने यातायात व्यवस्था विभागलाई कुनै जानकारी नभएको विभाग प्रवक्ता टोकराज पाण्डेले बताए । ‘उत्पादित कम्पनीले दिएको कागजातको आधारमा नेपालमा सवारीसाधनलाई मान्यता दिँदै आएका छौं, हामीसँग जाँच गर्ने मेसिन र ल्याब छैन’, उनले भने । सवारी परीक्षण कार्यालय टेकुले प्रदूषण जाँच क्रममा भारतमा निर्मित मारुती र टाटा कम्पनीका नयाँ गाडी नै प्रदूषित भेटिएको जनाएको छ ।

सवारी परीक्षण कार्यालय टेकुका प्रमुख सिनियर डिभिजन इन्जिनियर रामचन्द्र पौडेलले नयाँ गाडीमा समेत वातावरण प्रदूषण मापनको सीमा नाघेको भेटिएको बताए । विभागले वायु प्रदूषण न्यूनीकरण गर्न सवारीको जाँच गरी वातावरण अनुकूल मान्दै ग्रिन स्टिकर वितरण गर्दै आएको छ ।

वायुमा पीएम १ र २.५ माइक्रोनभन्दा साना धुलोका कण बढी हुने देखिएको छ, यसमा सवारीसाधन नै जिम्मेवार हुने अध्ययनले देखाएको छ । विभागले पेट्रोल गाडीका लागि सन् १९८० सम्म उत्पादन भएकामा कार्बन मनोअक्साइड बढीमा तीन र पछिल्ला गाडीमा ४.५ प्रतिशत कार्बन मनोअक्साइड र हाइड्रोकार्बन बढीमा १००० पीपीएम (पार्ट पर मिलियन) भन्दा कम भए मात्र वातावरण अनुकूल मान्ने गरेको छ । डिजेल गाडीको हकमा धुवाँको घनत्व अधिकतम ६५ प्रतिशत एचएसयू (हारट्रिज स्मोक युनिट) हुनुपर्छ । यो मापदण्ड पूरा नगरेको सवारीसाधनले वातावरणअनुकूल मानेर हरियो स्टिकर पाउँदैनन् ।

उपत्यकाका सडकमा गुड्ने ७० प्रतिशत सवारीसाधन वातावरण अनुकूल नभएको पौडेलले बताए । यसमा नयाँ आयातीत गाडीको मापदण्ड पूरा नगर्नु पनि मुख्य भएको उनले बताए । यो धुवाँ सिधै फोक्सोमा असर गर्ने विशेषज्ञको भनाइ छ । सामान्य रुघाखोकीबाहेक फोक्सोमा दाग देखिने, सुन्निने र संक्रमणको एउटा मुख्य कारण यही प्रदूषण भएको छ । आँखा चिलाउने, छाला एलर्जी हुने, सास फेर्न गाह्रो हुने, छाती भारी हुने र मुटुको रोगसमेत बढाउने गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस