‘ग्र्याभिटी करेन्सी’का नाममा नेटवर्किङ बिजनेसबाट नयाँ ठगी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘ग्र्याभिटी करेन्सी’का नाममा नेटवर्किङ बिजनेसबाट नयाँ ठगी


२६ भाद्र २०७४, सोमबार


काठमाडौं । डेढ दशकअघि गोल्डक्वेस्टको नाममा सुनको सिक्का बेच्ने नेटवर्किङ बिजनेसको जगजगी भयो, सुनको लेप भएको एक तोलाको सुनको सिक्का किनेर दशौँ हजारले करोडौँ डुबाएपछि मात्र पुष्टि भयो, यो त ठगी धन्दा हो । त्यहीवरिपरि आएको युनिटी र हर्बोले नेटवर्किङ बिजनेसका नाममा एक दशकसम्म राजधानीमै भव्य कार्यालय नै सञ्चालन गरेर दशौँ हजार नेपालीबाट करोडौँ रुपैयाँ ठगे । पत्रपत्रिकामा समाचार आउँदासमेत सदस्यहरूले सञ्चालकहरूलाई विश्वास गरिरहेका थिए । तिनका सञ्चालकको भागाभाग भएपछि सदस्यहरूले हामी त ठगिएछौँ भनेर थाहा पाए ।

अब अहिले आएको त ग्र्याभिटी क्वाइन । त्यसको न सिक्का छ, न कार्यालय नै । न नेपाल सरकारमा दर्ता छ न विश्वकै कुनै कुनामा । डलरको भाउमा नेपाली पैसा बुझाएपछि विक्रेताले क्वाइन दिन्छन्, तर हातमा होइन, तस्बिरका रूपमा इन्टरनेटमा । युजर नेम र पासवर्डका आधारमा क्रेताले आफ्नो सिक्का इन्टरनेटमा हेर्छ, दंग पर्छ र अरूलाई पनि सिफारिस गरेर त्यस्तै सिक्का किन्न लगाउँछ । क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा)का रूपमा भइरहेको यो ठगीमा अहिलेसम्म राज्यको ध्यान गएको छैन । त्यसैले सञ्चालकहरूले उनीहरूकै भाषामा १५ सयभन्दा बढी सर्वसाधारणबाट १५ करोडभन्दा बढी ठगिसकेका छन् । आफू नेपाल सरकार र राष्ट्र बैंकको नियमभन्दा बाहिर रहेकाले अझै धेरै कारोबार गर्ने उनीहरूकै दाबी छ ।

दाङका रूपेश दाहाललाई एक नजिकको साथीले बिट क्वाइनजस्तै ग्र्याभिटी क्वाइनमा लगानी गर्न सुझाब दिए । सुरुमा उनलाई विश्वास लागेन । तर, बिट क्वाइनको मूल्य रातारात बढेको र यो पनि त्यस्तै मुद्रा भएको विश्वास दिलाए, रूपेश लगानी गर्न तयार भए । उनले ६२ हजार रुपैयाँ तिरेर ५२५० क्वाइन किने । त्यति पैसा लगानी गरेबापत उनले युजर नेम र पासवर्ड प्राप्त गरे । लगानी गरेको अन्य केही प्रमाण उनीसँग छैन । तर, जब ग्र्याभिटी क्वाइन नक्कली रहेको र उनी ठगिएको थाहा पाए । उनले भने, ‘यी मान्छेहरू ठग हुन् कि भन्ने त मलाई पहिल्यै लागेको थियो ।’

यसरी नक्कली ग्र्याभिटी क्वाइनबाट ठगिने रूपेश मात्रै होइनन् । नेपालमा नक्कली क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) निर्माण गरी संगठित रूपमै ठगी भइरहेको छ । पछिल्लो समय विश्वमा प्रचलन बढिरहेको ‘बिट क्वाइन’लाई देखाएर त्यस्तै नक्कली क्रिप्टोकरेन्सी बनाई केही व्यक्तिले ठगी गरिरहेका हुन् । ठगहरूले ‘ग्र्याभिटी क्वाइन’ नामको भर्चुअल करेन्सी बनाएर बिक्री गरी ठगी गरिरहेको पत्ता लागेको हो । ग्र्याभिटी क्वाइन नेपाल राष्ट्र बैंक र नेपाल सरकारभन्दा पनि माथि रहेको गफ दिएर ठगहरूले सहरका पढे–लेखेकै मानिसलाई ठगी गरिरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस